१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

ऊर्जा सुरक्षा दृष्टिमा रुस–युक्रेन युद्ध

युक्रेनका हाँस्य कलाकार भोलोडिमिर जेलेन्स्कीलाई सबैले जोकरले कस्तो राजनीति गर्ला? कसरी देश चलाउला भन्थे सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका बेला।

कुनै पनि देशका राष्ट्र प्रमुख र नेताको सही पहिचान देशलाई दुःख विपद् पर्दा उसले निभाउने भूमिका र खेल्ने अभिभावकत्वका आधारमा मापन हुने गर्छ। रुस–युक्रेन युद्धमा राष्ट्रपति जेलेन्स्कीले आफूलाई युक्रेनी नायकमात्र नभई सारा विश्वका लागि महानायक बनेर देखाएका छन्।

देशलाई आफ्नै छिमेकी देशले अन्धाधुन्द गोली, बारुद र मिसाइल पड्काएर सर्वत्र कोलाहल मच्चाइरहेका बेला उनले देशभित्र छाएको युद्धको निस्पट अन्धकारको समयमा एउटा चम्किलो उज्यालो ज्योति बनेर देशबासीलाई ठूलो हौसला र प्रेरणा थपेका छन्। देश भक्तिको अनुपम नमुना पेस गरेका छन्। अमेरिकाले उनलाई हवाई उद्धार गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गर्दै देशलाई यतिखेर शत्रुसँग लड्न चाहिने हतियार र गोलीमिसाइल दिन आग्रह गरेका थिए।

बच्चाहरूको बिचल्ली

दस लाख भन्दा बढीबालबालिका यस युद्धको दुष्प्रभावमा परेको छ। सहायता प्रदान गर्ने निकायहरूले बताएअनुसार बढ्दो चिसो र कठ्यांग्रिदो हिउँले धेरै मानिसको जीवन कष्टकर बनाइरहेको र ज्यानसमेत लिएको दर्दनाक दृश्यहरू टेलिभिजनका पर्दामा पत्रिकाका बाइलाइनहरूमा भरिएका छन् संसारभरि। एउटा ११ वर्षीय युक्रेनको केटोको हृदयविदारक कथाले संसारका न्युज भरिए। उसले युद्धको सन्त्रासबाट बच्न एक्लै १३०० किमिको यात्रा तय गर्‍यो।

उनको घर जापोरिजाहिया न्युक्लियर पावरहाउस नजिकै थियो। जुन युक्रेनको दक्षिणपूर्वमा रहेको सबैभन्दा ठूलो न्युक्लियर पावरहाउस मानिन्छ। यो विश्वका दस ठूला न्युक्लियर पावरहाउस मध्ये पर्छ। यो पूर्व सोभियत युनियनले बनाएको थियो। न्युक्लियर पावरहाउस बिष्फोटको सम्भाव्य आतंकले सबैलाई भागाभाग बनाएको थियो।

युद्धको त्यही सन्त्रासबाट बच्न एउटा हातमा पासपोर्ट र अर्को हातमा प्लास्टिकको झोला बोकेका उनको पाखुरामा आफन्तहरूको टेलिफोन नम्बर लेखिएको थियो। उनकी आमा बिरामी थिइन् र आफ्नी अपाङ्ग हजुरआमालाई रेखदेख गर्नुपर्ने जिम्मेवारीले छोरालाई लिएर छिमेकी देसमा शरणमा जान सकिनन्। एकातिर अपाङ्ग वृद्ध आमा, अर्कातिर आफ्नो मुटुको टुक्रा छोरो थियो, बीचमा उनी थिइन् र अगाडि युद्धको त्रासदी जीवन मरण बनेर मडारिएको थियो।

त्यस्तै अर्का १२ वर्षका अलेक्जेन्डर आफ्नी ६ वर्षीय बहिनीलाईसँगै लिएर हिँडेका र उनले आफूले चढेको बसबाट आफ्नी आमालाई बिदाइका हात हल्लाउँदै गर्दा ६ वर्षे बैनीको रुवाइको कारुणिक दृश्य हेरिनसक्नु थियो। यस्ता दृश्यले सञ्चार माध्यमहरू भरिँदै गर्दा अर्को दिन झन् उदेकलाग्दो दृश्य देखियो, रुसी सैनिकले युक्रेनको बाल तथा प्रसूति गृहमाथि नै आक्रमण गरे।

सयौँ बालबालिका हस्पिटलको त्यो भग्नावशेषभित्र पुरिएको अनुमान गरिएको छ। रुसले युक्रेनमा ३४ वटा हस्पिटल र २०२ वटा बालबालिका पढ्ने स्कुल ध्वस्त गरेको बताइन्छ। युद्ध कति हृदयविदारक कति विध्वंशक र कति पीडादायी हुँदोरहेछ? आज संसारले महसुस गरिरहेको छ।

