१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

ठट्टामा शासन चलाउनुको परिणाम

कसले कोसँग कुन बहानामा कति दिन मिलेर सत्ता सुख प्राप्त गर्ने र कसरी आफ्नोे पदीय आकांक्षा पूरा गर्ने भन्ने सोचाइलाई मात्रै आफ्नो राजनीतिक क्रियाकलापको मुख्य आधार मानेर हिँडेका वर्तमान राजनीतिक दलका नेताहरुको चिन्तनको परिणामस्वरूप वर्तमान सरकार गठन भएको छ ।नेपालमा २०४६ सालपछि राजनीतिक दलहरुले शासन गर्न सुरु गरेपछि २६ वर्षको अवधिमा गठन भएको यो २२ औँ सरकार हो । र, राजतन्त्र समाप्तिपछि १० वर्षमा गठित ८ औँ हो । उक्त तथ्यबाट नेपालका वर्तमान राजनीतिक दलका नेता देश र जनताप्रति कति चिन्तित छन् भन्ने प्रष्ट हुन्छ । यति लामो समयसम्म सरकार गठन र विघटन गरेरमात्र देश चलाएको सायद विश्वमा नेपाल पहिलो देश हो । बितेका २६ वर्षमा अहिलेसम्म कुनै पनि सरकार ४ वर्षसम्म चल्न सकेको छैन । विसं २०४६ सालपछि सम्पन्न प्रथम नर्वाचनपश्चात गठित नेपाली कांग्रेसको सरकार सबैभन्दा बढी समय चलेको थियो जुन आफ्नै सांसदद्वारा गि¥यो ।

देश बिग्रन र बर्बाद हुन धेरै समय लाग्दैन । संसारका कतिपय देश छोटो समयमा पनि बर्बाद भएका छन् । मध्यपूर्वमा अवस्थित सिरिया सन् २०११ सम्म एउटा राम्रो देश थियो । त्यसपछि सुरु भएको 'अरब स्प्रिङ' नामले चिनिने प्रजातान्त्रिक आन्दोलनको हावा ट्युनिसियाबाट इजिप्ट हुँदै सिरिया पुगेपछि त्यहाँ वर्तमान शासक वसिर अल असदविरुद्ध सुन्नी सम्प्रदायका मानिसले निकालेको जुलुसमाथि सरकारले बल प्रयोग ग¥यो । यसपछि आजको सिरियाको दुखद् परिस्थिति सुरु भएको थियो । देशबाहिरका शक्तिहरु आफ्नो स्वार्थ पूरा गर्न दाउ हेरेर बसेका हुन्छन् जसको फलस्वरूप उनीहरुले ती प्रदर्शनकारीलाई हतियार उपलब्ध गराए । जबकि त्यहाँ आइएसलगायत कुनै पनि त्यस्ता खतरनाक आतंकवादी संगठन थिएन । संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार अहिलेसम्म त्यहाँ २ लाख ५० हजार मानिसको ज्यान गइसकेको छ । करिब २३ मिलियन जनसंख्या भएको उक्त देशमा आधा जनसंख्याले घर छाडिसकेका छन् र ४ मिलियन जति मानिस देशबाहिर छन् । अरु चिजको विनाश र बर्बादीको कुनै हिसावकिताव छैन । आज युरोपमा जुन शरणार्थीको घुइँचो छ, त्यसमा सबैभन्दा बढी सिरियाकै छन् ।

इराक पनि मध्यपूर्वको सिरिया जस्तै एउटा राम्रो देश थियो । सन् २००३ मा अमेरिकाले सद्धाम हुसेनलाई हटाउन आक्रमण गरेपछि इराकीहरुको दुःखको कथा सुरु भएको थियो । आज इराकीहरु पनि सिरियाली जस्तै देश छाडेर बाहिर गइरहेका छन् । सन् २००३ देखि २०१३ सम्म १० वर्षको अवधिमा इराकमा १ लाख ९० हजार मानिसको ज्यान गइसकेको छ । उक्त अवधिमा ४५ सय अमेरिकी सैनिकसमेत मारिएका अमेरिकास्थित ब्राउन विश्वविद्यालयको वाट्सन इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजले आफ्नो 'कस्ट अफ वार' नामक शोधकार्यमा उल्लेख गरेको छ । त्यसपछि पनि इराकमा मान्छे मार्ने क्रम जारी छ । यो वर्षको गर्मीको दुई महिना अर्थात् जुन र जुलाइमा मात्र करिब २७ सय मानिसको त्यहाँ ज्यान गएको संयुक्त राष्ट्र संघले विज्ञप्तिमार्फत जनाएको छ । सद्धाम हुसेनले १९९० मा कुवेतमाथि आक्रमण नगरेर चूप लागेर आफ्नो देश चलाएको भए न उनी र उनका परिवारको विनाश हुन्थ्यो न त आज सिंगो इराककै अवस्था यस्तो हुन्थ्यो ।

