१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सत्ता गठबन्धन, निर्वाचन र एमाले

स्थानीय तह निर्वाचन परिणाम र मत संरचनाले जनादेशका साथै धेरैवटा सन्देश दिएको छ। मुख्यतः पार्टी र नेताहरूलाई आफ्ना आचरण र व्यवहार सच्याउन चेतावनी दिएको अर्थमा बुझ्नु उपयुक्त हुन्छ। निर्वाचन परिणामलाई सहजरूपमा पचाउन नसकेका अभिव्यक्ति पनि जिम्मेवार नेताहरूबाट प्रकट भए ‘आफ्नो पार्टीका पदाधिकारीहरू’ को अभिमुखीकरण कार्यक्रमको मञ्चबाट।

प्रचण्ड अस्थिर गतिविधि, सत्ता र शक्तिको अनियन्त्रित आकांक्षा, विगतका गतिविधिको अपराधबोधबाट त्रसित र माओवादी पार्टीको अनिश्चित भविष्यबाट ग्रसित र त्रसित व्यक्ति हुन्। उम्मेदवारको हैसियतमा गर्नुपर्ने अभिमुखीकरण कार्यक्रम जनताका साझा भइसकेका निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीविशेषको अभिमुखीकरण किन? माओवादी केन्द्रको त्यो कार्यक्रम नै अलोकतान्त्रिक, असंवैधानिक तथा औचित्यहीन देखिन्छ।

त्यसमाथि सोही अभिमुखीकरणको सिलसिलामा माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई ठेगान लगाइयो, अहंकार नछोडे कांग्रेसलाई पनि ठेगान लगाउछौंँ भनेर कस्तो ठेगान लगाउन खोजेका हुन्? एक दशक (२०५२–६२) सम्म माओवादीले कांग्रेस लगायतका पार्टी र तिनका कार्यकर्तालाई ‘ठेगान’ को नाममा ‘सफाया’ वा कुटपिट, अंगभङ्ग, बिस्थापित गरेकै हुन्। अब के गर्न बाँकी छ? शिकार गर्न तम्सेको सिकारी आफैँ सिकार भएका घटना अनकौँ छन्। अरूले रामराम भन्नुपर्ने कुरा यो छ।

ताजा स्थानीय निर्वाचनले प्रमुख विपक्षी दल एमालेलाई ‘राइट साइजिङ’ (उचित आकार) मा राखिदियो। यसमा धेरै कारण छैनन्। एमालेको गृहकलह जनतामा उदासीनता र निरासाको मुख्य जड हो र त्यो कलहको मूल स्रष्टा, सर्वेसर्वा नेता भएका खड्गप्रसाद ओली हुन्। ‘निर्वाचन परिणामको नैतिक दायित्व नेतृत्वको हैसियतले अध्यक्ष (ओली)ले लिनुपर्छ.....’ भनी टिभीमा अन्तरवार्ता दिने एमालेकै नेता घनश्याम भुसाल अनुशासनको कारबाहीमा पर्नलागेको प्रकरणबाटै प्रष्ट होला, त्यस पार्टीलाई निरंकुशताले कतिसम्म ग्रसित बनाएको रहेछ।

निर्वाचन परिणामको नैतिक दायित्व र जिम्मेवारी सर्वोच्च कार्यकारी नेताले नलिने, ‘लिनुपर्छ’ भन्ने कार्यकर्ताको आवाजमाथि ‘अनुशासन’ को डण्डा चलाउने धृष्टताले प्रष्ट पार्छ, सत्ता र शक्तिले अन्धो बनाएको नेता विवेकहीन हुनथाल्छ। यसबाट एमाले अध्यक्ष ओली आफ्नै गैरजिम्मेवारी, अहंकार र दम्भको व्यवहारको कारण पार्टी विभाजित भएको र निर्वाचनले एमालेलाई पहिलो स्थानबाट दोस्रो स्थानमा झारेको वास्तविकतालाई आत्मसात गर्न नचाहनु नेपाली राजनीतिको महाविडम्बना हो।

