८ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

कांग्रेस महाधिवेशनको कार्यभार

विसं २०१७ सालमा काठमाडौँमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापति बीपी कोइरालाले निकै महत्वपूर्ण मन्तव्य दिएका थिए। उनले भनेकाथिए, 'प्रजातन्त्रको भावना र संस्थाहरूको कल्पवृक्षको सानो बिरुवालाई हुर्काउन बडो सतर्कता, सावधानी र तपस्याको भावनाका साथ निरन्तर प्रयास गरिनुपर्छ।हामीले केही वर्षका लागि स्थानीय भावनालाई पूर्णतया त्याग्नुपर्छ र देशको आर्थिक विकासको आधार निर्माण भइरहेको समयमा केवल राष्ट्रिय दृष्टिकोण अपनाउनुपर्छ।'

आज झन्डै ५५ वर्षपछि पनि नेपालमा प्रजातन्त्रको भावना र संस्थाहरूको कल्पवृक्ष खासै हुर्कन सकेको छैन। यसको लागि राजनीतिक दलहरूको सतर्कता, सावधानी र तपस्या पुगेको देखिँदैन। बिपीकै प्रयासबाट जन्मिएको पार्टी कांग्रेस पनि यस मामिलामा नराम्ररी चुक्दै आएको छ। दलहरूकै कमजोरीको कारण यतिखेर राष्ट्रियताको भावना क्षय हुँदै गएको छ भने स्थानीयताको भावना थप शक्तिशाली बन्दै गएको छ। समग्र राष्ट्रबारे सोच्नेहरू घट्दै गएका छन्। आफ्नो जात, धर्म, क्षेत्र, लिंग, पार्टी, गुटउपगुटका बारेमा सोच्नेको संख्या बढिरहेको छ। कांग्रेसकै अवस्था पनि योभन्दा फरक छैन। आर्थिक विकासका लागि कांग्रेसले आफ्नो पार्टीभित्रै पनि समान धारणा निर्माण गर्न सकेको छैन। समग्र राष्ट्रिय दृष्टिकोण निर्माण गर्नु त परकै कुरा भयो!

बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बारेमा युवापुस्ता प्रशिक्षित हुन नपाएको दशकौँ भइसक्यो। नयाँ पुस्ताले कांग्रेसको विचार र दर्शनबारे जानकारी पाउन सकेको छैन। छिटोछिटो परिवर्तन भइरहने राजनीतिक दृश्यकै पछाडि नयाँ पुस्ता दौडिरहेको छ। कांग्रेसले त्यस्ता युवालाई इतिहासको खास ज्ञानलाई सन्तुलित ढंगबाट प्रवाह गर्न सकेको छैन। फलतः राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका बिस्तारै खुम्चँदै गएको छ। 'विपन्नलाई आय र निमुखालाई न्याय'भन्ने बीपीको आदर्शलाई कांग्रेसले इतिहासको साँघुरो गल्लीमा अलपत्र छाडेर अघि बढेको छ। कांग्रेसको १३ औँ महाधिवेशनले यस्ता सवालमा गम्भीर छलफल गर्नु आवश्यक छ। महाधिवेशनले भावी दिनलाई स्पष्ट र ठोस मार्गदर्शन गर्नसक्ने सवालमा दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ।

आउँदो महाधिवेशनमा पार्टीले विगतमा जानीनजानी गरेका गल्तीलाई एकएक गरी खोतल्ने र त्यसको दिगो समाधान खोज्ने हिम्मत गर्नुपर्छ। इतिहासमा कांग्रेसबाट भएका हरेक गल्ती र त्यसका खास कारणको वैज्ञानिक ढंगबाट खोजी गर्न घनिभूत बहस गर्ने आँट गर्नुपर्छ। जसले हरेक समस्याको समाधान निकालेर परिवर्तित सन्दर्भ र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्नेगरी आफ्नो नीति, दृष्टिकोण, दर्शन र भूमिकामा समावेश गर्न सक्नुपर्छ।

कांग्रेस कमजोर बन्नुका पछिििल्तर विविध कारण छन्। तर, कुनै पनि कारण स्वतःउब्जिएका भने होइनन्। 'म हरेक नेपाली नागरिकलाई १५ वर्षभित्र आफूजस्तै बनाउन चाहन्छु' भन्ने बीपीको दर्शन तथा सिद्धान्तलाई चटक्कै भुलेर नेतृत्ववर्ग सत्ता, शक्ति र सुविधाभोगी बन्दै जाँदा कैयौँ समस्याको जन्म भयो। सांगठनिक तहमा नातावाद र कृपावाद हावी हुँदै जाँदा अझ समस्या थपिए। जसले कांग्रेसलाई थप कमजोर बनायो।

