१५ चैत्र २०८० बिहीबार
विचार

यस्तो छ ज्योतिषशास्त्रको संकेत

जब कुनै ग्रह आफ्नो कक्षमा भ्रमण गर्दै सूर्यको अति निकट पुग्छ तब सूर्यको प्रकाशले त्यस ग्रहको अस्तित्व छोपिन्छ। सूर्यसँग युतिका कारण जब कुनै ग्रह पृथ्वीबाट नदेखिने हुन्छ तब त्यो ग्रहलाई अस्त भनिन्छ।

यसको विपरीत जब त्यो ग्रह पुनः देखिन थाल्छ तब त्यो ग्रहलाई उदय भएको भनिन्छ। चलनको पात्रोअनुसार पुस २१ गते बुधबार बेलुका पूर्वाषाढा नक्षत्रमा बक्री अवस्थामा रहेको शुक्रग्रह पश्चिम दिशामा अस्त भएर पुस २७ गते मंगलबार दिउँसो ३ बजेर ४६ मिनेटमा मूल नक्षत्रमा पूर्वमा उदय भएको देखिन्छ। दृक् गणनाअनुसारको पात्रोहरूमा भने पुस २० गते मंगलबार उत्तराषाढामा अस्त भएर पुस २८ गते बुधबार साँझ ७ बजेर ४६ मिनेटमा पूर्वाषाढामा पूर्व दिशामा शुक्र उदय भएको देखिन्छ।

पूर्वाषाढा दक्षिण मार्गको वीथि (उपमार्ग) तथा पंचम मण्डलमा पर्ने नक्षत्र हो। शुक्र पञ्चम मण्डलको उदयास्त फलमा हाम्रो देशलाई पनि कष्ट हुने संकेत गरिएको छ। दक्षिणमार्गको वीथिहरूमा ग्रहहरू अस्त हुँदा विश्व परिवेशमा विशेष अशुभ हुने मानिन्छ। अहिले तत्काल शुक्र अस्त छ। अब नजिकै बुध, शनि र गुरु पनि दक्षिणतर्फ नै पर्ने उपमार्गमा अस्त हुनेछन्।

छैटौं शताब्दीका ज्योतिष, गणितज्ञ तथा खगोलविद् वराहमिहिरले आफ्नो बृहत्संहितामा जनाएअनुसार शुक्रग्रहको नाग, गज, ऐरावत, वृष, जरद्गव, मृग, अज र दहन यी नौ वीथि तथा उत्तर, मध्य र दक्षिण प्रमुख ३ मार्ग एवं छः मण्डल हुन्छन्। अश्विनीदेखि क्रमशः गनेर ३–३ नक्षत्रहरूको एक वीथी हुन्छ।

नौ वीथीहरूमध्ये पहिलो तीनलाई उत्तरमार्ग, मध्यका तीन मध्यमार्ग र अन्तिम तीन दक्षिण मार्गको नामबाट जानिन्छ। संस्कृतमा वीथिको अर्थ गल्ली वा सडक हुन्छ। शुक्रको भ्रमण मार्गमा नक्षत्रानुसार भित्री मार्ग एवं पथहरूलाई वीथि भनेर बुझिन्छ।

मत्स्य पुराणमा यी वीथिहरू सूर्यको भनिएको छ त्यहाँ देवलको मतानुसार भनिएको छ। वायु पुराणमा पनि देवलको मतलाई अंगीकार गर्दै यी वीथिहरू सामान्यतः नक्षत्र चक्रको भित्री गल्लीहरू वा लेन नै भनिएको छ। केवल शुक्र मात्रै हैन, सबै ग्रह यी वीथिहरूबाट भ्रमण गर्न सक्छन्।

सर्वग्रहाणां त्रीण्येव स्थानानि द्विजसत्तमाः।

स्वानं जारद्गवं मध्यं तथैरावतमुत्तरम्।। (वायुपुराण)