जनभावनाको कदर नगर्ने, बरू जनचाहनालाई हेपाहा ब्यवहार देखाउँदै उम्मेदवार चयनमा गरिएको आफूखुसी निर्णयको परिणाम जनताले देखाइदिए र त्यस्ता ‘नेताप्रेमी’ उम्मेदवारलाई हराइदिएर। परिणामस्वरूप २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेका २९२ वटा पालिकामध्ये उसले ५९ प्रतिशत (२०२) पालिका गुमायो, ९२ पालिकामात्र जोगायो। कांग्रेसले २०७४ मा २६६ पालिका जितेको यसपटकको निर्वाचनमा ४८ प्रतिशत (१२७) पालिका गुमायो, १३९ मा दोहोर्‍याएर वर्चश्व कायम गर्‍यो।

माओवादीले २०७४ मा जितेका १०६ पालिकामध्ये ४५ प्रतिशत (४८) पालिका यसपटकको निर्वाचनमा गुमायो। केवल ५८ पालिकामा वर्चश्व कायम गर्‍यो। यो वास्तविकतालाई न एमाले अध्यक्ष ओलीले, न त कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले स्वीकार गरे। एमाले अध्यक्ष ओली पार्टीभित्र अन्तरघात भएकोले चुनाव हार्नुपर्‍यो भन्दै दोष अन्य एमाले नेताहरूमाथि थोपरेर आफू पानीमाथिको ओभानो हुने कसरतमा छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पनि पार्टीभित्रैका अन्तरघातीहरूले गर्दा आशातीत सफलता नपाएको भन्दै आफ्ना दोष छोप्ने हर्कत गरिरहेका छन्। उम्मेदवारी चयनमा नेताहरूले हस्तक्षेपका दाह्रा–नङ्ग्रा गाडेको प्रसंगमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठीकै भने–उम्मेदवारी चयनमा जनतालाई हेपेर मनपरि निर्णय गरेकाले जनताले पार्टीका उम्मेदवारको टाउकामा लौरोले हाने...।

जनताले यो निर्वाचनबाट आफ्नो सर्वोत्तम हित र चाहना प्रकट गरेका छन्। पार्टीहरूले उपेक्षा र तिरस्कार गरेका पक्ष वा समुदायलाई स्वतन्त्र उम्मेदवारलाई निर्वाचन जिताएर देखाइदिएका छन्। नेपालगन्जमा स्वर्गवासी राजा वीरेन्द्रको सालिक राख्न प्रहरीले दमन गर्न खोज्दा जुन वातावरण देखियो, त्यसबाट पार्टीहरूको उपेक्षामा परेको राजसंस्थाका पक्षधरहरूको जनसमर्थनको व्यापकता र दृढता पुष्टि हुन्छ।

पार्टीहरूभित्रको अन्तहीन कचिङ्गल सैद्धान्तिक होइन, जुँगाको लडाइँ हो र सामन्ती चरित्रको विशेषता हो। जसरी हुन्छ आफूमात्र बलियो बनूँ, मेरो एकछत्र राज चलोस्, नियम, नैतिकता र अनुशासन मलाई नलागोस् भन्ने प्रवृत्ति सामन्ती रूप हो। ठूला पार्टीहरूमा यो प्रवृत्ति गणतन्त्रको एक भाइ भइसकेको छ। ओलीको दम्भ, अहंकार र ज्यादती एमाले विभाजनका लागि जति दोषी छ, त्यस्तै दोष पार्टीका अन्य नेताहरूको नभएको होइन।

पार्टी फुटाउन सूत्रधारको भूमिका खेल्ने, माधव नेपाल र झलनाथ खनाललाई उक्साउने, नवस्थापित पार्टी नेकपा एकीकृत समाजवादी पार्टीको विधान र अन्य दस्ताबेज तयार गर्ने तर आफूहरू भने लुसुक्क एमालेतिरै फर्किएका १० जना नेताहरूको भूमिका, साख र विश्वसनीयता पनि ध्वस्त भयो। एमाले फुटाउने समान दोषी १० भाइ पनि हुन्।

यसरी एमाले हालैको निर्वाचनमा आफ्नै कारणले खिइएको हो। अघिल्लो चुनाबमा सबभन्दा ठूलो पार्टीको हैसियत पाएको जनसमर्थनलाई सधैँका लागि मनपरी गर्ने लाइसेन्स ठान्यो र जथाभावी गर्न थाल्यो। जनता कसैका प्रति पूर्वाग्रही छैनन् र कसैको कब्जा वा बन्धनमा पनि छैनन्। तिनै जनताले यसपालि फरक मत देखाए। मुलुकका दुुई जिम्मेवार राजनीतिक दललाई मुलुकका यावत् जिम्मेवारी र अभिभारा पूरा गर्न मतादेश दिएका हुन्।

