१२ असार २०७९ आइतबार
विचार

चुनावी परिणाम र वाम एकता

मुलुकमा स्थानीय निर्वाचन सम्पन्न भई त्यसको परिणाम पनि आइसकेको छ। यसबारे विभिन्न लेखाजोखा वा क्रिया–प्रतिक्रियाहरू व्यक्त भइरहेका छन्। चुनाव परिणामसँग सम्बन्धित विभिन्न प्रतिक्रियामध्ये वामपन्थी गठबन्धन वा एकताको सन्दर्भ अहिले चर्चामा ल्याउन खेजिएको छ।

अहिले मात्र होइन देश स्थानीय निर्वाचनमा होमिइसकेको बेलामा पनि वामपन्थी तालमेल चर्चामा ल्याइएको थियो। वामपन्थी भनेर चिनिने दसी नभएका पार्टीहरू ‘जता पायक पर्छ, उतै चरी नाच्छ’ भन्ने उखानलाई मेख मार्ने गरी नेपाली काँग्रेससँग गठबन्धनको आखिरीमा पुगेका थिए। ठीक त्यसैबेला वामपन्थी गठबन्धनको चर्चा उचाल्लिएको थियो। नेतृत्वले आफ्नो लत्तोगत्तो छाडेर भए पनि वामपन्थी नामसँग तालमेल नगरे स्थानीय निर्वाचनमा एमालेको सत्यानास हुने भविष्यबाणी (प्रेडिक्सन) पनि भएका थिए।

चुनावको सम्मुखमा गरिएको त्यो भविष्यवाणीले एमाले र एमाले समर्थकहरूमा मनोवैज्ञानिक असर पर्‍यो कि परेन र त्यसले चुनावी जनमत साँघुर्‍याउन कति योगदान गर्‍यो भन्ने विषय शायद गर्भमै होला। अझ भविष्यवाणी गर्ने ज्योतिषले आफ्नो ज्योतिषी सफल पार्न शारीरिक कसरत नगरे पनि मनमनै कामना गर्छ कि गर्दैन? यो विषय पनि शायद नेपथ्यमै रहेको होला। महाभारत युद्धका भीष्मपितामह सेनापति भएर दुर्योधनका पक्षमा लडेका थिए। तर उनको सहानुभूति भने पाण्डवको पक्षमा थियो भनिन्छ।

युद्धकै बेला भीष्म पितामहबाट द्रौपदीले “अखण्ड सौभाग्यवती भव” भनेर आशीर्वाद पाएको पनि महाभारतमा उल्लेख छ। युद्ध एउटाको पक्षमा लड्ने तर सहानुभूति युद्धरत विरोधी पक्षसँग राख्ने भीष्म चरित्र ठीक कि बेठीक? इतिहासले यसको जवाफ देला नै। चुनावी महाभारतका बेला वामपन्थी एकताको अनुराग र सहानुभूतिले प्रतिस्पर्धीहरूमा द्रोपदीलाई जस्तै “अखण्ड सौभाग्यवती भव” भनेजस्तै वरदान मिल्यो कि मिलेन, समीक्षा गर्नु राम्रो।

नेपालमा वामपन्थी जनमत धेरै भएकाले त्यसलाई एउटै ब्यालेटमा खसाउन पाए हुन्थ्यो भन्ने लहड नराम्रो होइन। तर इन्धन जति सबै उस्तै ठानेर मट्टितेल र पेट्रोल एउटै ट्याङ्कीमा भर्ने मोहले इन्जिनको आयु घटाउला कि बढाउला? सोचनीय हुन्छ। नेपालमा वामपन्थी एकता या गठबन्धनबारे चर्चा गर्नुपूर्व सर्वप्रथम दर्जनौँ वामपन्थी पसल किन खोल्नुपरेको होला ? भन्ने विषयमा नै बहस गर्नु जरुरी देखिन्छ।

जनताको चाहना, राष्ट्रिय/अन्तर्राष्ट्रिय आवश्यकता, वामपन्थ वा कम्युनिस्ट मान्यताका आधारभूत सैद्धान्तिक–दार्शनिक भिन्नता र नेपालमा नितान्त नवीन सिद्धान्तको प्रयोग एवं विकास। यी मापनका आधारमा भिन्नता नहुँदा–नहुँदै व्यक्तिपिच्छेका वामपन्थी पार्टी नेपालमा खोल्न ठीक कि बेठीक छुट्याएर मात्र गठबन्धन वा एकता सम्भव होला र त्यसले निरन्तरता पनि पाउला। यसरी हेर्दा नेपालमा वामतर्फ झुकाव राख्ने जनता प्रायः एउटै पार्टी हेर्न चाहन्छन्।

