समाजशास्त्री फिलिपले सन् १९९१ मा गरेको एक अध्ययनले राजनीतिक भ्रष्टाचारमा बेरोजगार कार्यकर्ताको भूमिकाबारे केही तथ्य औल्याएका छन्। राजनीति गर्नका लागि कार्यकर्ता चाहिन्छन्। अविकसित देशहरुमा बेरोजगार र अर्धबेरोजगार राजनीतिक कार्यकर्ताहरु आफ्नो पार्टी र नेतामा आश्रित हुन्छन्। आफ्नै पेशा व्यवसाय नगर्ने, पार्टी तथा नेतामा आश्रित हुने कार्यकर्ताको भरणपोषण गर्नुपर्ने दायित्व बोक्नुपर्दा राजनीतिक दल तथा तिनका नेताहरुले भ्रष्टाचारजन्य क्रियाकलापमा आफँै संलग्न हुने र संलग्न हुनेलाई संरक्षण गर्नुपर्ने बाध्यता रहन्ो उनको अध्ययनको निष्कर्ष थियो।
न्ोपालका हरेक राजनीतिक दलका अधिकांश कार्यकर्ता बेरोजगार वा अर्धबेरोजगार छन्। हरेक पार्टी तथा तिनका नेतामाथि यस्ता कार्यकर्ताको घर खर्च चलाइदिनुपर्ने दायित्व छ। आफ्ना नेता उच्च राजनीतिक पदमा पुगेपछि कार्यकर्ताहरु त्यसको गलत फाइदा लिनका लागि तछाडमछाड गर्छन्। कर्मचारी सरुवाबढुवा गर्ने, स्वकिय सचिव तथा सहयोगीको भूमिका लिने र आर्थिक लेनदेन गर्ने काम गर्छन्। राजनीतिमा लाग्ने कार्यकर्ताले छुट्टै पेशा/व्यवसाय अंगालेका छैनन् बरु राजनीतिलाई नै पेशा बनाएका छन्। पार्टी सरकारमा रहँदा नेतामाथि कार्यकर्ताको विभिन्न दबाब रहन्छ। उनीहरुले अवैध किसिमले ठेक्कापट्टा मिलाउन, जागिर लगाइदिन, खर्च दिलाइदिन, आफन्तलाई आर्थिकरूपमा आकर्षक स्थानमा सरुवा गराइदिनका लागि नेतालाई दबाब दिन्छन्। कार्यकर्ता भडि्कएमा आफ्नो राजनीतिक भविष्यसमेत कमजोर हुने भएकाले नेताहरु यस्ता दबाब बेवास्ता गर्न सक्दैनन्। समस्या यहीँबाट सुरु हुन्छ।
राजनीतिक नेतृत्व भ्रष्टाचारमा संलग्न हुनुमा कार्यकर्ताको भूमिका प्रमुख छ। एउटा उदाहरण हेरौँ– भ्रष्टाचारको अभियोगमा नेपाली कांग्रेसका नेता खुमबहादुर खडका २०५९ मंसिरमा अख्तियारको हिरासतमा थिए। त्यस समयमा खड्कालाई भेट्न धेरै कार्यकर्ता जान्थे। त्यहाँ पनि उनीसँग आर्थिक सहयोग र रोजगारीको अपेक्षा राख्थे। खड्कासँगै भ्रष्टाचारको अभियोगमा अख्तियारको हिरासतमा रहेका जेपी गुप्ताले ...अख्तियारको थुना मेरो सम्झना' को पेज नं. ११८ मा लेखेका छन्– ...भेट्न आउने मान्छेको लस्करबाट खुमबहादुरजी पनि दिक्क मान्न थाल्नुभएको छ। भेट्न आउनेमध्ये कतिपयले त थुनामै उहाँसँग आर्थिक सहयोग र रोजगारीको खुल्ाा अपेक्षासमेत राख्ने गर्छन्।
कार्यकर्ताको अपेक्षा, चाहना र दबाबका कारण धेरै नेताले भ्रष्टाचार गर्नुपर्ने बाध्यता बनेको छ। उनीहरुको खर्च चलाइदिनका लागिसमेत नियमितरूपमा पैसा दिनुपर्ने तथा अवैध काम गर्नका लागिसमेत सहयोग गनुपर्ने हुन्छ। उच्च राजनीतिक पद लिएको नेताले आफ्नो राजनीतिक भविष्य सुनिश्चित बनाउन कार्यकर्ताका हरकिसिमका माग पूरा गर्नुपर्ने अवस्था छ। यदि कार्यकर्ताका अवैध माग पूरा गरेन भने उनीहरु बिच्किन्छन् र अर्को चुनाव हार्ने सम्भावना हुन्छ। त्यसैले नेताहरु कार्यकर्ताका वैधमात्र होइन, अवैध किसिमका मागसमेत पूरा गर्छन् जसले भ्रष्टाचारजन्य समस्या बढाइरहेको छ।
कार्यकर्ताहरु राजनीतिक भ्रष्टाचारको एक बलियो माध्यम बनेका छन्। प्राप्त तथ्यहरु अध्ययन गर्दा यसमा दुईवटा धार देखिन्छन्। पहिलो, प्रत्यक्ष संलग्नताको धार। यसमा कार्यकर्ताले प्रधान मन्त्री, मन्त्री तथा अन्य राजनीतिक व्यक्तित्वको स्वकीय सचिव, पिएका रूपमा काम गरेर वा सार्वजनिक निकायमा नियुक्ति लिएर प्रत्यक्षरूपमा अनियमितता गर्न सक्ने स्थानमा आफैँ संलग्न हुन्छन्। स्वकीय सचिवका रूपमा नियुक्ति लिएका कार्यकर्ताको मुख्य ध्यान प्रहरी तथा कर्मचारीको सरुवा, ठेक्कापट्टा, गाडी, इन्धनलगायतका स्रोतहरुमा जाने गरेको छ। प्रधान मन्त्री, मन्त्रीका स्वकीय सचिव र सचिवालयमा काम गर्ने अन्य