२ भाद्र २०७९ बिहीबार
विचार

खराब र उदाहरणीय नेता

नेतृत्व, मानव प्राणीका लागि मात्र आवश्यक शक्ति होइन। सबैजसो प्राणीको प्राकृतिक आवश्यकता हो। कमिला वा माहुरी, हात्तीको बथान वा बाँदरको हुल, बसाइँ गइरहेका चरा, यी सबैमा नायक हुन्छ। नायकत्वको अनुशासनमा यी प्राणीको दैनिकी चलेको हुन्छ।

संसारमा जुन मुलुकले असल नेता पायो, ती मुलुक दरिद्रताबाट उठेर विकसित र समृद्ध बने। जुन मुलुकले खराब नेता बेहोर्‍यो, नेताकै कारण तिनले महादुर्दशा भोग्नुपर्‍यो। उदाहरण नेपाल स्वयं छ। देश ‘अधिराज्य’ बाट ‘अर्धराज्य’ को अवस्थामा झरिसक्यो। हामीले जतिसुकै ‘परिवर्तन’, ‘गणतन्त्र नेपाल’, ‘धर्म निरपेक्ष मुलुक’ भन्ने नारा घोके पनि विदेशीले ‘एशियामा अर्को अफगानिस्तान’ का रूपमा हामीलाई हेरिरहेका छन्। जसले हरेक शासकीय नेतृत्वमा असफलता मात्र देखाइरहेको छ। दक्षिण एशियामै अवस्थित अफगानिस्तान अतिवादी खराब नेतृत्वको कारणले दुर्दशामा फसेको छ।

यही समकालीन अवस्थामा यो विश्वले उदाहरणीय नेताहरू पनि जन्मायो। १९६५ देखि १९९० सम्म प्रधानमन्त्री भएका, आधुनिक सिंगापुरका अधिष्ठाता, पेशाले वकिल चिनिया मूलका लि क्वान यु (१९२३–२०१५) ले औद्योगिकीकरण, पर्यटन र निर्यात व्यापारलाई व्यापकता दिएर बेरोजगारी हटाउनुका साथै सिंगापुरलाई अस्तव्यस्त र जर्जर अवस्थाबाट कायापलट गराए।

राजनीतिबाट आफूले अवकाश लिने तिथि पहिले नै घोषणा गरेका थिए, सोही मितिमा सत्ताबाट निवृत्त भए। उनको राजनीतिक सिद्धान्त र मान्यता यही थियो– जुन काम र विचारले सिंगापुर र यसका जनतालाई हित हुन्छ, त्यो मेरो सिद्धान्त हो। जुन कुराले सिंगापुर र यसका जनतालाई हित हुँदैन, त्यो मेरो सिद्धान्त र मान्यता कदापि हुँदैन...।

भ्रष्टाचार र कुशासनले ग्रसित सिंगापुरमा भ्रष्ट गतिविधि अनुसन्धान ब्युरो गठन गरे। उक्त ब्युरो यति शक्तिशाली थियो कि आफ्नै क्याबिनेटको राष्ट्रिय विकास मन्त्री तेह चेयाङ् वानले भ्रष्टाचार गरेको आरोपमा उनको मुद्दा सोही ब्युरोको जिम्मा लगाइयो। यही मुद्दाले गर्दा ती मन्त्रीले आत्महत्या गरे।

विश्व महाशक्तिको स्थान पाउन लम्किरहेको आधुनिक चीनको विकासका प्रवर्तक लोकप्रिय नेता देङ सियाओ पिङ (१९०४–१९९७) नै हुन्। सत्तामा उनको पुनरोदयका बेला उनको भनाइ “हाम्रो सरोकार बिरालोले मुसा मार्नुसँग छ, बिरालो कालो होस् कि सेतो, त्यसले मुसा मार्नैपर्छ” चिनिया जनताका साझा आकांक्षाको प्रतीकमात्र भएन, विश्व चर्चित भयो।

सन् १९७६ मा माओको निधन भएपछि १९७७ मा देङले चीनको विकास र सशक्तीकरणका लागि सर्वप्रथम ‘चार आधुनिकीकरण’ (कृषि, उद्योग, विज्ञान र रक्षा विकास) को अवधारणा प्रस्तुत गरे। वास्तवमा यिनै चार क्षेत्रको जगमा चीनले आज असाधारण सफलता हासिल गरेको हो। वर्तमान चीनको उपलब्धि र समृद्धि देङकै पौरख हो।

