१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

राष्ट्रका शत्रु

ब्रिस्वेन (अस्ट्रेलिया) सहरमा बसिरहेकी एकजना नेपाली युवती मलाई हरेक महिना फोन गर्छिन्। मेरा लेखहरू पढेर नियमितरूपमा प्रतिक्रिया व्यक्त गर्ने ती नानीले नेपालबारे व्यक्त गर्ने विचार स्वदेश र विदेशीमा बस्ने लाखौँ नेपालीको प्रतिनिधि आवाज हो। उनले भनिन्–घरका सदस्यहरू एकढिक्का छन् भने कसैले हेप्न सक्दैनन्। नेपालको राष्ट्रिय एकता त अब गीत, कविता वा साहित्यमा मात्रै रहने भयो दाजु।

जनसंख्याको चार प्रतिशत जतिमात्र रहेछन्, त्यहाँका आदिवासी। हजारौँ वर्ष अघिदेखि जमिन खनिखोस्री गरेर रैथाने पेसा र व्यवसायमा रमाएका अमेरिकी रैथाने चेरी, रेड इन्डियन आदि एघार हजार पाँच सय वर्षभन्दा अघिदेखि बसेको मानवशास्त्रीहरूको कथन छ। यो संख्या घटेर हाल तीन प्रतिशतको हाराहारीमा छ। उनीहरूको सभ्यता मासिँदैछ, संस्कृति भासिँदैछ त्यहाँ।

सोभियत संघबाट बेचिएर अमेरिकामा परेको अलास्कामा बस्नेहरू पन्ध्र हजार वर्षअघिदेखि जीवन यापन गरिरहेका छन्। हजारौँ वर्ष लामो इतिहास र सभ्यता मासिने डरले उनीहरू आक्रान्त छन्। आत्मनिर्णयको अधिकारबारे कुरा गरेर नथाक्ने कतिपय गोरा पण्डितहरूलाई तपाईँहरूको देशका सबै जनताले पर्याप्त आर्थिक अवसर, रोजगारी, गाँस–बास र कपास एवं सुरक्षा पाएका होलान्? सडकमा भिख मागेर खानेहरू शायद ‘विदेशी’ पो हुन् कि भनेर व्यंग्य गरेपछि उनीहरू प्रायः मौन बस्छन्।

आत्मनिर्णयको अधिकार कुनै जात, धर्म, वर्ण र क्षेत्रमा होइन, राष्ट्रहितमा लागु भएमा त्यो राष्ट्रले स्वदेशी र विदेशी मामिलामा खुलेर बोल्न सक्छ। इन्दिरा गान्धी प्रधानमन्त्री रहुन्जेल तत्कालीन सोभियत संघसँग सुरक्षा सन्धि भएकाले मस्को र दिल्ली कूटनीतिमा उस्तै भाषा बोल्थे। रक्षा र परराष्ट्र मामिला दिल्लीलाई सुम्पेको भुटानले ती विषयमा दिल्लीको दिल छामेपछि मात्र प्रतिक्रिया दिने गरेको पाइन्छ।

भुटान चीनसँग कूटनीतिक साइनो राख्न इच्छुक छ भन्दै सन् २०१२ मा भारतका अखबार र टेलिभिजनमा आएको खबरले दिल्लीमा भूकम्प गयो। भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेले ब्राजिलमा आयोजित सम्मेलनमा चीनका प्रधानमन्त्री वेन जियाबाओसँग भेटेर चीनसँग कूटनीतिक सम्वन्ध राख्न इच्छुक रहेको बताएपछि केही महिनामै थिन्लेको सरकार ढल्यो।

भारतीय मिडियाले भारतलाई अप्ठ्यारो पार्न भुटानले चीनसँग निकट हुन चाहेको विश्लेषण गर्दै थिन्लेलाई थिलथिलो बनाए। हुन पनि चीन–भुटानको ४७० किलोमिटर सिमाना छेउछाउमा भारतले सेना राखेर ढुक्क हुन सक्ने अवस्था छैन। थिम्पुमा चीनले दूतावास खोल्यो भने के होला? दिल्ली डरायो।  

नयाँ मुलुक (माइक्रोनेसन) संसारमा धेरै छन्। उनीहरू राणा शासकका ल्याइते र ब्याइते पत्नीका सन्तानझैँ पुराना राष्ट्रबाट हेपिएका पनि छन्। चीनको मकाओ, अमेरिकाको पलाओ, भारतको अण्डमान– निकोबर भूखण्डझैँ मानचित्रमै पृथक् देखिन्छन्। डेनमार्कमा झण्डै एक हजार जति घर भएको ‘क्रिस्टिनिया’ क्षेत्र ल्याइते भूमि हो। त्यहाँका जनता डेनमार्कबाट ठगिएको गुनासो गर्छन्। गाँजा बेचेर धनी भएका हुल्याहाले दुःख दिएपछि सन् १९७१ मा सेना पठाएर आफ्नो बनायो डेनमार्कले।

