७ वैशाख २०८१ शुक्रबार
विचार

स्वस्थ रहन परम्परागत ज्ञान

माघ १ गते काठमाडौँमा चाकु र घिउ नखाने घर नै हुँदैनन्। जुन धर्म मान्ने भए पनि यो सबै नेपालीको संस्कृतिको अंग बनेको छ।

यस्तो स्वस्थ भोजन छाडेर र अस्वस्थकर जीवनशैली अपनाएर नेपालीको स्वास्थ्य खराब बन्दैछ। हरेक वर्ष चाडपर्व आउन लागेको बेलामा ‘मीठो खाने’ भनेर अनेक परिकार बनाइन्छ, सुन्दर हुन अनेक नचाहिने सौन्दर्यका सामग्रीहरू, नचाहिने लुगा किनिन्छन् तर खानपानमा र स्वास्थ्यमा चाहिँ अनेक समस्या भएको वास्ता नै गरिन्न।

चाडपर्वका बेला स्वस्थकर खानपिनमा त झन बढी ध्यान दिनुपर्छ ता कि चाडपर्व सकिएपछि पनि स्वस्थ भएर काम गर्न पाइयोस् र सामान्य बेलामा पनि ध्यान दिइ नै रहनुपर्छ ताकि अस्पताल र औषधिमा पैसा खर्च नहोस्, मानसिक तनाव नहोस्।

नेपालमा सन्तान स्वस्थ रहोस् भनेर भ्रुण अवस्थादेखि नै स्वस्थ रहन, शारीरिक, मानसिक वृद्धि र विकासको अनेक धार्मिक संस्कार गरिन्छ। त्यसैले गर्भवतीलाई विशेष भोजनको व्यवस्था गरिन्छ। अनेक जात समुदायमा गर्भको अवस्थालाई उल्लासपूर्वक मनाउने दिन तोकिन्छ।

कुनै समुदायमा दही चिउरा ख्वाउने, कतै मासु ख्वाउने चलन हुन्छ। यसले आमा र भु्रणको स्वास्थ्य राम्रो राख्छ। अपसोस्, आजकाल केक काटेर “बेबी सावर” गरेर मनाइन्छ। यसले आमा र शिशुको स्वास्थ्य नराम्रो पार्छ भन्ने बुझेर पनि बुझ पचाइन्छ।

हाम्रो शरीरको सम्पूर्ण भागको तुलनामा मस्तिष्कको तौल जम्मा २ प्रतिशत हुन्छ तर मस्तिष्क सञ्चालन हुन भने २० प्रतिशत ऊर्जा आवश्यक पर्छ। शारीरिक काम नगर्दा पनि मुटु, मिर्गौला, फोक्सो, कलेजो, मस्तिष्कले काम गरी नै रहेका हुन्छन्। यसका लागि चाहिने ऊर्जा यदि स्वस्थकर भोजनबाट प्राप्ति गरे मन र शरीर स्वस्थ रहन्छ। अस्वस्थ खाना खाए दुवै अस्वस्थ हुन्छ।

नेपालमा भएका स्वस्थकर खानेकुराबारे विभिन्न अस्पतालमा भनिन्छ कि भनिँदैन भनेर काठमाडौँदेखि अछामसम्मका १० जिल्लाका केही अस्पताल, मेडिकल कलेज, जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरूमा पुगेर मैले साथीहरूसँग मिलेर अध्ययन गरेँ। ती स्वास्थ्य संस्थामा गर्भवतीको जाँच गर्दा आइरन चक्की, क्याल्सियम, फोलिक एसिड दिइने रहेछ।

तर ती तत्व सजिलै र सस्तो गरी पाइने आफ्ना घर वरिपरि भएका खानामा कस्ता पोषक तत्व छन्, स्थानीय खानाबाट स्वस्थकर खाना कसरी बनाउनुपर्छ भन्नेबारे कोही बोल्दैनन्। जनस्वास्थ्य विज्ञ भन्छन्– महिलाहरूलाई केबल चक्कीहरूको भरमा स्वस्थ राख्ने होइन, सागपात, गेडागुडीलगायत अन्नहरू खान प्रेरणा दिनुपर्छ। दुःखको कुरा “स्थानीय खानाहरूबाट नै लौहतत्व, क्याल्सियम आदि पर्याप्त पाइन्छ” भन्ने जानकारी कतै दिइन्न। स्वास्थ्य मन्त्रालय यो विषयमा मौन छ।