भारतका महात्मा गान्धी (१८६९–१९४८) ले सत्यको राजनीतिमा प्रतिबद्ध भएर भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र गराए। गान्धीले गरेको अहिंसामा विश्वास, उपनिवेश विरोधी आन्दोलनमा मात्रै लागु भएन, बरु उपनिवेशपछि भारतमा बस्ने विभिन्न जातीय र धार्मिक समुदायले उनको यो विश्वासलाई प्रेरणाका रूपमा लिए।

बेलायतमा क्लिमेन्ट रिचर्ड एट्ली (१८८३–१९६७) ब्रिटिस लेबर पार्टीका नेता (१९३५–५५) तथा बेलायतका प्रधानमन्त्री (१९४५–५१) थिए। उनले बेलयातमा निःशुल्क स्वास्थ्योपचार व्यवस्था गरेर कल्याणकारी राज्य बनाए। उनलाई बेलायतका सर्वोत्तम र सक्षम लोकप्रिय प्रधानमन्त्री मानिन्छ। छिमेकी भारतले उनैको पालामा स्वतन्त्रता (१९४७) पायो।

दोस्रो विश्वयुद्धअघिसम्म अमेरिकाको विश्वव्यापी नेतृत्वकारी नीति र भूमिका नै थिएन। एट्लीले नै अमेरिकालाई उसको विश्व भूमिकाका लागि योगदान पुर्‍याए। युरोपमा अमेरिकाको भूमिका तथा अमेरिकी धनमा पश्चिम युरोपको पुनःनिर्माणको ‘मार्सल प्लान’ मा उनको चलाखीदेखि कोरियाली युद्धमा संलग्नतासम्म ठूलठूला निर्णय लिनमा एट्ली आँटिला, विवेकशील र दूरदर्शी राजनेता थिए। एट्लीको जीवनी रोचक र हाम्रा नेताहरूले पढ्नुपर्ने खालको छ।

अमेरिकाको केन्टुकी राज्यमा खेतको एक कोठे काठको झुपडीमा जन्मेका १६ औँ अमेरिकी राष्ट्रपति अब्राहम लिंकन (१८०९–१८६५) ले अमेरिकी गृहयुद्ध, संवैधानिक र राजनीतिक संकटका बेला अमेरिकालाई नेतृत्व दिएका थिए। उनले अमेरिकाको संघात्मक प्रणालीलाई सुदृढ बनाए, दासत्व उन्मूलन गरे र अर्थतन्त्रको आधुनिकीकरण गरे। यिनैका पालामा अमेरिकी संविधानको तेह्रौं संशोधनद्वारा दास प्रथाको उन्मूलन भयो। विद्वान् र सर्वसाधारण सबै अमेरिकी उनलाई महान् राष्ट्रपतिमध्येका एक भनी श्रद्धापूर्वक मान्छन्।

इरानका अपदस्थ ‘सम्राट’ मोहम्मद रेजा पह्लवी (१९१९–१९८०) १९४१ देखि इरानको ‘शाह’ (सम्राट) का रूपमा गद्दीनसीन थिए। यिनलाई १९६७ देखि ‘शाहन्शाह’ (राजाको पनि राजा) अर्थात ‘महाराजाधिराज’ जस्तै भन्न थालियो। ‘आर्यमेहर’ (आर्य–दीपक) पनि भनिन्थ्यो। ‘महान् पर्सियन सभ्यता’ लाई आधुनिकीकरण गर्न भनी यिनले औद्योगिक, सैन्य र आर्थिक–सामाजिक विकासमा जोड दिए जसलाई ‘स्वेत क्रान्ति’ भनिन्थ्यो।

यिनको पालामा महिला स्वतन्त्रता र मताधिकार पनि दिइयो। मुलुकको आर्थिक वृद्धि ४२३ गुणासम्मले बढेको थियो। निष्पक्ष रूपमा भन्नुपर्दा ‘शाह’ कालीन इरानले आर्थिक रूपमा असाधारण प्रगति हासिल गरेको थियो।

राष्ट्रिय एकता भएको मुलुकमा राष्ट्रभक्ति र आत्मशक्ति हुनाले गरिबै भए पनि उसको आवाजमा दम हुन्छ। वास्तवमा मुलुक कमजोर भएर गुलाम हुने होइन, बरू गुलाम भएपछि कमजोर हुन्छ। कुनै बेलाको महाशक्ति बेलायती साम्राज्यलाई हरमोर्चामा हराएर टिकाएको यो मुलुक सुयोग्य र सक्षम नेतृत्वकै कारणले स्थापित भएको हो।

