१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

केजरीवालहरूको खोजी

काठमाडौँ उपत्यकाको वरिपरि काँठक्षेत्रमा सानोतिनो विवाद र झैझगडाले पनि समय नटुंगिँदै उग्र रूप लिन्छ। गालीगलोजमा प्रयोग हुने झर्रा शब्दहरूकेही बाँकी रहँदैनन्। आरोप/प्रत्यारोप शिखरकै हुन्छ। र, कसैले मध्यस्थता गर्ने प्रयत्न गर्‍यो भने झगडियाहरू भनिहाल्छन्– यसलाई मरिगए पनि छाड्दिन ! कि त्यो छैन, कि म छैन!  नेकपा त्यसैगरी फुट्यो। पार्टीहरू फुट र विवादको उत्कर्षमा पुगे। एउटा नेकपाबाट तीनवटा पार्टी बने पनि सिंगो पार्टी चाहिँ एमाले नै छ। नेकपाको विरासत उसैले बोकेको छ। नेकपा तीन टुक्रा भए पनि एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न कांग्रेस हिच्किचाइरहेको छ।

मंगलबार यो आलेख तयार गर्दैगर्दा कांग्रेस स्थानीय चुनावमा पनि नेकपाबाट चोइटिएका माओवादी केन्द्र र समाजवादीसँग गठबन्धनीय तालमेल गर्ने निर्णयको नजिकै पुगेको छ। कांग्रेसीहरू एक्लै निर्वाचन लड्ने र आफ्नै कांग्रेसीहरूलाई परिचालन गर्ने भन्दै महामन्त्री र पदाधिकारीहरू लाग्दा पनि प्रचण्ड र माधव नेपालको रोदनका कारण पार्टी सभापति शेरबहादुर देउवा गठबन्धन भन्न विवश भैरहेछन्। गठबन्धन गरिएन भने एमालेले निर्वाचन बढार्छ भन्दै उनी गठबन्धनको औचित्य पुष्टि गर्न खोज्दैछन्।

उता एमाले भने देशभरि जनलहरको उभार बढाइरहेको छ। जतिजति चुनाव नजिक हुँदैछ, पार्टी प्रवेशको बाढी नै बगिरहेको छ। देशको सबैभन्दा ठूलो पार्टी एमाले हो र जनताको समर्थन हामीलाई छ भन्ने आत्मविश्वासले लहर ल्याउन सफल भएका हुन्। एमाले जनसभामा जनताको उर्लँदो सहभागिताले त्यतैतिर इंगित गरिरहेको देखिँदैछ।

यो लहरले के कुरा जबर्जस्त स्थापित गरिरहेको छ भने जनमत दुई दलीय धु्रवमा आकर्षित भैरहेको छ। एउटा ध्रुव एमाले र अर्को ध्रुव कांग्रेस। संभवतः यो निर्वाचनको परिणमले एउटाको विकल्प अर्को भन्ने कुरा स्थापित हुनेछ। बचेखुचेका भुरे टुक्रेहरू एलाइन्स वा गठबन्धन जुनसुकै नाममा भए पनि यी दुवैतिर बाँडिने हुन्। जनमतको परिणाम हेर्न भने बाँकी नै छ।

यस्तो अवस्थामा वैशाख ३० गते हुने स्थानीय निकाय निर्वाचनका अजेन्डा के हुनसक्छन् ? सत्तापक्ष नेपाली कांग्रेस के/कस्ता मुद्दा लिएर चुनावमा जाँदैछ? प्रमुख प्रतिपक्ष तथा देशको ठूलो दल के कुरामा जोड दिएर चुनावमा उत्रिँदैछ? अरू दलले कुन मुद्दा उठाउन खोजिरहेका छन्? चुनावी प्रतिस्पर्धाको सिंगो घोडदौडमा को कहाँ छ? को धेरै अगाडि, को मध्यम र को धेरै पछाडि छन्?