ऊर्जा सुरक्षा  

ऊर्जा स्रोतमा आफ्नो प्रभुत्व बढाउन ठूला रास्ट्रबीच बढ्दो विश्व प्रतिस्पर्धाको रूपमा ऊर्जा सुरक्षामा नयाँ खतराहरू देखापरेका छन्। युरोपेली आयोगले युक्रेनमा रुसको आक्रमणका कारण ग्यासबाट मुक्त गरी सन् २०३० भन्दा अगाडि नै युरोपलाई रूसी जीवाश्म इन्धनबाट स्वतन्त्र बनाउने योजनाको रूपरेखा प्रस्ताव गरेको छ। रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको देखिन्छ।

यो योजनाले युरोपमा बढ्दो ऊर्जाको मूल्यलाई दृष्टिगत गर्दै र अर्को जाडोका लागि ग्यास स्टकहरू पुनः पूर्ति गर्न उपायहरूको एक शृंखलाको कडीको रूपमा आएको छ। युरोपले धेरै महिनादेखि बढेको ऊर्जा मूल्यको सामना गरिरहेको छ तर अब आपूर्तिमा अनिश्चितताले समस्या बढाउँदैछ। आरइपावोरइयुले ग्यास आपूर्ति विविधीकरण गर्न, नवीकरणीय ग्यासहरूको रोल–आउटलाई गति दिन र तताउने र ऊर्जा उत्पादनमा ग्यास प्रतिस्थापन गर्न खोज्नेछ। यसले वर्षको अन्त्यअघि रुसी ग्यासका लागि इयुको माग दुईतिहाइले घटाउन सक्छ।

युरोपियन युनियनकी अध्यक्षले भनिन्– “हामी रुसी तेल, कोइला र ग्यासबाट स्वतन्त्र हुनुपर्छ। हामी स्पष्टरूपमा हामीलाई धम्की दिने आपूर्तिकर्तामा भर पर्न सक्दैनौँ। हामीले बढ्दो ऊर्जा मूल्यको प्रभाव कम गर्न, अर्को जाडोका लागि हाम्रो ग्यास आपूर्तिलाई विविधीकरण गर्न र स्वच्छ ऊर्जा संक्रमणलाई गति दिन अहिले नै काम गर्न आवश्यक छ। हामी जति छिटो नवीकरणीय ऊर्जा र हाइड्रोजनमा स्विच गर्छौँ, थप ऊर्जा दक्षताको साथमा, त्यति नै छिटो हामी साँच्चै स्वतन्त्र हुनेछौँ र हाम्रो ऊर्जा प्रणालीमा सफलता हासिल गर्नेछौँ। म यस हप्ताको अन्तमा भर्साइलमा युरोपेली नेताहरूसँग आयोगका विचारहरू छलफल गर्नेछु र त्यसपछि मेरो टोलीसँग चाँडो कार्यान्वयन गर्न काम गर्नेछु।

संयुक्त राज्य अमेरिकाले साउदी अरबपछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि तेलको मूल्य बढेको छ। ब्लुमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा युक्रेन–रुस युद्ध सुरु भएपछि बजारमा तेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

युरोपेली ग्रिन डिलका लागि कार्यकारी उपाध्यक्ष, फ्रान्स टिम्मरम्यानले भनेः “हामीले हाम्रा कमजोरीहरूलाई सम्बोधन गर्ने र हाम्रो ऊर्जा छनोटहरूमा द्रुत आत्मनिर्भर बन्ने समय हो। बिजुलीको गतिमा नवीकरणीय ऊर्जामा प्रवेश गरौँ। नवीकरणीय ऊर्जा सस्तो, सफा र सम्भावितरूपमा अन्तहीन ऊर्जाको स्रोत हो र अन्यत्र जीवाश्म इन्धन उद्योगलाई पैसा दिनुको सट्टा, तिनीहरूले यहाँ रोजगारी सिर्जना गर्छन्। युक्रेनमा पुटिनको युद्धले हाम्रो स्वच्छ ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने अत्यावश्यकता देखाउँछ।

ऊर्जा आयुक्त, काद्री सिमसनले भनेः “युक्रेनमा रूस आक्रमणले आपूर्ति स्थितिको सुरक्षालाई बढायो र ऊर्जाको मूल्य अभूतपूर्व स्तरमा पु¥यायो। यस जाडोका बाँकी हप्ताहरूमा, युरोपमा पर्याप्त मात्रामा ग्यास छ तर हामीले अर्को वर्षका लागि तुरुन्तै हाम्रा भण्डारहरू पुनः पूर्ति गर्न आवश्यक छ। आयोगले अक्टोबर १ सम्ममा इयुमा ग्यास भण्डारण कम्तीमा ९०% भरिनुपर्ने प्रस्ताव गर्नेछ। हामीले युरोपेली घरपरिवार र व्यवसायहरूलाई असाधारण उच्च मूल्यको प्रभावबाट जोगाउन मूल्य नियमन, राज्य सहायता र कर उपायहरू पनि उल्लेख गरेका छौँ।

अर्थतन्त्रमा परेको प्रभाव

रुस युक्रेन युद्धले विश्व अर्थतन्त्र नराम्ररी जकडिएको छ। संसारभरि ऊर्जा ग्यास खाद्यान्न सबैको भाउ अप्रत्याशितरूपमा तरंगित भएको छ। विश्वका ठूला कम्पनी र राष्ट्रहरूले रुसलाई आर्थिक नाकाबन्दी गर्ने क्रम बढ्दो छ। रुसी सेवा र वस्तुहरूको बहिष्कार संसारभरि द्रुतरूपमा चलेको छ।

