१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

क्षति न्यूनीकरणमा दमकल

नेपालको जेठो दमकल जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ २०७२ साल वैशाख १२ गते आएको शक्तिशाली भूकम्पको चपेटामा परी दमकलको आवास, कार्यालय तथा ग्यारेज भत्किएको छ।

दमकललगायतका सवारी साधन तथा फायर बाइकहरू क्षतिग्रस्त भएका छन्। अग्नि विपद्मा परेकाहरूलाई उद्धार गर्नुपर्ने कार्यालय आफै विपद्मा परी पालमुनि बसेर काम गर्दै आइरहेको छ। देशभरि नै भूकम्पीय विपद् आइपरेको छ, यसबाट हामी पनि अछुतो रहन सकेनौँ। भूकम्पीय विपद्को बेलामा आगलागीका घट्ना बढी हुन्छन्। अग्नि नियन्त्रण तथा उद्धार कार्य बढी गर्नु पर्ने हुन्छ। तर जुन म्याग्नेच्युटको भूकम्प काठमाडाँैमा आयो त्यसको हिसाबले आगालागीका घटना निकै कम भए। जतिखेर भूकम्पले काठमाडाँै कम्पायमान भयो त्यतिबेला प्रायः सबैले खाना खाइसकेको र अग्निजन्य क्रियाकलाप समाप्त भएकाले आगलागीका ठूला घटना भएनन्। साथै, लोडसेडिङका कारण पनि क्षति कम भयो। सहरका केही स्थानमा भएको आगलागीलाई समयमा नै नियन्त्रण गरियो। दमकल कार्यालयको आधारभूत काम भनेको अग्नि नियन्त्रण तथा उद्धार हो। तर देशमा आएको विनाशकारी भूकम्पमा आगलागी नियन्त्रणमा मात्र दमकल कार्यालय सीमित हुन चाहेन। अग्नि नियन्त्रणका निम्ति निश्चित टोली राखी एउटा दमकलले महाँकालबाट पिउने पानी ल्याइ भूकम्प पीडितहरूको शिविरमा पुर्या उने तथा निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थालाई हप्तौँसम्म पानी वितरण गरियो। स्थानीयको आग्रहमा नेपाल स्काउट तथा विभिन्न संघसंस्थासँग समन्वय गरी जोखिम न्यूनीकरण कार्यमा दमकलकर्मी परिचालन गरियो। आगलागी मानव सृजित विपद् हो। काठमाडौँमा भएका आगलागीको कारण ग्यास लिक र विद्युत् सर्ट भई हुने गरेको पाइन्छ। यतिखेर दुवै क्रियाकलामा मानिसको संलग्नतामा कमी भएको कारण आगलागीको घटना हुन पाएन। आवास गृह (ब्यारेक) भत्कँदा र समयमा खानपिनको टुँगो नहँुदा पनि दमकलकर्मीले पेशागत मर्यादा तथा व्यावसायिक धर्म निर्वाह गरिरहे। 
भूकम्पको पहिलो कम्पनसँगै दमकलकर्मी घरबारविहीन भएका छन्। चौबीसै घन्टा उच्च सतर्कताका साथ आपत्कालीन मानवीय सेवा प्रदान गर्ने दमकलकर्मीको बासको लागि घाम, पानी, हावा र हुरी थेग्ने सामान्य टहरा उपलब्ध हुनु जरुरी छ। जुनसुकै बेला तयारी अवस्थामा रहनुपर्ने दमकल कार्यालय लोडसेडिङ मुक्त छैन। रातको समयमा छामछामछुमछुम गर्दै सेवा प्रवाह गर्नुपर्ने अवस्था छ। दमकलभित्र पानीको आफ्नै स्रोत छैन, ट्यांकरबाट पानी ल्याउने गरिएको छ। जनशक्तिको अभाव छ। कतिपय दमकलकर्मी स्वयंको घर भत्केको छ। यही कारण बिदामा जानेको संख्या बढ्दा जनशक्ति व्यवस्थापनमा समस्या देखिएको छ।
जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँमा मौजुदा दमकललगायतका औजार–उपकरण सञ्चालनको लागि कम्तीमा पनि ५५ जना जनशक्ति आवश्यक पर्नेमा हाल २१ जनामात्र छन्। यी कर्मचारीमध्येबाटै २४ घन्टा फायर कलको लागि टेलिफोन ड्युटी खटाउनुपर्ने हुन्छ। त्यसमध्ये १८ जना कर्मचारीमात्र अग्नि नियन्त्रण तथा उद्धार कार्यमा दक्ष रहेका तथा अन्यचाहिँ दमकल सञ्चालनमा सहयोगीका रूपमा कार्यरत छन्। दमकलमा कार्यरत कर्मचारीको वृत्ति विकास तथा सेवासम्बन्धी छुट्टै ऐननियमको अभाव छ। 
अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठुलो विपद् यही भूकम्प हो। त्यसैले अबका दिनमा हामीले यो विपद्बाट पाठ सिकी पूर्वतयारीमा लाग्नु जरुरी छ। विपद्मा प्रवाह गर्नुपर्ने खोज, उद्धार तथा राहत एवं पुनर्निर्माण, पुनर्स्थापनाको ढंगमा आमूल परिवर्तन हुनुपर्ने देखिएको छ। भविष्यमा यस्ता घटना भइहालेमा राष्ट्रिय जनशक्तिलाई नै उपयोग गर्नु राम्रो हुने देखिन्छ। राष्ट्रिय जनशक्तिलाई तालिम तथा आधुनिक औजार उपलब्ध गराइ विपद् व्यवस्थापनमा नागरिक स्तरसम्म स्वयंसेवक तयार पार्नुपर्ने देखिन्छ। ठूला विपद्को समयमा धेरै संख्यामा उद्धारकर्मी आवश्यक पर्ने र यस्ता स्वयंसेवकलाई स्थानीय परिवेशका बारेमा पर्याप्त जानकारी हुने हँुदा उद्धार तथा राहत सहज हुन्छ। 
काठमाडौँ दमकल सहरको अति व्यस्त स्थान नयाँसडकमा छ। जुद्ध बारुण यन्त्र स्थापना हँुदाको अवस्था र अहिलेको अवस्थामा निकै फरक छ। उपत्यकाका ३ वटै सहर एकअर्कामा जोडिइसकेको अवस्था छ। यस्तो अवस्थामा हामीले अग्नि विपद्का कारण हुने जनधनको क्षति न्यून गर्न दमकल कार्यालय पायक पर्ने स्थानमा रहनुपर्छ। उपत्यकाका पुराना तथा भित्री भागमा दमकल पुग्नसक्दैन। यस विषयमा पनि ध्यान दिनुपर्छ। कतिपय वडामा दमकलको पहुँच छैन। केही मूल सडकबाहेक अन्य स्थानमा दमकलको पहँुच छैन। 
विनाशकारी भूकम्पले काष्ठमण्डप, भीमसेनस्थान, यट्खा, क्षेत्रपाटी र खिचापोखरी धरहरातर्फका सडक अवरुद्ध पार्यो्। वैकल्पिक सडकको पनि अभाव छ। भाग्यबस नै भन्नुपर्छ, भूकम्पका बखत ठूला आगलागीका घटना भएनन्। नत्र अवस्था अझै भयावह हुनसक्थ्यो।
वर्षायाममा जमल, भोटाहिटी, बीरअस्पताल क्षेत्रमा पानी जमेर सवारी जाम हुने समस्या छ। उसै पनि ती क्षेत्रका सडक साँघुरा छन्। सामान्यतया ‘वान वे' क्षेत्र प्रायः सधँै जाम रहने हँुदा सो क्षेत्र भएर दमकल घटनास्थलमा पुग्न गाह्रो पर्ने गर्छ। यसकारण पनि अग्नि विपद्बाट हुने जनधनको क्षति कम गर्न कठिनाइ परिरहेको छ। त्यसैले यस विषयमा सरोकारवाला निकायबीच छलफल हुनु अत्यावश्यक छ। अन्यथा अग्नि विपद्को घटना भएमा दमकल पुग्नसक्ने छैन र धनजनको क्षति भएको टुलुटुलु हेरिरहनुको विकल्प हुने छैन। त्यसैले अविलम्ब दमकल कार्यालयको पुनर्निर्माण गर्दै, साधनस्रोत सम्पन्न पार्नु अपरिहार्य छ। यसैगरी, घनाबस्ती भएका स्थानमा कम्तीमा दमकल प्रवेश गर्नसक्ने बाटो बनाउनु पनि आवश्यक छ। 

प्रमुख, जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौँ

प्रकाशित: १२ जेष्ठ २०७२ २१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App