प्रायजसो व्यक्तिले महसुस गर्ने र देख्ने सफलता भने अरूको बाहिरी र भौतिक उन्नति नै हो। उसको भौतिक उन्नति कुन मार्गबाट कसरी आर्जन भएको छ, कस्तो मेहनत परेको छ त्यता याद हुँदैन। आय आर्जनको स्रोत के छ, त्यो स्रोत सकारात्मक, सन्तोषजनक हो या क्षणिक सफलताको आकांक्षाले भरिएको छ विचार पुर्याउनुपर्ने हुन्।
सामान्यतया संसारका बाहिरी उद्देश्य र मनका आकांक्षाले त सधैँ पागलपनमै पुर्याउँछ किनकि संसारका लक्ष्य अरूको तुलना र प्रतिस्पर्धा गर्दैमा एकपछि अर्को गर्दै प्रस्तुत हुन थाल्छन्। मनले कहाँ विश्राम दिन्छ र अरूको सफलता, व्यापार, योजना एकपछि अर्को गर्दै आफ्नो चाहनामा बाँधिएको हुन्छ।
मानौँ ९९ प्रतिशत समय अरू कस्तो बन्यो र म कसरी त्यसो बनूँ, बहिर्मुखी ऊर्जामै सकिएको हुन्छ। यसो हेर्दा त लाग्छ जीवन प्रगतिका लागि कतै नरोकिइकन दौडधुप गरेकै राम्रो तर जीवनको एकपलमा गएर म केका लागि दौडेको थिएँ भनेर पछुताउनेहरूको संख्या प्रशस्तै पाइन्छ।
त्यही दुई छाक भोजन, एउटा बासस्थान, सन्तान सुख र परिवारको दायित्वका लागि मैले जीवनमा कतिसम्म गरिन त? भनेर आफैँलाई प्रतिप्रश्न गर्नेहरू थुप्रै भेटिन्छन्। कति गर्न हुने काम गरेँ, कति गर्न नहुने काम गरेँ, कति चाहिने काम गरेँ, कति नचाहिने काम गरेँ भन्दै जीवनको उत्तरार्द्धमा पछुताउनुभन्दा वर्तमानमा सम्यक र प्रेमपूर्ण भएर जिउनु नै अर्थपूर्ण रहन्छ भन्ने बोध जागृत हुन सके ठूलो शिक्षा हुनेछ।
हावाको इशारामा मडारिएको गगनमाथिको बादल जस्तै स्वतन्त्र र प्रत्येक क्षण स्वयंमा आनन्दित हुने कला अस्तित्वले सिकाएको छ। तर त्यति सजग कहाँ छ र मानिस? मनको इशारामा, विगतप्रतिको पछुताउ र भविष्यको चिन्ताले ग्रसित बनिदिन्छ। वर्तमानमा जिउने कला, आफ्नो वास्तविक स्वभाव बिर्सेर बेहोसीमा अरू बढी प्राप्तिकै लागि भड्किरहेको पत्तो हुँदैन।
तथाकथित पारलौकिक धनको लालचले, राजनीतिको मोहले र मृगतृष्णाले ध्यान र प्रेमको कला हामीबाट खोसिएको छ, अझै पत्तो छैन। भन्न त भनिन्छ–जीवनमा ठूलो लक्ष्य लिनुपर्छ। लक्ष्य के हो र कर्म के हो छुट्याउन सकिएको हुँदैन। कर्म लक्ष्य प्राप्तिको मार्ग र कर्मको परिणाम जोडिएर लक्ष्य हाँसिल हुन्छ तर ठूलो लक्ष्यका लागि सानातिना फाइदा र सानातिना आकर्षणमै ऊर्जा खेर गइरहेको पत्तो हुँदैन।
व्यक्तिको आदत बसेको हुन्छ हरेक कुरालाई दृष्यका रूपमा मात्र हेर्ने र अर्थ लगाउने। द्रष्टा बनेर त्यसलाई जस्तो छ त्यस्तै देख्ने कोसिस गर्दैन। परमगुरु ओशो जीवनप्रति धन्य हुन आग्रह गर्दै भन्नुहुन्छ, 'जीवनलाई सम्मान गर, जीवनप्रति धन्य बन। जीवन जस्तो पवित्र केही छैन, जीवन जस्तो दिव्य पनि केही छैन।'
जीवन त्यति पवित्र छ भने कर्म पवित्र छ कि छैन, संगत पवित्र छ कि छैन होस पुर्याउने आफैँले हो। नवीनतम योजना र सिर्जनात्मक सोचको उपज नै जीवनलाई सम्यक र सन्तुलनसाथ हेर्ने कला हो। जीवनमा मूल्यले भन्दा धेरै अर्थ महत्वले राख्छ। त्यसैले हेर्ने दृष्टि सही हुनुपर्छ। त्यो नै सफलताको राज हो।
सय रुपियाँले भरिएको महल
एकजना सम्राट आफ्नो जीवनको उत्तरार्द्धमा धेरै चिन्तित थिए। उनलाई आफ्नो अन्तिम अवस्थाको, मृत्युको चिन्ता भन्दा आफ्ना ३ छोरामध्ये कसलाई राज्य सुम्पेर जाउँ भन्ने निर्णय गर्न नसकेकामा चिन्ता थियो। जो शान्त छ, संयम छ, राज्यको हित गर्ने स्वभावको छ उसलाई नै राज्य सुम्पनु उचित ठानेका थिए उनले तर ३ जना छोराको परीक्षा कसरी लिने भन्ने निर्णय गर्न असमन्जस्यमा परेका थिए।
जीवनमा धेरै कुरा बाहिरी स्वभाव र कर्मले गुण/दोष छुट्टयाउन सजिलो हुन्छ तर महत्वपूर्ण पक्ष, असली स्वभाव र गुण भित्रबाट प्रष्फुटन हुने हुँदा बाहिरी गुणले पहिचान गर्न गाह्रो हुन्छ। आफ्ना छोराहरूमा रहेको भित्रको असलियत थाहा पाउन मन लाग्यो सम्राटलाई। उनी सोच्दै थिए, एक फकिरले एउटा युक्ति बताइदिए।
सम्राटका ३ महल थिए। सम्राटले अब आफ्ना ३ छोरालाई अगाडि बोलाए र सबैलाई १०० का दरले रुपियाँ दिए र भने– यो १०० रुपियाँमा तिमीहरूलाई १–१ वटा महल दिन्छु। तर तिमीहरूले यो १०० रुपियाँले आफ्नो महल भर्नुपर्नेछ। जसको महल हराभरा र पूर्ण छ उसलाई नै म राज्यको उत्तराधिकारी बनाउनेछु र राज्य सुम्पिनेछु।
३ छोराले १००–१०० रुपियाँ लिए। सबले सोचे, मात्र १०० रुपियाँले कसरी महल हराभरा र पूर्ण पार्ने होला? जेठा राजकुमारले सोचे, यो सय रुपियाँले के सामान आउँछ र महल भर्नु ? बरु, जुवा खेल्छु, जितेर धेरै पैसा आउँछ अनि सामान किनेर महल भरिभराउ पार्नुपर्ला। उनी जुवाघर गए, जित्छु भनेर जुवा खेल्नेले यदाकदा बाहेक सधैँ हार्छ, उनले पनि भएको १०० रुपियाँ जुवामै सिध्याए। खाली हात फर्के, उनको महल त खाली नै रह्यो।
माइला राजकुमारले पनि सोचे, सय रुपियाँमा त राम्रो कुरा केही आउँदैन तर महल त भर्नुनै छ। उनले सोचे अब फोहोरमैला, पुराना कवाडी, फालिएका सामान ल्याएर महल भर्नुपर्ला। उनले त्यही गरे, पुराना सामान, फालिएका चिज, फोहोरमैला जम्मा गरेर महल त भरिभराऊ पारे तर दुर्गन्धले बसिसक्नु भएन। वरपरका मानिससमेत बस्न र त्यो बाटो हिँड्न नसक्ने भए।
कान्छा राजकुमारको महलमा सम्राट पुग्छन्। टाढैबाट सुगन्ध फैलिएको छ। औँसीको रात भएपनि भित्र पस्नासाथ दीपावलीले घर सजिएको छ। सम्राटले सोध्नुभयो–तिमीले केले महल हराभरा गर्यौ त खोइ? राजकुमारले भने–महाराज मैले प्रकाशले महल पूर्ण बनाएको छु।
सम्राटका आँखा महलका चारैतिर पुग्छन्। महलको चारै कुना सुगन्धित फूलहरूले सजिएका छन्। कुनाकुनामा दीप जलेको छ। सारा महल प्रकाशमय भएको छ। फूलको सुगन्ध चारैतिर फैलिएको छ। कान्छा राजकुमार परीक्षामा पास भए। उनलाई नै राजाले आफ्नो उत्तराधिकारी बनाए र राज्य सुम्पिए।
जीवनका धेरै परीक्षामा हामी मुस्किलले सम्राट हुने अवसर पाउँछौँ। कैयौँ पटक जीवनलाई जुवाको दाउमा लगाएका छौँ। केही पाउने र पाएपछि खुसी र प्रेमपूर्ण जिउने आशामा भएको सम्पदा पनि गुमाएका छौँ। कतिले जीवनलाई जसरी पनि पूर्ण पार्नुछ भन्दै फोहोर र दुर्गन्धले भरेका छौँ।
जीवनमा जे–जे व्यर्थ छन् तिनकै संग्रह गरेका छौँ। दुर्गन्ध र फोहोरले जिउनै मुस्किल भएको छ। चिन्ता र दुःख तारा, चन्द्रमा र आकाशबाट आएको छैन। त्यही दुर्गन्धरूपी जीवनको महलबाट आउने गरेको हुन्छ। आफैँले, आफ्नै कर्मको कारणले दुर्गन्धरूपी व्यर्थका सामग्री संकलन भएका छन् र दुःखमा पुर्याएका छन्।
हामीले पनि प्रकाश र सुगन्धले जीवनरूपी महल भरिपूर्ण पार्न सक्छौँ भन्ने होस अब आएन भने फेरि पनि जीवनको परीक्षामा हार नबेहोरी सुख छैन। जसले आफ्नो जीवनरूपी महललाई प्रकाश र सुगन्धले भर्न सक्छ, जहाँ स्वयं संगीत गुञ्जिन थाल्छ त्यहीँ जीवन प्रेमपूर्ण र आनन्दित हुन थाल्छ। दुई किसिमका राजकुमाररूपी स्वभाव त हाम्रोभित्र हुन सक्छ तर कान्छा राजकुमाररूपी स्वभाव भने भित्रैबाट जगाउन जरुरी हुन्छ।
जसको भित्र प्रकाश र सुगन्धरूपी सम्पदा छ उही नै जीवनरूपी राज्यको उत्तराधिकारी बन्न सक्छ। हाम्रो जीवन महल खाली नरहोस्, फोहर र दुर्गन्धले पनि नभरियोस्। प्रकाश, सुगन्ध, प्रेम र आनन्दले भरिएको जीवन महल बनोस्। त्यसो हुन धेरै सम्पदा चाहिन्न सय रुपियाँले पनि महल भरिपूर्ण हुँदोरहेछ।
प्रकाशित: १३ चैत्र २०७८ ०१:३९ आइतबार