नेपालमा एउटै वामपन्थी पार्टीले राष्ट्रमा क्रान्तिकारी विकल्पको आवश्यकता धान्न सक्ने देखिन्छ र धान्दै आएको पनि छ। अन्तराष्ट्रिय साम्राज्यवादी शक्तिसँग लड्न घरलौरी वाम पार्टी बनाउन र टिकाउन परेको भनेर चित्त बुझाउन पनि सकिँदैन। मार्क्सवाद–लेनिनवादको सैद्धान्तिक र दार्शनिक मान्यताभन्दा फरक अर्को मार्गदर्शनको विकास गरेको पनि देखिँदैन। नवीन सिद्धान्त विकासको बारेमा नियाल्दा जनताको बहुदलीय जनवादभन्दा भिन्न सिद्धान्तको विकास र प्रयोग गरेको पनि पाइन्न।

यी आधारभूत कुराहरूमा फरक नहुँदा नहुँदै विभिन्न नामका वामपन्थी पार्टी कुन स्वार्थले बनाउन परेको? यसको उचित कारण सिद्ध गर्नुपर्दछ। यस आधारमा विश्लेषण गर्दा व्यक्तिका स्वार्थभन्दा बाहेक अरू आधारभूत कारण सायद भेटिँदैन। लेनिन भन्नुहुन्थ्यो–“यदि मानिसहरूको स्वार्थ टकराउंँयो भने ज्यामितीका स्वयंसिद्ध रेखाहरू पनि बङ्ग्याइन्थ्यो होला।” यो धारणा मानिसको चरम स्वार्थीपनामाथि लेनिनको कटाक्ष थियो।

आज नेपालमा ज्यामितीय स्वयंसिद्ध रेखाहरू टेडोमेडो पारेर पनि वामपन्थी पार्टीहरू खोल्न र टिकाउन प्रयत्न गरिन्छ र गरिँदै आएको पनि छ। भर्खरै स्थानीय निर्वाचनको गठबन्धनमा मिसिएका नाममात्रका वामहरूले ज्यामितीय रेखा बङ्ग्याएर आफ्नो औचित्य सावित गर्न खोजेको बडो भद्दा तर प्रष्ट उदाहरण ताजै छ। कुनै पनि वस्तुको नामअनुसार गुण र कर्म हुन्थ्यो भने मरुभूमिलाई पनि जलभूमि नामाकरण गर्न सकिन्थ्यो।

तसर्थ वामपन्थ वा कम्युनिस्ट भनेर खुट्याउन र संगत गर्न नामका आधारमा हुंँदैन कर्म र गुणका आधारमा हुन्छ। यस आधारमा हेर्दा नवउदारवादी आर्थिक नीतिको संरक्षणकर्ता नेपाली काँग्रेससँग दुईदुई पटक चुनावी गठबन्धन गर्ने र त्यसलाई अझ १५/२० वर्षसम्म कायम राख्ने कुरा कसरी वामपन्थी ठानेर संगत गर्न सकिन्छ? काँग्रेस धनी वर्गको पार्टी भएकाले गरिबहरू कम्युनिस्ट पार्टीमा जाँदा हुन्छ भनेर काँग्रेसकै जिम्मेवार नेताले घोषणा गरेका छन्।

यति कुरा नेताले प्रष्ट पारेपछि उसैसँग मिसिन गएका स्वनामधन्य वामपन्थीहरू गरिब वर्गको प्रतिनिधित्व गर्छन् कि गर्दैनन्? ती वामपन्थीहरूको अर्थराजनीतिक मान्यता नवउदारवाद हो कि अरू कुनै? हाललाई वाम भन्नेहरूको यी व्यवहारले खडा गरेको प्रश्न अनुत्तरित हुँदाहुँदै कुन वाम वा कुन कम्युनिस्टसँग गठबन्धन या एकता गर्ने? उत्तर त आउनैपर्ला।

नेकपाकालीन केपी ओली नेतृत्वको सरकारले गरेका कामहरू विवेचना गर्दा समाजवाद निर्माणको आधारशीला प्रारम्भ गरेको प्रष्ट देखिन्छ। जस्तै, मौलिक हकसँग सम्वन्धित कानुन निर्माणका कामले समाजवादका कानुनी आधारका रूपमा काम गर्छन्। मजदुरहरूको न्युनतम ज्याला वृद्धि तथा रोजगारी सिर्जना र बेरोजगार भत्ता समाजवादकै अंशका रूपमा मानिन्छन्।

