९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

प्रवर्द्धन पर्खँदै मौलिक नेपाली खेती

सम्पन्न राष्ट्रहरूको औद्योगिक क्रान्तिले फड्को मार्दै गर्दा बीसौँ शताब्दीको पहिलो चार दशक ती देशमा रासायनिक मल र विषादीको प्रयोगले व्यापकता पायो।

यसका नकारात्मक असर बढ्दै गएकाले सन् १९४० को दशकबाट रासायनिक कृषिको विकल्पमा जैविक कृषि अभियान सुरु भयो। सन् १९७२ मा फ्रान्समा जैविक कृषि अभियानका लागि अन्तर्राष्ट्रिय सञ्जाल नै स्थापना भयो। जसबाट जैविक कृषिका विधि तथा प्रविधिहरू विश्वव्यापी गराउन र रासायनिक मल तथा विषादीको असरबारे चेतना जगाउने अवसर मिल्यो।

सन् १९८० को दशकमा विश्वका धेरै मुलुकमा जैविक कृषिमा सम्बद्ध किसान तथा उपभोक्त सचेत हुँदै जैविक कृषिका लागि आवश्यक नीतिनियम बनाउन, सिफारिसपत्र दिने व्यवस्था गराउन र जैविक कृषि बजारको व्यवस्था गर्न अग्रसर भए। जसले गर्दा जैविक कृषि उपजहरूको मापदण्ड निर्धारण र सिफारिस गर्ने काम थुप्रै विकसित देशमा सन् १९९० को दशकबाट अघि बढ्यो।

फलस्वरूप उपभोक्ताको माग पनि बढ्दै गएकाले जैविक कृषि अभियान अगाडि बढ्दै गयो। नेपालमा पनि विभिन्न गैरसरकारी संस्थाबाट जैविक कृषिका लागि काम हुँदै आएको छ। सरकारीतवरबाट गरिएको एकीकृत बाली शत्रु जीव व्यवस्थापन कार्यक्रमले यसमा केही योगदान गरेको छ। अन्य सरकारी कार्यक्रममा भने जैविक कृषिले खासै स्थान पाउन सकेको छैन।

नेपालको परम्परागत कृषि प्रणाली मूलतः स्थानीय विशेषता र किसानहरूको लामो अनुभवबाट खारिएको छ। ती प्रविधि कम खर्चिला, दिगो र पर्यावरणमैत्री छन्। जसले मानव स्वास्थ्य, पारिस्थितिक प्रणालीको रक्षा, न्याय र सम्मान गर्छ। यसले नेपालीे मौलिक खाद्य र कृषि संस्कृतिलाई जगेर्ना गर्नसमेत योगदान गर्दै आएको छ।

नेपालका कतिपय भूभागमा आजसम्म पनि रासायनिक मल, विषादी, हर्माेन र नसड्ने प्लास्टिकको प्रभाव परेको छैन। तर त्यस्ता क्षेत्रलाई जैविक खेतीमा गणना गर्ने गरेको पाइँदैन। यस्ता भूभाग पहिचान र खेतीपातीको संरक्षणमा ध्यान दिइएको देखिँदैन।

नेपाली किसानको आफ्नै बलबुताले घर एवं गाउँवरिपरि उपलब्ध वस्तुहरूको उपयोग गरी, गर्दै आएका कृषि पद्धतिले पर्यावरणीय सन्तुलनमा पुर्‍याउँदै आएको योगदानलाई मूल्याङ्कन गरिएको पाइँदैन। साथै यस अभ्यासले विविधता, ज्ञानको विकास, मानव र सामाजिक मूल्यहरू, संस्कृति र खाद्य परम्परा, उत्तदायी सुशासन अनि गतिशील अर्थव्यवस्थामा पुर्‍याएको टेवाको हिसाब गरिएकोसमेत पाइँदैन।

नेपाली किसानले पुर्खाले हस्तान्तरण गरेका ज्ञानलाई उपयोग गरी गरिएका खेतीपाती एवं स्थानीय विशेषताअनुसारका मौलिक प्रविधि उपयोग गरी खेती पद्धतिलाई निरन्तरता दिँदै आएका छन्। यसभित्र विविधीकृत बालीको अभ्यास, पारिवारिक सहकार्य एवं ज्ञानको उपयोग, पुर्खा एवं अघिल्लो पुस्तासँगको समन्वय एवं सल्लाहमा दक्षताको उपयोग गरी स्थानीय स्तरमा उपलब्ध पदार्थहरूको बहुउपयोग भेटिन्छ। सामाजिक र सांस्कृतिक मान्यतामा योगदान गर्ने उत्पादनको अभ्यास साथै स्वच्छ उत्पादन र स्वस्थ्य जीवनसँग गाँसिएका अभ्यासको अनुपम संगम यसमा पाइन्छ।

यसमार्फत किसानले पारिवारिक आय आर्जन एवं ग्रामीण अर्थतन्त्रको गतिशीलतामा योगदान पु¥याएका छन्। आ.व. २०७९/८० को वार्षिक नीति कार्यक्रम र बजेटमार्फत २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाइने साथै प्रांगारिक उत्पादनलाई प्रोत्साहन, प्रमाणीकरण र ब्रान्ड प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा बजारीकरण गरिने उल्लेख गरेको छ। यसबाट जैविक उत्पादनको व्यवसायीकरणमा किसानले भोगेका समस्या, चुनौतीको विश्लेषण र यसको प्रवद्र्धनमा किसान र सरकारबीचको समन्वय र सहकार्य ढोका खुलेको छ।

