२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

भावी अत्यधिक गर्मीमा बाँच्नु चुनौतीपूर्ण

अत्यधिक गर्मीका कारण हुने मृत्यु रोक्न सकिने हुँदाहुँदै पनि यही कारणले विश्वका हजारौँ मानिसको बर्सेनि मृत्यु हुने गरेको छ। झण्डै १ अर्ब मानिसलाई प्रभाव पार्ने गरी भारत र पाकिस्तानमा देखिएको अत्यधिक गर्मीले मानिसको बाँच्न सक्ने क्षमताको परीक्षण गरिरहेको धारणा जलवायुसम्बन्धी अन्तरसरकारी निकाय (आइपिसिसी) को छैटौँ प्रतिवेदनका लेखकसमेत रहेकी चाँदनी सिंहको छ।

गत अप्रिलमा उत्तर–पश्चिम तथा मध्य भारतको सरदर गर्मी विगत १२२ वर्षयता सवैभन्दा बढी अभिलेख भएको थियो। यो समस्या दक्षिण एसियाको मात्र होइन। पछिल्ला वर्षमा अमेरिका, अस्ट्रेलिया, युरोप, स्कान्डिनाभिया र जापानमा समान प्रकृतिका समस्याले हजारौँ मानिसलाई अस्पताल भर्ना हुने तथा अत्यधिक मृत्यु हुने घटना बढेका छन्।

यसैगरी अत्यधिक गर्मीका कारण नियमित अवधि भन्दा अगावै हुने जन्म दर बढेको छ भने बच्चाहरू कम तौलका हुने तथा गर्भमै मृत्यु भएका बच्चा जन्मने क्रममा तीव्रता आएको छ। अत्यधिक गर्मीले कामदारको उत्पादकत्वमा कमी आएको छ भने मिर्गाैला रोगीको संख्या बढेको छ। यही कारण आत्महत्या गर्नेको संख्या पनि वृद्धि भएको छ।

त्यसैले अत्यधिक गर्मी सबै समाजका लागि समस्या बनेको छ। यसले मानव स्वास्थ्य मात्र होइन, भौतिक संरचना, बालीनालीको उत्पादन तथा व्यावसायिकरूपमा पालिने कुखुराको मृत्यु दर बढेको छ। यसैले जीवन यापन र खाद्य सुरक्षामा चुनौती थपिएको छ। प्रशान्त क्षेत्रको उत्तर पश्चिम र पश्चिमी क्यानडामा सन् २०२१ मा बढेको गर्मी यसको एक उदाहरण मान्न सकिन्छ।

यो सन्दर्भमा अत्यन्त महत्वपूर्ण पक्ष के हो भने यस प्रकारका घटना जलवायु परिवर्तनका कारण सिर्जित भएका हुन्। यसअघि गरिएको अभिलेखभन्दा ५ डिग्री सेन्टिग्रेडले ताफक्रम बढ्दा यो क्षेत्रमा १ हजार मानिसको अतिरिक्त मृत्यु भएको छ भने गर्मीका कारण अस्पताल भर्ना गर्नुपर्नेको संख्या ६९ गुणाले बढेको छ। गहुँ तथा चेरीको उत्पादन घटेको छ भने चर्काे गर्मीले ओइस्टर, मुसल्सलगायतका सामुन्द्रिक जीवजन्तु आफ्नै बासस्थानमा मर्न थालेका छन्।

यसले निश्चित जनजाति तथा कम आय भएका समुदायको जीवनयापन र खाद्य सुरक्षामा खतरा उत्पन्न भएको छ। चर्काे गर्मीका कारण हुने कुल मृत्युमध्ये ४० प्रतिशत मृत्युका लागि जलवायु परिवर्तन जिम्मेवार भएको देखिएको छ। जलवायु परिवर्तनले तातो हावाको तीव्रता, रहने अवधि र आउने क्रमलाई बढाएको छ। यस्तो विपद्बाट प्रभावित हुने जनसंख्याको सुरक्षाका लागि तत्काल थप प्रयास गर्नुपर्ने देखिएको छ।

समुदाय र स्वास्थ्य सेवा प्रणालीलाई संकट थेग्न सक्ने पार्न थप लगानी नगर्ने हो भने यसले थप मृत्यु निम्त्याउने प्रष्ट छ। सर्वसाधारणले प्रचण्ड गर्मीबाट बचाउन, अस्पताल भर्ना दर तथा मृत्यु दर घटाउन नतिजामा आधारित तथा प्रष्ट सन्देशसहितको कार्ययोजना अगाडि बढाउन आवश्यक छ। यसबाहेक, पूर्वसूचना प्रणाली तथा प्रतिकार्य प्रणालीसहितको दीर्घकालीन योजनाले पृथ्वीलाई थप गर्मी हुनबाट बचाउन सकिन्छ।