आज विश्वजगत्मा यही मुलुक किन शक्तिहीन, निरीह र भूमिकाहीन भइरहेको छ ? ‘गणतन्त्र’, ‘नयाँ नेपाल’ का नेताहरूले अन्तर्राष्ट्रिय जगत्मा आफ्ना न्यायिक हक र मान्यताका कुरा राख्न सक्ने सामथ्र्य पनि गुमाए, किन ? यस्तै नेतृत्वको फन्दामा परेको राजनीतिले आफ्ना पुर्खालाई निन्दा गर्ने हक हुँदैन।

आज नेपालको आमराजनीतिक प्रवृत्ति चेकोस्लोभाकियाका राष्ट्रपति तथा नाटककार वास्लाभ हाभेलले १९९० को इश्वी नयाँ वर्षको उपलक्ष्यमा दिएको, युरोप हल्लाएको र धेरैवटा भाषामा अनुवाद गरिएको भाषणमा वर्णित अवस्थासँग हुबहु मिल्छ, ....हामी दोहोरो जीवन बिताइरहेका छौँ, बाहिर एकथोक भित्र अर्कै। 

सबभन्दा खराब कुरा के छ भने हामी एउटा प्रदूषित नैतिक वातावरणमा बाँचेका छौँ। नैतिक रूपले हामी बिमारी छौँ किनभने हामीले सोचे भन्दा फरक कुरा गर्ने बानी बसालेका छौँ। केही चिजमा अविश्वास गर्न सिकेका छौँ भने एकले अर्कालाई अविश्वास गर्न सिकेका छौँ। हामीले त आफ्नो मात्र चिन्ता गर्न सिकेका छौँ।

जनता यो प्रवृत्तिबाट मुक्ति चाहन्छन्। वास्तवमा नेपालले आगो लगाउने नेता होइन, आगो निभाउने नेता, नजरको नेता होइन, अधरको नेता चाहेको छ। तर नेपालमा एकपटक प्रधानमन्त्री हुन पाएको नेताले अकुत सम्पत्ति सोहोर्नु त छँदैछ, ‘भूतपूर्व’ को हैसियत देखाएर आफ्नो सुविधा र ऐयासी पारिवारिक जीवनका लागि राज्यमाथि पूर्ण रूपले आश्रित हुन्छन्।

अर्कातिर अमेरिकी पूर्वराष्ट्रपति ओबामा जस्ता शक्ति सम्पन्न मुलुकको राष्ट्र वा सरकार प्रमुख भइसकेका नेताहरू पनि यो संसारमा छन् जो सेवानिवृत्त भएपछि जीवन निर्वाहका लागि साधारण व्यावसायिक काममा लाग्छन्।

नेपालमा बिपी कोइराला नेपाली जनताको भावना र चाहना बुझेको त्यस्तो राजनेता हुनुहुन्थ्यो तर अहिलेको परिस्थितिमा त्यस्तो नेता जन्मिन गाह्रै देखिन्छ। तर खोजी कस्तो भयो भने नेल्सन मन्डेलाको निधन हुँदा ‘हामीकहाँ पनि नेल्सन मन्डेला जन्मिनुपर्‍यो’ भनी धूप हाल्ने भए। धूप हाल्दैमा आदर्शवादी नेता जन्मिने होइन।

भारतको नयाँ दिल्लीमा अरविन्द केजरीवालले चुनाव जित्दा यहाँ पनि कोही केजरीवाल भइदिए हुन्थ्यो भन्ने जपना सुनियो। जनताले कुनै मन्डेला, केजरीवालको फेसन होइन, बिपी जस्तो आदर्श नेता जन्मिउन् र नेपाललाई वर्तमानका सारा विकृति र विसंगतिबाट मुुक्ति दिलाउन् भन्ने चाहना राखेका हुन्। 

तर वर्तमान संकट, अस्तव्यस्तता, अल्मल र अन्योलमाथि, जमानाले किनार लगाइसकेको शेरबहादुर देउवा जस्तो अलोकप्रिय पात्रलाई पार्टी र सरकारमा पटकपटक बिराजमान गराउने र छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो बनाइदिन नै मुलुकमा यत्रो उथलपुथल र आमूल परिवर्तन गरिएको थियो त ?  

प्रकाशित: ६ माघ २०७८ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App