यसलाई सदुपयोग गर्दै किसानी खेतीपातीको मानव स्वास्थ्य एवं पारिस्थितिक प्रणालीमा यसको योगदान तथा महत्वको मूल्यांकन गरी प्रवद्र्धनात्मक क्रियाकलापमा राज्य वा अन्य सरोकारवाला समुदायले कस्तो योगदान दिनुपर्दछ भन्ने निक्र्योल गर्न आवश्यक छ। यस खेतीपातीको अभ्यासले आयातित कृषि सामग्रीप्रतिको निर्भरता घटाउँदै स्थानीय तहमा उपलब्ध साधन/स्रोतको प्रभावकारी उपयोगको सम्भावना देखाएको छ।  

झापाको बुद्ध शान्ति गाउँपालिकाका धनबहादुर श्रेष्ठले अपनाएका कृषि पद्धतिबारे जानकारी हासिल गर्ने अवसर मिलेको थियो। उनको भनाइ थियो– ‘बारीमा विभिन्न किसिमका मौसमी तरकारी र फलफूल पनि लगाएको छु। तरकारीको उत्पादत्व बढाउनका लागि घरमै पालेका भैँसीको गोबर र झारपातलाई कुहाएर मल बनाउँछु।

तरकारीमा कीरा र रोगको प्रकोप आइलागेमा गाई भैँसीकै मूत्र पानीमा मिसाइ छर्कने गरेको छु ।’ यो तरिका उनले कतै पढेर थाहा पाएका हैनन् रे। उनकै हजुरबुबा, आमाले अपनाएका पद्धति नै रहेछ यो। जन उनले यसैलाई नै पर्यावरणीय कृषि भनिने रहेछ भन्ने बुझे त्यसपछि झनै हौसिएका रहेछन्, मैले ठीक काम गरेको रहेछु भनेर। न रासायनिक मल न त विषादी नै। न मानव स्वास्थ्यमा हानि न त वातावरण नै दूषित हुने– गज्जब लाग्यो उनको तरिका।

त्यस्तै बाँकेको खजुरा गापाका खर्कबहादुर पुनको प्रांगारिक मलखाद बनाउने आफ्नै शैली पनि गजबको रहेछ– गोबर मल, भर्मी कम्पोस्ट, वन्य कम्पोस्ट, झोल मल आदि। यीमध्ये बड्कौँला रसबरी (बाख्राको बड्कौँला र पशु मूत्रको मिश्रण त उनकै आविष्कार हो रे।

प्रकृतिमैत्री कृषिका आधारभूत मार्गदर्शक सिद्धान्त र मूल्य/मान्यता बृहत् र विविध छन्। अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यता हेर्ने हो भने पनि नेपाली कृषि संस्कृति विविधता, ज्ञानको समविकास, मानव र सामाजिक मूल्यहरू, संस्कृति र खाद्य परम्परा, उत्तरदायी सुशासन र गतिशील अर्थव्यवस्थामा आधारित छ। 

यस पद्धतिमा अवलम्बन गरिएका अभ्यास विषेशतः रैथाने अभ्यासमा आधारित, प्राकृतिक खेतीको प्रवद्र्धनमा योगदान गर्ने प्रांगारिक वा जैविक या पर्यावरणीय कृषिको अभ्यास, शून्य खनजोतमा आधारित खेती पर्माकल्चर जस्ता अभ्यास सदिऔँदेखि परीक्षणमा खारिएका अभ्यास हुन्। यस अभ्यासमा बाहिरी साधन/स्रोत र प्रविधि कम भन्दा कम प्रयोग गर्दै समग्रमा नेपाली किसानको बलबुता, स्थानीय पदार्थको उपयोग र ज्ञान प्रयोग गरिएको हुन्छ। यसमा जलवायु अनुकूलनीय क्षमता पनि हुन्छ।

पारिस्थितिक स्वस्छन्दता कायम राख्दै नेपाली किसानले अवलम्बन गर्दै आएका खेतीपाती पुनर्उत्पादनको मौलिक अभ्यासलाई संस्थागत गरी उत्पादनको प्रमाणीकरण र पहिचानसहित मूल्य शृंखलाको विकास र बजारीकरण आवश्यक छ। यसले नेपाली मौलिक उत्पादन, खाद्य संस्कृतिको रक्षा, खाद्य सुरक्षामा योगदान दिइ स्वच्छ समाज निर्माणको आधार तयार पार्छ। साथै माटोको उत्पादन क्षमताको रक्षा गर्दै पर्यवरणीय चक्रमा समेत भूमिका निर्वाह गर्छ।

नेपाली उत्पादनको अन्तरनिर्भरता चक्रमा पनि योगदान गर्छ। त्यसैले यो नेपाल र नेपालीका लागि प्राकृतिक वरदान नै हो। नीतिगत स्पष्टता र व्यवहारगत तादात्म्यतासहित यसको संरक्षण एवं विकास, व्यवसायीकरण, विविधीकरण एवं विशिष्टीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमा सहलगानी, सामुदायिक पूर्वाधारको विकास र बजारीकरणमा तीनै तहको सरकारको समन्वय र सहकार्य जरुरी छ। किनकि यसलाई बचाउने र प्रवद्र्धन गर्ने दायित्व हाम्रै हातमा छ।(अधिवक्ता एवं सोधकर्ता)

प्रकाशित: २० जेष्ठ २०७९ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App