७ वैशाख २०८१ शुक्रबार
विचार

सेना दिवसलाई सलाम!

नेपाल राष्ट्र विश्वमा तीन कारणले प्रख्यात छ। प्रथमतः यो विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश हो। दोस्रो विशेषता हो तीन मानव बुद्धहरू( क्रकच्छण्ड बुद्ध, कनकमुनी बुद्ध र गौतम बुद्धको जन्मस्थलको देश।

तेस्रो पक्ष हो– विश्वमा अति ख्याति प्राप्त बहादुर योद्धाहरू भएको देश भएकाले नै सानो राष्ट्र भएर पनि दुई विशाल छिमेकी राष्ट्रबीच अवस्थित भएर पनि आफ्नो बहादुरी र पौरखका कारण एक गौरवशाली स्वतन्त्र राष्ट्रका रूपमा नेपाल रहन सक्यो ।

विश्वभरको सैनिक इतिहासमा नेपाली सेना (गोरखाली सेना ले आफ्नो बहादुरी, कर्तव्यपरायणता र इमान्दारिताले ठूलो कीर्ति, इज्जत, गौरव र नाम पाएको छ। कैयौँ रणभूमिमा आवश्यकता पर्दा के नारी, के बृद्ध, के बालक, के युवा सबै एकजुट भई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताका लागि आफ्ना प्राण अर्पण गरी रक्षा गरेको इतिहासले प्रमाणित गरेको छ। नेपालको राजनीतिक र सैनिक इतिहासले यही वीर गाथा बोकेको छ। नेपाली सेनाको इतिहास भन्नु नै त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता, राष्ट्रभक्ति, निस्वार्थ सेवा आदिप्रतिको कटिबद्धता हो। जसमा उमेर ४६२ वर्ष पुगेको छ।

स्थापना

वि.सं. १६१६ मा गोर्खा राज्य स्थापना सँगै लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्र वदी, अष्टमी तिथि, रोहिणी नक्षेत्र, बुधबारका दिन लिगलिगकोटको राजा भए। सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरू, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम राना मगरलाई प्रधानन्यायाधीश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए ९गौतम वज्राचार्य र देवीप्रसाद भण्डारी (सं), श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको उपदेश, पृ. ५४६–४७ ०।

प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमिसम्बन्धी हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्री) को व्यवस्था भएको थियो। यो प्रथा पछिसम्म पनि रह्यो। त्यही मितिबाट सैनिक संगठन खडा भएकाले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना मान्नुपर्ने लेखकको अडान छ। नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन्। तिनै राजा वंशको क्रमिकता अन्तिम राजा श्री ५ ज्ञानेन्द्र हुन्। राजसंस्थाको क्रमिकता नमासिने तर सेनाको ज्येष्ठताको क्रमिकता मासिने नजिर कतै हुन्न। कम्पनी संगठन खडा गरी आधुनिक नेपाली सेनाको जन्मदाता भने बडामहाराजा पृथ्वीनारायण शाह हुन्।

२४० कि ४६२ वर्ष?

आन्तरिक युद्धको समयमा नेपालका माओवादीले भने बडामहाराज पृथ्वीनारायणले वि.सं. १८२५ मा कान्तिपुर विजय गरेपछि मात्र वर्तमान सेनालाई नेपाली सेना मानेर माओवादी युद्धदेखि आजसम्म पनि “२४० वर्षको राजसंस्था र सेना” भन्दै अएको छ। जसमा कुनै ऐतिहासिक तुक छैन। कान्तिपुर राज्य आफैँ नेपाल थिएन। काठमाडौँ उपत्यकामा समेत भक्तपुर, ललितपुर र कान्तिपुर नामका राज्य थिए। 

भावनात्मकरूपले र नेपालको पुरानो राजधानी भएकाले मात्र काठमाडौँ उपल्यकालाई नेपाल भनिएको हो। तर जमिनमा नेपाल भन्ने राज्य कहीँ थिएन। हो, नेपाल थियो तर टुक्रिएर धेरै साना राज्यमा रहेको थियो। धर्म नछाडी लेख्नुपर्दा बडामहाराजा श्री ५ पृथ्वीनारायण शाहले वि.सं. १८२५ को इन्द्रजात्राको बेलुका कान्तिपुर विजय गरेपछिको अवस्थामा मात्र नेपाल भन्ने देश जमिनमा उभिएको हो। अनि क्रमिकरूपले एकीकरण हुँदै फेरि बृहत् नेपाल देश बन्यो।  

