१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

कोभिडको महामारी सकिन लागेको हो?

शुक्रबार साँझ यो आलेख तयार हुँदै गर्दा देशभरिमा कोभिड १९ रोगका कारणले मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ पुगेको छ। जसमा आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ रहेको छ भने देशभरिमा नयाँ थपिएका संक्रमितको संख्या १ सय २६ रहेको छ। यो रोग नेपालमा छिरेदेखि अहिलेसम्म एन्टिजेन र पिसिआर परीक्षणमा संक्रमित देखिएकाहरूको संख्या १२ लाख ५६ हजार ३ सय ९४ रहेका छन्। त्यसो त यो संख्या सरकारी तथ्यांक मात्र हो, तथ्यांकबाहिर पनि एउटा ठूलो संख्या छँदैछ।

तर खुसीको कुरा के भने दिनदिनै यसको संक्रमण कमजोर हुँदै गइरहेको छ। संक्रमितमा पनि पहिलेजस्तो ज्यानै जाने जोखिम कम हुन थालेको छ। यसमा देशभरि चलाइएको खोप अभियान र नागरिक सचेतनाको भूमिका पनि उत्तिनै छ।  

संसारभरि नै महामारीले ४३ करोड ३८ लाख ९२ हजार ५ सय ६५ जनालाई संक्रमित पारेको तथ्यांक देखिन्छ। जसमध्ये लगभग ६० लाखको त मृत्यु तथ्यांकमै छ। तथ्यांकबाहिर पनि कयौँको मृत्यु भएको आशंका गरिएको छ।  

यत्तिका मृत्यु र बिरामी भए पनि केहीले यो रोगलाई रोगै होइन भन्नेदेखि जनसंख्या नियन्त्रण गर्न ल्याइएको प्रयोगशाला निर्मित रोग ठानेहरूको पनि कमी छैन। कोभिड १९ र षडयन्त्रका सिद्धान्त प्रतिपादन गर्नेको पनि यहाँ कमी छैन। त्यसैले यो रोगको खोप वहिष्कार गर्नेहरूको संख्या पनि उत्तिकै छ। वहिष्कारवादीहरू नेपालमा पनि देखिएका छन् तर तिनको प्रभाव निकै न्यून र लगभग शून्य नै देखिन्छ।

चाहे जसले जे जस्तो षड्यन्त्र देखे पनि संसार हल्लाउने गरी एउटा रोग आयो, त्यसका लागि खोप बनाउने होडबाजी पनि शुरु भयो। ती खोपका प्रभाव र असरमाथि पनि विभिन्न अनुसन्धानहरू भए।

बेलायती स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको तथ्यांकले खोपको प्रभाव सकारात्मक र निकै प्रभावकारी देखाएको छ। जसले दुवै डोज खोप लगाएका छन्, उनीहरू नलगाउनेको तुलनामा ८१ प्रतिशत बढी कोभिड १९ बाट सुरक्षित देखिए। गएको जुलाईदेखि डिसेम्बरसम्मको तथ्यांक हो यो। जसले तेस्रो वा बुस्टर डोज लगाएका छन्,तिनीहरू नलगाउनेको तुलनामा ९३ प्रतिशत सुरक्षित रहेको पाइएको छ।  

जसले खोप लगाएको छैन, उनीहरू बुस्टर डोज लगाएकामध्ये ६८ प्रतिशत गुणा बढी कोभिड १९ ले मृत्यु हुने तथ्यांकले देखाएको छ। बुस्टर डोजले त अन्य भेरियन्टका लागि पनि काम गर्ने र भाइरसहरूले नयाँ नयाँ स्वरूप लिए पनि तिनलाई प्रभावशाली रूपमा रोक्ने काम गरेको पाइएको वैज्ञानिकहरूको दाबी छ।

यो अध्ययन निष्कर्षसँगै अहिले सेन्टर्स फर डिजिज कन्टेल एन्ड प्रिभेन्सनले त गएको जनवरीमा कमजोर इम्युन प्रणाली भएका सबै वयस्कहरूले चौथो खोप लिँदा उपयुक्त हुनेसमेत सुझाएको छ।तर यो सुझाउनेमा औषधि उत्पादक कम्पनीद्वारा प्रायोजित व्यक्तिहरू पनि भएकाले सोको विश्वसनीयतामाथि र चौथो खोपको प्रभावकारितामाथि अनुसन्धान शुरु गरिएको छ। चौथो खोप लगाउने कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू र खासगरी वृद्धवृद्धामा कस्तो असर पर्छ भनी अध्ययन गर्न थालिएको हो।