कर्मचारीको नियुक्तिमा कुनै पनि मापदण्ड छैन, त्यही कारण प्रहरी, प्रशासनमा स्वकीय सचिवहरु हावी हुन्छन्। मन्त्रीसँगको नजिकको सम्बन्ध र पहुँच हुने भएका कारण उनीहरुले विभिन्न अवैध काम गर्छन्। भ्रष्ट र घुसखोरीलाई निकट पार्ने काममा उनीहरुको संलग्नता हुन्छ। त्यसबाट नेताका साथै आफूले पनि राम्रै फाइदा लिन्छन्। विकासे मन्त्रालय, अर्थ र गृहमा मन्त्री हुनेका स्वकीय सचिवहरुको सम्पत्ति छानविन गरेमा यो तथ्य सहजै पत्ता लाग्नेछ। जहाँ स्वकीय सचिवहरु पजेरोमा सयर गर्छन् र नवधनाढ्यको हैसियतमा हुन्छन्। राजनीतिक दलका कार्यकर्ता विकृतिका जड हुन्। पिए वा स्वकीय सचिवका लागि कुनै योग्यता आवश्यक नपर्ने र कस्ता मानिसलाई नियुक्त गर्ने भन्ने आधारसमेत नभएका कारण विकृति झांगिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव गोकर्ण पौडेलको सम्पत्ति छानविन गरी मुद्दा चलाएको थियो। पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ९ भदौ २०६२ मा अख्तियारले मुद्दा दायर गरेको थियो। उनले २ करोड ६ लाख ३१ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। पौडेल कोइराला प्रधान मन्त्री हुँदा २०५५ वैशाख २ देखि २०५६ जेठसम्म सहसचिवसरहको र २०५६ चैत ९ देखि २०५८ साउन ६ गतेसम्म विशिष्ट श्रेणीसरहको स्वकीय सचिव थिए तर उनले २०६३ मा विशेष अदालतबाट र भर्खरै सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
दोस्रो, उच्च राजनीतिक नेता तथा सार्वजनिक पद धारण गर्ने राजनीतिक व्यक्तित्वमार्फत सहयोग माग गर्ने अर्थात नेतामा आश्रित हुने धार। यस धारअन्तर्गतका कार्यकर्ता आफैँ स्वकीय सचिव वा पिएका रूपमा नियुक्ति पाउने हैसियत राख्दैनन् र यिनीहरु सार्वजनिक निकायहरुमा समेत नियुक्ति पाउन सक्दैनन्। यस्ता कार्यकर्ताले नेता, मन्त्री वा सभासद्बाट आर्थिक सहयोगका लागि दबाब दिने गर्छन्। आफ्नो घर/व्यवहार चलाउन, शिक्षा स्वास्थ्यलगायत कामका लागि राजनीतिक नेता तथा मन्त्रीमा आश्रित छन्। यसैबाट उनीहरुले जीविकोपार्जन चलाउने र राजनीतिक गतिविधि अगाडि बढाउने गर्छन्। निर्वाचन क्षेत्रमा यस्ता कार्यकर्ता प्रभावशाली हुन्छन्। त्यसैले उनीहरुका माग पूरा नगर्दा निर्वाचनमा असहयोग हुन सक्ने भएकाले नेताहरु यस्ता कार्यकर्ताका हरकिसिमका माग पूरा गर्न बाध्य हुन्छन्। पार्टीलाई लेबी र चन्दा बुझाएर बाँकी रकमले कार्यकर्ताको यस किसिमका आवश्यकता र माग पूरा गर्न नसक्दा आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुपर्ने बाध्यता पर्छ।
यस धारका कार्यकर्तालाई विश्लेषण गर्दा मुख्य गरी पाँच किसिमको कामका लागि दबाब दिने गरेका पाइन्छ। प्राथमिकताका आधारमा पहिलो गाँस, कास, कपास, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्नका लागि। दोस्रोमा म आफँै गरिखान्छु, रोजगारी दिलाइदेऊ भनेर। तेस्रोमा ठेक्कापट्टा र आयात/निर्यातका लागि प्रहरी प्रशासनमा आफ्नो अनुकूलताको व्यवस्था मिलाउन र प्रहरीमा रहेको मुद्दा मिलाइदिनका लागि। चौथो, आफन्तलाई कमाई हुने कार्यालय तथा स्थानमा सरुवाका लागि दबाब दिन्छन् भने पाँचौँमा सार्वजनिक चासो र सरोकारका तथा विकास निर्माणसँग सम्बन्धित कामका लागि बजेट दिलाइदिन दबाब दिने गर्छन्। यस किसिमका दबाबले नेतालाई आदर्श टिकिराख्न दिँदैन। यदि सक्रिय र प्रभावकारी राजनीति गर्ने हो भने कार्यकर्ताको वैध/अवैध सबै माग पूरा गर्नुपर्ने बाध्यता पर्छ। त्यसले विस्तारै नेतालाई आदर्शबाट विचलित बनाइदिन्छ। पैसाप्रति आकर्षण बढाइदिन्छ। समाजको संरचनाअनुसार व्यक्तिको चाहना बदलिदिन्छ र राजनीतिक नेतृत्व भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुन्छ।
प्रकाशित: १६ श्रावण २०७२ २१:२७ शनिबार