पृथ्वी आफ्नो धुरीमा जुन बाटोमा हिँडेर सूर्यको वार्षिक परिक्रमा गर्छ त्यसलाई क्रान्तिवृत्त भनिन्छ। क्रान्तिवृत्तलाई हामी काठमाडौँको जस्तै चारैतिर घुम्ने चक्रपथीय झण्डै गोलाकार रिङरोड सम्झियौँ भने कुनै नक्षत्र बस्ती त बाटोमा छन् भने कुनै त्यसबाट उत्तर तथा दक्षिणतर्फ रहेको छ। मुख्य क्रान्तिवृत्तरूपी सडकबाट बस्तीहरूभित्र प्रवेश गर्ने उपमार्ग नै वीथि हो।

वीथिहरूको फल  

उत्तरवीथिषु शुक्रः सुभिक्षशिवकृद् गतोऽस्तमुदयं वा।

मध्यासु मध्यफलदः कष्टफलो दक्षिणस्थासु।।बृ.स.९,८।। शुक्र यदि उत्तरतर्फको वीथीहरूमा उदय भयो भने शुभ मानिन्छ। मध्य मार्गको वीथिमा उदय वा अस्त छ भने मध्यम अनिष्ट कारक मानिन्छ। दक्षिणमा पर्ने (मृग, अज, दहन) वीथिहरूमा शुक्रको उदयास्त भयो भने अनिष्ट फल कारक हुने मानिन्छ। 

कष्टफलो दक्षिणास्तु भनिएको छ। दक्षिण मार्गको वीथिमा शुक्रको उदयास्त हुँदा रोग, शोक, आर्थिक अपराध, नक्कली मुद्रा, आर्थिक चतुराइँ, बिष्फोट, फटाहाको प्रसंग धेरै बढ्छ। साथै कामुकता (बलात्कार) सम्बन्धी अपराध पनि धेरै हुने मानिन्छ। अहिले तत्काल बुध, बृहस्पति, शुक्र र शनि जस्ता ताराग्रह आकाश मण्डलको दक्षिण मार्गमा भ्रमण गरिरहेका छन्।

तत्काल मध्यमार्गमा रहेको दक्षिण दिशाको अधिपति, नेपाल देशको राशि स्वामी तथा यो वर्षको राजा मंगल पनि माघ १२ गतेदेखि दक्षिण मार्गमा प्रवेश गरेर ७९ आषाढ मध्यतिर उत्तर मार्गमा प्रवेश गर्ने देखिन्छ।

विगतमा वि.सं २०७३ माघ १३ गते प्रवेश गरेको शनिलाई दक्षिण मार्गबाट निक्लिन कमसेकम अझै ५ वर्ष लाग्छ। २०७६ कात्तिक १९ प्रवेश गरेको जीव कारक ग्रह गुरूलाई भने अझै १५ महिना लाग्ने बुझिन्छ। वृहस्पतिले दक्षिण मार्गमा प्रवेश गरेपछि नै विश्वमा कोरोना माहामारीको सुरुवात भएको थियो।

मंगल ग्रह भने यो भन्दा अगाडिको वर्ष ७६ माघ २५ गते दक्षिण मार्गमा प्रवेश गरेर शनी र गुरू जस्ता ठूला ग्रहलाई नाघ्दै गर्दा कोरोना महामारीले विश्वमा उग्र रूप लिएको थियो। त्यो बेला गुरु शनीले भोग गरिरहेको राशि मकरमा मंगल प्रवेश गरेकै दिनबाट नेपालमा कडा लकडाउन सुरु भएको थियो।

शास्त्रको निर्देश छः ग्रहको उदय, यात्रा, चन्द्र र सूर्य ग्रहणको समयमा लोकमा हुन सक्ने राम्रो/नराम्रो घटनाबारे जान्न ग्रहहरूले भ्रमण गर्ने वीथि मार्गको विचार गर्नुपर्छ। एउटा नक्षत्रमा धेरै ग्रह हुनाले जुन फल बताइएको हुन्छ, त्यो एउटा वीथिमा पनि घटित हुन सक्छ। यसैगरी जुन योगहरूमा राशि वा नक्षत्रको उल्लेख छैन, त्यहाँ पनि वीथिका अनुसार यी फल हुन्छ भनिएको छ।

अहिले गुरु शनी दुवै अज(बाख्रा) वीथिमा भ्रमण गरिरहेका छन् तथा फागुन २८ गतेदेखि मंगल पनि अज वीथिमा प्रवेश गरेपछि विश्वमा अशुभता अझै बढ्दै जान सक्छ। अज वीथिमा योग बन्नाले मान्छेमा सहनशीलताको कमी, विचार र दृष्टिकोणमा भिन्नता, जनतामा धेरै असन्तोष हुन्छ।