स्वास्थ्य बिमा कार्यक्रम तथा प्रत्येक स्थानीय तहमा अस्पताल निर्माणको थालनी र देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालनका कार्यहरूले समाजवादको आधारलाई पृष्ठपोषण गर्छन्। योगदानमा आधारित पेन्सन, सडक वालवालिका र असहाय नागरिकको व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वृद्धि जस्ता कार्यक्रमले पनि समाजवादकै आधारलाई टेवा पुर्‍याउँछन्। उद्योग स्थापनामा बढोत्तरी, तुइन युगको अन्त्य, व्यापक भौतिक पूर्वाधार विकास र सुकुमवासीलाई घर निर्माण, फुसको छाना जस्तापाताद्वारा विस्थापन, सुकुमवासीलाई जग्गा उपलव्ध गराउने योजनाहरू समाजवादको आधार होइन्न भन्न सकिन्न।

ठूला भ्रष्टाचार काण्डको उत्खनन र कारबाहीको सुरुवात, लिपुलेक, लिम्पियाधुरा र कालापानीको जमिन समेटेर नक्सा प्रकाशन, मुलुकलाई भूपरिवेष्ठितबाट भूजडित मुलुकमा विकास, नेपाल आफैँले सगरमाथाको उचाइ मापन, तेल, ग्याँस तथा फलाम खानीको उत्खनन कार्यको सुरुवात र तेल ढुवानीका लागि पाइप लाइन निर्माण जस्ता कार्यक्रम एउटा देशभक्त कम्युनिस्ट सरकारले गर्ने कामभित्र पर्छन्। रेल खरिद र पानीजहाज सञ्चालनको तयारीलगायतका कार्यले पनि समाजवादको आधारलाई सहयोग पुर्‍याउँछन्।

प्राकृतिक र मानवसमेतको अवरोधका बाबजुद केपी ओली सरकारका यी कामलाई वामपन्थीहरूले गर्ने काम भन्न हिच्किचाहट मान्नुपर्दैन। यस्ता कार्य गरिरहेको वामपन्थी सरकार ढालेर दक्षिणपन्थी काँग्रेसलाई जिम्मा लगाउने कर्म वाम कर्मभित्र कदापि पर्दैनन्। अहिले कम्युनिस्ट सरकारको विकल्प काँग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेका कार्यहरू कुनै वामपन्थले गर्ने कार्य भन्न पनि सकिन्न। नामधारी वामहरूको यस्ता कुकर्मको सय खत मिनाह गरेर भए पनि गठबन्धन वा एकता गरिएला र निर्वाचनमा बहुमत पनि ल्याइएला।

तर फेरि काँग्रेसलाई सरकार जिम्मा लगाइँदैन भन्ने कुराको आधार र विश्वास के? यसको वस्तुनिष्ट जवाफ नआइकन वामपन्थी गठबन्धन वा एकता बहसको औचित्य छैन। नेकपा (एमाले) ले ७४ सालको संघ र प्रदेशको निर्वाचन भन्दा बाहेक सार्थक ढंगले अरू निर्वाचनमा गठबन्धनमार्फत चुनाव लडेको छैन। प्रतिपक्षमा वा सरकारमा जहाँ रहेर पनि पार्टीले खेलेको जनप्रिय भूमिकाले गर्दा गठबन्धनको वैशाखी एमालेलाई आवश्यक नपरेको हो।

जस्तै, ५१ सालको अल्पमतको सरकारले गरेका कामका आधारमा ५४ सालको स्थानीय निर्वाचनमा एमालेले बिनावैशाखी दुईतिहाइ संख्या जितेको थियो। तत्कालीन नेतृत्वको अन्यमनस्कताका कारण ६५ को निर्वाचनमा तेस्रो दल हुन पुगेको एमाले केपी ओली नेतृत्वमा सञ्चालित उग्रवामपन्थको वैचारिक संघर्षका कारण ७० को निर्वाचनमा दोस्रो स्थान ओगटेको थियो।

केपी ओली नेतृत्वमा एमालेले संविधान निर्माणदेखि सरकारमा रहँदा नाकावन्दीका विरुद्ध खेलेको देशभक्ति र राष्ट्रवादी भूमिकाका कारण ७४ को स्थानीय निर्वाचनमा गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गरेर ठूलो दल बन्यो। हालै सम्पन्न स्थानीय निर्वाचनमा पनि नेकपा (एमाले) ले काँग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धनका विरुद्ध एक्लै प्रतिस्पर्धा गरेर नेतृत्व गन्तीमा दोस्रो र जनमत गन्तीमा पहिलो मत ल्याएको छ। यदि यो निर्वाचन उम्मेदवार–उम्मेदवारबीचको प्रतिस्पर्धा नभएर पार्टी–पार्टीबीचको प्रतिस्पर्धा हुन्थ्यो भने एमाले मुलुकको ठूलो पार्टी बन्नेमा कसैले विवाद गर्दैनथ्यो।