यसअघिका महामारी नियन्त्रण गर्न दशकौँ लागेको थियो। यो महामारीले भने छोटो अवधिमा भाइरस अनुसन्धान मात्र होइन, औषधि उत्पादन, वितरण र खोपलाई समेत प्रभावशाली तरिकाले सम्पन्न गरेर संसारलाई एउटा उज्यालो पाटो वैज्ञानिक र व्यावसायिक समुदायले देखाएका छन्।  

खासगरी आउँदो वर्षायाममा कोभिड १९ पुनः फैलने सम्भावना छ र फैलिएको खण्डमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा खतराको सूचीमा पर्न सक्ने भएकाले उनीहरूले थप डोज लिनुपर्ने हुन सक्ने आँकलन अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको आँकलन छ।  

यो आँकलनसँगै मोडेर्ना र फाइजरजस्ता कम्पनीले ओमिक्रोन प्रकारको भाइरसका लागि केन्द्रित गर्दै भ्याक्सिनहरू डिजाइन गर्न थालेका छन्। यी भ्याक्सिन आउँदो मार्चको दोस्रो सातासम्म बजारमा ल्याउने प्रयासमा फाइजर कम्पनी छ।  

अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनले ७३ प्रतिशत अमेरिकीहरूले ओमोक्रोनविरुद्ध प्रतिरोध प्रणाली विकसित गरिसकेका हुनाले थप खेपको औषधि आवश्यक नपर्ने भनी टिप्पणी गरेको छ। रोचक त के छ भने कुनै पनि नयाँ प्रकारका म्युटेट भाइरस देखिएको खण्डमा अहिले चार महिनादेखि छ महिनासम्ममा खोप नै तयार पार्ने र वितरण गर्न सक्ने क्षमता औषधि कम्पनीहरूले बनाइसकेका छन्। यो क्षमता अहिलेको औषधि उत्पादनको क्षेत्रमा चमत्कार नै भन्दा पनि हुन्छ।

केही वैज्ञानिकहरूले भने नयाँ–नयाँ प्रकारका भाइरस जन्मँदै जाँदा नयाँ–नयाँ खोप बनाइरहनु आवश्यक नरहेको टिप्पणी गरिरहेका छन्। तीमध्ये एक हुन्, अमेरिकाको एमआइटीकी इम्युनोलजिस्ट पद्मिनी पिल्ले। उनी भन्छिन्, ‘हामीले नयाँ प्रकारको कोरोना भाइरस देखियो भनेर तुरुन्तै नयाँ खोपको दौड शुरु गर्नुपर्छ भन्ने छैन। यो त्यति भरपर्दो कुरा पनि होइन र महँगो पनि हुन्छ।’

बरु अहिले तयार भएका खोपहरू नै सबैभन्दा खतरनाक मानिएको सार्स कोभ २ भाइरस तह लगाउन काफी छ। पछिल्लो अनुसन्धानले त यी औषधिले कोभिड मात्र होइन, सार्स र मर्सजस्ता अन्य प्रकारका कोभ भाइरसलाई नियन्त्रण गर्नसमेत पर्याप्त देखाएको छ। पछिल्लो समयमा बाँदरहरूमाथि गरिएको परीक्षणमा समेत यो सफल भएको दाबी कम्पनीहरूले गरिरहेका छन्। यदि यस्तो हो भनेकोरोना भाइरसका सबै किसिमका प्रकारलाई नियन्त्रण गर्न एउटा साझा खोप तयार गर्न सकिने निष्कर्षमा समेत वैज्ञानिकहरू पुगेका छन्। बेलायतको ड्युक विश्वविद्यालयका शोधकर्ताहरूले सार्स कोभ १ र सार्स कोभ २ दुवै प्रकोपमा साझा एन्टीबडी बनाउन सफल भएको बताइएको छ। ती वैज्ञानिकहरूले बाँदरमाथि गरेको परीक्षण खोपमा सफलता हात पारेको द विक पत्रिकाले जनाएको छ।