आलेखको शीर्षकमै भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको नाम छ। उनको नाम राख्नुको कारण के भने यी यस्ता चुनावी रणनीतिवाज हुन् जसले भारतका ख्यातिप्राप्त दलहरू र खारिएका नेताहरूलाई चुनावमा धुलो चटाइदिए। कुनै चर्चामा नरहेका तर बदनामीको कुनै दाग नलागेकाआमआदमी पार्टीका उम्मेदवारहरूमार्फत केजरीवालले भर्खरै सम्पन्न पन्जाब राज्यको निर्वाचनमा दुईतिहाइ भन्दा बढी जीत हासिल गरेर सरकार बनाउने सफलता पाए। दिल्लीको ख्यातिबाट प्रभावित भएर पन्जावका जनताले अमूल्य मत केजरीवालका उम्मेदवारहरूको पक्षमा ओइर्‍याइदिए।

केजरीवाल भारतको प्रदेशस्तरको एउटा सानो क्षेत्र नयाँदिल्लीका मुख्यमन्त्री मात्र हुन्। यद्यपि, दिल्लीको जनसंख्या नेपालको जत्ति नै छ। तर पन्जाव धेरै ठूलो राज्य हो। त्यति हुँदा पनि केजरीवाल राज्यस्तरका नेता हुन् तर नेपाल सिंगो राष्ट्र हो। केजरीवाल मुख्यमन्त्री हुन् तर केपी शर्माओली देशको दुईदुईपल्ट कार्यकारी प्रधानमन्त्री बनेका ब्यक्ति हुन्। यी दुईको तुलना गरेकोबारे प्रश्न उठ्नसक्छ तर पनि तुलना किन गरिएको हो भने देशको वास्तविकता बुझेको र परिवर्तनको सपना देख्ने, आँट र साहस भएको व्यक्ति नेपाली राजनीतिमा केपीओली नै हुन्।

मुलुकको अवस्था परिवर्तन गर्न सक्ने लेबलको त्याग गरेको, देशलाई रूपान्तरण गर्न सक्ने समकालीन नेपालको राजनेता ओली नै हुन्। भारतमा केजरीवाल जसरी दलगत स्वार्थभन्दा माथि उठेर, गुटलाई तिरस्कार गर्दै आमजनतालाई निःशुल्क पानी, बिजुली, शिक्षा, स्वास्थ्यसेवा र सुशासनको कार्यक्रम लिएर देखापरेका थिए।

छोटो समयमै जनताका आधारभूत अधिकारबारे कहीँकतै संझौता नगरी अगाडि बढ्ने उनका कुरा सुनेर बहुचर्चित भारतीय नेता, बुद्धिजीवी र पत्रकारहरू केजरीवाललाई हाँस्यको पात्र बनाउथे तर उनले आफ्नो कार्यकालमा सफल कार्यान्वयन गरेरै देखाए। सरकारी स्कुल र अस्पताल अगाडि नर्सिङ होम र बोर्डिङ स्कुललाई निरिह सावित गरेर देखाइ नै दिए। सपना हो कि विपनामै हो सम्म पुर्‍याइदिए।

त्यो पनि निःशुल्क! अब सडकमा जीवन गुजारिरहेका नयाँदिल्लीका लाखौँलाख बासिन्दा छानो भएको घरमा बस्नुपर्छ भन्ने महत्वाकांक्षी आवास योजना लिएर अगाडि आएका छन्। कहाँबाट यतिधेरै खर्च जुटाउनु हुन्छ भन्दा केजरीवाल गंभीर बन्दै भन्छन्– घूस/कमिसन नखाने र कसैलाई खान नदिने अनि त्यो पैसाबाट जनताका न्यूनतम आवश्यकता पूरा गर्ने!