राष्ट्रका प्रमुख अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक अंगहरू अनुशासनहीन र निकम्मा भएपछि अरू संयन्त्र पनि ‘नून खाएको कुखुरा’ जस्तो बन्छन्। नेपालमा त्यही देखिएको छ। तसर्थ त्यस्तो परिस्थितिमा आत्मनिर्णयको हक ‘मृग–मरीचिका’ बन्छ।

स्वाधीन राष्ट्रको दुर्गति हुँदा स्वतन्त्रता ‘मिराज’ बन्छ। राष्ट्र नै भ्रष्ट भएपछि नष्ट हुने क्रम सुरु हुन्छ। टुप्पाबाट कुहिनेलाई राजनीति भन्छन्, जराबाट कुहिन्छन् वृक्षहरू। नेपाल टुप्पाबाट कुहिँदै गयो। हामी कर–तिरुवा जनता फेदमा मलजल गर्दै मादल ठोकिरहेका छौँ। राष्ट्रले आत्मनिर्णयको अधिकार किस्ता÷किस्तामा गुमाएको छ। हामी जात र भातमा पहिचान खोज्दैछौँ।

राष्ट्रिय झण्डा, स्वदेशी माटो (भूक्षेत्र वा सामुदायिक क्षेत्र), राष्ट्रिय गान, राष्ट्रिय चिह्न, राष्ट्रका (दल वा जातका होइन) विभूति तथा राष्ट्रिय परिचय हुन्छ भन्छन्, राजनीतिशास्त्रका विश्वप्रसिद्ध विद्वान्हरू। ‘जर्नल अफ डेमोक्रेसी’ मा प्रकाशित एउटा आलेखमा छ– जहाँ यो राष्ट्र मेरो हो, मलाई बचाउनुपर्छ भन्ने जनताको सोच हुन्छ। त्यो राष्ट्रको आत्मनिर्णयको हक, सर्वाधिकार, सार्वभौमसत्ता र स्वतन्त्रतामात्र होइन, ‘डेमोक्रेसी’ सदैव सुरक्षित रहन्छ।

नेपालको सत्तरी हजार हेक्टर जमिन (दार्चुलाको ठूलो भूक्षेत्रसहित) मिच्ने भारतीय जनता पार्टीको सरकारले दक्षिण एसियामा रहेका नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिप्स आदिलाई ‘भारतीय उपमहाद्वीप’ (इन्डियन सब कन्टिनेन्ट) भन्ने गरेको छ।

भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का पुराना दस्ताबेज संशोधन गरिएको छैन जसमा हिमालय पर्वत र त्यो भन्दा तलको विशाल भूभागलाई मिलाएर ‘अखण्ड भारत’ बनाउने सपना अंकित छ। तसर्थ धार्मिक पहिचानका नाममा चन्दन, रक्षाबन्धन र अभिनन्दनका सस्तो कुरामा खुसी भएर नेपालीले राष्ट्रिय पहिचान बिर्सिएमा त्यो अभिशाप हुनेछ।

विनायक दामोदर सावरकरले ९९ वर्षपहिले ‘हिन्दुत्व’ शब्द प्रचलनमा ल्याए भारतमा। उनी भारतका प्रबल राष्ट्रवादी सनातनी हुन्। आफ्नो राष्ट्र ठूलो, बलियो, स्वतन्त्र, स्वाधीन र स्वावलम्वी हुनुपर्छ भन्ने चेतनाको आधारलाई राष्ट्रवाद भनिन्छ। राष्ट्रवादका समर्थकहरू राष्ट्र सर्वोच्च हुन्छ भन्छन्। युरोप, अमेरिकामा ‘नेसन फस्ट’ भन्छन् ।

वेदमा ‘राष्ट्र’ शब्द पटक–पटक उल्लेख भएको पाइन्छ। ‘वयं राष्ट्रे जागृयाम् पुरोहिता (यजुर्वेद ९ः२३) राष्ट्रिय चरित्र, राष्ट्रिय मर्यादा, राष्ट्रिय आत्मा, राष्ट्रिय स्वाभिमान र प्रबल राष्ट्रवादीलाई ‘पुरोहित’ भनिन्थ्यो। पेट पाल्नका लागि मन्दिर वा घरमा पूजाआजा गर्ने ‘प्रोफेसनल धार्मिक’ मात्र पुजारी वा पुरोहित हुन्छन् भन्ने साँघुरो सोचले पुरोहित शब्दको अवमूल्यन भयो। ‘वयं राष्ट्रे जागृयाम् पुरोहिताः’ भनेको राष्ट्रका हितैषीहरू मिलेर राष्ट्रलाई जागृत, जीवन्त र जागरुक बनाइरहन्छौँ भन्ने नै हो। नेपालमा ठूल्ठूलो पदमा बस्ने तर अरू राष्ट्रको मात्र हित चिन्तक हुनेहरू देशभक्त वा राष्ट्रवादी होइनन्।