त्यसो त यस्तो साझा खोप बनाउन कम गाह्रो भने छैन। संसारभरि नै प्रायः एक वा दुई खोप लगाएका मानिस छन्। तिनमा यो नयाँ साझा खोप प्रयोगको कुनै अर्थ हुने छैन। यसका लागि ताजा, खोप नलगाएका व्यक्तिहरू अनुसन्धानका लागि उपलब्ध हुन गाह्रो छ। तापनि नर्वेको कोएलिसन फर एपिडेमिक प्रिपेर्डनेस इन्नोभेसन्सले यस्तो अनुसन्धानका लागि २०० मिलियन डलर छुट्याएको छ। यो रकम साझा कोरोना भाइरस खोप उत्पादन, वितरण आदिका लागि खर्च गर्ने लक्ष्य छ। यो कार्य आउँदो २०२४ अथवा २०२५ सम्म खर्च गर्ने उसको योजना छ। तर अहिले प्रायः सबै उत्पादक कम्पनीहरू हालका कोरोना भाइरसमै केन्द्रित रहेका र उनीहरूको प्राथमिकता भविष्यमा चाहिने खोपका लागि कुनै तयारी नभएका कारण नर्वेको सो योजना अझै पर धकेलिने सम्भावना छ। परीक्षण खोपका लागि त उनीहरूसँग समय नै नहुने सम्भावना पनि उत्तिकै छ। त्यसमाथि त्यो साझा खोपका लागि कोरोना भाइरस नलाग्न अग्रिम रूपमा खोपाउने व्यक्तिहरू पनि नपाइने सम्भावना बढी हुन्छ।  

अमेरिकाजस्तो विकसित मुलुकमा पनि रोगको संक्रमण घट्दै जाँदा बुस्टर डोज लगाउनेको संख्या जम्मा २८ प्रतिशतमा झरेको छ। फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बौर्लाले गएको जनवरीमा वर्षमा एक पटक बुस्टर डोज लगाउन पर्ने हुनसक्ने आँकलन गरेका थिए। केही वैज्ञानिकहरू भने हरेक वर्ष यस्तो खोप लगाउने कुरामा भने असहमत छन्। गम्भीर बिरामीका लागि तीन खेप नै पर्याप्त हुनेमा उनीहरू ढुक्क छन्। बरु गरिब मुलुकका ११ प्रतिशत कमजोर आय भएका गरिबहरूले भने निकै कम खोपको मात्रा पाएको विश्व स्वास्थ्य संगठनको भनाइलाई अघि सार्दै केही विज्ञहरू भने तिनलाई खोपाउन ध्यान केन्द्रित गर्नुपर्ने राय प्रकट गरिरहेका छन्।  

पैसावालाका लागि मात्र खोप तयार गर्ने ठूला औषधि कम्पनीको नीतिका कारण केही अभियानकर्मीहरू पनि आक्रोशित छन्। सन् २०२२ भित्र १ अर्ब ४० करोड भ्याक्सिन गरिब मुलुकका लागि दान दिन धनी सात मुलुकहरूको संगठन जि सेभेनसँग ती अभियानकर्मीले गरेको आग्रह असफल भएकाले उनीहरू क्रुद्ध भएका हुन्। त्यो खाली ठाउँ भने केही नयाँ कम्पनीले भरिरहेका छन्। नोभाभ्याक्स, कोर्बेभ्याक्सजस्ता उत्पादक कम्पनीले सस्ता खोप उत्पादन गर्दै गरिब मुलुकलाई खोपाउने ध्याउन्नमा छन्।  

यी भ्याक्सिनहरू सामान्य फ्रिजमा राख्न सकिने किसिमका छन् जबकि फाइजर र मोडेर्नाका खोपलाई विशेष किसिमका अति चिसो सुपर कोल्ड स्टोरेज चाहिन्छ। त्यस्ता सुपर कोल्ड स्टोरेज दूरदराजका इलाकामा न त व्यवस्था गर्न सकिन्छ न तिनीहरूको बुताले नै मगाउन सकिन्छ। यस्तोमा गरिब प्रदेशका लागि मोडेर्ना र फाइजरका खोपहरू अव्यवहारिक बन्न पुगेका छन्।  