वर्तमान नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको गोर्खाली सेना, चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको समयमा नेपाली सेना, राजा महेन्द्रको पालामा शाही सेना, राजा वीरेन्द्रको पालामा शाही नेपाली सेना र वि.सं. २०६३ पछि बनेको सरकारबाट पुनः नेपाली सेनाको नाम पाइ आफ्नो ४६२ वर्ष पार गरिसकेको छ। यसलाई प्रष्ट पानुपर्दा राजा त्रिभुवनको समयमा प्रधानमन्त्री श्री ३ चन्द्रको पहलमा माात्र गोर्खा सरकारको सट्टा नेपाल सरकार, गोर्खाली सेनाको सट्टा नेपाली सेना, राजालाई हिज हाइनेसको सट्टा हिज मेजेस्टी र प्रधानमन्त्रीलाई हिज एक्सिलेन्सी भन्न सुरू गरिएको हो।

नेपाल एकीकरणका चरण  

राजा पृथ्वीनारायण शाहले वि.सं. १८०० सालमै विराज थापा मगरलाई सेनापति काजी दिएर नुवाकोट कब्जा गर्न लगाए। उनले काममा ढिलो गरेपछि उनको कज्याई खोसेर मशेश्वर पन्तलाई सेनापति काजी बनाई नुवाकोटमाथि हमला गरियो। त्यो हमला असफल भएपछि पृथ्वीनारायण शाहले वि.सं. १८०१ को भाद्रतिर कालु पाण्डेलाई मूल काजी बनाए।

वास्तवमा वि.सं. १८०१ मा सेना हेर्ने सेनापति काजी शिवरामसिंह बस्न्यात थिए। पृथ्वीनारायणको समयलाई मात्र समेट्ने हो भने वि.सं. १८०० मा बनेका काजी विराज थापा मगर पहिलो सेनापति हुन्। नेपालको एकीकरण वि.सं.१६१६ मा द्रव्य शाहले लिगलिग कोट राज्य खडा गरेपछि सुरु भई वि.सं. साल १९१५–१६ सम्म जम्मा २९८ वर्ष लगाएर पूरा भएको हो। लेखकको विश्लेषणमा निम्न पात्र नेपाल एकीकरणका पहलकर्ता हुनः

(क) राजा द्रव्य शाहः लिगलिग कोट राज्यको स्थापना गरी उपल्लो कोट र तल्लो कोटसमेत जितेर गोर्खा राज्यको स्थापना गरे। गोर्खा भन्ने नामाकरण उनैले गरेका थिए।  

(ख) राजाराम शाहः कुकुरघाट इलाका जितेर गोर्खामा गाभेका थिए ।

(ग) बडामहाराजा पृथ्वीनारायण शाहः उनले चेपे नदीदेखि पूर्वतर्फ टिष्टा नदीसम्म एकीकरण गरे। तर विजयपुर (धरान) तथा सप्तरी क्षेत्रमा किचलो छँदै उनी परलोक भए ।

(घ) राजा प्रतापसिंह शाहः उनले विजयपुर र सप्तरीलाई एकीकरण गरी चितवन इलाकाको केही प्रदेशलाई नेपालमा गाभे।  

(ङ) रानी राजेन्द्रलक्ष्मी शाहः उनले चेपे नदीदेखि पश्चिमका तनहुँ, लमजुङ र कास्की गरहु, सतहु, रूपाकोट, भीरकोट जस्ता राज्य एकीकरण गराइन् ।

(च) राजकुमारबहादुर शाहः उनले कास्कीदेखि पश्चिम, अलकानन्दा नदीसम्म (हालसम्म एकीकरण भएका प्रदेशको करिब ४ गुना बढी) एकीकरण गरे ।

(छ) कमान्डर–इन–चिफ भीमसेन थापाः राजा गृर्वाणयुद्ध विक्रमको आदेशमा उनले अलकानन्दा नदीदेखि काङ्गडासम्म विस्तार गर्नेलगायत पाल्पा राज्य नेपालमा गाभे। यो बहादुर राज्यको ससुराली राज्य थियो।  

(ज) प्रधानमन्त्री जंगबहादुर कुँवर राणाः  नेपाल–अंग्रेज युद्धमा नेपालले गुमाएका प्रदेशमध्ये उनको कूटनीतिक चालबाजीमा वर्तमान बाँके, बर्दिया र कञ्चनपुर (नयाँ मुलुक) अंग्रेजबाट नेपाललाई फिर्ता दिलाए ।

सेनाको विकास र विस्तार

पटक–पटक कान्तिपुर राज्यको क्षेत्र नुवाकोटमा भएको गोर्खाली हारपछि पृथ्वीनारायण शाहले गोर्खाका समग्र भाइ, भारदार, जातजातिदेखि बिसे नगर्ची (दमाइँ) समेतको सल्लाह तथा सैनिक बल र आर्थिक सहयोगमा बनारस पुगी हातहतियार खरिद गरी ल्याए। साथमा ३ जना हतियार चलाउन र बनाउन जान्ने मुसलमानहरू पनि ल्याए। जसले बिभिन्न युद्धमा लडे र नेपाली सेनाको विकासमा ती मुसलमानहरूको ठूलो योगदान छ।

