७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

नेपालको कर्मचारीतन्त्र

कुनै पनि मुलुकमा आआफ्नै राज्य प्रणाली सञ्चालन गर्न प्रशासनिक व्यवस्था तर्जुमा गरिएको हुन्छ। समयअनुसारको प्रशासनिक इतिहास पनि हरेक मुलुकमा आआफ्नै प्रकारको हुने गर्छ। प्रशासन चलाउने संयन्त्रका रूपमा कर्मचारी नियुक्ति गर्ने व्यवस्था रहन्छ जसको समष्टिगत स्वरूपलाई कर्मचारीतन्त्र अर्थात् ब्युरोक्रेसी भनिन्छ।

त्यही कर्मचारीतन्त्रले मुलुकको प्रशासन चलाउँछ। राज्यका तीन प्रमुख अंगमध्ये व्यवस्थापिकाद्वारा निर्मित कानुनको परिधिमा रहेर सरकारद्वारा निर्देशित राष्ट्र निर्माणका नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने मानव संयन्त्र नै कर्मचारी वर्ग हो। मुलुकको अनुहार कर्मचारी वर्गको कर्तव्यपरायणता र जिम्मेवारीप्रतिको दक्षतापूर्ण भूमिकामा प्रतिबिम्बित रहन्छ। कर्मचारीको जिम्मेवारीका अनेक आयाम छन्।

कर्मचारी र आमजनताः कर्मचारीको प्रत्यक्ष सम्बन्ध आमजनतासँग रहेको हुन्छ। प्रशासनको उद्देश्य जनसेवा हो जसमा कर्मचारीको सर्वोपरि भूमिका रहन्छ। जनता भनेकै राष्ट्र र राष्ट्र भनेकै जनता भएको हुँदा राष्ट्र वा जनताप्रतिको राष्ट्रिय जिम्मेवारीको संगठित बाहक नै कर्मचारी हो। दक्ष कर्मचारीतन्त्रबाट सम्पन्न हुँदै जाने कार्यबाट आमजनतामा राष्ट्रप्रति तादात्म्यता स्थापित हुन्छ। जनतालाई सरकारसँग प्रत्यक्ष जोड्ने माध्यम अर्थात् साँघु कर्मचारी हो।

जनतामा राष्ट्रप्रति भरोसा र विश्वास जगाउने कार्यकारिणी आधार यही संस्था हो। आमजनता मुलुकप्रति विश्वस्त रहेमा उनीहरूको आत्मबल उच्च रहन जान्छ। जनताको आत्मबल उच्च हुनु नै मुलुकको आत्मबल उच्च रहनु हो। उच्च आत्मबलयुक्त जनता राष्ट्रियताको सबल संरक्षक पनि हो।

सरकारले आफ्नो निम्ति संरक्षकत्वको अभिभारा राम्ररी बहन गर्दैछ भन्ने अनुभूति जनताले गर्न पायो भने उसले पनि सरकारका निकायहरूप्रति सम्मानजनक भाव राख्छ। त्यस्तो सम्मानभावको रसायनद्वारा जनतालाई सम्पोषित गराउने तत्व नै कर्मचारी प्रशासन वा कर्मचारीतन्त्र हो।

कर्मचारी र सरकारः कर्मचारी र सरकारको सम्बन्ध नङ र मासुको जस्तै अभिन्न रहन्छ। सरकार नीति निर्माता र मुलुकको निर्देशक हो। उसले पनि स्वेच्छिक निर्णय गर्न सक्दैन। मुलुकको सर्वोच्च कानुन–संविधानको सीमामा रहेर नीति निर्माता अंग व्यवस्थापिकाबाट निर्मित कानुनको अधीनमा रहेर सरकारले कर्मचारीलाई निर्देशन दिन्छ।

सरकारले आदेश दिन्छ। प्रशासनिक क्षमता, विवेक, बुद्धि वा दक्षता प्रयोग गर्ने कर्मचारीले हो। तर सरकारको आदेश नीति वा कानुनी सीमा उल्लंघन नगरी पालना गर्न कर्मचारी निर्भिक पनि रहनुपर्छ। तसर्थ आदेशको पालना मात्रैले राष्ट्रसेवा हुन सक्दैन। बौद्धिकरूपमा सामर्थ्यवान् जिम्मेवार तहको कर्मचारीले सरकारलाई पनि बाटो देखाउँछ र असफलताको भीरबाट लड्न दिँदैन।