सर्वसाधारणलाई गर्मीबाट बचाउन भौतिक संरचनामा प्रयोग हुने निर्माण सामग्रीलाई फेर्न जरुरी छ भने हरियाली क्षेत्रलाई विस्तार गर्न उत्तिकै आवश्यक छ। वरिपरिको वातावरण परिवर्तन गर्नुभन्दा मानिसलाई गर्मीबाट बचाउने उपायमा बढी ध्यान जान जरुरी छ। पूर्वसूचना तथा प्रतिकार्य प्रणालीको सुनिश्चतता सहित स्थानीय क्षमता बढाउन सहकार्यको आवश्यकता छ।

एकातिर मौसम विभाग, आकस्मिक सेवा सेवा, प्रहरी तथा वारुणयन्त्र विभागले स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्न आवश्यक छ भने अर्काेतिर वृद्धवृद्धा तथा जोखिममा रहेका समुदायको सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने हुन्छ।

यो विषयमा संसाधन समस्याको विषय हुनु हुँदैन। भारतको अहमदावादसहित विश्वका विभिन्न स्थानमा पूर्वसूचना प्रणाली यसअघि नै यथेष्ट हिसाबले स्थापना गरिएको छ। यसबाहेक, ग्लोबल हिट हेल्थ इनफरमेसन नेटवर्कले स्थानीय तथा राष्ट्रिय तथ्यांक संकलन गरिरहेको छ भने यो क्षेत्रमा भए/गरेका राम्रा अभ्यासको प्रचारप्रसार गर्दै आएको छ।

प्रचण्ड गर्मीको सिलसिला बढ्दो क्रममा रहेको पृष्ठभूमिमा सरोकारहरूले थप सहकार्य गरेर आवश्यक निर्देशिका जारी गर्न जरुरी देखिएको छ। हाल चालु रहेका पूर्वसूचना प्रणालीले जलवायु परिवर्तनको जोखिमको पक्षलाई यथेष्टतवरले समेटेका छैनन्। त्यसैले यो विपद्बाट थप अनुकूलित हुन योजनाकारले गर्मीयामको सुरु तथा अन्त हुने समयसारिणीमा आएको परिवर्तनालाई ध्यान दिन जरुरी छ।

यसैगरी यो समस्यालाई सम्बोधन गर्न निरन्तरको सन्देश प्रवाहसहितको क्षेत्रीय प्रयास पनि उत्तिकै टड्कारो बनेको छ। संकटवाट बच्न जोखिममा रहेका समुदायको स्थानीय ज्ञानको पनि प्रयोग गर्न आवश्यक छ। तापक्रमको अंकसहित स्थानीय ज्ञानलाई प्रयोगले तहगत पूर्वसूचना प्रणालीलाई सशक्त पार्न सकिन्छ।

उदाहरणका लागि पहिलो चरणमा तातो हावा आउन सक्ने सूचनालाई केही दिनअगावै प्रवाहित गर्दा वृद्धवृद्धा, बालबालिका तथा गर्भवती महिला लगायत अत्यधिक जोखिममा रहेका समूहलाई सुरक्षा दिन सकिन्छ। यसैगरी सूचना प्रवाहको दोस्रो चरणअन्तर्गत घरबाहिर काम गर्ने कामदार, खेलकुद तथा यससँग सम्बन्धित गतिविधिमा संलग्नलाई पूर्वचेतावनी जारी गर्न सकिन्छ।

यसैगरी तेस्रो चरणमा सर्वसाधारणलाई सुनिश्चित गर्न सकिन्छ। यस्ता चेतावनी दिने क्रममा प्रभावकारी सञ्चार प्रणालीको भूमिका महत्वपूर्ण हुन्छ जसले गर्दा गर्मीबाट बच्न आमसर्वसाधारण सही हिसाबले उत्पे्ररित हुन सक्छन्। यसका अतिरिक्त जोखिम नक्सांकन (भर्नबिलिटी म्यापिङ) ले नीति निर्मातालाई सबैभन्दा पहिला कसलाई ध्यान दिने भनेर निर्णय गर्न सजिलो पार्छ।

आगामी वर्षमा गर्मी झन् बढ्ने देखिएकाले गर्मी अनुकूलन योजना अद्यावधिक गर्न जरुरी छ। सफल अभ्यास र मोडललाई साझेदारी गर्दा जोखिममा रहेका समुदायको संकट थेग्न सक्ने क्षमता बढ्छ भने यसले प्रतिकार्यलाई दिगोपना दिन्छ। प्रचण्ड गर्मीमा बाँच्न सकिन्छ तर त्यसका लागि हाम्रो तयारी पर्याप्त हिसाबमा हुनुपर्छ।

(लेखक इबी युनिभर्सिटी अफ वासिंगटनकी प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेटबाट।)

प्रकाशित: २५ जेष्ठ २०७९ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App