त्यसैले अहिले युवती र महिलाहरू परम्परागत स्वस्थ खाना छाडेर पत्रुखाना (जंकफुड) खाँदा नसर्ने रोगका सिकार बनेका कुरा तथ्याङ्क भन्छ। उनीहरू चाडपर्वमा त झन बढी पत्रु खाना प्रयोग गर्न थालेका छन्। अनि अस्वस्थकर जीवनशैलीले पुरुष युवा महिलाका स्वास्थ्यमा झन चुनौती थपिदिन्छ। वयस्क युवतीहरूको ढाड र हाड दुख्ने युवा अवस्थामा नै मधुमेह हुने, उच्च रत्तचाप हुने र त्यसले गर्दा युवा अवस्थामा नै काम गर्न गाह्रो हुन्छ। ऊर्जा नै सबै बिस्तारै खतम हुन्छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा २ प्रतिशत नेपाली मोटा थिए। तर २०१६ मा यो २२ प्रतिशत भएछ। त्यसमा पनि महिला बढी मोटा छन्। मोटोपन भएपछि उच्च रक्तचाप, मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्मा हुने जस्ता समस्या हुन सक्छन्। डाक्टरले औषधि दिए पनि दुःख त आफैँलाई हुन्छ नि। युवावस्थामा मधुमेह छ भने मिर्गौला र आँखामा समस्या पर्न सक्छ।

अनि अस्पताल र औषधिका चक्कर सुरु हुन्छ। तर यस्तो नहोस् भनेर नै स्वस्थ जीवन शैली, भोजन र योगासन, हिँडाइमा प्रायः ध्यान दिइन्न। युवा अवस्थामा जति खाए पनि हुन्छ, पछि स्वास्थ्यको बारेमा ध्यान दिउँला भन्नु त घरको जग जस्तो बनाएर पनि हुन्छ, कोठाहरू राम्रो राम्रो बनाउँला भनेजस्तै हो। घरको जग नै सकियो भने कोठा नै रहन्न नि।

युवा अवस्थामा नै बजारका पाकेट बन्द तयारी खाना, होटलहरूमा खाने चिल्लो बढी राखिएका खाना प्रयोग गर्ने बानीले शरीरमा नून, चिनी, चिल्लो त बढी जान्छ, सूक्ष्म पौष्टिक तत्व, भिटामिन र रेसादार पदार्थ पाइन्न। अनि कुपोषण, मोटोपन, हृदय रोग जोर्नी रोग बढ्दै जान्छ। रेसादार पदार्थ नखाएर कब्जियत भएपछि गर्भवतीलाई हर्षा हुन्छ। अनि पाठेघर निस्कने समस्या हुन्छ। पोषण नपुगेपछि कुपोषणले गर्दा पाठेघर खस्ने संभावना हुन्छ। अनि रोगको माखे सांग्लोमा जाकिन्छ। यस्ता समस्यालाई केही साधारण जानकारी पाएर प्रयोग गरेर रोक्न सकिन्छ।

चाडपर्वको बेला पाहुना आउँदा पनि चाउचाउ, कुरमुरे, चिप्स, चिज बल, दालमोठ जस्ता पत्रुखाना दिइन्छ। यिनको खोलमा लेखिएको खानामा भन्दा नून ३७ देखि २ सय प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनबाट सिद्ध भएको छ।

नून खराब बोसो शरीरमा गएपछि बिस्तारै मिर्गाैला र मुटु कमजोर हुँदै जान्छ। यी दुवै कमजोरी भएपछि शरीरमा रोगको धरहरा बन्दा कसैले ध्यान दिँदैन। अहिलेको युवा अवस्थामा नै रोग थपिए जीवन कसरी धान्ने भन्ने विचार गर्ने कि? हामीले, रोटी, ढिँडो, हरियो तरकारी, अचार फलफूल आदि पौष्टिकताले भरिपूर्ण स्वस्थकर खाना छाडेर महँगो पत्रु खाने, मस्तिष्क र शरीर खराब हुने खाना खानुको के छ औचित्य ? बुझन गाह्रो छ।

यस्तो खानाले त गर्भवतीलाई रगत कमी हुन्छ। अनि अनेक रोगसँग लड्ने क्षमता कम हुन्छ। भ्रुण पनि रगतको कमी भएर जन्मिँदा नै सानो जन्मने, कमजोर हुन्छ। अनि यसरी कम तौलको बच्चा जन्मेपछि उनलाई बचाउन गाह्रो त हुन्छ नै, उनको मस्तिष्क पनि छिटो वृद्धि हुँदैन। अनि स्कुल जाँदा पनि नयाँ कुरा सिक्न गाह्रो हुन्छ।