केपीओलीले त्यस्तो नेतृत्व गर्ने अवसर पाएका पनि थिए, २०७४को चुनावमार्फत। तर त्यो अवसर गुम्यो। अब पनि तयार हुने हो भने २०७९ को चुनाव ओलीका निम्ति नयाँ अवसर बन्न सक्छ किनभने प्रतिकूल अवस्थामा पनि उनी निर्णय लिन सक्छन्। सपना देख्न सक्ने र आफ्नो स्वार्थ त्याग्न सक्ने, दम्भीपन पनि हटाउन सक्ने, सरल र शालीन बन्न सक्ने, आफूलाई रूपान्तरण गर्न सक्ने ज्युँदा नेता हुन् ओली।

नेतृत्व दिन, उत्तराधिकारी तोक्न, गुट र फुटबाट विभाजित पार्टीलाई एक ढिक्का बनाउन उनले मात्र सकेको विगत छ। जनता र राष्ट्रियताको पक्षमा चट्टानी अडान राख्न माहिर छन्। सक्छन् उनी। गुट/उपगुटका स्वार्थलाई निमिट्यान्न पारिदिनसक्छन् ओली। आफ्नै कोटरीको घेरालाई पनि पत्तै नदिइ नारायणहरि बनाइदिन सक्छन् ओली।

निर्वाचनमा विनागठबन्धन सग्लोरूपमा हाँक दिन सकेका छन्। पार्टी फुटेको एकवर्षभित्र उनले पार्टीलाई जनताबीच सशक्तरूपमा तयार पारे। यो लरतरो आत्मबल होइन। दायाँ–बायाँ, छ्वाय–फ्वाएँ उनलाई केही छैन। त्यसैले उनी आफैँ पनि जनताको पक्षमा केजरीवाल जस्तै रूपान्तरित हुनसक्छन् भन्ने पछिल्लो उदाहरण हुन्।

सामान्यतः राजनीतिज्ञहरूले अनुमान गरेको र राजनीतिज्ञहरूसँग अपेक्षा गरिएको भन्दा फरक किसिमको क्षमता देखाउन उनी सक्छन्। त्यस्तो राजनेताको रूपमा रूपान्तरित हुनसक्छन् ओली। राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, जनतालाई समृद्ध बनाउन र देशलाई रूपान्तरण गर्नसक्ने समकालीन राजनीतिज्ञमा दुर्लभ पात्र हुन् ओली। तर यही निर्वाचन अभियानबाट ओली सच्चिनुपर्छ, जोगिनुपर्छ र राजनेतामा पुनःरूपान्तरित हुनसक्नुपर्छ र जनतालाई त्यो विश्वास दिनसक्नुपर्छ ओलीले। 

ती मूर्धन्य प्राध्यापक भन्छन्, उनलाई बा भनेर आफ्नो स्वार्थ पूर्तिगर्ने ध्येयले हिँडेका केही कृत्रिम छोराछोरीबाट हुने दुरूपयोगबाट उनी जोगिन सक्नुपर्छ। उनका आफ्ना छोराछोरी छैनन्। देशभरिका युवायुवतीलाई उनी आफ्नै छोराछोरी समान विश्वास पनि गर्छन् तर विगतमा बा मितबा भनेर लुटको धन फुपूको श्राद्ध गरेर दुरूपयोग गर्ने जमात पनि कम थिएन। रमाइलो र रोचक कुरा के भने, यो सबै ओलीले बुझेका पनि छन् तर अभिव्यक्ति दिएको सुनिएको छैन। यो घेराबाट जोगिन सके भने ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा मुलुकलाई छिट्टै रूपान्तरण गर्न सक्छन्।

ती प्राध्यापकको बिचारमा ओलीले आफ्नै पार्टी र मुलुकका प्रतिभाशाली उत्कृष्ट व्यक्तिहरूको पहिचान गरेर आफ्नो घेरा बढाउन सक्नुपर्छ। सही पात्र छान्न, समय व्यवस्थापन गर्न र प्राथमिकता निर्धारणमा विगतमा धेरै पटक चुकेका छन् ओली। जुन कुरामा केजरीवाल कहिल्यै चुकेनन्। केजरीवालसँग तुलना गर्दा उनका कमीकमजोरी र विगतका असफलता पनि औल्याउन छोड्नु हुँदैन, ती प्राध्यापक भन्छन्। राजनेता सुध्रिनु र रूपान्तरित हुनु भनेको जनताकै हितमा हुने हो। र, यसले उनैलाई व्यवस्थित हुन, सफल राजनेता बन्न मद्दतगर्छ। यति भनिसकेपछि ती प्राध्यापकले उल्टै शंका पो गरे, के तपाईँ ओलीको आलोचना आफ्नो स्तम्भमा लेख्न सक्नुहुन्छ?

