९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेतामा सत्तामोह

महाधिवेशनसँगै हरेक दलका शक्ति खेल, संस्कृति, सोच छताछुल्ल भए। एमाले, कांग्रेस र राप्रपा महाधिवेशन सकियो, माओवादीको हुँदैछ। मूल नेतृत्वको दिल, दिमाग, योजना र चाहना छरप्रस्ट हुनै थियो। पार्टी फरक छन्। नेतृत्वको सत्तामोह एकैनासे छ। विधि र अभ्यास एकैखाले छन्। विचारको विभ्रमीकरण, इतिहासको भ्रष्टीकरण र सौन्दर्य चिन्तनको परित्याग सबैमा देखापरे। इतिहास छोड्न पनि नसक्नु, स्विकार्न पनि नसक्नु समान चरित्र बन्यो। युग फेरिए, राजनीतिक अभ्यास फेरिएन।

महाधिवेशन नेताको वैधानिकता पाउने थलो मात्रै बनाउन थाल्दा विगतको समीक्षा र आगतका योजना, नेताको छनोट तपसिलमा परे। नेतृत्वको निरन्तरता, विरोधीलाई तह लगाउने,  महत्त्वाकांक्षीलाई व्यवस्थापन गर्ने र प्रतिद्वन्द्वीको हुर्मत काढ्ने थलोका रूपमा फेरिए। चुन्ने र चुनिने अवसरलाई तेजोबध गर्न प्रतिनिधि चयनबाटै धाँधली सुरु भए।

नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको चर्चा भए, तर साम, दाम, दण्ड, भेद, सन्धि–विच्छेदका औजार चलाउँदै नेतृत्वमा टिकिरहने खेल खेलिँदै गए। प्रजातन्त्रमा प्रतिस्पर्धा स्विकारिन्छ। तर, सत्तारोग झाँगिएपछि नेता हार भने स्विकार्दैनन्, बरु नयाँ तर्क उत्पादन गर्दै शक्ति नियन्त्रणमा लिन्छन्। शक्तिको चुम्बक गद्दी भएकाले ओर्लन कोही नचाहेर त्यहाँ पुग्न र टिक्न जे पनि गर्छन्। ७२ वर्ष एक सय १० दिन गद्दी आसिन भएर पनि फ्रान्सेली राजा लुई १४औँ सत्ताभोकले अघाएनन्। राजा बनेको २० मिनेटमै उनैको वंशज लुई १६औँलाई भने क्रान्तिले गद्दीहीन बनाइदियो।

राजनीतिमा योग्यता प्रमाणपत्र भनेको लोकप्रिय जनमतद्वारा निर्वाचित वा पार्टीले दिएको पदीय हैसियत हो। पार्टीका औकात, सांस्कृतिक पहिचान, लक्ष्य, उद्देश्यका चित्र र चरित्र संगठनमा देखिन्छन्। संगठनको चालक शक्ति विचार, दर्शन, ऐतिहासिक अभ्यासका अनुभव नभएर सुविधा अनुसारको सिद्धान्त गढिएपछि नेतृत्वसँग सामाजिक अपिल गर्ने कुनै नैतिक हतियार हुँदैन।

शासनमा रहने नयाँ तर्क: पार्टी नबनेपछि मुद्दा विषयान्तर गर्न नक्कली दुश्मन पैदा गरेर दर्बिलो सुरक्षाकवच तयार गरिन्छन्। निजी संकटलाई सामूहिक संकटमा फेरेर नयाँ तर्कले मूल विषय अन्यन्त्र मोड्ने गरिन्छ। तब ‘राष्ट्रियता’, असुरक्षा, जातीय र धार्मिक उन्माद बैसाखी बन्ने गर्छन्। तर, मानवीय सोच नित्य नयाँ भएर संस्थापन पक्षको विकल्प खोज्छ। निर्विकल्प साबित गर्न घृणा फैलाउँदै उन्माद पैदा गर्नु, लोभ देखाउनु, डर फैलाउनु, आशामा अल्झाउनु आदिलाई शक्ति कब्जाका औजार बनाइन्छन्। कलामय तरिकाले प्रस्ताव राखे स्टिल मानवलाई पनि सहजै किन्न, बेच्न र तह लगाउन सकिन्छ।