शुक्रका ६ मण्डलहरू तथा पंचम मण्डलको फल

बृहत्संहिताको शुक्रचारमा जनाइएको शुक्रको ६ मण्डललाई बुझौँ। भरणी नक्षत्रदेखि सुरुका ४ नक्षत्रको पहिलो, आद्र्रादेखि ४ नक्षत्र दोस्रो, मघादेखि ५ नक्षत्र तेस्रो मण्डल त्यसपछि स्वातीदेखि ३ नक्षत्रको चौथो, जेष्ठादेखि ५ नक्षत्र पाँचौँ र धनिष्ठादेखि ६ नक्षत्र छैटौँ मण्डल भनेर स्पष्ट पारिएको छ। यस पटक पञ्चम मण्डलको नक्षत्रमा शुक्रको उदय भएको देखिन्छ।

पंचम मण्डलको फल

ज्येष्ठाद्यं पञ्चर्क्षं क्षुत्तस्कररोगदं प्रबाधयते।

काश्मीराश्मकमत्स्यान् सचारुदेवीनवन्तींश्च।। (बृ.सं९,१८)

अर्थात् पञ्चम मण्डल– ज्येष्ठा, मूल, पू.षा., उ.षा. र श्रवण नक्षत्रमा गोचर गर्दा शुक्रको उदय अथवा अस्त भयो भने दुर्भिक्ष (अकाल), चोर र रोगको भय हुन्छ तथा काश्मीर,अस्मक (मसागा), मत्स्य (नेपाल) चारुदेवी नदीको तट र अवन्ती (भारतको मध्य प्रदेश) देशवासीहरूलाई कष्ट हुने हुन्छ।

हाम्रो देशमा वि.सं. २००७ सालदेखि २०७५ सालभित्र भएका धेरैजसो महत्वपूर्ण ठूला ठूला राजनीतिक परिवर्तनका घटनाको समयमा शुक्रको उदय पञ्चम मण्डलकै नक्षत्रमा भएको देखिन्छ।

विचार गर्दा विगतमा यो स्थिति २०७४ मंसिर २९ गते पञ्चम मण्डलको नक्षत्र जेष्ठामा अस्त भएको शुक्र माघ १८ गते दक्षिण मार्गमा पर्ने मृग वीथिको नक्षत्र धनिष्ठामा उदय भएको थियो। त्यो भन्दा अघि ७१ मंसिर ८ गते परेको थियो जब शुक्र ज्येष्ठामा उदय भएको थियो। त्यो समयमा शुक्रलाई शनीले आक्रान्त पनि पारेको थियो। त्यही उदयास्तभित्रको समयमा नेपालले ७२ वैशाख १२ गते ठूलो भूकम्पिय प्रकोपको सामना गर्नुपरेको थियो।

२०७२ को असार २० गते फेरि दोस्रो मण्डलको नक्षत्रमा शुक्र अस्त भएको थियो। पुराना पात्रोहरू पल्टाइ हेर्दा त्यो भन्दा अघि ६२ को माघ ३ गते र ६३ को मंसिर २७ गते अहिले जस्तै दुवै वर्ष शुक्र यही मण्डलमा उदय भएको थियो। त्योबेला संयुक्त जनआन्दोलनको प्रभावले राजतन्त्र समाप्त भई नेपालमा ठूलो परिवर्तन आरम्भ भएको थियो।

२०४७ को मंसिर र २००७ सालको पुसमा पनि पञ्चम मण्डलकै नक्षत्रमा शुक्र उदय भएको थियो। २००७ र २०४७ सालमा पनि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको थियो। राजदरबार हत्याकाण्ड भएको वर्ष २०५८ मा पनि शुक्र अस्त यही मण्डलमा भएको थियो। अघिल्लो वर्ष २०७७ फागुन २ गते पञ्चम् मण्डलमा अस्त भएको थियो।

