६ जेष्ठ २०७९ शुक्रबार
विचार

सिकाइ क्षति न्यूनीकरण

कोरोना महामारीले संसारलाई लामो समयसम्म आतङ्कित बनाए पनि खोपको विकास र आवश्यक पूर्वसावधानीले गर्दा अहिले सबैतिर महामारी मत्थर हुँदै गएको छ।

प्रत्यक्ष प्रभाव दिनानुदिन कम हुँदै गएको छ तर दुई वर्षसम्म संसारलाई अस्तव्यस्त बनाएको महामारीको नकारात्मक र अप्रत्यक्ष असर भने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र समग्र मानव विकासका सूचकहरूमा क्रमशः देखिँदैछ।

लामो समयसम्म विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुने समस्या एकातिर देखियो भने अर्कातिर विद्यालय तहका ससाना बालबालिका वैकल्पिक विधिमा अभ्यस्त नहुँदा इन्टरनेटको दुरूपयोग र नकारात्मक प्रभावको सिको गर्ने अवस्थासमेत महामारीका समयमा सिर्जना भयो।

विद्यालयहरू बन्द भएको समयमा बालबालिकाको पठनपाठन क्रियाकलाप ठप्प हुँदा उनीहरूका उमेरगत सिप सिकाइमा अवरोध सिर्जना भयो। उपयुक्त समयमा प्राप्त गर्नुपर्ने उचित वातावरण प्राप्त नभएकै कारण बालबालिकाको सिकाइ क्षतिको असर बिस्तारै उनीहरूको उपलब्धि र शैक्षिक स्तरमा देखा पर्न थालेको छ।

ग्लोबल एजुकेसन इभिडेन्स एडभाइजरी प्यानल (जिइइएपी) ले तीन कक्षामा पढ्ने बच्चाले एक वर्ष विद्यालय जान नपाउँदा कम्तीमा तीन वर्षको शैक्षिक क्षति बेहोरेको तथ्यांक प्रस्तुत गरेको छ। त्यसो त युनिसेफलगायतका संस्थाहरूले महामारीको समयमा बालबालिकाले सिप सिकाइमा अपूरणीय क्षति बेहोरेका र त्यसलाई पुनः आर्जन गर्न विशेष कार्यक्रम आवश्यक पर्ने कुरा औल्याएका छन्। 

बालबालिकाको शिक्षा र सिकाइमा परेको नकारात्मक असरका बारेमा अहिले संसारभर अध्ययन/अनुसन्धान भइरहेका छन्। आजसम्म भएका अध्ययन/अनुसन्धानको निष्कर्ष महामारीको समयमा बालबालिकाको सिकाइमा ठूलो क्षति पुगेकाले यसले दसौँ वर्षसम्म बालबालिकाको उपलब्धि र मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने देखिएको छ।

अमेरिकास्थित कोलोराडो शिक्षा विभागले गरेको अनुसन्धानमा बालबालिकामा सिप सिक्ने क्षमता कमी आएको मात्र होइन, सिकेका सिपहरूसमेत हराउँदै गएको देखिएको छ। विभागका अनुसार पहिले नै प्राप्त गरेका सिपमध्ये महामारीपछि विद्यालय फर्कँदा उनीहरूमा ६३ प्रतिशतदेखि ६८ प्रतिशत मात्र विद्यमान पाइयो।

यस्तै बालबालिकाले आर्जन गरेको गणितीय ज्ञान महामारीपछि विद्यालय फर्कँदा ३७ देखि ५० प्रतिशतमा मात्र सीमित रह्यो। यस अध्ययनबाट बालबालिकाको पढाइ र सिकाइ दुवैमा महामारीको नकारात्मक प्रभाव रहेको पुष्टि भयो। अनुसन्धानले बालबालिकाको पढाइमा भन्दा अझ बढी गणितीय सक्षमतामा क्षति पुगेको निष्कर्षसमेत निकाल्यो।

कोलोराडो शिक्षा विभागले साना कक्षामा भन्दा ठूला कक्षामा अध्ययन गरिरहेका विद्यार्थीको सिप सिकाइमा अझ बढी क्षति पुगेको अनुमान गरेको छ। महामारीको समयमा उपलब्ध भएका सेवा÷सुविधा, विद्यालय, परिवार र उनीहरू बसोबास गरेको क्षेत्रको वातावरण, आर्थिक स्थिति, पारिवारिक अवस्था आदिका कारण संसारभर सिकाइ क्षति समान भने नरहेको देखिन्छ।

