१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

वृद्धलाई युवा बनाउने अन्वेषण

उमेर पाको हुँदै गएपछि मानिस मानसिक रूपले शिथिल अनि शारीरिक हिसाबले जीर्ण हुदै जान्छ। स्मरण शक्ति हराउँदै जानु, हिँडडुलमा समस्या हुनु अनि शारीरिक तन्तुहरू लखतरान देखिनु बुढेसकालका समस्या हुन। वृद्धावस्थाको मानिसलाई पुनः युवा अवस्थामा फर्काउन सकिन्छ त भन्ने सबैको चासोको विषय हो। मानिसको बुढ्यौलीलाई पछि धकेल्न सकिन्छ कि भन्ने विषयलाई केन्द्रविन्दुमा राखी धेरै प्रकृतिका ‘एन्टी एजिङ’ अध्ययन भएका छन्। त्यसै विषयमा भएका अन्वेषणको आवधिक जानकारी गराउनु यो लेखको उद्देश्य रह्यो।

मानिसको जन्म मितिका आधारमा लेखिने उमेरलाई क्यालेन्डर एज (उमेर) भनिन्छ। त्यस्तै व्यक्तिको महत्वपूर्ण शारीरिक तन्तुको मेडिकल परीक्षणका आधारमा गरिने आकलनलाई बायोलोजिकल एज भनिन्छ। सात दशक उमेर पुगेको मानिसको बौद्धिक क्षमता अनि महत्वपूर्ण अंगको परीक्षणले व्यक्तिको समष्टिगत शारीरिक अवस्था ५० वर्षको व्यक्तिसँग तुलनायोग्य देखिएमा उक्त मानवको क्यालेन्डर एज ७० अनि बायोलोजिकल एज ५० वर्ष मान्नुपर्ने हुन्छ।

क्यालेन्डर एज अपरिवर्तनीय हुन्छ भने बायोलोजिकल एजलाई खानपिन, वातावरणलगायतका धेरै बाह्य अवस्थाले प्रभावित गर्छ। दैनिक शारीरिक कसरत गर्ने मानिस कोठामा घोत्लने लोसे व्यक्तिको तुलनामा भर्खरको देखिनुलाई उदाहरणका रूपमा लिन सकिन्छ। स्वच्छ वातावरण, नियमित व्यायाम तथा स्वस्थबर्धक खान्कीले मानिसको बायोलोजिकल एज पछि धकेल्न सकिन्छ भन्ने पुष्टि भएको विषय हो। तर, दैनिक परिश्रम गर्नु, इच्छाविपरित स्वस्थ खान्की खानु सजिलो छैन। आहारबिहार मार्फत शारीरिक परिवर्तनका लागि लामो समय कुर्नुपर्छ। ठूलो त्याग खोज्ने संहिताको बदला तात्कालै ज्वरो निको पार्न प्रयोग गरिने सिटामोल जस्तै कुनै ओखतीले बुढ्यौली घटाउन सके कति असल हुन्थ्यो होला भनी सोच्नु अन्यथा होइन।

महाभारतको बन पर्वमा च्यवन ऋषिले आफ्नो वृद्धावस्थालाई किन र कसरी परिवर्तन गरे भन्ने चर्चा छ। च्यवन ऋषि तपस्यामा लिन भएका बखत उनको शरीरमा धमिराले गुँड लगाउँछ। पूरा शरीर धमिराको गुँडले छोपिए तापनि तपस्याको प्रतापले ऋषिको आँखाबाट पैदा भएको ज्योतिले उज्यालो छरिरहेको हुन्छ। त्यसै बखत राजा शार्यथीकी पुत्री सुकन्या खेल्दै तपोभूमिमा पुग्छिन्। माटोको थुप्रोबाट उत्पत्ति भएको ज्योतिले उनलाई मोहित पार्छ। अनि कौतुहल मेटाउन बनको तिखो काँडाले उक्त प्रज्वलित भागमा घोच्न पुग्छिन् उनी। चोटका कारण ऋषिको आँखाबाट रक्त प्रवाह हुन्छ।

च्यवनको चित्कारका कारण युवराज्ञी सुकन्या डराउँछिन् अनि तुरुन्तै दरवार गएर पितालाई घटना विवरण सुनाउँछिन्। अनर्थ भएको ठानेर राजा तुरुन्तै घटनास्थल पुग्छन्। आवेगले चुर भएका ऋषि कन्यालाई श्राप दिन तयार हुन्छन्। अवोध कन्याले अनजानमा गरेको गल्ती भएकाले छोरीलाई श्राप नदिन याचिका गर्छन् राजाले। च्यवन ऋषिले आफूलाई सुकन्यासँग विवाह गरिदिने भए मात्र माफी दिन सक्ने बताए। वृद्ध मानिससँग आफ्नी कलिली छोरीलाई साथ लगाउन कठिन हुने भन्दै राजाले नवीन सर्त अघि सारे।

