१० असार २०८१ सोमबार
image/svg+xml
विचार

औषधीय गाँजाका ताजा तथ्य र चुनौतीहरू

गाँजाको बोटबाट प्राप्त हुने कलिला पातहरू र प्रशोधित रासायनिक पदार्थलाई औषधीय प्रयोगका लागि बिक्रीवितरण गर्न उपलब्ध गराइएको उत्पादनलाई औषधीय गाँजा भनिन्छ।  

विश्वभरनै यसको माग हरेक वर्ष बढिरहेको छ। गत वर्षको तुलनामा यस वर्ष औषधीय गाँजाको माग करिब २२ प्रतिशतले बढेको पाइयो। यो वर्ष मात्र विश्व बजारमा करिब ३ हजार ५ सय करोड अमेरिकी डलर (करिब ४३ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको कारोबार भएको छ।

बढ्दो विश्व बजारका कारण नेपालमा पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि यसको चर्चा बढेको देखिन्छ। गृह मन्त्रालयले लामो समयको गृहकार्यपछि यससम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो।  

जनस्वास्थ्य सुरक्षा तथा औषधीय लाभ भएको वनस्पति भएकाले यसको अध्ययन अनुसन्धानमा विश्वभरिका वैज्ञानिकहरू लागिरहेका छन्। मादक पदार्थ अन्तर्गतको वनस्पति भए पनि क्यानडाले यसबाट औषधिहरु आविष्कार गरेपछि यो वनस्पति विश्वव्यापी चर्चामा आएको हो।

गाँजाको सुरक्षित खपत र नियन्त्रित वितरण

औषधीय एवं मनोसक्रिय वनस्पतिको रूपमा आयुर्वेदमा केही हजार वर्षअघि नै मान्यता दिइएका तथ्यहरू हाम्रा शास्त्रहरूमा सुरक्षित छन्। अनुसन्धानका तथ्यहरूको आधारमा वयस्क व्यक्ति, विरामी र मनोरञ्जन आदिका लागि सुरक्षित प्रयोगमा अनुमति दिइएको छ। तर यसको स्वास्थ्य सुरक्षा, विषाक्तता र प्रभावकारिताका प्रमाणहरू भने सीमित छन्।

धेरै देशमा औषधीयबाहेक अन्य प्रयोजनका निम्ति गाँजाको प्रयोग खुला  गर्दा  सुरक्षित  खपत र नियन्त्रित वितरणमा प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरिएको छ। नेपालमा पनि नियन्त्रित खेती तथा वितरणका बारेमा निकै चासोका साथ छलफलहरु भइरहेका छन्। यसका लागि नेपालका केही निकायहरुमा नीति निर्माण कार्य सुरु हुँदैछ।

गाँजाको अनुसन्धानबाट आएका नयाँ उपलब्धिहरू

गाँजामा पाइने औषधीय रसायन ‘टिएचसी’ कैयौं प्रकारका दुखाइ घटाउन एक भरपर्दो विकल्प हुनसक्छ। तर, यसले स्मरण शक्तिमा असर पार्छ। गाँजाको प्रयोगले क्यान्सरका रोगीहरुको अनिद्रा र दुखाइसम्बन्धी समस्या ९५ दशमलव ५ प्रतिशत समाधान भएको पाइएको छ। यो अध्ययन इजरायलका क्यान्सर रोगीहरुमा गरिएको थियो।  

यसैगरी केमोथेरापी गराइरहेका क्यान्सरका विरामीहरूमा केमोले पार्ने अन्य दुष्प्रभाव घटाउन पनि गाँजा र यसको मुख्य तत्व सफल भएको पाइएको छ। यो तथ्य अमेरिकाको क्यालिफोर्नियाका अनुसन्धानकर्ताले पत्ता लगाएका छन्।  

गाँजा लाभकारी हुँदाहुँदै पनि यसले मानवीय स्वास्थ्यमा केही दूरगामी असर पारेका तथ्यहरु पनि बाहिर आएका छन्। यसको प्रयोगले स्मरण शक्तिमा असर पर्छ भन्ने तथ्य बाहिर आएका हुन्।  

यसैगरी गत साता प्रकाशित अनुसन्धान अनुसार गर्भवती महिलाहरूले गाँजा सेवन गरेमा उनीहरुको पेटको बच्चाको मस्तिष्कमा समेत असर पर्छ भन्ने तथ्य सार्वजनिक भएको छ।

करिब ६ महिना पहिले गाँजाको तेल प्रयोग गरेर आँखाको उपचार गरिएको थियो। आँखा धेरै पटक झिम्क्याउने समस्याका लागि गाँजाको तेल लाभकारी हुन्छ भनी इजरायलका वैज्ञानिकहरूले नयाँ तथ्य फेला पारे।  