नेपालले आत्मनिर्णयको अधिकार गुमाउने र शिथिल हुँदै जाने स्पष्ट संकेत देखिएको छ आज। यो नेपालको इतिहासमा भएका केही दुर्भाग्यपूर्ण घटनाक्रमको एउटा कडी हो। आज देखिएको नियत र नियति अप्रत्याशित हुँदै होइन। पचासाैँ वर्षअघि रचिएका अप्रकाशित नाटकहरू विदेशी शक्तिले मञ्चन गरिरहेको देखिन्छ, नेपालमा। यो सम्पन्न गर्न परम्परागत स्थायी शक्तिहरू ढालियो। केही ढाल्न बाँकी होला। राष्ट्रबाट उपराष्ट्र जस्तो बन्दैछौँ हामी। सुन्दा चित्त दुख्छ, सत्य यही हो।

राष्ट्र निर्माण, संरक्षण, सम्वद्र्धन र सम्पोषण गर्ने यावत् शक्तिहरू जब स्वाभिमान गुमाउँछन्, त्यसपछि राष्ट्र पतनको सिलसिला सुरु हुन्छ। सन् २०१४ मा युक्रेनबाट पृथक भएको क्रिमिया (क्राइमिया) पतनकै मार्गमा छ। सोभियत संघबाट टुक्रिएर ‘पन्ध्र राज्य’ भएका प्रायः सबै दुःखी छन्। प्रायः धेरै खबरमा उनीहरूले चरम खाद्य संकट भोग्नुपरेको कथा सुनाइन्छ।

मामा शकुनीले भान्जा दुर्योधनलाई पथभ्रष्ट बनाएको प्रसंग आउँछ, महाभारतमा। गान्धार (हाल अफगानिस्तानको कान्दाहार) देशका राजा शकुनीले दुर्योधनलाई उल्टो बाटोमा हिँडाए। अभिमानी र द्रोही बनाए। अधुरो ज्ञान, जीवनमा ठूलो समस्या बन्न सक्छ भन्ने उदाहरण छन्, अभिमन्यु। उनीसँग बल, जोश, साहस थियो तर चक्रब्यूहमा पसेर कसरी सुरक्षितरूपमा बहिर्गमन गर्ने ज्ञान थिएन। उनी मारिए, १६ वर्षको उमेरमा।

शल्य र युयुत्सु अन्त्यमा कौरबको फौजमा मिल्न गए। समयमा शत्रु र मित्र नचिन्ने हो भने पतन हुन्छ। तसर्थ हरेक संकटका दुईवटा पाटा छन्– समस्या र अवसर। नेपालका लागि अहिलेको समय भनेको समस्या र शत्रु चिन्ने अवसर पनि हो। घरबाहिरका शत्रु परबाटै चिन्न सकिन्छ। घरभित्रका शत्रु मौका ढुकेर बसेका हुन्छन्, ट्रोजन हर्षको कथा जस्तो छ।

पराक्रमी, साहसी, ज्ञानी भए पनि कर्णको धेरैजसो विचारमा प्रतिशोध प्रतिबिम्बित भएको पाइन्छ। सदैव दुराग्रहले उत्तेजित हुनेहरू विवेक गुमाउँछन् र पराजित हुन्छन्। यो शास्त्रको वचन हो। यस्तै, संस्कार, ज्ञान, विवेक र सदाचाररहितको पतन शीघ्र हुने गर्छ ।

हजारौँ हजार वर्षअघिदेखि स्वतन्त्र रहेको नेपाल राष्ट्रका जिम्मेवार व्यक्तिहरू हरेक दिन भोलि कसरी, कसलाई ढाँटेर ‘राजनीति’ पसल चलाउने ध्याउन्नमा छन्। उनीहरूको राजनीतिमा मुलुकी (जनता) र मुलुक केन्द्रविन्दुमा पर्दैनन्। पच्चीस, तीस वर्षदेखिका दृश्यहरू हेर्दा ‘ओल्ड डग सिन्ड्रम’ भनिने सुस्त मनोदशा धेरैमा देखिन्छ। उनीहरूको छत्रछाँयामा थिचिएर ‘आदेश’ पर्खेर बस्नेहरूको पीडा अनुमान गर्न सकिन्छ। राष्ट्रका मठाधीशहरू जो आफैँ पिँजराको सुगा बनेका छन्, उनीहरूले राष्ट्रका शत्रु कसरी चिन्लान्?

प्रकाशित: १३ फाल्गुन २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App