यमनको कथा पनि फरक छैन । सन् २०१४ को सेप्टेम्बर महिनाामा इरान समर्थित हाउथी नामक मिलिसियाले त्यहाँ बन्ने नयाँ संविधानमा आफूहरुले उचित स्थान पाउनुपर्छ भनी यमनको राजधानी सानामा धावा बोलेपछि अहिलेको गृह युद्ध सुरु भएको थियो । अहिले यमनमा एउटा मिलिसियाको सरकार त्यहाँको राजधानीमा छ भने अर्को सरकार जुन वास्तवमा त्यहाँको सरकार हो, राजधानीबाहिर कार्य गर्छ । मिलिसियालाई इरानको समर्थन छ जो मुसलमानको सिया सम्प्रदायको नेता हो र अर्कोतिर अपदस्थ सरकार (जो राजधानीबाहिर छ) लाई साउदी अरेबियाको समर्थन छ जो मुसलमानको सुन्नी सम्प्रदायको नेता हो ।

गद्धाफीले लिबियामा ४२ वर्ष शासन गरे । उनको कार्यकालमा लिबिया धेरै राम्रो त थिएन तर आज जस्तो खराब स्थितिमा भने निश्चय पनि थिएन । अहिले त्यहाँ दुई वटा सरकार छ । एउटा सरकार लिबियाको पूर्वी भागमा छ जो निर्वाचित र पश्चिमी देशहरुद्वारा समर्थन प्राप्त सरकार हो जसको संचालन लिबियाको ट्याबरक भन्ने ठाउँबाट हुन्छ । अर्कोतिर इश्लामी मिलिसियाहरुको सरकार त्रिपोलीबाट सञ्चालन हुन्छ । यसबाट हामी के अनुमान गर्न सक्छौँ भने त्यहाँ गद्दाफी हटेपछि कस्तो स्थिति सिर्जना भएको रहेछ भन्ने । आज लिबिया मानव तस्करहरुको केन्द्रविन्दु भएको छ जहाँबाट अफ्रिकी देशहरुका मानिस तस्करलाई पैसा दिएर भूमध्य सागर डुंगाबाट पार गरेर युरोपको इटाली पुग्छन् जुन गद्धाफीको कार्यकालमा हुने थिएन ।

इजिप्ट पनि बर्बाद भइसकेको थियो तर वर्तमान राष्ट्रपति अब्दुल फत्तेह सिसीले सत्ता आफ्नो हातमा लिएपछि अहिले लिबिया इराक, सिरिया जस्तो स्थितिमा छैन । तीस वर्षसम्म शासन गरेका हुसनी मुबारकलाई त्यहाँका जनताले हटाएपछि त्यहाँ राजनीतिक अस्थिरता सिर्जना भएको थियो । मुस्लिम ब्रदर्स हुड नाम गरेको त्यहाँको सबैभन्दा पुरानो राजनीतिक दलले सत्ता हातमा लिएपछि प्रत्येक दिन त्यहाँ जुलुस प्रदर्शन हुने गथ्र्यो । मिश्रमा एकातिर मुस्लिम र अर्कोतिर अन्य धर्मावलम्बीबीच संघर्ष सुरु भयो । मुबारक हटेपछि प्रजातन्त्रको आगमन भयो । त्यसपछि त्यहाँ सबै जिस्कन थाले । माथि उल्लिखित यी सबै देशहरुको बर्बादी देशभित्रका र बाहिरका शक्तिहरुको गैरजिम्मेवार क्रियाकलापले गर्दा भएको थियो ।