कांग्रेसले समाजको लोकतान्त्रीकरण गर्नका लागि आवश्यक योगदान गर्न सकिरहेको छैन। लोकतन्त्रको कल्पवृक्षलाई संस्थागत विकास गराउन आवश्यक पर्ने त्याग, तपस्या गर्नबाट यो पार्टी चुकेको छ। कांग्रेस काकार्यकर्तादेखि नेतृत्ववर्गसम्मले छिटोछिटो परिणाम खोज्न थालेका छन्। आफूभित्रै गुटउपगुट र भागबन्डामा रुमल्लिरहेका छन्। इतिहासका विभिन्न मोडमा पाएको सुनौलो जनमतलाई कांग्रेसले सदुपयोग गर्न सकेन। तल्लो तहका नागरिकको मतबाट ठूलो पार्टी बनेपछि नेताहरूले माथिल्लो तहका सम्भ्रान्तको घेरा र स्वार्थभित्र आफूलाई सीमित राख्ो। विपन्न, गरिब, श्रमिकको मुद्दा र चासोलाई समेट्न सकेनन्। अब पनि यही बाटो हिँडिरहने हो कि बाटो परिवर्तन गर्ने? आउँदो महाधिवेशनमा यसबारेमा खास वैचारिक बहस तथा छलफल आवश्यक छ।

प्रजातान्त्रिक समाजवादको दर्शन तथा सिद्धान्तलाई समयअनुसार परिमार्जन, परिवर्तन र चुस्त बनाउन नसक्नु कांग्रेसको ठूलो कमजोरी हो। यस सिद्धान्तलाई सार्वजनिक बहस र छलफलको विषय बनाउन नसक्दा आमनागरिकको चासो, सरोकार र बद्लिँदो सामाजिक परिवेशसँग त्यसलाई मिलाएर व्याख्या गर्न सकिएको छैन। सिद्धान्तलाई समयअनुकूल परिवर्तन गर्दै त्यसमा नवीनता थप्न नसक्दा समकालीन समाज र यसका कर्ताहरूसँग पार्टीको सम्बन्ध टुट्दै जान्छ। यसकै परिणाम भोग्दैछ कांग्रेस। प्रजातान्त्रिक समाजवादलाई दराजमा थन्क्याएर मञ्चमा ठूला स्वरमा भाषण गर्दैमा कोही पनि समाजवादी बन्न सक्दैन। यसका लागि त सिद्धान्त, दर्शन र विचारलाई जनता, मतदाता र विद्वत् वर्गबीच सार्वजनिक छलफलको विषय बनाउनुपर्छ। कांग्रेस यस मामलामा नराम्रोसँग चुकेको छ। नयाँ पुस्तालाई कांग्रेसले तान्न सकेन र पुरानालाई अड्याउन सकेन।

कांग्रेसले संगठनको दायरा बढाउने र कार्यकर्ता, नेताको दायित्वलाई समाजको बनोट, स्वरूप र संरचनासँग मिलाउन सकिरहेको छैन। समाजको तल्लो तहमा रहेका वहिष्कृत, विपन्न, निमुखा र दलित वर्गलाई नीतिनिर्माण तथा निर्णय प्रक्रियामा समेट्न र उनीहरूको भावनालाई प्रतिबिम्बित गर्ने कुरामा पछाडि परेको छ। निर्वाचन जितेपछि काठमाडौँ भित्रिएको नेता अर्को निर्वाचनको घोषणा नभएसम्म गाउँ नफर्किने संस्कारले कांग्रेसलाई गाउँबाट बिस्तारै सम्बन्ध बिच्छेद गराउँदै लगेको छ। इतिहासको ७ दशक पार गर्दाको समयमा कांग्रेस धेरै स्थानमा चुकेको छ। बीपीले २०१७ सालमा पार्टीको सातौँ महाधिवेशनमा भनेका थिए, 'पार्टी सदस्यले सानोतिनो भावना, स्वार्थ, द्वेषजस्ता घातक प्रवृत्तिबाट आफूलाई चोखो राख्नुपर्छ।' तर, कांग्रेस सत्ताको लागि जे पनि र जस्तासुकै सम्झौता गर्न तयार हुन थाल्यो। यस्तो अवस्थाले पार्टीलाई जनताको नजरमा गिराउँदै लगेको छ।