शरीर परिमार्जन गरेर आफ्नी छोरीसँग मिल्ने कद धारण गर्न सक्ने भए मात्र सुकन्याको कन्या दान गर्न आफू सहमत हुने जवाफ दिए राजाले। ऋषिले राजाको प्रस्ताव स्वीकार गर्छन्। अनि युवा बन्ने चाहना बोकेर जडीबुटी खोज्न जंगल पस्छन् तपस्वी। नभन्दै जडीबुटी सेवन मार्फत शरीर युवावस्थामा फर्काउन सफल भई च्यवन ऋषिले सुकन्यासँग विवाह गरेको वृतान्त महाभारतमा पढ्न पाइन्छ। च्यवन ऋषि युवा बनेको उद्धरणसहित जडीबुटीको समिश्रणको दावा गर्दै च्यावनप्रासको उत्पादन भयो। नेपालमा समेत च्यावनप्रासको लोकप्रियता देख्न सकिन्छ।

च्यवन ऋषिले प्रयोग गरेको यौवन फर्काउने जडीबुटीको भेद पहिल्याउन विज्ञानले अहिलेसम्म सफलता पाउन सकेन। तर ‘एन्टि एजिङ’का सम्बन्धमा भने धेरै अन्वेषण भए। युवावस्था फर्काउने दिशामा भएका आधारभूत अन्वेषण (बेसिक रिसर्च)को चर्चा सान्दर्भिक देखियो। मानवीय स्वास्थ्य तथा सामाजिक उत्थानलाई केन्द्रविन्दुमा राखी गरिने प्रारम्भिक चरणका अनुसन्धानलाई ‘बेसिक रिसर्च’ भनिन्छ। सामान्यतः विश्वविद्यालयका प्रयोगशालामा गरिने अन्वेषण बेसिक रिसर्चको श्रेणीमा पर्छन्। भविष्यमा मानव कल्याणका खातिर केही योगदान गर्न सकिन्छ कि भन्ने आशमा संसारका सैकडौँ युनिभर्सिटीका हजारौँ ल्याबमा लाखौँ वैज्ञानिक अहोरात्र अन्वेषणमा घोटिन्छन्।

प्रचलनमा रहेका ओखती, उपचार उपकरण, प्रविधि, स्मार्टफोन, इलेक्ट्रिक कारलगायतका कुनै पनि अत्याधुनिक पद्धतिको सुरुआत प्रयोगशालाबाटै भएको कुरा भुल्नु हुँदैन। दशकौँअघि ल्याबमा विकास भएका अन्वेषणहरू विभिन्न चरणको परिमार्जनपछि बजारमा पुग्छन्, ओखतीको रूप लिन्छन्। त्यस्तै ल्याबमा अहिले सफलता हासिल गरेका आधारभूत अनुसन्धानहरू नै आउँदा दिनमा उपचार विधिका रूपमा आयुर्विज्ञान क्षेत्रमा प्रवेश गर्छन् भन्ने कुरा बिर्सनु हुँदैन। अहिले प्रकाशित आयुर्विज्ञानका अनुसन्धानको नतिजाले मेडिकल साइन्सको भविष्यका बारेमा जानकारी दिन्छ।

गत हप्ता स्ट्यानफोर्ड विश्वविद्यालय न्युरोसाइन्सका प्राध्यापक टोनी बेसकोरी नेतृत्वको अनुसन्धान समूहले स्मरण क्षमतालाई पुनर्जीवन प्रदान गर्ने दिशामा मार्गदर्शक सिद्ध हुन सक्ने अन्वेषण प्रस्तुत गरे जर्नल नेचरमा। मुसामा गरिएको उक्त अनुसन्धानको सफलतालाई विशेषज्ञहरूले भविष्यको संभाव्य उपचार विधिका रूपमा लिएका छन्। बायोलोजिकल प्रक्रिया धेरै हिसाबले समान हुने भएकाले मुसामा गरिएका आयुर्विज्ञानका अध्ययन मानवमा पनि मिल्ने ठानिन्छ। त्यसैले आयुर्विज्ञानको प्रारम्भिक अध्ययनका लागि मुसालाई मोडल अर्गेनिज्मका रूपमा प्रयोग गर्ने चलन चल्यो।

डा. बेसकोरीले उक्त अध्ययनमा स्मरण क्षमता जीर्ण भएका वृद्ध मुसामा भर्खरको मुसाको सेरेब्रल स्पाइनल फ्ल्युड (सिएसएफ) दिए अनि त्यसको प्रतिफल जाचे। सिएसएफ ट्रान्सफ्युजन गरिएको केही दिनपछि वृद्ध मुसाहरूले स्मरण क्षमता निकै उकासिएको पाए अनुसन्धानकर्ताले। मुसामा गरिएको उक्त अध्ययनको सफलतापछि स्मरण क्षमता जीर्ण वृद्ध मानिसमा युवाको सेरेब्रल स्पाइनल फ्ल्युड ट्रान्सफ्युजन गर्न सके हजुरबुबा समूहको गुमेको दिमागी शक्ति फिर्ता ल्याउन सकिने कुरामा वैज्ञानिकहरू निकै आशावादी देखिए।