संरचनागत हिसाबले कर्मचारीतन्त्र अनेक श्रेणी, तहमा कार्यरत रहन्छ। मुलुकको प्रशासन सञ्चालन गर्न सरकारका अनेक क्षेत्रगत निकाय रहन्छन्। हरेकमा कर्मचारी वर्गको तह वा श्रेणीगत हिसाबले जिम्मेवारीको क्षेत्र निर्धारित रहन्छ। कर्मचारी वर्गद्वारा नै मुलुक प्रशासित रहन्छ र यसैलाई स्थायी सरकार पनि भनिन्छ।

कर्मचारी र सुशासनः सुशासन भनेको सरकार र कर्मचारी वर्गद्वारा स्वार्थरहित ढंगमा सामञ्जस्यतापूर्वक जनहितका खातिर सम्पन्न गरिने कार्यहरूको समष्टिगत प्रतिबिम्ब हो जसले राष्ट्रको अनुहारलाई स्वस्थ र कान्तिमय बनाउँछ। सुशासनद्वारा सम्पोषित राष्ट्र मर्यादाको चमक अन्तर्राष्ट्रियस्तरमै फैलिन पुग्छ। सुशासनको अपेक्षा आमनागरिक एवं समाजका हरेक क्षेत्रका व्यक्तिहरूमा सदा रहन्छ। कर्मचारी वर्ग पनि प्रथमतः आमनागरिक हो।

उसले पनि त्यही अपेक्षा राख्ने हो। जब ऊ सरकारको कुनै पनि निकायको कर्मचारीको हैसियतमा रहन्छ, ऊ जिम्मेवारीद्वारा बाँधिन पुग्छ। नीति, नियम र पदीय परिधिभित्र रहेर उसले राष्ट्र सेवाको जिम्मेवारी बहन गर्न पुग्छ।

मुलुकलाई एउटा विशाल वृक्ष मान्ने हो भने कर्मचारीहरू त्यसका जरा हुन् जसको सक्षमता र इमान्दारितामा वृक्षको हरियाली र ताजापन प्रतिबिम्बित हुन्छ। कर्मचारी वर्ग मुलुको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रका निर्माता हुन्। उनीहरूको कर्तव्यपरायणता र कार्यकुशलताले मुलुक बन्छ, मुलुकको स्वाभिमान, प्रतिष्ठा र अन्तर्बाह्य क्षमता विस्तारित हुन्छ। कर्मचारी वर्ग राष्ट्ररूपी शरीरको रक्तबाहिनी हो।  

नेपाली राष्ट्रियतालाई राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाको बलियो जनप्रत्याभूतिका रूपमा अनुवाद गर्न विगतमा राजनीतिक व्यवस्थामा अनेकाँै पटक परिवर्तन भए। ती परिवर्तनले आमजनतालाई राष्ट्रिय राजनीतिमा सहभागिता गराउन उल्लेखनीयतवरमा मार्ग प्रशस्त गर्नुका साथै उनीहरूलाई आफ्ना हक, अधिकारप्रति सजग गराए। कैयौँ ऐन, कानुन पनि संसद्बाट निर्माण हुँदै आए।

लोकतान्त्रिक पद्धतिप्रति आमजनतामा विश्वास बढाउँदै लैजान राष्ट्रिय राजनीतिक नेतृत्वमा रहेका धेरै व्यक्तिको व्यावहारिक प्रवृत्तिमा भने आमजनभावना अनुकूल हुने गरी परिवर्तन आउन नसक्दा जनस्वीकृत राजनीतिक प्रणाली कमजोर हुने अवस्था सिर्जना भएका छन्।

जिम्मेवार निकायमा वा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरूले आफ्नो पद, प्रतिष्ठा जोगाउन आफ्नो नैतिकता, वैचारिक आदर्श वा नीतिगत सीमालाई कुल्चेर कार्य गर्दै आएका उदाहरण असंख्य छन्।

