६ जेष्ठ २०७९ शुक्रबार
विचार

निर्वाचनमा भान्जा उम्मेदवार

एक सज्जन वनारस पुगे। स्टेसनमा झरेका मात्र के थिए एउटा केटो आएर उनलाई ‘मामाजी, मामाजी!’ भनेर बोलायो।  

‘तिमी को हौ, म तिमीलाई चिन्दिन’ सज्जनले जवाफ दिए। अपरिचित लाग्ने व्यक्तिसँग कुराकानी हुँदै गयो।

‘म मुन्ना हुँ, तपाईँले चिन्नुभएन?’

ऊ यति स्मार्टसँग साख्खे हुँदै गयो कि मामा सोच्न लागे– कतै देखेजस्तो त लाग्छ। हो, यो आफ्नै मान्छे हो। भने– ‘अं ए! मैले चिनेँ।’  

केटो भन्दै गयो– ‘मामालाई मलाई चिन्न गाह्रो भयो होला। चिन्नु पनि त कसरी? यतिका वर्ष भइसक्यो।’

‘तिमी यहाँ कसरी आइपुग्यौ त?’

‘म पहिलेदेखि यतै त छु मामाश्री।’

‘ल ठीक छ राम्रो भयो।’

सामान्य हिसाबले एकापसमा परिचित भएको वातावरण बन्यो। मामाले सोचे– वनारस जस्तो ठाउँमा कोही त मैले साथी भेट्टाएँ। यति भनेर भान्जासँग मामा वनारस घुम्न लागे– कहिले यो मन्दिर, कहिले त्यो मन्दिर; कहिले यो गल्ली, कहिले त्यो गल्ली।

अनि गङ्गाघाट पुगे। नुहाउने विचार त पहिलेदेखि थियो नै।

‘ठीक, मामाजी! वनारस आएर ननुहाउने भन्ने त कुरै हुन सक्तैन’– भान्जाले सही थप्दै गयो।  

मामा ‘हर हर गङ्गे’ भन्दै गङ्गामा डुबुल्की मारे।

मामाजी गङ्गाबाट जब बाहिर निस्के, थाहा पाए– झोला, सामान सबै गायब। कपड़ा गायब। भान्जो भनाउँदो केटो पनि गायब। मामाले धेरै चिच्याए– मुन्ना, मुन्ना! तर मुन्ना त्यहाँ भए पो भेटिन्थ्यो!

मामाश्री तौलिया लपेटेर यताउता घुम्दै रहे। भान्जोलाई खोज्दै रहे। तर कसैले भान्जोबारे बताउन सक्ने अवस्था रहेन। किनकि जो वास्तविक मामा/भान्जा थिए उनीहरूले अरूको मेसो राख्ने कुरै भएन, जो नक्कली भान्जाहरू थिए ती आफैंँ ठग–समूहमा थिए, बोल्ने कुरै भएन।

निर्वाचनको मौसममा कोही आउँछ, जम्ला हात जोडेर पाउ पर्छ र भन्छ– ‘मलाई चिन्नुभएन? म तपाईँको फलानो, आफ्नो मान्छे। म हुनेवाला सांसद, मेयर, अध्यक्ष, प्रमुख, उपप्रमुख, सदस्यको उमेदवार’ आदि आदि।

तपाईँ मख्ख पर्नुहुन्छ।

०००

तपाईँ लोकतन्त्रको चुनावी–गङ्गामा डुबुल्की लगाउनुहुन्छ तर बाहिर निस्कनासाथ तपाईँको अमूल्य सर्वभौमिकताको भोट लिएर उम्मेदवार बेपत्ता हुन्छ। त्यतिमात्रै कहाँ हो र? उस्तै परे मतपेटिका नै बोकेर भान्जो उम्मेदवार कुलेलम् ठोक्छ। समस्याको घाटमा हामी सर्वसाधारण जनता तौलिया लपेटेर इज्जत बचाइरहेका हुन्छौँ। जसका हामी मतदाता हौँ उसलाई ५ वर्षसम्म गाउँ छाड्ने अनुमतिपत्र दिएर भगाएका हुन्छौँ।

माथिको प्रस्तुति हिन्दी सिनेमाका अभिनेता आमिर खानले करिब अढाइ शताब्दीअघि भारतका प्रसिद्ध लेखक शरद जोशीले लेखेको कहानीका आधारमा जनवरी २२, २०१७ मा ‘सत्यमेव जयते’ नामक हिन्दी कार्यक्रममा स्रोतामाझ प्रस्तुत गरेका हुन्। लोकतन्त्रमा विश्वास राख्ने निर्वाचनका हिमायती मतदाताको संवेदनालाई हृदय छुने गरी व्यावहारिक किसिमले प्रदर्शित यो सन्दर्भ हाम्रा लागि पनि उत्तिकै मार्मिक र रोचक बन्न पुगेको छ। किनकि नेपाली मतदाताले बेहोर्नुपरेको दुःख पनि यही हो।

०००

एकपटक होइन, दुईपटक होइन, २०१५ सालदेखिको नेपाली राजनीतिको भौतिक उमेर साँढे ६ दशक भन्दा बढी भइसक्यो। यसबीच राष्ट्रिय र स्थानीय चुनावको पटक–पटक हुने आवधिक संख्या गन्दा दुई दर्जनले पनि भ्याउँदैन। नेपालसँगै विकास–यात्रा सुरु गरेका सहयात्री सिंगापुर, कोरियालगायत दक्षिणपूर्वी एसियाका मुलुकहरू राजनीतिक नेतृत्वकै कारण विश्वका विकसित र सम्भ्रान्त देशहरूसँगै सहकदमी बन्न थालिसके। हामी भने चुनावलाई गाजाबाजासहित राष्ट्रिय सांस्कृतिक चाडपर्वका रूपमा मान्ने जसरी व्यवहार गरिरहेछौँ। चुनावलाई कतै पनि हामी र हाम्रा भावी पुस्ताको समृद्धिसँग जोडेर हेरेजस्तो लाग्दैन जुन नेपाली मतदाताले सोझै आफूले आफैँलाई आत्मघात गरेको होइन र?

चुनावी गङ्गाघाटमा नाङ्गै प्रतीक्षा गरिरहेका हामी मतदाताको नांगो लाज ढाकिदिने भान्जा–नेता कोही छन् कि?

प्रकाशित: २६ वैशाख २०७९ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App