सात सालपछिका सबभन्दा सुविधाजनक र शक्तिशाली प्रधानमन्त्री केपी ओलीले पाएको अवसरलाई अहंकारका कारण उपयोग गर्न सकेनन्। अहंकारले अरूलाई नभई आफैँलाई खान्छ। उनले ‘म कति दिन बाँच्छु र’ भन्ने भावनात्मक तुरूप प्रयोग गरे। विरोधीको हमला आफूले मात्रै गर्न सक्ने भन्दै सर्वसम्मतको अपिल गरे। काम लागेन। पूर्वप्रतिबद्धता विपरीत अध्यक्षमा चुनिए। अहंकारमाथि वज्रपात भएपछि निर्विकल्प बन्न चुनौती दिनेहरूको एमालेमा अब राजनीतिक संकटका दिन सुरु भयो।

सत्ताका नांगो हस्तक्षेपले महाधिवेशनको व्यवस्थापन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सभापतिमा नजिते प्रधानमन्त्रीमा राख्दैनन्, ओलीको सर्वसत्तावादको प्रतिकार आफूले मात्रै गर्न सक्ने’ भनेर मतदातालाई आतंकित र उत्तेजित पार्न खोजे। भय र प्रलोभनको हतियार सत्ता कब्जाको अस्त्र बन्यो। सत्तामा रहँदारहँदै दोस्रोपटक चुनावमा प्रतिस्पर्धा गर्नु नैतिक पराजय हुन्थ्यो।

दरबारकै छत्रछायामा राजनीतिक यात्रा थालनी गरेका र हुर्केका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातात्रिक पार्टीको आन्तरिक चुनावमा पराजित हुन्छु भन्ने कल्पनै गरेका थिएनन्। गाईले वैतरणी तार्न सकेन, भगवान्ले रक्षा गरेनन्, दरबार र अभिजातले पत्याएन। शक्तिहरूले नयाँ दास खोजिरहन्छन्। क्षमतावान् दासभन्दा औकातहीन पछुवा रोज्छन्। विश्वासको अपेक्षा त जोकोहीसँग गर्न सक्छ, गरेन भने बौराउन भने सुहाउँदैन। पराजयका कारणमा थापाको निष्कर्ष रह्यो– दरबारी हस्तक्षेप।

निर्देशित जनवाद र ‘सर्वसम्मत’ अभ्यास: बुथदेखि नै व्यवस्थापनमा केन्द्रित रहेको कांग्रेस आन्तरिक प्रतिस्पर्धामा भने प्रजातान्त्रिक अभ्यासमा अब्बल देखियो। पराजितहरूले पनि राजनीतिक संस्कार देखाए। आफ्ना लागि मत मागे पनि अरूलाई मत नदिन कुनै पर्ची जारी नगर्दा भिन्न मतको पनि उल्लेख्य उपस्थिति भयो। तर त्यो ‘कम्युनिस्ट’ र राप्रपामा देखिएन।

कार्यकर्ता आधारित पार्टी र जनाधारमा आधारित पार्टीमा स्वाभाविक अन्तर भए पनि ‘कम्युनिस्ट’हरू क्याडरबेस्ड पार्टी वा मासबेस्ड दुवै बन्न नसक्दा न कम्युनिस्ट बने न बुर्जुवा। तब निर्देशित जनवाद आन्तरिक प्रतिस्पर्धाको विधि बन्यो।

