कार्यकर्ता आपूर्तिको स्रोत
कांग्रेसका अरु भातृ संस्थाका तुलनामा नेविसंघ पार्टीलाई कार्यकर्ता आपूर्ति गर्ने मुख्य स्रोत हो। विद्यार्थी जीवनमा लोकतान्त्रिक मूल्य मान्यता अंगीकार गरेको व्यक्तिमात्रै कांग्रेसको सही नेता हुन सक्छ र विद्यार्थी राजनीतिबाट आएको व्यक्तिले मात्र समाजको सूक्ष्म विवेचना गरी राष्ट्रलाई सही मार्ग दर्शन गर्न सक्छ। आधुनिक संसारमा विकसित प्रविधिसँग साक्षात्कार गरेकेा नयाँ पुस्ता भित्रबाटै राजनीतिक नेतृत्व विकसित भयो भनेमात्रै समाजको पछिल्लो पुस्ताले त्यसलाई सहजै ग्रहण गर्न
सक्छ। आफूलाई नेतृत्व गरिरहेको पुरानो पुस्ता र आफूपछि आउने नयाँ पुस्ताबीच सेतुको काम गर्न सक्छ। त्यही पुस्ताले मात्र संसारमा भएका विकासका कीर्तिमानको रहस्य र कारण थाहा पाउन, बु‰न, अरूलाई बताउन र व्यवहारमा उतार्न सक्छ। सँगसँगै पार्टी राजनीतिका लागि एकदशक पछि आवश्यक पर्ने योग्य जनशक्ति तयार भई पार्टीलाई हस्तान्तरण हुन सक्छ। यस्तो जमातमा यतिखेर नेतृत्व विकास प्रक्रिया अवरुद्ध छ। झन्डै ७/८ वर्षअघि सम्पन्न भएको नेविसंघको दसौँ महाधिवेशन र यसभन्दा अघिको नेतृत्व अहिले पार्टी नेतृत्वमा स्थापित र क्रियाशील छ। पार्टीको केन्द्रीय तहमा नेविसंघबाट आएको नेतृत्वको संख्या निकै ठूलो छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भएका एक से एक नेता केन्द्रीय समितिमा छन्। विषयको गम्भीरता, समयको आवश्यकता र नेतृत्व विकासको अनिवार्यतालाई बुझेका भनिएका यस्ता नेतासमेत विद्यार्थीको महाधिवेशनप्रति किन उदासीन? यो संगठनमा लागेर व्यक्तित्व विकास नहुने हो भने नयाँ विद्यार्थी यसमा किन लाग्ने? अहिले क्रियाशील व्यक्तिहरूले अगाडि अवसर नपाउने हो भने राजनीतिमै किन लागिरहने? भोलिको चुनौतीलाई धान्ने नयाँ जनशक्ति तयार नगर्ने हो भने पार्टीको भविष्य के होला? यतिबेला यस्ता अनगिन्ती प्रश्न पार्टी र यसको नेतृत्व समक्ष उठेका छन्। नेविसंघको महाधिवेशन सम्पन्न नगराई पार्टी अधिवेशनमा होमिने हो भने पार्टीका अधिवेशनहरू पनि तनावरहित नहुनसक्छन्। यस विषयमा आवश्यक गम्भीरता नेतृत्वमा नदेखिँदा पार्टीकसम्बद्ध विद्यार्थी जमात निक्कै निराश, क्षुब्ध र क्रुद्ध देखिन्छ। यसको समाधान के? नेतृत्व पंक्तिबाट चित्तबु‰दो जवाफ चाहिएको छ। नेविसंघमा क्रियाशील विद्यार्थी नेताले गहभर आँसु पारेर पार्टी नेतृत्वलाई अनुनय विनय गरिरहँदा पनि यसको निकास किन आउँदैन? सबै दोष पार्टी सभापति एवं प्रधानमन्त्रीको थाप्लोमा थुपारेर अरू नेता 'पानी माथिको ओभानो' हुन त मिल्दैन। संविधान निर्माण र राज्य सञ्चालनको मुख्य दायित्व पूरा गरिरहेका प्रधानमन्त्रीलाई पार्टीका सबै काममा अरू सरह सरिक गराउन खोज्नु युक्तिसंगत पनि हुँदैन। के पार्टीले भातृ संस्थाको व्यवस्थापन गर्ने क्षमता गुमाएकै हो
त? आखिर विद्यार्थी समूहत सबै पार्टीमा आबद्ध छ र यसको आधारभूत चरित्र एउटै हो। पार्टीभित्र र देशमा जतिसुकै संकट भएपनि अन्य पार्टीले आफ्ना भातृ संस्थाको व्यवस्थापन गर्न सक्ने तर कांग्रेसले चाहिँ नसक्ने कसरी हुन सक्छ?
पार्टीभित्रको बखेडा
कांग्रेसभित्रको एउटा समूहले पार्टी नेतृत्वलाई अनेक बखेडामा अड्काएर महाधिवेशन गर्न नदिने र जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउने रणनीति अख्तियार गरिरहेको सर्वविदितै छ। पार्टी राजनीतिमा प्रतिस्पर्धी समूहले यस्तो खेल खेलिरहन्छ। तर कुन स्तरसम्म ओर्लने भन्नेको भने सीमा हुन्छ। भोलि आफूले टेक्ने वा आफू उभिने जमिन नै नरहेपछि स्वयंको भविष्य के होला भन्ने त्यस समूहले हेक्का राखेको देखिँदैन। प्रतिस्पर्धीलाई असफल बनाएर आफ्नो योग्यता चुलिँदैन। स्वयंले योग्यता प्रदर्शन गरेर कार्यकर्ताको विश्वास जित्नुपर्छ। विद्यार्थी जमात र नयाँ पुस्तालाई रुवाएर भविष्यको नेता बन्न सकिँदैन। नेपाल विद्यार्थी संघको महाधिवेशन तयारीका क्रममा प्रजातान्त्रिक विधि र प्रक्रियालाई तिलाञ्जली दिएर आफ्नो भागको माग गर्ने र कुनै वस्तुसंगत एवं ठोस आधार तथा धरातलविना नै जिम्मेवारी बाँडफाट गर्न खोज्ने पक्षले राम्ररी के बु‰नुपर्छ भने प्रजातन्त्रमा मूल्य, मान्यता र प्रक्रियाविपरीत भाग खोजिँदैन। नेतृत्व पाउन कार्यकर्ताको विश्वास जित्नुपर्छ। अहिले नेतृत्व गरिरहेको पक्षले भोलि कार्यकर्ताको विश्वास गुमाउन पुग्यो भने ऊ स्वतः नेतृत्वमा रहँदैन। अहिले मूल नेतृत्वमा नभएको पक्ष पनि विश्वास जिते नेतृत्वमा स्थापित हुन सक्छ। यो कुनै नौलो कुरै
होइन। तर पार्टीमा, सरकारमा, संसद्मा र भातृ संस्थामा निश्चित् भाग खोज्ने र भागबन्डा गर्ने दुवै प्रवृत्तिले पार्टीको संस्थागत विकास हुनसत्तै्कन। त्यसबाट त गैरप्रजातान्त्रिक प्रवृत्ति संस्थागत हुन पुग्छ। यसले पार्टी व्यवस्थापनको तत्कालीन संकट त टर्ला तर पार्टीको दीर्घ जीवनमा दूरगामी प्रतिकूल प्रभाव पर्नसक्छ। कुनै पनि नयाँ मान्छे पार्टी राजनीतिमा लाग्दैन। नयाँ आर्जन नहुने हो भने पुरानो सम्पत्तिले कति दिन धान्ने? दस जोड दुई र कलेज पढ्ने कलिला विद्यार्थीको मस्तिष्कमा हामीले के रोप्न खोज्दैछौँ? भ्रातृसंस्थाको नेतृत्वको प्रतिस्पर्धामा जित्दा र हार्दा के फरक पर्छ? विधि र प्रक्रियालाई आत्मसात् र अवलम्बन गर्दा हारियो भने पनि समय क्रममा संस्थाले जिती नै रहेको हुन्छ। कालान्तरमा विधि, प्रक्रिया र संस्थागत मान्यता विजयी हुन्छ। र नयाँ पुस्तालाई व्यवस्थित पार्टी हस्तान्तरण गर्न सकिन्छ। यो सत्यलाई किन आत्मसात गरिँदैन? अगेनामा आगो बाल्ने नयाँ सन्तती तयार नभए बुढेसकालमा केले जीउ सेक्ने? र आफ्नो अर्थी बोक्ने र सँगसँगै मलामी जाने मान्छे चाहिन्नजस्तो छ हामीलाई। हामीले समाज र नयाँ पुस्तालाई कस्तो प्रजातन्त्र सिकाउँदै छौँ? आज सार्वजनिक रूपमै प्रश्न उठेको छ। यसको अविलम्ब निकास र समाधान चाहेका छन् विद्यार्थीले।
अन्य भ्रातृ संस्था
नेतृत्व र व्यक्तित्व विकासको आशामा बसेका तरुण दल र महिला संघ तथा अन्य भातृ संस्थाहरूको समेत महाधिवेशन अवरुद्ध हुँदा पार्टीको गतिशीलता र आन्तरिक जागरणमा अस्वाभाविक सुस्ती र मन्दी व्याप्त छ।
पार्टीका कुनैपनि भातृ संस्थाको अधिवेशन रोकिनुमा तर्कसंगत कारण देखिँदैन। झन्डै १७/१८ वर्ष तरुणदल र त्यसअघि नेविसंघमा काम गरेका पार्टीभित्रको वयस्क पुस्ता अनुभवसमेतले प्रौढ भइसकेको छ। मुलुकका सबै जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता भएको जमात भातृ संस्थामै अल्मलिएको छ। यो पार्टीका निम्ति निकै दुःखदायी स्थिति हो। भातृ संस्थामा काम गरिसकेर पार्टीको जिम्मेवारी सम्हाल्ने र राज्यको समेत दायित्व निर्वाह गर्ने ठाउँमा पुगिसक्नुपर्ने समयमा पार्टी नेतृत्व समक्ष आफ्नो संगठनको महाधिवेशन गराई पाउँ भनेर दरखास्त हाल्दै बस्नुपर्ने अवस्था साँच्चै नै विडम्बनापूर्ण हो।
अब के गर्दा उचित?
छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको कांग्रेसका सबै भातृ संस्थाका नेतृत्व पंक्तिका साथीले पार्टी नेतृत्वलाई दोष थोपरेर आफूले उन्मुक्ति पाउने कुनै संभावना छैन। किन भएन महाधिवेशन छ महिनाभित्र? यसमा आफ्नो कमी कमजोरी के के छ केलाउनु पर्छ। महाधिवेशन गर्न आफूले कति प्रयत्न गरियो, पार्टी निर्देशन र भावनाको कति परिपालनना गरियो, भन्ने पनि हेक्का राख्नुपर्दछ। पार्टीले तोकेको समयसीमा सकिएपछि पनि कति सचेत भएर काम गरियो? नेतृत्व पंक्तिभन्दा बाहिरका साथीले बारम्बार प्रश्न उठाउँदा जिम्मेवारी बोध भयो कि भएन?
पदमा जति लामो समय टिक्न सक्यो उति सफल भन्ने मानसिकताबाट ग्रस्त दक्षिण एसियाको राजनीतिक चरित्रबाट नेपाली समाज पनि मुक्त छैन। त्यही मानसिकता कांग्रेसका भातृ संस्थाका अगुवाहरूमा पनि देखिएको छ। अबको नयाँ पुस्ता यो परम्परागत रोगबाट क्रमशः मुक्त हुँदैछ। कसले कसरी जिम्मेवारी सम्पादन गर्योे, त्यसको आधारमा नयाँ जिम्मेवारी प्राप्त हुने प्रवृत्तिको विकास गर्नुपर्छ भन्ने मान्यतामा चल्न थालेको छ। तसर्थ सबै भातृ संस्थाका अध्यक्षलगायत सदस्यले बैशाखभित्रको समयसीमा तोकेर पार्टी नेतृत्व समक्ष महाधिवेशनका लागि नयाँ र अन्तिम दर्खास्त हाल्नुपर्छ। महाधिवेशन सम्पन्न भएन भने सम्बन्धित सबैले आआफ्नो पदबाट राजीनामा दिनु नै उत्तम हुनेछ। जिम्मेवारी सम्पादन गर्न नसक्नु स्वयंको पनि असफलता त हो नि, होइन र?
प्रकाशित: २५ फाल्गुन २०७१ २१:४२ सोमबार