नेतृत्वका निकटस्थ व्यक्तिहरू अनेक दण्डनीय दुष्कर्ममा संलग्न हुँदा पनि तिनीहरूलाई कार्बाहीको दायरामा नल्याइ ढाकछोप गर्ने प्रवृत्तिले निरन्तरता पाउँदै आएको छ। संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावमा पारी आफन्त वा निकटस्थको संरक्षण गर्ने प्रवृत्ति राजनीतिक नेतृत्वबाट दोहोरिइरहेका देखिन्छन्। ‘सुशासन’ भन्ने कुरा नारा र सस्तो लोकप्रियताका लागि रट्ने मन्त्र जस्तो भएको छ।

सुशासनको मर्मलाई माथिदेखि पालना गर्न नसक्दा तल्लो निकायसम्म नै त्यसको दुष्प्रभाव फैलिँदै गएको छ। विगतमा नेतृत्वमा रहनेहरूको अक्षमताको दोष प्रणालीलाई दिन थालियो। प्रणाली फेरिए पनि प्रवृत्ति फेरिन नसक्नुको परिणति मुलुकले दण्डहीनता, नातावाद, कृपावाद जस्ता अस्वाभाविक दुर्बलताहरूको दुश्चक्रबाट मुक्ति पाउन सकेको छैन।

कतिपय राजनीतिक व्यक्तिसहित कर्मचारीको प्रत्यक्ष÷परोक्ष संलग्नतामा आर्थिक अनियमितता वा भ्रष्टाचारका जघन्य अपराध भइरहने क्रम घटेको छैन। यसबाट अन्तर्राष्ट्रिय स्तरमै नेपालको राष्ट्रिय मर्यादा, स्वाभिमान र चरित्रमाथि गम्भीर आँच पुगेको छ।

प्राकृतिक एवं सांस्कृतिकरूपमा उज्यालो र सबैले गर्व गरिँदै आएको मुलुक नेपालले आर्थिकरूपमा हुँदै आएका अनियमितताका अनेकाँै कुकर्मका कारण लज्जाबोध गर्नु परिरहेको यथार्थ सामुन्नेमा छ।

हिमाल, पहाड, तराईका असंख्य भोका पेट र नाङ्गा आङहरूलाई भ्रष्टाचार भनेको के हो, कसले गर्छ, किन गर्छ भन्ने कुरा थाहा छैन। आधारभूत आवश्यकता पूरा गर्न पनि दिन/रात पसिना चुहाउनुपर्ने असंख्य नेपालीको अनुहारमा राजनीतिक र प्रशासनिक क्षेत्रका जिम्मेवार तहमा रहेका व्यक्तिका आँखा ठोक्किन्छन् कि ठोक्किँदैनन्? जो भ्रष्टाचारी छ, उसले हरेक ठाउँमा आफ्नो व्यक्तिगत स्वार्थको र्‍याल चुहाइरहेको हुन्छ।

कर्मचारी र वैयक्तिक गुणः मुलुकमा सुशासन कायम गर्नमा कर्मचारी वर्गको वैयक्तिक गुण वा क्षमताले सर्वाधिक भूमिका खेल्छ। सुशासन कायम गर्नेतर्फको प्रथम पाइला वैयक्तिकरूपमा प्रत्येक कर्मचारीबाटै चालिनुपर्ने हुन्छ। समष्टिगतरूपमा कर्मचारी वर्गकै प्रशासकीय क्षमता अभिवृद्धिका आधार अनेक छन्।

कर्मचारीतन्त्रको योग्यता, दक्षता, तत्परता, पारदर्शिता, अध्ययनशीलता, जवाफदेहिता, कर्तव्यपरायणता, निर्भिकता, अनुशासनप्रियता, विचारशीलता, आत्मविश्वास, दूरदर्शिता आदि वैयक्तिक तथा सामूहिक हिसाबले प्रतिबिम्बित हुने गुणहरूको प्रशासकीयतवरबाट प्राप्त हुने व्यावहारिक रूप नै सुशासन हो भन्न सकिन्छ।