अमेरिकाको उत्तरी टेक्सासको एक विश्वविद्यालयका वैज्ञानिकहरूले गाँजासँग मिल्ने नयाँ रासायनिक तत्वहरू प्रयोगशालाहरूमा उत्पादन गरेका थिए। नयाँ तत्वहरू औषधीय गुणका निम्ति अत्यन्त लाभकारी भएको पाइयो। यसरी उत्पादन गरिएका औषधिहरू गाँजाका औषधिहरुको तुलनामा बिक्रीवितरणका लागि सहज हुने देखिएको छ।

गाँजामा थपिएका नयाँ चुनौतीहरु  

गाँजाको विश्व बजार विस्तार हुँदै जाँदा पातको धुलोको सट्टा यसको सार तत्व, तेल र
रासायनलाई छुट्टयाएर निर्यात गर्दा बढी मुनाफा प्राप्त गर्न सक्ने देखिन्छ। तर, यसको सार तत्व छुट्टायाउन प्रयोग गरिने घोलक पदार्थ जस्तै बेन्जिन, मेथानोल, असितटोनाइटोल आदिको केही अवशेष बाँकी रहन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुन्छ। दक्षिण अफ्रिकाको नमुनाहरूमा परीक्षण गर्दा ३७ प्रतिशत त्यस्ता नमुनाहरूमा घोलक अवशेष फेला परेको हुनाले यसको एक्सट्रक्ट बनाउने प्रक्रियामा चुनौती देखिन्छ।  

मानसिक रोगबाट ग्रसित व्यक्तिहरूमा गाँजाले अझ बढी हानी गर्छ। गत महिना हार्वर्ड विश्वविद्यालयको टोलीले गरेको अनुसन्धनमा कलिलो उमेर समूहका व्यक्तिहरूमा गाँजाले मानसिक रुपमा अत्यधिक प्रभाव परेको देखियो।

गाँजा गैरअपराधीकरण हुँदा धेरै जनसंख्यामा असर पर्ने भएकाले  यसको  व्यापकता सार्वजनिक स्वास्थ्यसँग जोडिने महत्वपूर्ण विषय हो। बिरामीहरूलाई गाँजाबाट बनेको औषधि उपलब्ध गराउने स्वास्थ्यकर्मी, लेख्ने चिकित्सक र प्रयोगकर्ताले मानव खुराकको मात्रा पहिचान गर्दा कमजोरी वा गल्ती हुन गएमा यसले स्वास्थ्यमा दुष्प्रभाव पार्ने खतरा पनि विद्यमान देखिन्छ।  

गाँजा खेती गर्न चाहने कृषकले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने नीति अन्य देशले अवलम्बन गरेका छन्। नियन्त्रित विधिद्वारा तोकिएको भूभागमा मात्र गाँजा खेती गर्नुप¥यो भने, त्यसमा  पाइने औषधीय तत्वहरूको अनुपातमा फेरबदल हुने संभावना पनि त्यत्तिकै रहन्छ। रासायनिक गुण उत्कृष्ट भएका बोटका प्रजाती छनोट गरी तोकिएको स्थानमा उत्पादन, भण्डारण गर्न सके मात्र उच्च गुणस्तरको कच्चा पदार्थ प्राप्त हुन्छ र आर्थिक रूपान्तरणमा टेवा पुग्छ भन्ने कुरा स्विजरल्याण्ड, इजरायल, क्यानडाले अपनाएको प्रविधिबाट सिक्न सकिन्छ।  

गाँजालाई कानुनी मान्यता दिँदा अपराधिक गतिविधि प्रोत्साहित हुने चुनौती थपिएको तथ्य कर्नेल विश्वविद्यालयका प्राध्यापक श्याम रमणमले चार साताअघि सार्वजनिक गरेका छन्।

मनोरञ्जन र औषधीय प्रयोजनका लागि दिइने गाँजाको कानुनी अन्तर सम्बन्धबारे स्पष्टता छैन। औषधि सेवन गर्ने बिरामीहरुलाई मनोरन्जनका लागि दिइएको गाँजाले दुखाई, अनिन्द्रा, चिन्ता, मानसिक तनाब आदि रोगहरुमा खाने गरेको औषधिको खुराकलाई समेत घटाएको पाइयो। 

यस्तो अवस्थामा गाँजालाई औषधीय वर्ग वा अन्य कुनै वर्गमा वर्गीकरण गर्ने र अपराधिक गतिविधिबाट कसरी कानुनी भिन्नता निर्धारण गर्ने भन्ने अर्को एउटा चुनौती देखिन्छ।  

अन्त्यमा गाँजा एक औषधीय वनस्पति हो। गाँजालाई गैरअपराधीकरण वा अनुसन्धानका लागि सहजीकरण गराउने विषयमा अन्तर्राष्ट्रिय अभ्यास, सिकाई र अनुसन्धानका ताजा तथ्यहरूलाई आधार बनाएर निर्णय लिँदा बुद्धिमानी हुन्छ।

(लेखक काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एवं जडीबुटी विज्ञ हुन्।)

प्रकाशित: ९ जेष्ठ २०७९ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App