चतुर्थ र पंचम मण्डलमा शुक्र पूर्वमा अस्त भएर पश्चिममा उदय भयो भने शुभ हुने मानिन्छ। यसपालि शुक्र बक्री भएको कारण पश्चिममा अस्त भएर पूर्वमा उदय भएकाले अशुभ फलदायक नै मानिन्छ। बराहले समास संहितामा संक्षेपमा भनेका छन् कि तृतीय मण्डल वा ज्येष्ठादि पंचम मण्डलमा उदय अथवा गोचर अशुभ फलदायक र शेष मण्डलमा शुक्रोदय गोचर शुभ हुन्छ।

फेरि अर्को वर्ष ७९ मा पनि भदौ ३० गतेदेखि शुक्र अस्त भएर मंसिर १६ गते पञ्चम मण्डलकै जेष्ठा नक्षत्रमा उदय भएको देखिन्छ। त्यसपछि २०८० मा साउनको चौथो सप्ताहमा ३ दिन मात्र अस्त भएर शुभ मानिने उत्तर वीथि तथा दोस्रो मण्डलको नक्षत्र अश्लेषामा उदय भएको देखिन्छ। नजिकै अर्थात लगभग २ वर्षभित्र हाम्रो देशमा कुनै प्रकारको केही महत्वपूर्ण राजनीतिक परिवर्तन हुन सक्ने अनुमान गर्न सकिन्छ।

प्राचीन हस्तलिखित भृगसंहिता महाशास्त्रम् ग्रन्थमा शुक्रोदयास्त फलम् भनेर सुरुको श्लोकमा शुक्रको उदय अथवा अस्त मंगलबार पर्दा शत्रु पीडा, बुधबार दुर्भिक्षं अर्थात् अनिकाल लाग्ने भनिएको छ।  यसपटक मंगलबार र बुधबार परेको छ। त्यसैगरी पछिका श्लोकमा महिनाअनुसार उदयास्तको फलमा पुस र माघ महिनामा शुक्रको उदयास्त हुँदा कुनै कुनै देश फुट्ने, टुक्रिने नाश हुन सक्ने संकेत गरिएको छ। भनिएको छः

पौषे चैव तथा माघे राष्ट्रभङ्गंविनिर्दिशेत्।

फाल्गुने अल्पवृष्टिश्च उदयास्तभृगोः फलम्।। 

ग्रह नक्षत्र सम्बन्धित एउटा मात्रै अशुभ प्रभाव भन्दा धेरै प्रकारको अशुभ प्रभाव जुधेपछि पृथ्वीमा बढी अप्रिय घटनाहरू भएका पाइन्छ। विचार गर्दा गएको वर्ष परेको बुध स्वामी मानिएको महिना असोज अधिकमासको फलमा दक्षिणी देशमा सङ्घर्ष बढ्ने प्रष्ट संकेत गरिएको थियो जसको प्रभाव ८०को अर्को साउन अधिकमाससम्म रहन्छ।

अब नजिकै माघ १४ गते हुन लागेको मकर राशिमा शनी र मंगलको साथमा रहेको बुधको उदयास्तको कारणले गर्दा फागुन अन्तिमसम्म विश्वका अनेकौँ ठाउँमा उत्पात (आगो, पानी, वायु सम्बन्धित प्रकोप)का घटना हुन सक्छन्। यो समयमा वायु सम्बन्धित प्रकोप हुन सक्ने विशेष संकेत गरिएको छ।

माघमा नै हुने शनी सूर्यको सहयुति पनि शुभ होइन। यो वर्षको राजा ग्रह मंगल अर्को वर्ष राजा हुने ग्रह शनीसँग माघ १२ गतेदेखि चैत चौथो सप्ताहसम्म पृथ्वी तत्वीय राशि मकरमा दुवै ग्रहको सहयुति हुनु, यसैबीच शनी मंगल एउटै नक्षत्र धनिष्ठामा भ्रमण गर्नुको प्रभाव विश्वको विभिन्न देशमा विवाद, युद्ध, प्राकृतिक प्रकोपलगायत दृष्टिकोणले सबै देशका राष्ट्र प्रमुखहरू सजग रहनु राम्रो। प्रकृतिविरुद्ध आचरण त्याग गरेर मानवीय धर्मको पालना गर्दै सबैतिर सम्बन्धित सबैले विशेष सावधानी अपनाउँदा अशुभतामा कमी आउन सक्छ।

(वास्तु–ज्योतिषी) 

प्रकाशित: २८ पुस २०७८ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App