खासगरी जनआन्दोलन २०६२/६३ पछि चुलिएको भाषिक, जातीय, धार्मिक, क्षेत्रीय चिनारीका पक्षमा उठेका आवाजलाई कांग्रेसले समयमै बुझ्ने र विहंगम विश्लेषण गरी आफ्नो आधिकारिक धारणा तथा दृष्टिकोण बनाउन सकेन। यसबारेमा समयमै स्पष्ट र ठोस दृष्टिकोण निर्माण गर्न नसक्दा कांग्रेसले अरुको दृष्टिकोण वा धारणामा प्रतिक्रिया दिनमै लामो समय बितायो। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका भ्रातृ संगठनमाथि माउपार्टीको अनावश्यक राजनीतिककरण र हस्तक्षेपले कांग्रेसलाई अपूरणीय क्षति पुर्या्एको छ। नयाँ पुस्ताका बीचमा पार्टीलाई लोकप्रिय बनाउने कामको अगुवाई गर्ने यस्ता भ्रातृ संगठनलाई लोकतान्त्रिक अभ्यास गर्नबाट च्युत गर्दा कस्तो प्रभाव पारेको छ जगजाहेरै छ। स्थानीय लोकतन्त्रको आधारस्तम्भ स्थानीय निर्वाचन समयमा हुन नसक्दा कांग्रेसले आफ्नो विचार, धारणा, सिद्धान्त र दृष्टिकोण तल्लो तहसम्म पुर्यामउन सकेको छैन। समयमै स्थानीय निर्वाचनको पक्षमा दरिलो आवाज उठाउन र त्यसको नेतृत्व लिन नसक्नु कांग्रेसको अर्को कमजोरी हो।

मुख्यतया राजनीतिमा ३ वटा सवाल महत्वपूर्ण हुन्छ। पहिलो, एजेन्डा, दोस्रो नेतृत्व र तेस्रो संगठन। कांग्रेससँग लोकतान्त्रिक समाजवादको महत्वपूर्ण र नेपाली माटो सुहाउँदो एजेन्डा छ। केन्द्रदेखि गाउँ वडा तहसम्मको संगठन र सञ्जाल पनि छ। तर, सबै पक्षलाई मिलाउने कुशल नेतृत्वको अभाव छ। यसबेला एजेन्डालाई समयअनुकूल परिमार्जन तथा सुधार गर्ने र संगठनलाई थप बिस्तार गर्ने सशक्त र चुस्त नेतृत्व आवश्यक छ। महाधिवेशनमा कार्यकर्ताले विगतको जस्तो गुटउपगुट हेरेर होइन, वैचारिक अवस्था, कार्यकुशलता र स्ाक्षमतालाई हेरेर नेतृत्व चुन्ने आँट गर्नुपर्छ।

बीपीले सातौँ महाधिवेशनको समयमा भनेका थिए, 'इतिहासले कांग्रेसलाई सामन्ती समाजलाई नयाँ समाजवादमा परिणत गर्ने क्रान्तिकारी जिम्मेवारी सुम्पेको छ। इतिहासले सुम्पेको यस भूमिकालाई हामीले आफ्नो कार्यद्वारा प्रमाणित गर्न सकेनौँ भने इतिहासले अर्को हतियार निर्माण गर्नेछ।' वास्तवमा कांग्रेस आफ्नो कार्यबाट विमुख तथा च्युत हुँदै जाँदा इतिहासले अर्को हतियार निर्माण सुरु गर्योे। नेपालको समग्र रूपान्तरण गर्ने र खास लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने सामर्थ्य राख्न नसक्दाको मूल्य पार्टीले चुकाइरहेको छ। अब आफ्नो दर्शन र सिद्धान्तभित्र किसान, भूमिसँग जोडिएका श्रमिक, विपन्न तथा निमुखा वर्गलाई समेट्न सक्नुपर्छ। यसको बारेमा आसन्न महाधिवेशनले स्पष्ट र ठोस कार्ययोजना तथा विचार पारित गर्न सक्नुपर्छ। अन्यथा, बीपीले भन्ोजस्तै इतिहासले कांग्रेसलाई पनि छाडेर अगाडि बढ्नेछ।

प्रकाशित: ८ भाद्र २०७२ २२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App