६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

ओमिक्रोनले बढायो लङ कोभिडको चिन्ता

कोभिड–१९ले संक्रमण गरेको १ वर्षपछि पनि रेबेका होगानलाई ब्रेन फग, जिउ दुख्ने र थकान जस्ता समस्या छन्। दीर्घ कोभिड–१९ (लङ कोभिड) का कारण उनी आफ्नो नर्सिङ पेसा र घरायसी काम गर्न असमर्थ छन्। लङ कोभिडले उनका श्रीमती र आमाको भूमिकालाई समेत प्रभावित पारेको छ। ‘के यो स्थायी हो ? के यो न्यु नर्मल हो ?’ न्यूयोर्ककी ४१ वर्षीय बासिन्दा होगान सोध्छिन्। उनका तीन छोरोछोरी र श्रीमान्मा समेत उस्तै समस्या देखिएको छ। ‘म मेरो पूर्ववत् जीवन चाहन्छु ’– उनी भन्छिन्।

कोभिड–१९ संक्रमितमध्ये एक तिहाइलाई लङ कोभिडको यस्ता दीर्घकालीन असर देखिने कतिपय आकलनले देखाएका छन्। अहिले विश्वभर ओमिक्रोनका कारण महामारीको लहर फैलिरहेका बेला वैज्ञानिकले यसप्रकारको रोगका कारण र उपचारको खोजीलाई तीव्रता दिएका छन्। त्यसो गर्न सकेमा मात्र लङ कोभिडको संभावित व्यापक विष्फोटलाई रोक्न सकिने तर्क उनीहरूको छ।

के यो स्वप्रतिरक्षा क्षमतामा सिर्जना हुने असन्तुलन (अटोइम्युन डिसअर्डर) हो ? यसो हो भने यसले पुरुषलाई भन्दा अत्यधिक रूपमा महिलालाई बढी प्रभाव पार्छ भन्ने देखिन्छ। सामान्यतया अटोइम्युन डिसअर्डरका कारण महिलालाई बढी रोग लाग्ने गर्छ। अथवा सूक्ष्म हिसाबमा रगत जम्ने (माइक्रोक्लट)का कारण सम्झना शक्ति हराउने तथा खुट्टाको औँलाको रंग परिवर्तन हुनु जस्ता रोगका लक्षण देखिएका हुन ? यो तर्क पनि सही हुन सक्छ किनभने कोभिड–१९का बिरामीमा असामान्य रूपमा रगत जम्ने (ब्लड क्लटिङ) को समस्या देखिने गरेको छ। यी र अन्य मान्यताको परीक्षण भैसकेको छ भने अर्काेतिर खोपले लङ कोभिडको संभावनालाई घटाउन सक्ने पनि देखिएको छ।

रोग लागेको कैयन् सातापछि लङ कोभिडका लक्षण देखिने पृष्ठभूमिमा एकजनाबाट अर्काेमा अत्यन्त छिटो सर्ने ओमिक्रोन भेरियन्टले कति स्तरमा दीर्घ कोभिड रोगका रहस्यमय लक्षण देखाउला भन्ने विषय अझै एकिन हुन सकेको छैन। तर कतिपय विज्ञले लङ कोभिडको नयाँ लहर अवश्यम्भावी रहेको र यसका लागि तयारी आवश्यक रहेको बताएका छन्।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यही विषयमा अध्ययन/अनुसन्धान गर्न १ अर्ब अमेरिकी डलर खर्चिने भएको छ। यही आर्थिक सहयोगले विश्वका विभिन्न क्लिनिक र अनुसन्धान संस्थाले यो विषयमा अनुसन्धान सुरु गरेका छन्। क्यालिफोर्निया विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डन जस्ता शैक्षिक संस्था पनि यो अभियानमा जुटेका छन्।

किन यस्तो हुन्छ ?

यो विषयलाई थप प्रष्ट पार्न केही मान्यता (थ्योरी)हरू अगाडि आएका छन्। निको भैसके पनि मानिसका शरीरमा संक्रमण अथवा भाइरस बाँकी नै रहने भएकाले यसो भएको हुन सक्ने कतिपयको मान्यता छ। कतिपयले यस्तो अवश्थामा मोनोन्युक्लियोसिस जस्तो रोग निम्त्याउने इप्स्टयन–बार जस्ता सुषुप्त भाइरस पुनर्जीवित हुन तर्क गर्छन्। सेल नामक जर्नलमा हालै प्रकाशित एक अध्ययनले रगतमा इप्स्टयन–बार भाइरस यसप्रकारका जोखिमका लागि एक कारक हुन सक्ने देखाएको थियो।

तेस्रो मान्यता कोभिड–१९ का गंभीर बिरामीमा अटोइम्युन डिसअर्डर विकास हुने विषयसँग संम्बन्धित छ। सामान्य प्रतिरक्षा प्रणाली अन्तर्गत भाइरस संक्रमणपछि शरीरले त्यसको विरुद्ध लड्नका लागि एन्टिबोडीलाई सक्रिय पार्ने गर्छ तर कतिपय अवस्थामा एन्टिबोडीले गल्तीले सामान्य कोषिकालाई आक्रमण गर्छन्। यही कारण लुपस तथा स्नायु प्रणालीमा लाग्ने मल्टिपल स्लेरोसिस अटो इम्युन रोगहरू लाग्ने गर्छन्।

अमेरिकाको लसएन्जलसमा रहेको सेडार्स–सेनाइ मेडिकल सेन्टरका अनुसन्धानकर्ताले रोग निको भएको ६ महिनासम्म पनि बिरामीमा यसप्रकारका ‘अटोएन्टिबोडी’ को तह उच्च रहेको पत्ता लगाएका थिए। अर्काे संभावना भनेको रगतमा हुने सूक्ष्म क्लटिङ हो। कोभिड–१९ का कतिपय बिरामीमा असामान्यरूपमा रगत जम्ने देखिएको छ।

यसले मस्तिष्कघात, हृदयाघात तथा खुट्टा तथा पाखुराका नसामा खतरनाक ब्लकेज हुने देखिएको छ। दक्षिण अफ्रिकास्थित स्टेलनवोस विश्वविद्यालयका एक प्रयोगशालाका वैज्ञानिक रेसिय प्रिटोरियसले कोभिड–१९का बिरामीको रगतको नमुनामा माइक्रोक्लट देखिएको पत्ता लगाएकी थिइन्।

ती बिरामीमा पछि लङ कोभिडको समस्या देखिएको थियो। ब्लड प्लाज्ममा प्रोटिनको स्तर बढेको पनि उनको अध्ययनले देखाएको थियो। कोभिड–१९ संक्रमणले रगत र तन्तुमा अक्सिजनको न्यून वितरण हुने हँुदा यसप्रकारको रगत जम्ने समस्या भएको हुन सक्ने उनको तर्क छ।

यो समस्या अधिकांशलाई लङ कोभिडका लक्षण समान छैनन्। तर अधिकांशमा थकान, सम्झना शक्तिमा समस्या, स्वाद र गन्ध हराउने, श्वासप्रश्वासमा समस्या, अनिन्द्रा, वैचैनी तथा नैराश्यता देखिने गरेको छ। कतिपयमा सुरुको संक्रमणमा देखिएका लक्षण लम्बिने अथवा एकाध महिना पछि फेरि देखिने गरेका छन्। तर यस्ता लक्षण अन्य रोगका पनि हुन सक्ने भएकाले यसप्रकारको समस्याका लागि कोरोना भाइरस नै जिम्मेवार मान्ने कि नमान्ने भन्ने विषयमा वैज्ञानिक एकमत छैनन्।

हाल जारी विभिन्न अनुसन्धानले यो विषयमा थप प्रष्ट पार्ने अपेक्षा गरिएको छ। लङ कोभिडले सबै उमेर समूहका प्रौढ र बालबालिकालाई प्रभाव पार्ने देखिएको छ। अध्ययनहरूले अस्पतालमा भर्ना भएकालाई यो रोग बढी देखिएको तर अस्पताल भर्ना नभएकामा पनि यसप्रकारको समस्या देखिएको देखाएका छन्।

महामारीको सुरुको लहरमा संक्रमित भएकी उडान सहायक ज्याकी ग्राहामलाई त्यतिबेला धेरै समस्या भएको थिएन। उनी अस्पतालमा भर्ना पनि भइनन्। तर केही महिनापछि उनमा मुटुको धड्कन बढ्ने र श्वासप्रश्वासमा समस्या देखिन थाल्यो। उनको रक्तचाप पनि बढ्न थाल्यो। सन् २०२० को सेप्टेम्बरताका बिहानको योगापछि उनलाई अप्ठेरो भयो र ओछ्यानमा सुत्नुपर्ने भयो।

‘म सबेरै उठ्ने गर्छु, व्यायाम गर्छु। ६ महिनाअघि भएको कोभिड–१९ संक्रमणको दीर्घ असरले अहिले आएर मलाई सताउन थालेको छ’– उनी भन्छिन्। न्युयोर्ककी नर्स होगान पनि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइनन्। चिकित्सक अटोइम्युन डिसअर्डरका कारण उनलाई दीर्घ कोभिड भएको ठान्छन्।

संभावित उत्तर

लङ कोभिडको निश्चित उपचार छैन तर दुखाइ कम गर्ने औषधिको सेवन, अन्य रोगको उपचारमा प्रयोग हुने औषधि तथा भिजिकल थेरापीले दीर्घ कोभिडका रोगीलाई आराम मिल्छ। इम्युनोबायोलोजिस्ट अकिको आइवाशाकीले कोभिड–१९ खोपले लङ कोभिडलाई पार्ने प्रभावका बारेमा अध्ययन सुरु गरेकी छिन्। येल विश्वविद्यालयमा उनी र उनको टिमले यो अध्ययन सुरु गरेको हो। अमेरिका र इजरायलमा भएका पछिल्ला अध्ययनले खोपले लङ कोभिडका बिरामीलाई राहत दिने देखाएका छन्। तर यी अध्ययन ओमिक्रोन भेरियन्ट देखिनुअघि भएका थिए।

अनिश्चित भविष्य

लङ कोभिडका विषयमा अझै धेरै कुरा एकिन नभएकाले भविष्य प्रष्ट छैन। उडान सहायक ग्राहम समयसँगै लङ कोभिडको समस्यामा सुधार भएको बताउँछिन्। उनको रक्तचाप सामान्य भएको छ भने हराएको स्वाद र गन्ध फिर्ता भएको छ। तर होगना अझै संघर्षरत छिन्। उनलाई नसा र खुट्टा दुख्ने लक्षण जारी छ।

केही वैज्ञानिकले केही बिरामीमा लङ कोभिडका कारण दीर्घकालसम्म थकानको समस्या हुन सक्ने बताएका छन्। यसप्रकारका रोगका खास उपचार छैन। यो प्रसंगमा निश्चित हिसाबमा देखिएको पक्ष के हो भने यो रोगले व्यक्तिगत स्वास्थ्य, स्वास्थ्य सेवा प्रणाली तथा अर्थतन्त्रलाई प्रभाव पार्ने देखिएको छ।

नियमित रूपमा दैनिक काम सुचारु गर्न असमर्थ हुँदा बिमाले समेत धान्न नसक्ने देखिएको छ। ग्राहाम उपचारका लागि झण्डै ६ हजार अमेरिकी डलर खर्च भएको बताउँछिन्। उता दक्षिण अफ्रिकाकी वैज्ञानिक यो अवस्था झन बिग्रन सक्ने देख्छिन्। ‘कैयन् मानिसले जीवन यापनका अवसर गुमाएका छन्। आफ्नो घर गुमाएका छन्। उनीहरू काममा फर्कन असमर्थ छन्’– उनी भन्छिन। ‘लङ कोभिडले अर्थतन्त्रमा गंभीर असर पार्ने देखिएको छ’– उनी थप्छिन्। (एपीबाट) 

प्रकाशित: २३ माघ २०७८ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App