नेपालमा पनि २०४६ सालदेखि प्रमुख राजनीतिक दलका नेताले जिस्केर देश सञ्चालन गर्दा आज नेपालीले यस दुःखद् परिस्थिति सामना गर्नुपरिरहेको छ । २६ वर्षको अवधिमा यिनीहरु कहिल्यै पनि गम्भीर देखिएनन् । यो अवधिमा २२ वटा सरकार गठन र २१ औं सरकार विघटन गरे । दुई वर्षमा बन्नुपर्ने संविधानलाई १० वर्ष लगाए त्यो पनि अपुग, अधुरो र सबैलाई स्वीकार्य नभएको । नेपाल जस्तो सानो भूभाग र जनसंख्या भएको देशमा १० वर्षदेखि संसारमा कतै नभएको ६०१ जनाको संसद बनाएर गरिब नेपाली करदाताले तिरेका पैसा ख्वाएर राखियो । संसारका कुनै पनि देशमा ६ जना उपप्रधानमन्त्री छैनन् तर नेपालमा छन् । यस्तै ताल हो भने भोलि प्रधानमन्त्री पनि ३ जना नहोलान् भन्न सकिन्न । यो अवधिमा विश्वका कुनै पनि मुलुकमा यति धेरै हड्ताल, बन्द भएका छैनन् जुन नेपालमा हुँदै आएको छ । यसबाहेक यो अवधिमा देशलाई तथाकथित जनयुद्धमा होमेर १७ हजारभन्दा बढी नेपालीको हत्या गरेर नेपाली बालकलाई अनाथ र महिलालाई विधवा केबल आफ्नो उन्नति र प्रगतिका लागि बनाएको कथा छुट्टै छ ।

आज तराईको समस्याको जुन कुरा छ, त्यसको थालनी पनि यिनीहरुबाटै भएको हो । माओवादीले 'जनयुद्ध' को समयमा बाहिरी शक्तिको इशारामा वर्तमान समस्या वीजारोपण गरेका हुन । यिनीहरुले त्यसबेलादेखि थारुवान, लिम्बूवान, मगरात जस्ता प्रदेश बाँड्ने, जनसरकारको नाममा बन्द, हड्ताल आयोजना गर्ने र विज्ञप्ति निकालेर नानाथरी आश्वासन दिने काम गर्थे । त्योभन्दा अगाडि नेपालीहरुको मन मस्तिष्कमा पृथकतावादको कुनै बीउसमेत थिएन । त्यसपछि राजा ज्ञानेन्द्रलाई हटाएपछि बाहिरी शक्तिको योजनाअनुरूप यिनीहरुले ल्याएका संघीयताको नाराले आज तराई आन्दोलित हुन पुगेको हो ।

नेपाली जनताले के बुझ्नुपर्छ भने जुन राजनीतिक दलका नेताहरु २६ वर्षमा २२ वटा सरकार गठन गर्छन् त्यस्ता नेताहरुले ७ वटा प्रदेश गठन गरेर ७ वटा सरकार चलाउने भन्नु नै हास्यास्पद छ । जुन व्यक्तिले एउटा साइकल चलाउँदासम्म पटकपटक गिर्ने गर्छ त्यसले हवाईजहाज उडाउँछु भन्नुजस्तै हो यो । अर्थात् जुन व्यक्तिले हिउँदमा आजको वाग्मती नदी तर्न सक्दैन त्यसले वर्षायाममा अर्थात बाढी आएका बेला त्रिशूली नदी तर्न सक्छ भनेको जस्तो हो । आज यिनीहरु गैरजिम्मेवारीपूर्ण तरिकाले राज्य सञ्चालन गर्दा नेपालमा जातीय संघर्ष सुरुवात भएको छ । युगोस्लाभिया युरोपमा कुनै बेला एउटा धेरै राम्रो देश थियो । मार्सल टिटोको बेलामा युगोस्लाभिया एउटा आकर्षक देश थियो तर उनको मृत्युपछि आएका नेताहरुले राम्रोसँग राज्य सञ्चालन गर्न नसक्दा उक्त देश टुक्रिएर आज ६ वटा देशमा परिणत भएको छ । जातीय र धर्म खतरनाक चिज हुन् जसले युगोस्लाभियालाई विभाजित गरेको थियो । नेपालमा ७ वटा प्रदेश भोलि ७ देशमा परिणत नहोला भन्ने के निश्चित ?