निर्देशित जनवादको सर्वसम्मत अभ्यास असफल भएपछि एमालेले चिर्कटो हस्तक्षेपसहित चुनाव गराएर भक्तिमार्गद्वारा अनुमोदन गरायो। माओवादीका सम्पन्न प्रदेश अधिवेशन वागमती, कर्णाली र लुम्बिनीमा पनि निर्देशित जनवादले सर्वसम्मतको ताली पिटाइयो। ती अधिवेशन नियाल्दा राजनीतिक कुम्भ मेला गर्नुभन्दा केन्द्रीय कार्यालयले अन्तरपार्टी निर्देशन जारी गर्दै नेतृत्व चयन गर्दा पैसा र समय बच्ने हुन्थ्यो। निर्वाचनका नाटकबाट जोगिन्थ्यो। प्रतिनिधिहरू साक्षी पनि किनारामा बसेर ठप्पाबाज हुने हीनताबोधबाट जोगिन्थे।

अध्यक्ष केपी ओली पार्टी र सरकार जोगाउन नसकेको मात्रै होइन, निर्देशित जनवादी अभ्यास गरेर नैतिक पँुजीमा घाटा लागेपछि मर्माहत र दबाबमा छन्। त्यस्तै राप्रपाका थापाले पराजय सहजै स्विकार्न सकेनन्। भनिरहनैपरेन, प्रतिक्रान्तिकारी केन्द्रमा दरबार छ र त्यसका एउटा हिस्सा थापा पनि हुन्।

तेस्रो ध्रुवको नेतृत्व अपेक्षारत अध्यक्ष ओलीको र थापाको अवस्था नियाल्दा परिवर्तन सहजै स्विकार्न नसक्नुको कारण इतिहासलाई नै छेडछाड गर्नुपर्ने हुन्छ। समस्यालाई घर्काउनका निमित्त तर्क र नक्कली दुश्मनको आवश्यकता पर्छ। कुण्ठाको व्यवस्थापन गर्ने दुवैका चौतारी मनोयुद्धको दबाबमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र बनेका हुन्। विश्वसनीयताका लागि पनि तथ्यहीन पाँचबँुदे सहमतिको कथ्य प्रमाणित गर्ने चुनौती पनि अध्यक्ष ओलीमाथि नै थपियो।

विधि र सिद्धान्तको अन्तसँगै पार्टी सञ्चालनको सिद्धान्त प्रतिक्रिया भएपछि नयाँ तर्कको शक्ति बनाउन इतिहासको भ्रष्टीकरण, भ्रमित आवेगी जनमत सिर्जना, झूटको कलामय व्यवस्थापन गरेर नयाँकथ्य (न्यारेटिभ) रच्नुपर्छ। सबैसँग सहमति हुनैपर्छ भन्ने हुँदैन, तर तथ्यहीन विषय उरालेर भ्रमित जनमत सिर्जना गने प्रयास प्रोपोगन्डा मात्र बन्छ।

जीवनभर नेतृत्व मोह: सरकारमा रहँदा भएका/गरिएका गडबडीबाट नडामिन शासकहरू जीवनभर सत्तामा रहन चाहन्छन्। राजनीतिलाई व्यवसाय बनाएपछि सत्तामा पुग्ने र टिकिरहने खेल हुन्छ। सत्तास्वाद र सुविधा उपयोग गरिसकेकाले सत्ताहीन हुनेबित्तिकै सो हराउँछ। दास र भक्तजन उछिट्टिएर नयाँ मालिक रोज्छन्। कीर्तनकारको अभाव हुन्छ।

सिंहदरबार अत्यन्तै निर्दयी भएकाले नवशासकले कानुनी बदला लिन सक्छन्। शासनकालका अपराधको भयले जे जसरी भए पनि सत्तामा टिक्न खोजिन्छ। जोगिने अस्त्र र उपाय जीवनको अन्तसम्म सत्तामा रहिरहनु हो। भ्रष्टाचार गर्ने अधिकारपत्र सोच्न थालेपछि सत्ता गुम्नेबित्तिकै लाइसेन्स खोसिने भयो। अन्यन्त्रका घटनाले सधैँ झस्क्याइरहन्छ नै।