खासगरी अल्पविकसित र अविकसित राष्ट्रहरूमा यस प्रकारको क्षति सम्पन्न राष्ट्रका तुलनामा उल्लेख्य देखा पर्दछ। महामारीले पुर्‍याएको क्षति पूर्ति हुनका लागि वर्षौँ लाग्ने निष्कर्ष निकालेको विभागले यसबाट मुक्तिका लागि चारवटा रणनीति अगाडि सारेको छ। विद्यार्थीका तत्कालका आवश्यकताको सम्बोधन, विद्यालयको भौतिक सुधार, सिकाइ सहजीकरण र विद्यार्थी एवं शिक्षकलाई सामाजिक र संवेगात्मक सहयोग पुर्‍याएर क्षतिलाई छोटो समयमा पूर्ति गर्ने उद्देश्य विभागले राखेको छ।

युनिसेफले गरेको अध्ययनमा मध्यम र निम्न आयस्तर भएका देशका १० वर्षका बालबालिकामध्ये ७० प्रतिशत बच्चाले सामान्य कुरा पढ्न नसकेको देखाएको छ। महामारीभन्दा अगाडि यस्ता बालबालिका ५३ प्रतिशत थिए।

नियमित अध्ययनमा प्राप्त गर्ने सक्षमतामा निकै ह्रास आएको तथ्यांकले देखाउँछ। इथियोपियाका प्राथमिक तहका विद्यार्थीले नियमित पढाइको ३० देखि ४० प्रतिशत मात्र गणितीय सिप सिकेको अध्ययनले देखाएको छ। महामारीभन्दा अगाडि ५० प्रतिशतको हाराहारीमा कमजोर विद्यार्थी रहेका अमेरिकाका धेरैजसो प्रान्तमा महामारीपछि तीन कक्षाका दुईतिहाइ बालबालिका औसतभन्दा कमजोर देखिएका छन्।

विद्यालय शिक्षाका लागि उत्कृष्ट मानिएको फिनल्यान्डमा पनि महामारीको नकारात्मक प्रभाव देखियो। वैकल्पिक माध्यमबाट पठनपाठन गराउने सन्दर्भमा आर्थिक अवस्था, प्रविधिगत कठिनता र आर्थिक, सामाजिक विषमताका कारण फिनल्यान्डमा समेत शैक्षिक क्षति पुगेको देखिन्छ। फिनल्यान्ड सरकारले प्रकाशित गरेको महामारीको समग्र असर विषयक अध्ययनमा आर्थिक तथा अन्य क्षेत्रमा महामारीले पुराएको क्षति पुनप्र्राप्तिको बाटो नाजुक रहेको उल्लेख छ।

छिमेकी मुलुक भारतको कर्नाटक प्रदेश शिक्षा विभागले गरेको अध्ययनअनुसार १८ महिनाको महामारीको प्रभावका कारण एकदेखि तीन कक्षासम्मका ४० देखि ५० प्रतिशत बच्चाले गणितीय आधारभूत सक्षमता हासिल गर्न सकेनन्। सोही उमेर समूहका बालबालिकाले ३५ देखि ४० प्रतिशत भाषिक सक्षमता हासिल गर्न सकेनन्। अजिम प्रेमजी युनिभर्सिटीले कर्नाटकका आधारभूत तहका बालबालिकामा गरेको अध्ययनले सबै किसिमका बालबालिकाको भाषिक तथा गणितीय सक्षमतामा क्षति पुगेको देखाएको छ। उक्त अध्ययनको निष्कर्षअनुसार एक कक्षाका ४० प्रतिशत बालबालिकाले भाषिक सक्षमता हासिल गर्न सकेनन्।

यस्तै दुई कक्षाका ३६ प्रतिशत र तीन कक्षाका ३५ प्रतिशत विद्यार्थीले भाषिक सक्षमता हासिल गर्न नसकेको अध्ययनमा देखिएको छ। गणितीय आधारभूत सक्षमता हासिल गर्ने कुरामा अझ ठूलो क्षति पुगेको अध्ययनले देखाएको छ। एक कक्षामा अध्ययन गर्ने बालबालिकाले ४९%, दुई कक्षामा पढ्ने बालबालिकाले ४८% र तीन कक्षामा पढ्ने बालबालिकाले ४१% गणितीय सक्षमता हासिल गर्न नसकेको देखिन्छ। कक्षा ४ र ५ का पाँच लाख ७९ हजार एक सय ९४ विद्यार्थीमध्ये २५ प्रतिशत विद्यार्थीले कथा पढ्न नसकेका, २२ प्रतिशत विद्यार्थीले अनुच्छेद पठन गर्न नसकेका, २६ प्रतिशत विद्यार्थीले शब्द उच्चारण गर्न नसकेका, १९ प्रतिशत विद्यार्थीले वर्णसमेत पहिचान गर्न नसकेका र ९% विद्यार्थीले कुनै पनि आधारभूत सिप आर्जन गर्न नसकेको सो अनुसन्धानबाट देखिएको छ।