कर्मचारीबाट प्रस्फुटित हुने राष्ट्रभक्तिको भावनालाई उसले सम्पादन गर्ने कार्यहरूमा उपर्युक्त गुणहरूको प्रतिबिम्बन कत्तिको भइरहेको छ त्यसबाट मापन गर्न सकिन्छ। कर्मचारी वर्ग सबैले यस्ता गुणलाई आआफ्नो जिम्मेवारीअनुसार आत्मसात् गर्नुपर्ने कुराको अपेक्षा राख्न सकिन्छ। यद्यपि अधिकृतस्तरदेखि उच्चपदीय जिम्मेवारीमा रहने कर्मचारीमा भने अझ बढी उल्लिखित क्षमता अपेक्षित रहन्छन् नै। यस्ता वैयक्तिक गुणहरू जिम्मेवारी बहन गर्ने सिलसिलामा प्रस्फुटित हुन्छन्। कर्मचारीको व्यक्तित्व विकासका लागि यी अपरिहार्य आधार पनि हुन्।

सुयोग्य र क्षमतावान् कर्मचारीप्रति राष्ट्रले गौरव गरिरहेको हुन्छ। आफूले गरेका असल कार्यबाट कर्मचारीले सम्मान पनि प्राप्त गर्छ। नेपालको प्रशासनिक क्षेत्रमा विगतमा केही त्यस्ता प्रतिभा थिए र वर्तमानमा पनि नभएकै भने होइनन्। प्रसिद्ध हुनु मात्रै पनि विशेष कुरा भने होइन। इमान्दारी र वफादारीपूर्वक असल काम गरिरहेका असंख्य कर्मचारी पनि छन्।

मुलुकमा विपद् परिआउँदा कर्मचारीतन्त्रले राष्ट्रलाई विपद्मुक्त बनाउन बेलाबखत विशेष तत्परता देखाएका पनि छन्। विपदमा मात्रै होइन, कतिपय राष्ट्रिय घटनाक्रमहरूमा कर्मचारीतन्त्रको उल्लेख्य सेवा देशले प्राप्त गरिरहेकै पनि छ। जस्तै– आमनिर्वाचन, अन्तर्राष्ट्रिय सम्मेलन आदि। सुरक्षा निकायका कर्मचारी त अहोरात्र खटिइरहेका पनि हुन्छन्।

निस्वार्थ राष्ट्र सेवा गर्ने कर्मचारी वर्गको जमात पनि ठूलो छ। तर पनि कर्मचारीतन्त्रलाई आर्थिक पारदर्शिताको मामलामा संशयका साथ हेर्ने गरिएको पाइन्छ। सबै कर्मचारीलाई संशयका आँखाले हेर्नु पनि पूर्वाग्रह हुनेछ। यद्यपि आर्थिक मामलामा कैयौँ सानाठूला ओहदाका कर्मचारीले आफूलाई नियन्त्रण गर्न नसकेका प्रमाण बग्रेल्ती भेट्टाइने गरेको चर्चा सञ्चार माध्यमहरूमा भइरहन्छ।  

कर्मचारी र राजनीतिः नेपालको प्रशासनिक क्षेत्रमा सामान्यतः प्रतिस्पर्धाको माध्यमबाट योग्य जनशक्तिले प्रवेश पाउने गरेको भनिए पनि त्यसमा राजनीतीकरण, भनसुन, वैयक्तिक सम्बन्ध, पदीय प्रभाव आदिले प्रदूषित बनाउँदै ल्याएको पाइन्छ। यसै कारण कतिपय प्रतिभाशाली कर्मचारीले आफ्नो क्षमताको पूर्ण उपयोग गर्न पाएका छैनन्।

विभिन्न किसिमको प्रभाव र पहुँच प्रयोग गरेर पदोन्नति, अवसर, पदस्थापन, सरुवा आदिमा राजनीतिक भनसुन प्रयोग धेरै हुने गरेको देखिन्छ। विशेषतः वरिष्ठ पदाधिकारीहरूको नियुक्ति, बढुवा एवं पदस्थापनामा त सरकारको नेतृत्व तहबाटै हस्तक्षेप हुँदै आएका अनेक दृष्टान्त पाइन्छन्।

सरकारको नेतृत्व गर्ने दलले मुलुकका लागि भन्दा आफ्नो दललाई सहयोग गर्ने/गराउने खालको व्यक्तिलाई आफ्नो अनुकूलताअनुसार प्रयोग गर्ने चाहिरहेको देखिन्छ। यसो हुँदा कम योग्य व्यक्तिले अवसर पाउने र बढी योग्यता पुगेका व्यक्ति पछि पर्ने अवस्था दोहोरिइरहेको देखिन्छ।