अब सेरेब्रल स्पाइनल फ्ल्युड भनेको के हो त? हाम्रो मस्तिष्क र मेरुदण्डका सम्पूर्ण स्नायु प्रणालीका कोसहरू पानी जस्तै सफा सिएसएफद्वारा घेरिएको हुन्छ। विभिन्न किसिमका लवणलगायतका प्रोटिनले बनेको पोषणयुक्त सेरेब्रल स्पाइनल फ्ल्युडले हाम्रो स्नायु प्रणालीलाई दुरुस्त राख्छ, हाम्रो स्मरण क्षमतालाई चनाखो राख्न मद्दत गर्छ। सूक्ष्म विश्लेषणले युवा मुसाको सेरेब्रल स्पाइनल फ्ल्युडमा धेरै किसिमका लवण, सूक्ष्माणु र प्रोटिनहरू देखायो भने वृद्ध मुसामा पदार्थको सन्तुलन बिग्रिएको पाइयो। वृद्ध मुसामा दिमागी स्वास्थ्यलाई सबल राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रोटिन वयस्कको तुलनामा निकै कम देखियो। पोषणका हिसाबले सन्तुलित सेरेब्रल स्पाइनल फ्ल्युड वृद्ध समूहलाई दिँदा उनीहरूको दिमागले आवश्यक पोषक पदार्थ पायो। परिणामस्वरूप पाका मुसाको स्मरण क्षमतामा सुधार आएको ठान्छन् अन्वेषणकर्ताहरू।

अहिलेको रिसर्चसँग धेरै हिसाबले मिल्ने अन्वेषण सन् २०१४ मा नेचर मेडिसिनमा प्रकाशित भएको थियो। उक्त अनुसन्धानमा युवा मुसाको रगत वृद्ध मुसामा ट्रान्सफ्युजन गरिएको थियो। केही समयको अन्तरालपछि युवा रगत पाएका वृद्ध मुसाहरू शारीरिक रूपले फुर्तिला मात्र भएनन् बरु उनीहरूले बूढापामा देखिने धेरै गुणहरू गुमाएको विवरण प्रकाशित भएको थियो उक्त रिसर्च पेपरमा।

सन् २०१४ मा प्रकाशित ब्लड ट्रान्सफ्युजनको अन्वेषण अनि गत हप्ता बाहिरिएको सेरेब्रल स्पाइनल फ्ल्युडसम्बन्धी नतिजाले युवाको रगत र दिमागमा पाइने झोल पदार्थ वृद्धलाई दिन सके पाकालाई शारीरिक तथा मानसिक दुवै हिसाबले तन्नेरी बनाउन सकिने देखियो। मुसामा गरिएको अन्वेषणहरू मानिसमा हुबहु उत्रिएको धेरै विवरण देखेका उद्यमीहरू वृद्ध मानिसलाई युवा बनाउने संभाव्यता बोकेको उद्योगमा लगानी गर्न चम्कने नै भए।

अनि, बूढापाका कम गर्ने उद्देश्यका साथ क्यालिफोर्नियाको सान कार्लोस सहरमा अल्काहोस्ट भन्ने कम्पनी खुल्यो। अल्काहोस्टको उद्देश्य युवाको रगत र सेरेब्रल स्पाइनल फ्ल्युड ल्याबमा उत्पादन गरी वृद्धको शरीरमा ट्रान्सफ्युजन गर्ने अनि पाका मानिसलाई आफ्नो बायोलोजिकल उमेर घटाउन मद्दत गर्नु देखियो। युवा बन्ने ओखती बनाउन सके मनग्य मुनाफा हुने नै भयो। हालै सानो समूहमा गरिएको क्लिनिकल परीक्षणले दिमागी रोग डिमेन्सियाका बिरामीलाई फाइदा गरेको भन्छ अल्काहोस्ट।

मुसामा गरिएको अन्वेषण अनि सानो समूहमा गरिएको ह्युमन क्लिनिकल ट्रायलको नतिजालाई ध्यान दिँदा शारीरिक तथा मानसिकरूपले शिथिल आमाबुबालाई युवाको रगत र सेरेब्रल स्पाइनल फ्ल्युडसँग मिल्ने प्रकृतिको उत्पादन दिन सके उनीहरूको बायोलोजिकल उमेर घटाउन सकिने आशा देखियो। सबै अध्ययन सकारात्मक दिशामा गए निकट भविष्यमा वृद्धलाई जुझारु युवाझैं ऊर्जावान बनाउन सकिने संभाव्यता देखियो। यद्यपि मोडल एनिमलमा उत्साहप्रद् देखिएका अनुसन्धानहरू मानिसमा परीक्षण गर्दा सकारात्मक सन्देश दिन नसकेका घटना पनि छन् है भन्ने यथार्थ भने बिर्सनु हुँदैन।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %