१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

ओलम्पिकभित्र पश्चिमा राजनीति

अन्तर्राष्ट्रिय राजनीतिमा मडारिइरहेको ‘शीतयुद्धकालीन’ बादलको प्रभाव बेइजिङ शीतकालीन ओलम्पिक २०२२ मा पनि पर्नु अनौठो होइन।

आगामी फेब्रुअरी ४ देखि २० सम्म चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकको सफलता चीन सरकार र चिनियाँ जनताका लागि प्रतिष्ठा र चुनौतीको विषय बनेको छ।

संसारभर कोभिड महामारीको बहुआयामिक प्रभाव अझै घटिनसकेको कारणले मात्र होइन, बरु केही पश्चिमा देशले विभिन्न कारण तेर्साएर बेइजिङ ओलम्पिकलाई निरुत्साहित बनाउने अथवा बदनाम गर्ने प्रयासका कारण पनि यो विश्व खेल महोत्सव चीनका लागि थप प्रतिष्ठा र चुनौतीको विषय बनेको हो।

‘साझा भविष्यका लागि सहकार्य’ नारा दिइएको बेइजिङ शीतकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय शक्तिबीचको गहिरिँदो विभाजनको प्रतिछायाँ पर्न नपर्ने हो। राजनीतिक, आर्थिक वा व्यापारिक द्वन्द्वका कारण आपसी विभाजन ‘ओलम्पिक भावना’ विपरीत मानिन्छ।

खेलकुद क्षेत्रले इतिहासमा धेरै पटक राजनीतिक र आर्थिक कारणले विभाजित संसारका शक्तिहरूलाई जोड्ने सेतुको भूमिका खेलेको छ। सन् १९४९ पछि कूटनीतिक सम्बन्ध विच्छेदको अवस्थामा रहेका आज संसारका प्रमुख शक्ति मानिएका अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न पनि खेलकुद क्षेत्रले ठूलो भूमिका खेलेको थियो।

सन् १९७१ को अप्रिलमा जापानको नागोया सहरमा आयोजित विश्व टेबुलटेनिस च्याम्पियनसिपमा सहभागी अमेरिकी टोलीका खेलाडी ग्लेन कोवन संयोगले चिनियाँ खेलाडीहरू चढेको गाडीमा चढे। त्यतिबेला चीन र अमेरिकाबीच पानी बाराबारको सम्बन्ध थियो। दुई देशबीच कुनै पनि कूटनीतिक वा आर्थिक सम्बन्ध थिएन। त्यसको प्रभाव खेलाडीमा पनि पर्नु अस्वाभाविक थिएन।

तर चिनियाँ खेलाडीहरू चढेको गाडीमा पुगेका कोवन चिनियाँ खेलाडी चुआन चेतोङको हार्दिक व्यवहारबाट प्रभावित भए। निषेधको सम्बन्धमा रहेका दुई देशका खेलाडीबीचको सौहार्द सम्बन्ध समयान्तरमा दुई देशबीचको राजनीतिक नेतृत्वबीचको सम्बन्ध पुनःस्थापनाको सेतु बन्यो।

जापानमा रहेका अमेरिकी टेबुलटेनिस खेलाडीहरूलाई लगत्तै चीनले स्वागत गर्‍यो र चीनका केही सहरमा मैत्रीपूर्ण खेल आयोजना गरियो। मैत्रीपूर्ण खेलको मूल भावना ‘पहिला मित्रता अनि प्रतिस्पर्धा’ थियो।

टेबुलटेनिस अर्थात पिङपङ खेलमार्फत जोडिएको यो सम्बन्धकै जगमा सन् १९७२ मा अमेरिकाका राष्ट्रपति निक्सन माओ त्से तुङ भेट्न बेइजिङ पुगे। पिङपङमार्फत सुरु भएको सम्बन्धलाई समयान्तरमा विश्लेषकहरूले ‘पिङपङ कूटनीति’ को नामाकरण गरे।

सोभियत सङ्घ र अमेरिकाबीचको शीतयुद्ध समाप्त गर्न र विश्व राजनीतिलाई नयाँ आकार दिन माओ–निक्सनबीच भएको त्यो भेटले निर्णायक भूमिका खेल्यो। त्यसको दुई दशकपछि सोभियत सङ्घ विघटन भयो। शीतयुद्ध पछिका केही दशक संसारभर अमेरिकाको एकछत्र प्रभुत्व कायम रह्यो।

इतिहासको यो रोचक अध्यायबाट शिक्षा लिने हो भने ट्रम्प सरकारले बिगारेको चीन–अमेरिका सम्बन्धलाई पुनः सौहार्द र गतिशील बनाउन बेइजिङ शीतकालीन ओलम्पिक बाइडेन सरकारका निम्ति उपयुक्त अवसर थियो। विडम्बना, ट्रम्पभन्दा आफू फरक भएको देखाउने बाइडेनको प्रयास पछिल्ला एकपछि अर्को उनका निर्णयले गलत पुष्टि गरेको छ।

बाइडेन सरकारले ओलम्पिकसँग कुनै सरोकार नभएको विषयलाई कारण देखाएर बेइजिङ ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने घोषणा गर्‍यो। यो काममा बेलायत र क्यानाडाले पनि उसलाई साथ दिएका छन्। कूटनीतिक बहिष्कारको अर्थ ती देशबाट खेलाडीबाहेक बेइजिङ ओलम्पिकमा कोही पनि सरकारी अधिकारी जाने छैनन्।

व्यावहारिक हिसाबमा भन्दा त्यसले बेइजिङ ओलम्पिकको मैदानमा खासै असर पार्ने छैन। तर कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा विश्लेषण गर्दा यसले शक्ति देशहरूबीचको गहिरो विभाजन सङ्केत गर्नुका साथै समयान्तरमा केही गम्भीर प्रभाव भने पार्न सक्नेछ।

अमेरिका, बेलायत र क्यानाडाले शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारका लागि चीनको सिन्च्याङ क्षेत्रमा ‘मानव अधिकार उल्लंघन’ को मुद्दा उठाएका छन्।

उनीहरूको भनाइमा सिन्च्याङ क्षेत्रका उइगुर जनतामाथि चीन सरकारको दमन, मानव अधिकारको वञ्चितीकरणको ‘विरोधस्वरूप’ बेइजिङ खेल महोत्सवको कूटनीतिक बहिष्कार गरिएको हो।

अमेरिका र पश्चिमा सञ्चारमाध्यमले गर्दै आएको ‘सिन्च्याङमा दमन र मानव अधिकार उल्लंघन’ को प्रचारलाई चीनले लगातार तथ्य तथ्याङ्कसहित खण्डन गर्दै आएको छ। प्राकृतिक र सांस्कृतिक स्रोतमा धनी सिन्च्याङ क्षेत्र ऐतिहासिक रेशममार्गको प्रमुख केन्द्र थियो। विशेषतः सि चिनफिङको नेतृत्व आएयता चीनका सबै जाति ‘अनारका दाना’ जस्तै मिलेर बस्ने र समृद्धिको फल सबैतिर पुर्‍याउने नीतिअन्तर्गत सिन्च्याङ क्षेत्रको भौतिक, आर्थिक र सांस्कृतिक विकासलाई तीव्रता दिइएको छ।

सिन्च्याङ क्षेत्रमा रहेका केही जाति वा समूहलाई उचालेर चीनमा उपद्रव फैलाउने प्रयास र सम्भावनालाई ध्यानमा राखी चीन सरकारले सो क्षेत्रमा आर्थिक विकासलाई तीव्रता दिएको हो। गरिबी र विपन्नता नै सामाजिक द्वन्द्वको मूल कारण भएकाले पिछडिएका क्षेत्रका जनतालाई आर्थिक अवसर र गतिविधिमा सामेल गर्ने सरकारको नीतिअन्तर्गत सिन्च्याङ क्षेत्रमा विकासका पूर्वाधार, आर्थिक गतिविधि र स्थानीय स्रोतको उचित उपयोगलाई जोड दिइएको छ।

बढ्दो बजार र औद्योगिकीकरणसँगै सिन्च्याङका जनतालाई आर्थिक गतिविधिमा सामेल हुन सक्षम बनाउन प्राविधिक, व्यावसायिक र भाषा तालिमहरू दिइएको छ। विडम्बना, केही पश्चिमा सञ्चारमाध्यमले तिनै तालिम केन्द्रलाई ‘खुला कारागार’ को नामाकरण गरी मानव अधिकार उल्लंघनको प्रश्न उठाइरहेका छन्। त्यस्तै सिन्च्याङका आदिबासीलाई अल्पमतमा पार्न जनसाङ्ख्यिक नियन्त्रण गरेको, नागरिक तहमा निगरानी कडा गरिएको जस्ता प्रचार गरेर चीनमाथि मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ।

सिन्च्याङको जनसाङ्ख्यिक तथ्याङ्कको विश्लेषण गर्दा आदिवासी उइगुर समुदायको जन्म दर पछिल्लो दशक अझ बढेको देखिन्छ। आर्थिक गतिविधिसँगै सिन्च्याङमा चीनका अन्य जातिका जनताको पनि आवतजावत र सम्बन्ध बढ्दै गएको छ। आर्थिक गतिविधिको बिस्तारसँगै फैलिँदो स्वाभाविक अन्तरसम्बन्धलाई पश्चिमा सञ्चारमाध्यमले ‘हाङ जातिको प्रभुत्ववाद’ आरोप लगाइरहेका छन्।  

मानव अधिकार र प्रजातन्त्रबारे चीनमाथि पश्चिमा सञ्चारमाध्यमले लगाएका आरोपको खण्डनमा चीनका विभिन्न विश्वविद्यालयअन्तर्गतका अनुसन्धान प्रतिष्ठानले अमेरिकी प्रजातन्त्रका कमी, कमजोरी र मानव अधिकारको खस्कँदो अवस्थामाथि प्रश्न उठाइरहेका छन्।

उनीहरूले अमेरिकामा बढ्दो रङ्गभेद, जातीय घृणामा आधारित हिंसा, साना हतियारको प्रयोगबाट हुने हिंसा, गहिरिँदो असमानता, बेरोजगारी र महामारी नियन्त्रणमा असफलताका विषय उठाएर अमेरिकी आरोपको उत्तर दिइरहेका छन्।

फरक–फरक राजनीतिक व्यवस्था अंगीकार गरेका दुई शक्तिशाली देशबीच यस्ता आरोप–प्रत्यारोप स्वाभाविक र धेरै अघिदेखि कुनै न कुनैरूपमा चल्दै आएको छ। तर यस्ता राजनीतिक मतान्तरको प्रतिछायाँ ओलम्पिकजस्तो मानव सभ्यताको गौरवमाथि पार्नु संसारलाई अझ विभाजनको खाडलमा धकेल्नु हुनेछ।

केही युरोपेली देशका खेल अधिकारीहरूले बेइजिङ ओलम्पिकमा खेलाडीहरूको स्वास्थ्य सुरक्षा, पिसिआरको प्रमाणिकता, खेलाडीहरूको गोपनीयताका मुद्दा उठाएर चीनप्रति उनीहरूको पुरानो मान्यतालाई अभिव्यक्ति दिएका छन्। ‘ओलम्पिकमा सहभागी बन्ने खेलाडीका मोबाइलमा स्वास्थ्य एप राख्ने नाममा चीनले ती खेलाडीको गुप्तचरी गर्ने र कुनैबेला उनले चीनको विरोध गरे त्यही गुप्तचरी सूचना प्रयोग गर्न सक्ने’ जस्ता बेतुकका प्रचारबाजी गरेर पनि बेइजिङ ओलम्पिकको बदनाम गर्ने र चीनलाई ‘एसियाको बिरामी देश’ का रूपमा हेर्ने मनोवृत्ति त्याग्न सकेका छैनन्।

संसार ‘शीतयुद्ध’ को छनक दिने गरी विभाजित विश्व परिस्थितिमा ओलम्पिकलाई लिएर दुई विपरीत खेमाबीचको ‘शीतकालीन’ लडाइँ किमार्थ अस्वाभाविक नभएपछि बेइजिङ शीतकालीन ओलम्पिकको सफलतापछि अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्ने चीनको विश्वसनीयता र छविमा भने विवाद हुन सक्दैन।

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने संसारकै पहिलो सहर बन्दैछ। कोभिड महामारीको व्यवस्थित नियन्त्रण, निरपेक्ष गरिबी अन्त्य, मध्यम ढङ्गले समृद्ध समाज निर्माणसँगै बितेका तीन वर्षमा चीनले हासिल गरेका उल्लेखनीय उपलब्धिमा शीतकालीन ओलम्पिक पनि समावेश हुनेछ। छिमेकमा हुन लागेको विश्व खेल महोत्सवको सफलताको शुभकामना।

nlawoju@gmail.com

प्रकाशित: २१ माघ २०७८ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App