त्यसपछि नेपाल एकीकरणको क्रममा विभिन्न युद्ध हुँदै गयो र मकवानपुर राज्य गोर्खालीले जितेपछि बंगालको नवाब मिरकासिमको फौजले एक्कासि वि.सं. १८१९ मा मकवानपुर दरबार र गढीमाथि कब्जा गर्न आए। शत्रुपक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारिलो तरिकाले बर्बाद पार्‍यो।

उनीहरूबाट करिब ५०० नाल राइफल र २ वटा तोप खोसे भने हजारौँ बैरी मारे। ती हतियारबाट सोही वर्ष सेनाको इतिहासमा पाश्चात्य संगठनको पाराले ५ वटा कम्पनी खडा भए। मकवानपुरको युद्धले २ वटा अभिलेख राखेको छ। पहिलो हो, नेपाली सेनाले पहिलो पटक विदेशीसंग युद्ध गरेको र अर्काे हो बन्दूकधारी सेनाको कम्पनी तहको संगठनात्मक रूपरेखा तयार भएको। त्यो भन्दा पहिला राजा द्रब्य शाहकै पाराको सैनिक व्यवस्था कायम थियो। तर त्यसबेला पनि सैनिक संगठन पक्कै थियो। 

वि.सं. १८२४ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले औपचारिकरूपले बोलाएर उनको सहयोग र गोर्खालीहरूको विरुद्ध प्रयोग गर्न अङ्ग्रेज क्याप्टेन किनलकले नेतृत्व गरेको इस्ट इन्डिया कम्पनीको विशाल सेनालाई नेपाली सेनाले हालको सिन्धुली जिल्लाको पौवागढी (आडा पनि भनिन्छ) मा नराम्रोसँग हरायो र प्रशस्त हातहतियार खोसे।

क्याप्टेन किनलकको फौजलाई पौवागढी, ढुंगे भञ्ज्याङ् र ढुंगेबास गरी ३ ठाउँबाट एकै पटक हमला गरिएको थियो। वास्तवमा ती फौज गोर्खालीले थापेको एम्बुसमा परेका थिए। यसबाट आधुनिक हातहतियारको अझै संकलन भयो र कम्पनीहरूको संख्या बढ्दै गए। उक्त युद्ध नेपालले अङ्ग्रेजसँग लडेको पहिलो लडाइँ थियो। यसलाई ‘सिन्धुलीको लडाइँ’ भनिएको छ।

सैनिक इतिहास खोतल्ने हो भने यतिबेलासम्म नेपाली सेनाको विस्तार र विकास धेरै राम्रो भइसकेको थियो। त्यसपछि गएर राजा रणबहादुरको नायव राजकुमार बहादुर शाहको पालामा नेपालमा फ्रेन्च कालीगढहरू र प्रशिक्षकहरू झिकाइ तोप, राइफल, गोला तथा गोली बनाउने काम प्रशस्तै भए। पश्चात्य पाराको युद्ध विद्या सिकाइयो। सेनामा कप्तानको पद सिर्जना गर्ने बहादुर शाह नै हुन्।

पछि गएर काजी तथा कमान्डर इन चिफ भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्न पुनः फ्रेन्च नै कालीगढ, वास्तुविद् तथा प्रशिक्षक झिकाइ थुप्रै प्रयास गरे। वि.सं. १८१९ मा खडा भएको कम्पनी संगठनलाई ठूलो पारी भीमसेन थापाले पल्टन (रेजिमेन्ट) र कम्पु (बृगेड) मा विकास गरे। जंगी अड्डा र व्यारेक घर (छाउनी) को समेत व्यवस्था गरे। हाल राष्ट्रिय संग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मुख्यालय थियो।

उक्त भवनलाई भीमसेन थापाको दरबार पनि भनिएको छ, त्यसो होइन। कर्नेल, जनरल र कमान्डर (इन चिफको पद सिर्जना गर्ने उनी नै थिए। पहिलो जनरल र कमान्डर इन चिफ उनी हुन्। उनलाई इतिहासले प्राइम मिनिस्टर बनाएको छ। त्यसो होइन, भीमसेन थापालाई सबैभन्दा पछाडि दिइएको पद कमान्डर–इन–चिफ हो। त्यसको १ वर्ष जति पछि उनको मृत्यु भयो। नियुक्तिले नै मिनिस्टर र पछि प्राइम मिनिस्टर पाउने नेपालको पहिलो व्यक्ति माथवरसिंह थापा हुन्।