जहाँसम्म राष्ट्रियताको प्रश्न छ, राष्ट्रियता भनेको कुनै देशको विरोध गर्ने र कुनै देशको समर्थन गर्नेमात्र हैन, राष्ट्रियता भनेको विदेशी राष्ट्रमा निर्भर नहुनु, राष्ट्रलाई आत्मनिर्भर बनाउनु, जनतालाई सुख दिनु, जनतामाथि अन्याय÷अत्याचार र शोषण नगर्नुलाई साँचो अर्थमा राष्ट्रियता भनिन्छ । तर नेपालका नेताहरुले यसको सबै उल्टो काम गरेका छन् । यिनीहरुले देशको उद्योगधन्दा, कलकारखाना बन्द गराएर नेपाललाई भारतीय सामानको एकलौटी बजारमा परिणत गरेका छन् । टाउको र पेट दुख्नासाथ झोला बोकेर दिल्ली भ्रमण गर्ने, भारतीय नेताहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै संसद भवन ल्याएर नेपाली सांसदद्वारा ताली पिटाएर स्वागत गराउने, डरलाग्दो र लुक्नुप¥यो भने भारत जाने, होटलमा बसेका भारतीय मन्त्रीहरुलाई भेट्न जाने जस्ता कार्य यिनीहरुले गरेका छन् । यिनीहरुले राष्ट्रलाई आत्मनिर्भर बनाउने यो २६ वर्षमा कहिले पनि प्रयत्न गरेनन् । सत्ता कहाँबाट प्राप्त हुन्छ भनेर त्यसको पछि लाग्दा आजको यो दुःखद् स्थिति सामना गर्न नेपाली बाध्य भएका हुन् ।

चीन हाम्रो छिमेकी राष्ट्र हो । चीनबाट हामीले आफ्नो देशलाई आर्थिकरूपबाट अगाडि बढाउन जुन फाइदा लिन सक्थ्यौँ त्यो नेपाली नेतृत्वले कहिले पनि गरेन । चीन आज अमेरिकापछि संसारको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश हो । यसले पहिले तेस्रो स्थानबाट जर्मनीलाई र दोस्रो स्थानबाट जापानलाई धकेलेर उक्त स्थान ओगट्न सफल भएको छ । आज चीनको सेयर बजारमा उतारचढाव हुँदा विश्वको प्रमुख सेयर बजार प्रभावित हुन्छ । यसले आफ्नो विश्व व्यापारबाट कमाएको पैसाले अफ्रिका, ल्याटिन अमेरिकालगायत विश्वका कतिपय देशलाई आर्थिक सहयोग गरिरहेको छ । यसले भर्खरै विश्व बैंक र एसियाली विकास बैंकलाई टक्कर दिन एसियाली निर्माण र विकास बैंकको स्थापना गरेको छ जसको मुख्यालय बेइजिङमा जसमा चीनको ६० बिलियन डलर सेयर छ । हामी त चीनको छिमेकी राष्ट्र र हाम्रो धेरै पहिलेदेखिको सहयोगी हो तर नेपाली नेताहरुको प्रयत्न यस दिशामा कहिले पनि गएन ।

भारतले पहिले आफ्नोबारेम सोच्नुपर्छ । भारतसँगसँगै स्वतन्त्र भएका विश्वका अन्य मुलुक आज कहाँ पुगिसके ? भारतको अवस्थामा त्यस्ता कुनै ठूला सुधार आएको छैन । चीनले १ बिलियन मानिसलाई गरिबीको रेखामुनिबाट विगत ३५ वर्षमा बाहिर ल्याइसक्यो तर भारतमा भने अहिले पनि जनसंख्याको ठूलो भाग गरिबीकै रेखामुनि छ । भारतका अगाडि थुप्रै समस्या विद्यमान छन् तर अहिले पनि भारतमा गाईको मासु खाने, काट्ने र बेच्ने जस्तो विषयले भारतीय राजनीतिलाई ग्रस्त पारेको छ जुन सर्मनाक पक्ष हुन् । 'इमर्जिङ मार्केट' को टोपी लगाएको भारतले अहिलेसम्म त्यस्तो खासै विदेशी पुँजीलाई आकर्षित गर्न सकेको छैन । भारतले अहिलेसम्म चीनसँग एउटा र पाकिस्तानसँग ४ वटा युद्ध गरिसक्यो र श्रीलंकामा तामिलको जातीय संघर्षँमा 'प्रोक्सी वार' चलायो । जुन पछि यसकै लागि घातक सिद्ध भयो ।

तसर्थ, नेपाली जनताले के बुझ्नुपर्छ भने जबसम्म नेपालको सत्तामा राम्रा व्यक्ति आसिन हुँदैनन् तबसम्म नेपाल र नेपालीको स्थिति दुःखदायीपूर्णमात्र हुनेछ । आज नेपालीका अगाडि जुन समस्या आएको छ भोलि त्योभन्दा ठूलो समस्या आउन सक्छ । संसारको घटनाक्रमले यो कुरा प्रमाणित गरिसकेको छ ।

प्रकाशित: ८ मंसिर २०७२ २२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App