अब निर्वाचन घोषणापत्र बनाउदा के गर्दा जनता खुसी र देश समृद्ध हुन्छ त्यसैमा उनले ध्यान केन्द्रित गर्नुपर्छ। सिंगापुरका लि हुन् वा मलेसियाका महाथिर वा दक्षिण कोरियाका पाक्चुंग नै किन नहुन्, तिनीहरूले देशको कायापलट गरे। ओलीले त्यस्तै गर्न सक्लान् त? ओली त्यस्तो बिम्ब बन्न सक्लान् त?

त्यही भएर नै हुनुपर्छ उनी भन्छन्, कांग्रेस जस्तो पार्टी माओवादी र समाजवादीसँग गठबन्धन चाहिन्छ भन्नुपर्ने अवस्थामा पुगेको छ। यसको अर्थ हो– नेपालमा केपीओलीलाई भारतका केजरीवाललाई जसरी हेरिँदैछ। ओलीमाथि पनि व्यापक दबाब छ, अहिले उनी चुके भने नेपालले यस्तो नेता धेरै समय पाउने छैन।

देशको काम अरूबाट पूरा हुन सक्दैन। आँट, साहस र दृष्टिकोणका कारण नै सत्तरीवर्ष अघिदेखि रुमलिएको र हुँडलिएको देशको व्यवस्थापन हुनसक्छ भन्ने सावित गरेर ओली नेपालको गृहनीति र परराष्ट्रनीतिमा स्थापित भएका हुन्। भारतको ज्यानमारा नाकाबन्दीमा परेको मुलुकलाई प्रशान्त महासागरसम्म यातायात पारबहन गर्ने साहस र आँट प्रदर्शन गर्न ओली सफल भए। चुच्चे नक्सा जारी गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाईसंविधानको अंग बनाउन सके।

टिप्पणीकार डा. श्याम उपाध्याय भन्छन्, यतिखेर केपी ओलीले प्रचण्ड, माधव नेपाल र शेरबहादुरको गठबन्धनबारे टिप्पणी गर्न समय खर्च गर्ने नै होइन। स्थानीय तहमार्फत कसरी समृद्ध नेपाल सुखी नेपाली बन्न सक्छन् भन्नेबारे अब उनले बोल्नुपर्छ। नयाँ विचार दिनुपर्छ। स्थानीय तहमा के/के राम्रा काम भए उदाहरणसहित त्यसका हिरो/हिरोइनहरूलाई चर्चामा ल्याउनुपर्छ।

हेर्नुस्, केजरीवालसँग तपाईँले ओलीको तुलना गर्दै प्रश्न गर्नुभयो तर म भन्छु ओलीले कम्तीमा ७ सय ५३ केजरीवालहरूलाई उम्मेदवार बनाउनुपर्छ। ७ सय ५३ मध्ये कहाँकहाँ केजरीवाल जस्तो काम गर्ने थिए? तिनलाई ल्याउनुपर्‍यो, चिनाउनुपर्‍यो र तिनलाई चुनावी अभियानमा हिँडाउनुपर्‍यो। स्थानीय तहका नेपाली केजरीवालले जसरी काम गरेका छन्तिनको चर्चा गर्नुपर्‍यो। जतिधेरै यस्ता व्यक्तिलाई ओलीले अवसर दिन्छन्, त्यतिनै स्थानीय मुद्दाहरू बहसको विषय बन्न थाल्छन्। अहिले गठबन्धनवालाहरू एमालेसँग त्रसित हुनुको मुख्य कारण यही हो! कम्तीमा ओलीले यो कुरो छिट्टै थाहा पाऊन्!

प्रकाशित: १६ चैत्र २०७८ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App