इन्फे्लेसन बढेर ५.५ प्रतिशत भएको छ। बैंक अफ इन्गल्यान्डका अनुसार यो अप्रिल सम्ममा ७.२५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। तथापि अर्थशास्त्रीहरूले यो अझ बढेर ८.७ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्। त्यस्तै आर्थिक वृद्धि ४.२ प्रतिशतबाट घटेर १.९ प्रतिशत हुने बताइन्छ। यसले अर्थतन्त्रमा ५१४ बिलियन पाउन्ड गुम्ने बताइएको छ।

बढ्दो ऊर्जा गरिबी

रुस युक्रेन युद्धका कारण विश्वभरि ऊर्जा गरिबी बढ्दो छ। युरोपको विकसित देश मानिने बेलायतमा समेत मानिस हिटिङ र इटिङमा एउटा रोज्नुपर्ने दुःखद परिस्थितिबाट गुज्रिरहेका छन्। दुई वर्षअघिमात्र ९०० पाउन्डले पुग्ने ऊर्जा खर्च युद्धको कारण यतिखेर बढेर ४२७० पाउन्ड पुगेको छ। ऊर्जाको मूल्य बढ्दाखेरि समाजका सबै क्षेत्र प्रभावित भएका छन्। खानाको मूल्यसमेत आकासिएको छ।

खाद्यान्न अभाव र मूल्यवृद्धि

रुस र युक्रेनले विश्वको एकचौथाइ गहुँ उत्पादन गर्छन्। विश्वले रुसमा लगाएको चौतर्फी नाकाबन्दीले महंगी आकासिएको छ। यसरी रुसतिरबाट आउने गहुँ, जौ पास्ता जस्ता खाद्यान्न रोकिनाले बेलायतमा समेत ब्रेड, पास्ताको मूल्य ५० प्रतिशतसम्म बढेको देखिन्छ।

ग्लुमी एनालाइसिस फ्रम द सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चका अनुसार बेलायती परिवारहरूले ११ बिलियन पाउन्ड बराबरको आफ्नो लिभिङ स्ट्यान्डर्ड गुमाउने प्रक्षेपण गरिएको छ। बेलायतले रसियाको ८% ग्यास आपूर्ति गर्ने र त्यसमा लगाइएको प्रतिबन्धले ऊर्जाको माग अत्यधिक बढेको छ। हरेक बेलायती परिवारको डिसपोजेबल आय ४८ प्रतिशतले घट्नेछ। यो २५५३ पाउन्ड बराबर हुन आउँछ जुन सन् १९५५ पछिको सबैभन्दा ठूलो गिरावट मानिएको छ।

नेपालको भूमिका  

मानव अधिकार परिषद्को बैठकमा मतदान हुँदा नेपालले युक्रेनको पक्षमा मत दिएको थियो। त्यस्तैगरी संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा भएको अर्को मतदानमा पनि नेपाल युक्रेनउपरको हमलाको विरोधमा खरोरूपमा प्रस्तुत भएको थियो। यो विश्व परिवेशबाट नेपालजस्ता साना मुलुकले ठूलो पाठ सिक्न आवश्यक छ।

नेपाल विश्वका नवीकरणीय ऊर्जाको एउटा नमुना मुलुक, जलविद्युत्को अपार सम्भाव्यता, ३०० दिन घाम लाग्ने आकाश, बतासले हुइँकिइरहने अग्ला पहाडहरू र प्रचुरमात्रामा बायोग्याँस, प्राकृतिक ग्याँस, खानी र खनिजहरूले भरिभराउ देशलाई भोलि विश्वका सबैभन्दा धेरै ऊर्जा खपत गर्ने, बढी कार्बन उत्सर्जन गर्ने र यस्तो विषम परिस्थितिमा समेत रुसको अत्याचारका विरुद्ध चुइँक्क दुई शब्द नबोल्ने छिमेकी शैलीले भोलिको विश्वपरिवेश, ऊर्जाको भूराजनीति, ऊर्जा सुरक्षा र नेपालले भोग्न सक्ने अप्ठ्याराहरूलाई समयमै आत्मसात गर्न ढिला गर्नुहुँदैन।

अर्कातिर ऊर्जाका ठूला भौतिक संरचनाहरू कुनै सन्की शासकका लागि विश्व समाप्त पार्ने डरलाग्दो हतियार पनि बन्न सक्ने यथार्थ, न्युक्लियर प्लान्टमाथिको कब्जा, रासायनिक हातहतियारदेखि बायोलजिकल हतियारले नपुगेर हाइड्रोपावरका ठूला ड्यामहरूसमेत कब्जा भैरहेको विश्व यथार्थलाई हामी सबैले मनन गर्नुपर्छ। र, सोहीअनुसारको ऊर्जा सुरक्षा अपनाउनुपर्ने सन्देश रुस–युक्रेन युद्धले दिएको छ। 

प्रकाशित: ११ चैत्र २०७८ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App