यस्तो अवस्था आउनु कर्मचारीतन्त्रमा भएको ठाडो राजनीतिक हस्तक्षेप हो। कर्मचारी वर्गमा विभाजन आउने कारण पनि राजनीतिक हो। जब राजनीतिक आस्थाका कारण कर्मचारी वर्ग विभाजित हुन्छ, गुट/उपगुटमा टुक्रिन्छ, त्यस्तो अवस्थामा स्वयं कर्मचारी मुलुकप्रति भन्दा उसले आस्था राखेको दलप्रति निष्ठावान् रहेर काम गर्छ। ऊ राष्ट्रसेवक भन्दा दलसेवक बन्छ।

नेपालको कर्मचारी वर्गको ठूलो संख्या यसप्रकारको दलीय प्रभावबाट मुक्त हुन सकेको छैन। कर्मचारीको सांगठनिक हितलाई अघि बढाउन टेड युनियनको अधिकारलाई उपेक्षा गर्न नसकिए पनि यसमा हुँदै आएको राजनीतिक प्रभावले सिंगो कर्मचारीतन्त्रलाई नराम्ररी प्रदूषित बनाएको छ।

यसबाट स्वच्छ प्रशासन कायम राख्न राजनीतिक दलहरू नै चाहँदैनन् भन्ने कुरा पनि प्रष्ट हुन्छ। यस प्रकारको विडम्बना नेपालको प्रशासनिक क्षेत्रमा विद्यमान भएकै कारण कर्मचारीबाट जे/जति योगदान राष्ट्र निर्माणका लागि प्राप्त हुनुपर्ने हो, त्यति प्राप्त हुन सकेको पाइँदैन।

आमनागरिक सामान्यतः देशभक्त, देशप्रेमी रहन्छन्। सामान्य देशभक्तिको भावना रहनु भनेको जन्मसिद्ध गुण जस्तै पनि हो। हरेकमा आफ्नो मातृभूमिप्रति प्रेम वा अपनत्वको भावना स्वःस्फूर्तरूपमा रहन जान्छ। समाज वा देशका लागि व्यक्तिद्वारा गरिने कतिपय असल कर्ममा उसको देशभक्तिले अभिव्यक्ति पाइरहेको हुन्छ। त्यस्तै कर्मचारी वर्गमा देशभक्तिको भावना सामान्यतः सबैमा रहन्छ नै।

त्यस भावनालाई उसले सम्पन्न गर्ने गरेका विशेष जिम्मेवारीसहितका कार्यबाट बढी अनुभूत गर्न सकिन्छ। कर्मचारीले आफ्नो वैयक्तिक वा अन्तर्निहित क्षमतालाई उसका जिम्मेवारीका कार्यमा उच्चतम कुशलताका साथ सम्पन्न गर्न पूर्णतः इमान्दार रहन सक्नुमा नै उसको देशभक्ति प्रतिबिम्बित हुन्छ। देशभक्तिको गुण व्यक्तिगतरूपमा उत्पन्न हुने मुलुकप्रतिको निष्ठाको भावना हो। राष्ट्रियताको अनुभूतिमा राष्ट्रप्रतिको निष्ठा, अपनत्व, स्वाभिमान, प्रतिष्ठा, गौरव, दायित्व आदि तत्व सन्निहित रहन्छन्।

कर्मचारी वर्गमा आफ्नो देशको प्रशासनिक जगत्प्रति आमनागरिकमा सम्मान, आत्मीयता, विश्वसनीयता, प्रतिष्ठा एवं गौरवको अनुभूति जगाउने दायित्व रहन्छ। त्यसनिम्ति त्यस वर्गमा साझा संकल्पको आवश्यकता पर्छ। आमजनतामा राष्ट्रप्रति विश्वास र आत्मीयता जगाउने संयन्त्र कर्मचारीतन्त्र हो।

आमजनतामा राष्ट्रिय मर्यादा एवं स्वाभिमानको भावना उच्च बनाउनमा कर्मचारी वर्गको सर्वाधिक भूमिका रहन जान्छ। यसतर्फ नेपालको कर्मचारीतन्त्र अझै गम्भीर हुनुपर्ने खाँचो छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App