नेपाली सेनाले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गरी फर्केपछि अझै विकास भयो। जसबाट नेपाली सेनाको बहादुरी अझै चम्कियो। पछि प्रधानमन्त्री वीरशमशेरको पालामा उनका वैज्ञानिक छोरा जनरल गेहेन्द्रशमशेरले नेपालमा स्वचालित तथा हावाबाट चल्ने मेसिनगन र विभिन्न थरीका राइफल बनाए।

जसलाई गेहेन्द्रको नामबाट गे–राइफल, देवशमशेरको नामबाट देव–राइफल र चन्द्रशमशेरको नामबाट च–राइफल बनाइयो। हाल रानीपोखरीको जमलमा, पहिला परीक्षा नियन्त्रण कार्यालय बसेको घरहरू उनले हतियार बनाउन तयार गरिएको सैनिक आर्शनल हो। विकासक्रम केलाउँदा अङ्ग्रेजको सहयोगमा प्रधानमन्त्री चन्द्रशमशेरले प्रथम विश्वयुद्ध र प्रधानमन्त्री जुद्धशमशेरले दोस्रो विश्वयुद्धमा नेपाली सेना पठाएपछि सैनिक युद्धकला तथा हात–हतियारमा ठूलो परिवर्तन आएको थियो ।

पुनर्गठन

वि.सं. १९८३ सालमा कूटनीतिकरूपमा देखाइएको नेपाली सेनाको संख्या ४४ हजार ४ सय १० रहेको प्रमाण फेला परेको छ। २००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि २००९ सालमा सेनाको पुनर्गठन भयो। नेपालको सुरक्षालाई प्रतिकूल गरेर साँच्चै भन्नुपर्दा त्यतिखेर भारतीय इच्छा र उसको रणनीतिबाट नेपाली सेनाको संख्या घटाएर (डाउन साइजिङ भएको) थिएन। त्यो नेपालको इच्छाअनुसार घटाइएको (डाउन साइजिङ भएको) थिएन।

नेपालको सुरक्षा स्थिति कमजोर भएको भन्ने जस्ता भारतले विभिन्न बहाना बनाइ पछि नेपालमा भारतीय सेना तैनाथ गर्‍यो। वि.सं. २००७ सालपछि आजका दिनसम्म नेपाली सेनाले देशभित्र पनि धेरै सैनिक कारबाही गर्‍यो भने आन्तरिक लडाइँसमेत लड्यो। संसारको विभिन्न क्षेत्रमा शान्ति सैनिक बन्न पुगेको छ। देशभित्रको विकास निर्माण, प्रकृति संरक्षणलगायतका काममा सक्रिय रहेको प्रष्ट छ। यद्यपि, नेताहरूकै कारण देशभित्र बढिरहेका राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाका खतरापूर्ण काम, विदेशीको हस्तक्षेप, सीमा अतिक्रमण, नेपाल टुक्र्याउने राजनीतिमा समेत मौन रहनु भनेको नेपाली सेनाको संस्कार होइन। यो पक्षमा नेपालीको अभिमत संकलन गरेर सेनाले आफ्नो नयाँ रणनीति बनाउन ढिलो नगरोस् ।

हाम्रो चाहना

अन्तमा, अरू देशमा जस्तैगरी थाहा भएका र ऐतिहासिक सैनिक पात्रहरूको सालिक नेपाली सेनाले देशभरि सार्वजनिकस्थलमा खडा गर्ने, मोटर बाटोको नामकरण, स्मृति पार्कलगायतको काम गरेकै छैन। अर्को कुरा, श्री ५ बडामहाराजा पृथ्वीनारायण शाह नेपाली सेनाको आधुनिकीकरण गर्ने, कम्पनी स्तरको संरचना खडा गर्ने अनि एकीकरण युद्धको नेतृत्व आफैँले लिने सिपाही हुन्। 

उनको सालिक र स्मृति पार्कहरू देशभरि सार्वजनिक स्थानमा बनाउन सेना स्वयं स्थानीय सरकारसँग मिलेर काम गर्नैपर्छ। सेनाको ब्यारेकभित्र मात्र बनाइएका उनका सालिकले जनतामा प्रेरणा मिल्दैन। नेपाल सरकार आफू काम नगर्ने तर सेनालाई बाटो खनाउने कामले सेनाको पेसागत क्षयीकरण त हुन्छ नै, त्यो भन्दा बढी पत्रिकाबाजीबाट बदनामी भएको पक्कै हो

 यो विषयमा सेनाले गम्भीरसाथ पुनरावलोकन गर्नैपर्छ। सिपाही तिखारिएका हुन। देसबासीको चाहना यही हो। नेपाली सेनाको यशोवृद्धि होस्। राम्रा कुरा सुन्न पाइयोस। नेपालको माटो बढाउने र बचाउने काममा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण वीर सिपाहीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सेना दिवस– २०७८ लाई सलाम!  

प्रकाशित: १७ फाल्गुन २०७८ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App