पोल खुल्नेबित्तिकै पेरुका पूर्वराष्ट्रपति एलेन गार्सिया पेरेज र दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह मु–ह्युनले आत्महत्या गरे। दक्षिण कोरियाकै पार्क ग्युन–हे, ली म्युङ–बाक, चुन दो– ह्वाँ, रो तेअ–वु भ्रष्टाचार र शक्तिको दुरूपयोग गरेको आरोपमा चार जीवित शासक भ्रष्टाचारको आरोपमा दोषी ठहरिएर जेल सजाय भयो।

दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले सत्ता हस्तान्तरणको राम्रो नजीर त बसाले, भ्रष्ट श्रीमतीसँग पारपाचुके पनि गरे, तर उनकै उत्तराधिकारी क्रान्तिकारी सहयात्री पूर्वराष्ट्रपति ज्याक जुमा भने भ्रष्टाचारी भएर जेल गए। फ्रान्सेली पूर्वराष्ट्रपति निकोलाई सर्कोजी, सुरिनामका पूर्वराष्ट्रपति डेसी बउत्रेस, जर्जियाका मिखायल साकासिभ्ली समेत भ्रष्टाचारी नै बने। पेरुका भिज्कारा मार्टिनलाई १० वर्ष सार्वजनिक पदको प्रतिबन्ध लगाइयो।

पाकिस्तान, बंगलादेश लगायत कैयौँ देशमा सत्ता ‘कु’ हुँदा कैयौँ शासक कालगतिले मर्न समेत पाएनन्।

जनमत परिवर्तन चाहन्छ, शासक समय, समाज र राजनीतिलाई यथास्थितिमा राख्न चाहन्छन्। परिवर्तन र यथास्थितिको द्वन्द्वबीच अन्य शक्ति खेल्छ। इन्डोनेसिया र चिलीमा पत्याएकै जर्नेलबाट अमेरिका समर्थित सैन्य ‘कु’ भयो भने इराक, अफगानिस्तान, पाकिस्तान, र बंगलादेशमा हत्या प्रतिहत्याका सिलसिला नै चले। जो मारेर, षड्यन्त्र गरेर सत्तामा पुग्छन्, उनको हबिगत दुःखदायी नै बन्यो।

सबै परिवर्तन रामै्र हुन्छ भन्ने छैन। कर्णेल मुअम्मर गद्दाफीले लिबियालाई आधुनिक र सुविधासम्पन्न त गराए, तर ४१ वर्षको शासनकालले परिवर्तन चाहेको थियो, त्यही मनोविज्ञानमा खेलेर अमेरिकाले लिबिया ध्वस्त गरायो। इराकी स्वाभिमानका प्रतीक बनेका सद्दाम हुसेनको २४ वर्ष लामो शासनलाई परिवर्तनको चाहना अमेरिकी बहानाको बन्यो।

अहमद चलावीजस्ता विभिषण देखापरे। अमेरिकी आक्रमणबाट लाखौँ इराकी मारिए। गृहयुद्ध झेलिरहेको इराक अहिले सद्दाम सम्झन्छ। दुवै देशको परिणाम अहिलेको हाहाकार र गृहयुद्ध देख्न सकिन्छ। जनमत र समयको नाडी नेतृत्वले छाम्न नसकेको नेतृत्वले पार्टी र देश बचाउन नसकिने कुरा सत्ता प्यासले स्विकार्दैनन्।

विद्रोही वा अन्य पार्टीमा सरुवा

पार्टीभित्र सत्ता समीकरण फेरिँदै जान्छन्, स्थायी हुँदैनन्। महत्त्वाकांक्षाको व्यवस्थापन नेतृत्वकोे कला बन्छ। पार्टी फुट्नुको मूलकारण अन्य तहका नेतृत्वले आफ्नो भविष्य सो पार्टीमा नदेख्नु हो। जब उदयमान नेतृत्वको अवसर देखिँदैन, तब आभामण्डलबाट उम्कन या त पार्टीबाट अन्यन्त्र सरुवा हुन्छन्, विद्रोह गर्छन् वा नेतृत्वको हत्या गरेर सो स्थान लिन्छन्। कहिले पनि क्षमतावान् प्रतिद्वन्द्वीलाई शक्तिले नस्विकार्ने हुँदा अन्य नेतृत्व विकास हुन दिँदैन।