ठूला खोप कम्पनी नाफाका लागि काम गरिरहेका बेला अभियन्ताहरूमध्ये केहीले भने संसारका सबैको पहुँच खोपमा पुगोस् भन्ने उद्देश्यका लागि अमेरिकाको टेक्सस बेलर कलेज अफ मेडिसिनका चिकित्सकहरू मारिया एलेना बोटाजी र पिटर होतेजहरूले आफूसँग भएको खोपको प्याटेन्ट दर्ता नगरी सित्तैमा दान दिएका छन्। यो दान ७० लाख डलर बराबरको रहेको बताइन्छ। यसले दूरदराज इलाकामा सहज र सुलभ भ्याक्सिनलाई खोपाउन ठूलो भूमिका खेलेको छ।  

उनीहरूले भारतीय कम्पनीसँग मिलेर गरिब मुलुकका लागि १ अर्ब खेप उत्पादन गरेका छन्। साइन्टिफिक अमेरिका नामक विज्ञान पत्रिकामा उनीहरूले एक लेख लेख्दै विश्वभरि नै बराबरी भ्याक्सिनको अवसर हुनुपर्ने आग्रह गरेका थिए। उनीहरूको भनाइ थियो, ‘यस्तो बराबरीको अवसर भएमा मात्र हामीले संसारबाट महामारीलाई उन्मूलन गर्न सक्छौँ। अन्यथा यो भूमण्डलीकरणको युगमा एउटा कुनो औषधि थुपारेर बस्ने र अर्को कुनो औषधिरहित कुपोषणको अवस्था बेहोर्ने आधुनिक समाज सुहाउँदिलो कुरा होइन।’

कोरोना भाइरसले संसारभरिका औषधि उत्पादकलाई परीक्षण गर्ने अवसर दियो। हामीले नाम सुनेका मोडेर्ना, फाइजर मात्र होइन, नाम नसुनिएका कयौँ कम्पनीले खोप आविष्कार गर्ने अवसर यो वैश्विक महामारीले दियो। अहिलेसम्म ३३० भन्दा बढी भ्याक्सिनका कामहरू भए। खोपाएर रोगबाट सुरक्षित हुने कुरामा सबैले जोड दिएको पाइयो तर कमैले मात्र नाकमा औषधि छर्केर यसको बाटो रोक्नेबारे सोचेका थिएन। अहिले छर्केर कोरोनाभाइरसलाई नाकैमा छेक्ने औषधिसमेत तयार पारिएको छ। वैज्ञानिकहरूले यस्ता १२ वटा औषधि हालसम्म तयार पारिरहेका छन्। भारतको भारत बायोटेकले यस्तो औषधिलाई तेस्रो परीक्षणसम्म पुर्‍याएको छ। यसले कोभिड भएका वा हुने सम्भावना भएका व्यक्तिले आफैँले आफूलाई निरीक्षण गर्दै औषधि सुँग्ने वा छर्कने गर्न सक्छन्।  

यस किसिमको औषधि भने जो खोपाउन डराउने बालबालिका तथा वृद्धवृद्धाका लागि निकै उपयोगी हुने वैज्ञानिकहरूको भनाइ छ। येल विश्वविद्यालयका इम्युनोलजिस्ट एकिको इवासाकीको समूहले गरेको अध्ययनले नाकैमा छर्कने औषधिलाई बुस्टर डोजभन्दा प्रभावकारी मानेको छ।  

‘तपाईं कोरोनाभाइरस फैलिएको ठाउँमा जानु भएको छ,’ एकिको भन्छिन्, ‘तर यो नाके औषधि छर्कनु भएको छ भने संक्रमित हुने डर हुँदैन। तपाईंसँग जुझ्दै आएको भाइरसलाई ढोकैमा रोक्ने काम यो छर्किएको औषधिले गर्नेछ।’

यस किसिमको औषधि फैलनुअघि नै रोक्न सक्षम हुने र यसले महामारी अन्त्य गर्न सक्नेतर्फ वैज्ञानिक आशावादी देखिएका छन्। सबैभन्दा ठूलो अविश्वसनीय कुरा चाहिँ यसअघिका महामारी नियन्त्रण गर्न दशकौँ लागेको थियो। यो महामारीले भने छोटो अवधिमा भाइरस अनुसन्धान मात्र होइन, औषधि उत्पादन, वितरण र खोपलाई समेत प्रभावशाली तरिकाले सम्पन्न गरेर संसारलाई एउटा उज्यालो पाटो वैज्ञानिक र व्यावसायिक समुदायले देखाएका छन्।

(विभिन्न समाचारहरूबाट संश्लेषित।)

प्रकाशित: २१ फाल्गुन २०७८ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App