रगत कमी नहोस् भनेर हाम्रो परम्पराअनुसार यदि फलामको भाँडामा पकाइएको खाना खानु स्वस्थकर नेपाली चलन हो। खाँदा यसरी अचार वा कागती प्रयोग गर्दा रक्तअल्पता कम हुन्छ। स्थानीयरूपमा पाइने कर्कलो, सिस्नो, फर्सीको मुन्टा जस्ता सागपातले पनि शरीरमा अनेक सूक्ष्म पोषण तत्व पुग्छ।

भान्छामा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनिया, जीरा, मरीच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि वस्तु प्रयोग गरेर पकाउनु नेपाली परम्परागत खानाका विशेषता हुन्। यी वस्तुमा रोगसँग लड्ने शक्ति छ भन्ने वैज्ञानिक अध्ययनहरूबाट पनि प्रमाणित भइसकेको छ। तर बेवास्ता गरेर चाउचाउको सुप खाइन्छ, जौ र चनालाई अपहेलना गरिन्छ।

चाडपर्वहरू पनि प्रायः पौष्टिक भोजनसँग नै जोडिएका छन्। भदौ महिनामा जनै पूर्णिमामा क्वाँटी खाइन्छ। वैशाखको अक्षय तृतियामा जौको सातु र सर्वत अनि असार पन्ध्रमा दही चिउरा खाइन्छ। त्यसैगरी साउने संक्रान्ती, साउन १५, ठूलो एकादशी, दसैँ, तिहार, छठ, लोसार, माघे संक्रान्ती, आदिमा खाइने भोजनमा समयअनुसार आवश्यक पर्ने पौष्टिक तत्व सहजै पाइन्छन्।

हामीले हाम्रा पुर्खाले समयअनुसार खाने यस्तो चलन किन चलाएका होलान् भनेर विचार गर्‍यौँ भन्ने अनुभव हुन्छ कि उनीहरूलाई परम्परागतरूपमा कुन बेला के फल्छ, त्यहीअनुसार खानुपर्छ भन्ने जानकारी थियो। हामीले त्यो ज्ञानलाई आत्मसात गरेर, आफ्नो सहजताअनुसार विभिन्न स्वस्थ परिकारहरू बनाउन सक्छौँ। यसले गर्दा हामीले थोरै स्वस्थकर खाना प्रयोग गर्न सक्छौँ।

उदाहरणका लागि जाडोको बेलामा कोदोको विभिन्न परिकार, जस्तो– पकौडा, सुप आदि अन्य परिकारसँग खाँदा शरीरमा पौष्टिक तत्व पर्याप्त पुग्छ। कोदो भनेर ढिँडो मात्र खानुपर्दैन। कृषि मन्त्रालयले नेपालमा पाइने खानाहरू र तिनमा पाइने पौष्टिक तत्व सबैको सूची प्रकाशित गरेको छ तर यो जानकारी समुदाय तहसम्म पुर्‍याउन नसकेकाले यसबारे आममानिसलाई जानकारी छैन।

पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो। अहिले त कोदोमा विभिन्न पिठो मिलाएर बनाइएको स्वस्थकर मःमः, रोटी, पिज्जा, चाउमिन पनि खाइन्छ। कोदो, फापर त मधुमेहका बिरामीका लागि स्वस्थकर भनेर पाँचतारे होटलमा पनि सुप बनाइन्छ। ठूला मलहरूमा पनि कोदो/फापर पाइन्छ।

महिला स्वास्थ्यका लागि हाम्रो संस्कृतिमा विभिन्न भोजन व्यवस्था गरिएको छ। यस्ता खानामा शरीरलाई चाहिने पर्याप्त सूक्ष्म पोषक तत्वहरू हुन्छन्। सुत्केरीमा खुवाइने ज्वानो झोलमा पनि क्याल्सियम हुन्छ। झोलले दूध पनि बढी आउँछ। जाडोमा क्वाँटीको झोल टुसा उमारेको चना आदिले शरीरमा ऊर्जा दिन्छ, सुत्केरीको दूध बढाउँछ। मेथीको लड्डु ख्वाउँदा शरीरमा रगत बढ्छ। यसरी यस्ता थुप्रै भोजन र स्वस्थ भोजनका परम्परागत ज्ञान बचाएर स्वस्थ रहन सिक्ने कि?

प्रकाशित: २९ पुस २०७८ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App