२२ चैत्र २०८२ आइतबार
image/svg+xml
विचार

बलात्कार र मृत्युदण्ड

प्रधान मन्त्री सुशील कोइरालाले 'नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन निर्माण गर्न सकिँदैन' भनेको विषयले अन्तर्राष्ट्रिय समाचार माध्यममा पनि प्रमुखता पायो। यो समाचार बलात्कारका कारण होइन मृत्युदण्डमा नेपालको अडानका कारण महत्वपूर्ण भएको हो, किनभने मृत्युदण्ड दिइनु हुन्छ वा हुँदैन भन्ने विषयमा विश्व विभाजित छ।जबसम्म अत्यन्त डरलाग्दो र पाशविक हत्यारालाई मृत्युदण्ड दिइँदैन तबसम्म अपराधी मानसिकताका व्यक्ति निरुत्साहित हुँदैनन् भन्ने एक मान्यता छ भने मानवीयता भन्नु नै कसैको पनि प्राण हर्ने काम रोक्नु हो, कसैले एउटाको प्राण हरेको छ भने सरकारले नै त्यसलाई मृत्युदण्ड दिए तापनि अपराधको प्रकृति उस्तै भयो भन्ने मान्यता मानवतावादी संस्थाहरूको रहेको छ। संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रहरूलाई मृत्यु दण्डलाई स्थगन गर्नका लागि प्रस्ताव गरेको छ। यो प्रस्तावको अनुमोदन २००७ नोभेम्बर १५ मा थर्ड कमिटीले र त्यही वर्षको डिसेम्बर १८ मा प्रस्ताव नं. ६२/१४९ अनुरूप पुनःअनुमोदन गरिएको थियो। त्यसैले प्रधान मन्त्री कोइरालाले अन्तर्राष्ट्रिय सन्धिसम्झौता र हाम्रो मान्यताअनुरूप मृत्युदण्डको कानुन ल्याउन सकिँदैन भनेका हुन्। कुनै पाशविक अपराध हुँदा यस्तो कानुन नभएकोमा धेरैले पश्चाताप गरे पनि मानवीयता र मानव समाजको विकासका क्रममा अमानवीय र क्रूर व्यवहारको बदला त्यस्तै कारबाहीले दिने व्यवस्था समाप्त भएर जानेछ भन्ने आशा गर्न सकिन्छ।

छिमेकी देश भारतमा मृत्युदण्डको कानुन छ। भारतको राजधानी नयाँ दिल्लीमा २०६९ पुस १ गते एक डाक्टरले इन्टर्नसिप गर्दै गरेकी २३ वर्षिया युवतीलाई गरेको बलात्कार र हत्या अभियोगका अभियुक्तलाई मृत्युदण्डको सजाय तोकिएको छ। त्यही घटनामा मुछिएका एक १७ वर्षीय युवकलाई अदालतले नाबालिग करार गर्दै केबल ३ वर्षको जेल सजाय दिएको विषयलाई लिएर धेरै विरोध पनि भएको छ। यसरी छिमेकी देशमा बलात्कारीलाई मृत्युदण्ड दिइँदै गर्दा नेपालमा किन नदिने भन्ने प्रश्न उठ्न सक्छ तर मृत्युदण्डले अपराध रोक्न सक्दैन भन्ने उदाहरणमा पनि भारतकै घटनालाई लिन सकिन्छ। भारतमा कुनै पनि ज्यानमारा वा अमानवीय घटनामा मृत्युदण्ड दिने प्रावधान छ तर त्यसले यस्ता अपराधमा कुनै कमी आएको देखिँदैन। मानव समाज अदालतले अपराधी करार गरिसकेको व्यक्तिलाई समेत पीडा दिइनुहुँदैन भन्दैछ। यस्तो अवस्थामा मानवमात्रको ज्यान लिने अधिकार अर्को मानवलाई हुनुहुँदैन भन्ने विषयमा धेरै विवाद नहुनु पर्ने हो। नेपालले सन् १९८४ को यातना तथा त्रू्कर, अमानवीय, अपमानजनक व्यवहार तथा सजाय नदिने संयुक्त राष्ट्र संघको सन्धिमा सन् १९९१ मा नै सही गरिसकेका कारण पनि मृत्युदण्डको कानुन बन्न सक्दैन। उक्त सन्धिमा अन्य देशले समेत सही गरेका भए पनि तिनले मृत्युदण्ड दिँदा क्रूर र पीडादायक व्यवहार गर्न नपाउने हुनाले मृत्युदण्डका नयाँनयाँ उपायका खोजीमा उनीहरू लागेका छन्।

सन्दर्भ अहिले कलैया, बाराकी ८ वर्षिया बालिकाको फागुन ८ मा भएको बलात्कार र २५ गते भएको मृत्युसँग जोडिएको छ। यही घटनाबारे प्रतिक्रिया दिने क्रममा कोइरालाले मृत्युदण्डको कानुनी प्रावधान बनाउन नसकिने जिकिर गरेका हुन्। तर यस्तो घट्नाका दोषीलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा सरकार सजग हुनुपर्छ। मृत्युदण्ड दिने वा नदिने विषय मानवीयता र अन्तर्राष्ट्रिय सम्झौतामा सम्बन्धित होला तर यस्ता अपराधीले कडाभन्दा कडा सजाय भने पाउनुपर्छ भन्नेमा दुईमत हुँदैन। साथै, आपराधिक मनोवृत्ति भएका व्यक्ति सजायका डरले निरुत्साहित हुन्छन् भन्न सकिन्न। तर समाजमा भएका यस्ता गलत तत्व र यौन दुर्घटना गराउनसक्ने प्रकारका व्यक्तिको बानी, व्यवहारमा ध्यान दिँदै समयमै तिनको मानसिक उपचार गर्नसमेत ध्यान जानु जरुरी छ। अधिकांश अपराध मानसिक रोगीबाट भएको पाइन्छ। कतिपय अवस्थामा अपराधी प्रमाणित भएको व्यक्तिसमेत निर्दोष भेटिनुले कुनै पनि अपराधको सबैभन्दा ठूलो सजाय मृत्युदण्ड नै हो भन्ने मान्यतामा नै पुनर्विचार आवश्यक छ।

प्रकाशित: २८ फाल्गुन २०७१ २२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %