१३ असार २०७९ सोमबार
विचार

अमेरिकी निशानाः रूस र चीन

संसार के शीतयुद्ध २.० मा प्रवेश गरेको हो? अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्ने जो कोहीका लागि यो प्रश्न हिजोआज छलफल र बहसको विषय बनेको छ। दोस्रो विश्वयुद्धपछि संसारको नेतृत्वका लागि तत्कालीन सोभियत सङ्घ र अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनबीच भएको प्रतिस्पर्धा नै सारमा शीतयुद्धको पहिलो संस्करण थियो।

सन् १९९० को दशकमा सोभियत सङ्घ विघटनपछि शीतयुद्ध समाप्त भयो। संसारमा अमेरिकाको एकधु्रवीय नेतृत्व स्थापित भयो। शीतयुद्धमा सोभियत सङ्घलाई पराजित गर्न चीनलाई ‘आफ्नो पक्षमा ल्याएको’ अमेरिकाले झण्डै पाँच दशकपछि आफ्नो प्रतिस्पर्धा उही चीनसँग हुने कल्पना गरेको थिएन शायद। तर एक्काइसौँ शताब्दीको दोस्रो दशकसम्म आइपुग्दा आज चीन संसारमा अमेरिकी एकधु्रवीय प्रभुत्वका लागि प्रमुख चुनौती ठानिएको छ।

त्यही कारण सन् १९७० को दशकमा तत्कालीन निक्सन सरकारले माओ त्से तुङ नेतृत्वको चीनसँग जोडेको कूटनीतिक सम्बन्धलाई केही अमेरिकी विश्लेषकले ‘गलत हिसाबकिताब’ को संज्ञा दिन थालेका छन्। सञ्जय बारु र राहुल शर्माद्वारा सम्पादित ‘हेनरी किसिङ्जर एन्ड द राइज अफ चाइना, अ न्यु कोल्ड वार’ पुस्तकका अधिकांश लेखकले किसिङ्जरको चीन कूटनीतिप्रति आलोचनात्मक मत राखेका छन्।

उनीहरूको बुझाइमा ‘संसारबाट अलगाव’ को पीडाले छट्पटाइरहेको मूलभूमि चीनलाई निक्सन र किसिङ्जरले संसारको ढोकामात्र खोलेनन्, बरु प्राविधिक र व्यापार सम्बन्धको विस्तारले चीन ‘संसारको कारखाना’ हुँदै आज ‘संसारको प्रमुख आर्थिक इन्जिन’ बनेको छ, जो अहिले आएर अमेरिकाकै निम्ति चुनौती बनेको छ।

‘कम्युनिस्ट’ चीनसँगको सम्बन्धलाई बलियो बनाउन अमेरिकी राजनीतिक नेतृत्वलाई खुराक दिइरहने अमेरिकी व्यापारीहरू त्यत्तिबेला झस्के जब सन् २००८ को वित्तीय सङ्कटले पश्चिमा देशहरू थला परेका बेला चीनका आर्थिक सूचकाङ्कहरू उत्साहजनकरूपमा उक्लिरहेका थिए।

त्यो आर्थिक सूचकाङ्कहरूभित्र निहीत ‘खतरा’ बुझेर चीनलाई ‘कस्न’ दबाब दिन पनि अमेरिकी व्यापारीहरू नै अग्रसर भए। ओबामाको दोस्रो कार्यकालबाट सुरु भएको ‘चीनलाई कस्ने’ अमेरिकी नीतिलाई ट्रम्प सरकारले विस्तार गर्‍यो।

चीनसँग ट्रम्प सरकारको सम्बन्ध शीतयुद्धकालीन सोभियत सङ्घ र अमेरिकाबीचको सम्बन्धको झल्को दिनेखालको थियो। चीनसँगको व्यापार युद्ध, चिनियाँ अधिकारीहरूमाथि नाकाबन्दी, चीनको हुवावे कम्पनीका अधिकारीको गिरफ्तारी, चीनको बेल्ट एन्ड रोड परियोजनाको प्रतिकारमा विभिन्न रणनीतिक र आर्थिक मोर्चाहरूको स्थापना यसका केही दृष्टान्त हुन्।

अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्धकालीन प्रतिस्पर्धालाई उतिबेला पनि वैचारिक आवरण दिइएको हुन्थ्यो। अमेरिका प्रजातन्त्र र मानव अधिकारको वैचारिकीमा आफ्नो राजनीतिक, सैनिक र आर्थिक कदम चाल्थ्यो भने सोभियत सङ्घले समाजवादको आवरणमा उस्तै गतिविधि गथ्र्यो। त्यही वैचारिकीलाई आधार बनाएर उनीहरूले आफूअनुकूलका मोर्चा बनाउँथे।

प्रजातन्त्रकै नाममा अमेरिकी नेतृत्वमा नाटो गठबन्धन बनाइएको थियो भने समाजवादका नाममा सोभियत सङ्घ नेतृत्वको वार्सा गठबन्धन बनेको थियो। बाइडेन सरकार बनेयता अमेरिका पनि अहिले झण्डै उस्तै अभ्यास गरिरहेको छ। बाइडेन सरकार फेरि पनि प्रजातन्त्रको नाममा संसारमा अलग मोर्चाबन्दीको प्रयास गरिरहेको छ जसमा चीन, रुसलगायत अमेरिकाप्रति विमति राख्ने देशहरूलाई समावेश गरिएको छैन।

चीनले औपचारिकरूपमा आजको अन्तर्राष्ट्रिय अवस्थालाई ‘नयाँ शीतयुद्ध’ भनेको छैन। चिनियाँ सञ्चारमाध्यमहरू सकभर ‘नयाँ शीतयुद्ध’ शब्दावलीबाट पन्छिन खोज्छन्। बरु उनीहरू अमेरिकाले संसारको परिवर्तित अवस्था स्वीकार्नुपर्ने र एकधु्रवीय संसारको मनोविज्ञानबाट मुक्त हुनुपर्ने मत राख्दैछन्। पश्चिमा बौद्धिक र सञ्चारमाध्यमहरूले भने यतिबेला ‘शीतयुद्ध २.०’ को विषय स्वाद लिएर चर्चा गरिरहेका देख्छौँ।

‘शीतयुद्ध २.०’ यदि सत्य हो भने यतिबेलाको ‘मिसाइल क्राइसिस’ को छनक भने युक्रेनमा देखिँंदैछ। अमेरिकी नेतृत्वको नाटो गठबन्धन कृष्णसागर भन्दा पूर्वतिर फैलिन खोजेपछि त्यसको प्रतिरोधको तयारी रुसले गरिरहेको छ। रुसले क्रिमिया फिर्ता लिए पनि रुष्ट युक्रेनको जेलेन्स्की सरकार ‘सुरक्षाका लागि’ भन्दै नाटोमा सरिक बन्न खोज्दैछ। अर्को शब्दमा भन्दा नाटो युक्रेन र जर्जिया हुँदै आफ्नो हात पूर्वतिर पनि फैलाउन खोजिरहेको छ। त्यही सम्भावना देखेर रुसले युक्रेनले भोगचलन गर्दै आएको क्रिमिया आफ्नै नियन्त्रणमा फिर्ता लियो।

रुस नाटो गठबन्धन कुनै पनि हालतमा पूर्वमा विस्तार भएको हेर्न चाहँदैन। तर पछिल्लो समय चीन र रुसबीचको निकटतालाई लिएर असहज मानेको अमेरिका युक्रेनलगायत सोभियत सङ्घका पूर्व गणराज्यमा आफ्नो सैनिक उपस्थिति बलियो बनाउन खोजिरहेको छ।

त्यसका निम्ति पश्चिमा गठबन्धनले रुसमा पुटिनको लगातारको शासनपछि ‘पुरानो विस्तारवादी’ महत्वकांक्षा जागृत भएको’ प्रचार गरिरहेको छ। युक्रेनसँगको सीमावर्ती रुसी भूमिमा रुसले तैनाथ गरेका सेनालाई पश्चिमाहरूले युक्रेनमाथि हमलाको तयारीको अर्थ लगाएका छन्।

रुसी अधिकारीहरूले रुसी सार्वभौमिकता र भूअखण्डता रक्षाका लागि रुस आफ्नो भूमिमा सेना तैनाथ गर्न स्वतन्त्र भएको प्रष्टीकरण दिइरहेका छन्। जेनेभा, ब्रसेल्स र भियनामा जनवरीको दोस्रो साता भएका वार्ताहरूमा रुसले पश्चिमा देशहरूसँग ‘युक्रेनलाई नाटोको सदस्य नबनाउन र नाटो हालको अवस्थाबाट पूर्व नआउन’ माग गरेको छ।

पश्चिमा देशबाट त्यसको प्रस्ट जवाफ नआउँदासम्म रुसले युक्रेनसँगको सीमावर्ती रुसी भूमिमा तैनाथ सेना फिर्ता गर्नेबारे कुनै पनि वार्ता नगर्ने घोषणा गरिसकेको छ। तर त्यही बहानामा अमेरिकाले भने युक्रेनमाथि सैनिक र आर्थिक लगानी बढाइरहेको छ। उसले रुसको मागलाई टेरपुछार लगाइरहेको छैन। बलिरहेको आगोमा घ्यु थप्न जनवरी १९ मा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिनकन युक्रेन पुगे र जेलेन्स्की सरकारलाई थप सहायताको वाचा गरे।

अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धन चीनलाई ‘कस्ने’ धुनमा आफ्नो युरोपेली गठबन्धन सदस्यहरूको दैलोमै रहेको रुसलाई पनि नियन्त्रण गर्न खोजिरहेको छ। उसले चीनलाई कस्ने धुनमा युरोपबाट नजिक रहेको पुरानो वैरी रुसलाई फेरि पनि शक्तिशाली बनाउन चाहेको छैन।

पछिल्लो समय चीन र रुसको निकटतालाई विचार गरेर रुसलाई पनि द्वन्द्वमा फसाएर अहिले नै कमजोर बनाइहाल्ने रणनीतिमा अमेरिका देखिन्छ। युरोपेली देशहरूमध्ये बेलायत युक्रेनलाई हतियार दिएर यो द्वन्द्व थप उछाल्ने पक्षमा उभिएको छ। तर जर्मनी र फ्रान्सलगायत केही युरोपेली देशहरू भने रुससँग द्वन्द्व चर्काइहाल्ने मनस्थितिमा देखिन्नन्। रुसबाट युरोपमा प्राकृतिक ग्यास लाने नोर्ड स्ट्रिम लाइन परियोजना बिथोलिने भयले पनि ती देशहरू अहिलेको अवस्थामा फुकी फुकी पाइला चालिरहेका छन्।

रुस–अमेरिकाबीचको युक्रेनमा पछिल्लो तनावबारे सर्वियाका पत्रकार निकोला मिकोविच सिटिजिएनमा लेख्छन्, “अमेरिका र रुसी महासङ्घबीचको सम्बन्धमा थप तनाव बढ्ने अपेक्षा गरिएको छ। त्यसको अर्थ दुई देशबीच लडाइँ सुरु भइहाल्छ भन्ने होइन। न त यसको अर्थ रुसले युक्रेनमाथि हमला गरिहाल्छ भन्ने हो। महिनौँदेखि पश्चिमा देशहरूले यस्तै हल्ला गर्दै आएका छन्।

बरु मध्य एसियादेखि बाल्कन देशहरूसम्म रुस र अमेरिकाबीच स्वार्थ बाझ्न सक्छ। पश्चिमा देश र तत्कालीन सोभियत सङ्घबीच भएको शीतयुद्धमा छद्म लडाइँ युद्धको नियमका हिस्सा थियो। अहिले पनि नयाँ शीतयुद्धको अवस्था बन्दैछ। यस्तो परिस्थितिमा अरू छद्म युद्ध हुन सक्छ।”

कजाखस्तानमा जनवरी महिनामा भएको रङ्गीन क्रान्तिको प्रयासलाई मिचोविचले भनेको ‘छद्म युद्ध’ को कोणबाट पनि हेर्न सकिन्छ। इन्धनको मूल्य वृद्धिविरुद्ध कजाखस्तानमा सुरु भएको आन्दोलनले राजनीतिक रूप लिन थालेपछि त्यहाँको सरकारले सेना परिचालन गर्नुपरेको थियो। सम्भावित सत्ताविप्लव रोक्न कजाख सरकारले रुससमक्ष गुहार मागेको थियो। अझै पनि त्यो आन्दोलनको राप सेलाइसकेको छैन।

‘शीतयुद्ध २.०’ मा चीन र रुसलाई कमजोर बनाउन पछिल्लो समय पूर्वी सोभियत गणराज्य, पूर्वी एसिया र दक्षिण एसियामा विभिन्न छद्म युद्धहरू हुने सम्भावना नकार्न सकिन्न। ल्याटिन अमेरिका, पूर्वी युरोप र मध्यपूर्वका विभिन्न देशले भोगेको रङ्गीन क्रान्तिका सम्भावना अब पूर्वी युरोप र एसियाली देशहरूमा हुने सम्भावना नकार्न सकिन्न। पश्चिमा गठबन्धनको निम्ति यो कुनै नयाँ प्रयोग भने होइन, बरु उनीहरूले ती सबै गर्दै आएकै काम हो।

शीतयुद्ध इतिहासको वास्तविकता हो। शीतयुद्धको कारण संसारले कति र कस्ता क्षति भोग्नुप¥यो भन्ने कुरा इतिहासका पानामा छन्। इतिहास पढ्नु अनि पाठ नसिक्नु नपढ्नु बराबर हो। शीतयुद्धको तीतो पाठ पढेर फेरि पनि संसारलाई शीतयुद्धतिर धकेल्नु बोधोपना हो। बहुधु्रवीयता आजको संसारको यथार्थ हो।

यो चित्र मेट्न खोज्नु संसारलाई अर्को द्वन्द्वमा धकेल्नु हो। त्यसकारण अमेरिका र पश्चिमा गठबन्धनले बहुधु्रवीय विश्वलाई स्वीकार्नुपर्छ। शीतयुद्धका नयाँ सिलसिला जोडेर मानव र पृथ्वीमाथि तेर्सिएका चुनौतीलाई फेरि पनि बल्झाउने र मानिसको दुःख अझ बढाउने अपराध कसैले गर्नु ठीक होइन। शीतयुद्धलाई इतिहासकै पानामा पढौँ, नयाँ र उपयोगी प्रविधिका नवीन संस्करण जस्तै शीतयुद्धका नयाँ संस्करणहरू निकाल्ने गल्ती नगरौँ।

nlawoju@gmail.com

प्रकाशित: १२ माघ २०७८ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App