गम्भीर शैक्षिक क्षति बेहोरेको निष्कर्ष प्राप्त भएपछि कर्नाटक सरकारले आगामी शैक्षिक सत्रलाई सिकाइ क्षतिपूर्ति वर्षका रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। कम्तीमा आगामी एक वा दुई वर्षमा बालबालिकाका सिकाइमा परेको प्रभावलाई निराकरण गर्ने उद्देश्यका साथ वर्तमान तहका लागि आवश्यक पर्ने पूर्वाधार वा सानो कक्षामा प्राप्त गर्नुपर्ने सिप आर्जन गर्नका लागि विशेष व्यवस्था गर्ने, अत्यधिक असर परेका बालबालिकालाई पहिचान गरी विशेष शिक्षण गर्ने, शिक्षक तथा बालबालिकाको मनोसामाजिक विकासलाई व्यवस्थित गर्न मनोवैज्ञानिक तथा संवेगात्मक तालिमहरू सञ्चालन गर्ने रणनीति कर्नाटक सरकारले अघि सारेको छ।

महामारीको समयमा लामो समयसम्म नेपालका सबै विद्यालय बन्द रहे। सुविधा सम्पन्न र निजी क्षेत्रका केही विद्यार्थीले अनलाइन विधिबाट पठनपाठनलाई निरन्तरता दिएका भए पनि धेरैजसो बालबालिका महामारीको समय विद्यालयबाट मात्र होइन, पठनपाठन र सिप सिकाइका क्रियाकलापबाट पूर्णतः बाहिर रहे। महामारीले हाम्रा बालबालिकाको उमेरअनुसारको सिप सिकाइमा गम्भीर असर पारेको सहजै अनुमान गर्न सकिन्छ। नेपाल सरकारले यस गम्भीर विषयमा आवश्यक अनुसन्धान गरी उपयुक्त रणनीति लिनुपर्नेमा सो नगरी समयमा परीक्षा सञ्चालन गर्ने र विद्यार्थीको शैक्षिक सत्र खेर जान दिन नहुने कुरामा मात्र ध्यान दिएको छ।

जसले गर्दा ४–५ महिनाको पठनपाठनपछि दस कक्षाका बालबालिकाहरू एसइइ परीक्षा दिन लागेका छन्। नियमित पठनपाठन भएका विद्यालयमा बढीमा ७०% पाठ्यवस्तुको अध्यापन भएको र धेरै विद्यालयमा २५ देखि ५० प्रतिशत मात्र पाठ्यवस्तु पठनपाठन भएको सन्दर्भमा स्तरीकृत परीक्षाका नाममा एसइइ सञ्चालन गरिनुले जिम्मेवार निकाय बालबालिकाको मनोविज्ञान, उनीहरूको शैक्षिक सिकाइमा परेको क्षति र क्षतिपूर्तिका लागि गर्नुपर्ने आवश्यक काममा संवेदनशील बन्न नसकेको देखिन्छ।

विश्वका विभिन्न देशमा भएका अध्ययनको निष्कर्ष बालबालिकाको सिकाइमा क्षति पुगेको छ र यस प्रकारको क्षति पूर्तिका लागि सामान्य पठनपाठनका अतिरिक्त विशेष व्यवस्था गर्र्नुपर्छ भन्ने देखिन्छ तर नेपाल सरकारले कक्षा चढाउने विषयलाई ध्यान दिए पनि महामारीको समयमा पुगेको सिकाइ क्षतिलाई पूर्ति गर्ने दिशामा सिन्कोसमेत भाँच्न सकेको देखिँदैन।

नेपालमा व्यवस्थित अध्ययन/अनुसन्धान नगरिए पनि बालबालिकाको उपलब्धिमा महामारीको नकारात्मक प्रभाव देखिन थालिसकेको छ। बालबालिकाको सिकाइ क्षति र त्यसबाट उन्मुक्ति पाउनका लागि गर्नुपर्ने क्रियाकलापका बारेमा गम्भीररूपमा अध्ययन/अनुसन्धान हुनु आवश्यक छ। अन्यथा विश्व स्वास्थ्य संगठनले भनेझैँ आगामी पुस्ता लामो समयसम्म शैक्षिक, आर्थिक र मानसिक समस्याको सिकार भइरहनेछ।

प्रकाशित: २१ वैशाख २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App