यसकारण एमाले निर्वाचन जित्न कसैसँग मिसिनुपर्छ भन्ने मान्यता राख्दैन। बरु आफ्नै गौरवपूर्ण विगत र पौरखपूर्ण वर्तमानको तागतमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नेमा विश्वास राख्छ र त्यसैअनुरूपको भूमिका खेल्छ। अहिले समानुपातिक निर्वाचनको प्रबन्धलाई सिरानी हालेर संविधानले नै चुनावी गठबन्धन गर्नु भनेको छ भन्ने तर्क गरिँदैछ।

संविधानका कुनै पनि धारामा गठबन्धन गर्नुपर्ने प्राव्धान नभएकाले यसलाई दुःखका साथ कुतर्क भन्नुपर्ने हुन्छ। सत्तामा रहँदा सेवा र प्रतिपक्षमा रहँदा जनताको पक्षमा न्यायोचित संघर्ष गर्ने र सही विचार, सिद्धान्त एवं नीतिका आधारमा संगठन निर्माण र परिचालन गर्ने हो भने समानुपातिकमा पनि मत संख्या बढाउन सकिन्छ र सरकारका लागि बहुमत सजिलै जुटाउन सकिन्छ।

शायद यो तर्क जनसेवा र संगठन निर्माण गर्ने भन्दा पनि पार्टीभित्र झगडा मच्चाइरहने पात्र र प्रवृत्तिको तर्क हुन सक्छ। झगडामा लखतरान भएको पात्र र प्रवृत्तिलाई नदीको दुई किनारा जोडिए हुन्थ्यो र पार तर्थेँ भन्ने लाग्न सक्छ। पौरख र उद्यमले पुल हालेर पार तर्छु भन्ने आँट र साहस नआउन सक्छ। तर नेकपा (एमाले) लाई कुनै किनारा हालसालै जोडिन्छ र पार तरिन्छ भन्ने लाग्दैन।

बरु आफ्नै पौरख र उद्यमले पुल हालेर निर्वाचनरूपी नदीमा पार तर्ने आँट गर्दछ र पार तर्दछ पनि। भ्रम नरहोस्, स्थानीय निर्वाचनका बेला वामपन्थी गठबन्धनको एक–तारेले बराले जस्तै संघ र प्रदेशको निर्वाचन नजिक आइरहेको बेला यसले फेरि बराल्न सक्छ र त्यसको असर निर्वाचनमा पर्न सक्छ। यसबारेमा सम्पूर्ण पार्टीपंक्ति सजग र सर्तक हुन जरुरी छ।

पार्टी एकता कायम हुनु नसक्नु, स्थानीय निर्वाचनमा वामगठबन्धन हुन नदिएर निर्वाचन परिणाम कमजोर आउनु र अव फेरि वामगठबन्धनमा बाधक हुन खोज्नु जस्ता कुरा लिएर अहिले अध्यक्ष केपी शर्मा ओली र पार्टीमाथि बिनसित्तिको झ्याउलो सुरु गर्न खोजिँदैछ। यसका जिम्मेवारी र दोष अध्यक्षलाई देखाएर पार्टीभित्र आवश्यक विषयमा डाइलग (सम्वाद) नगर्ने तर अनावश्यक विषयमा कन्ल्फिक्ट (झगडा) मच्चाउन खोजिँदैछ।

यसमा भन्नु के छ भने एमालेसँगको पहलमानीमा शरीरको अङ्ग÷प्रत्यङ्ग शिथिल भएर बूढानीलकण्ठमा लम्पसार भएको काँग्रेसलाई एमालेको अङ्ग झिकेर प्रत्यारोपण गरी बालुवाटार भित्र्याएपछि निर्वाचन परिणाम तलमाथि भएको जिम्मेवारीचाहिँ कस्ले लिने? यसको उचित छिनोफानो नगरी वेतुकको झगडाको कुनै अर्थ र महत्व रहन्न। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।

(एमाले पोलिटब्युरो सदस्य एवं केन्द्रीय पार्टी स्कुल विभाग सदस्य।)

प्रकाशित: ३० जेष्ठ २०७९ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App