यो मतादेश पाँच वर्षका लागि हो र पाँचवर्ष भनेको भोलि विहान हो भन्ने चेत कांग्रेस र एमालेले लिन सकेनन् भने यिनीहरूको व्यवहार वा आचरणलाई दण्ड दिने लौराहरू अब देखापर्न थालेको अर्थमा बुझ्नु सही बाटोमा हिँड्न सुधारिएको मनस्थितिको द्योतक हो। मुलुक र जनताप्रति जिम्मेवार नेता वर्तमान समाज, भावी पुस्ता र इतिहासप्रति डर राखेर सावधानीका साथ जवाफदेही हुनेगर्छ र त्यस्तो नेता राजनेता हुन्छ।

त्यस्तो नेताप्रति समकालीन सञ्चारमाध्यम कठोर वा आलोचक भए पनि इतिहास र भावीपुस्ता अनुगृहित र प्रशंसक हुनेगर्छ। तर वर्तमान समाज, भावी पुस्ता र इतिहास कसैप्रति पनि डर वा उत्तरदायित्व नराखी जथाभावी गर्ने नेता र अपराधीका बीच कुनै सिमाना वा फरक देखिन छाड्छ। नेतृत्वको संकट, चरित्रको संकट र विश्वासको संकट, यिनै त्रिदोषमा मुलुक फस्छ। एमालेभित्र त्यही भयो, त्यही दोष र रोग कांग्रेसलगायतका अन्य सबैजसो पार्टीमा ब्याप्त छ। तर स्थानीय निर्वाचन परिणामले दिएको चेतावनी र नैतिक दबाबलाई लत्याएकाले मुख्य पार्टीका शीर्ष नेताहरूले आफ्नो पुरानै ढर्रा र मनपरि सच्याउने लक्षण देखाएका छैनन्।

प्रधानमन्त्री देउवा त विदेशीका अगाडि सामान्य शिष्टाचार र संस्कार पनि देखाउन नसकेर वातावरणलाई नै लाजमर्दो बनाइदिन्छन् भन्ने उदाहरण गत जेठ ३ गते लुम्बिनीको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि उनले गरेका अशोभनीय हाउभाउ र व्यवहारले पुष्टि गरिसक्यो। सोही बेवास्ताको रूप हो हिजोआज फेरि सुन्न थालिएको ‘वाम एकता’ को राग। असफल भएर आर्यघाटमा पुगिसकेको ‘वाम एकता’ बौरिएर त के आउला र? तर पनि प्रस्तावचाहिँ बौरिनथालेको छ।

फेरि पनि बाम एकता भएमा जनताले त्यस्तो एकतालाई खास महत्व दिन्छन् भन्ने आधार छैन। आफ्नै शुभलाभको निम्ति नेता व्यवस्थापनको खाँचो र निहित स्वार्थबाट निर्देशित भएर वाम एकताको कुरा आएको त होइन? यो लथालिङ्ग अवस्था हेरेर खुच्चिङ बजाउनु जिम्मेवारी र दायित्वको द्योतक मानिन्न। हराएको जनविश्वासबीच खोजिएको ‘सहमति’ नेपाली राजनीतिको कठोर विशेषता हो। विगतको कसीमा समीक्षा गर्दा पार्टीहरू असफल र नाराहरू निष्ठाविहीन रटान सावित भइसके।

थेग्नै नसक्ने परिवर्तन देशलाई अभिशाप र ब्यर्थको कुरा हुनपुग्यो भने विदेशी तत्वलाई यहाँ आफ्ना पञ्जा मजबुत बनाएर राख्ने मौकाको रूपमा भयो। चाहिएको थियो इमानदारीले सुसज्जित बृहत् राष्ट्रिय सहमति र मेलमिलापको वातावरण दिने विधि–विधान। तर अहोरात्र चलिरह्यो सत्ताकलह र शत्रुता। यस्तो प्रवृत्तिको जसरी पनि अन्त्य गर्नुपर्छ, देशभित्रैबाट गर्न सकिन्छ  

प्रकाशित: २६ जेष्ठ २०७९ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App