महत्त्वाकांक्षासँगै आफ्नो अवस्था र औकात पनि नियाल्नुपर्छ। भारतीय किङ मेकर के कामराजलाई स्वयं किन प्रधानमन्त्री बन्दैनौ भन्दा उनको जवाफ थियो :भारतमा जसले राम्रो हिन्दी र अंगे्रजी बोल्न सक्दैन, त्यसले प्रमको कुर्सी नताके हुन्छ। मलाई अंग्रेजी र हिन्दी दुवै राम्रो बोल्न आउँदैन। तर, चौधरी चरण सिंहले आफ्नै जनता पार्टी फोडेर साढे चार महिना पनि पद टिकाउन सकेनन्।

नेपाली सत्ता पहाडी खस बाहुनक्षत्री केन्द्रित छ। ५० को दशकमा महेन्द्रनारायण निधिलाई नेपाली कांग्रेसले अध्यक्ष बनाएको भए त्रिमूर्तिबीच (गणेशमान, गिरिजाबाबु, किसुनजी) द्वन्द्वको निकास निक्लन्थ्यो। शासक जाति पहाडी खस मात्रै हुन्छन्/ बन्छन् भन्ने सोचमुक्त देश हुन्थ्यो।

पार्टी चोइटिए पनि नेतृत्व नछोड्ने कीर्तिमान ८६ वर्षीय नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंह बन्दै छन्। रोडेसियाबाट जिम्बाबेमा फेर्ने अफ्रिकन नायक रबर्ट मुगाबेलाई ३७ वर्षको शासन अपुग बन्यो र शेषपछि कान्छी श्रीमती ग्रेसा मुगाबेका लागि वातावरण तयार गर्न लागेपछि पार्टीले नै विद्रोह गरेर हटाउन परयो।

अवसरको खोजीले जनयुद्धबाट आएको माओवादी पार्टीमा जबसम्म प्रचण्ड रहन्छन्, तबसम्म पालो आउँदैन भन्ने भएर किरण, डा. बाबुराम भट्टराई र रामबहादुर थापाले धोबीघाट भेला गरे। किरणका बाधक देखेर विप्लवले नयाँ पार्टी र सिद्धान्त रच्न पुगे। आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट जनयुद्ध मनोयुद्धमा फेरिने उत्कर्ष थलो बन्यो।

अन्तमा:जब पुराना विरोधी सकिन्छन्, तब सत्तालाई निरन्तरता दिन आफैँभित्र नयाँ दुश्मनको खोजी हुन थाल्छ। शासकहरू पुराना सहयोद्धा वा बालसखाबाट टाढिनुमा सबै कमजोरी थाहा भएर कमजोरीमा खेल्छन् भन्ने त्रास हो।

सिद्धान्त सकिएपछि प्रतिक्रिया, गाली र नयाँ भक्तको भर हुन्छ। अवचेतन मस्तिष्कले निर्देशन गरेको हीनताबोधले जन्माएको अहंकारले इख साधना गरेर सुरक्षित सोच्छन्। क्षमता नभएपछि एकपटक कुनै स्तरको पनि सत्तामा पुगेको व्यक्ति राजनीतिलाई व्यवसाय बनाउँछ। तर, क्षमतावान् राष्ट्रपति बिल क्लिन्टन, बाराक ओबामा, एपिजे अब्दुल कलाम भने अध्यापनमा गए। कैयौँ मूर्धन्य राजनीतिज्ञ लेखक, कूटनीतिक सल्लाहकार बने। नेपालमा भने एकपटक राजनीतिमा होमिएको व्यक्ति कर्ममा फर्केको पाइँदैन, सिंहदरबार वरिपरि नै रिँगिरहेको हुन्छ।

प्रकाशित: ८ पुस २०७८ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App