कुनै परिस्थितिमा कसैको सपनालाई आधार मानेर चलाइएको तथा बनाइएको प्रचलन गढीमाई मेलामा प्राणीको संहारलाई चल्दै आएको भनेर थोपरिए पनि आजको युगमा कुनै कोणबाट उचित देखिँदैन। नेपालमा मात्रै नभएर विदेशमा रहने मानवतावादी व्यक्तित्व तथा संघसंस्थले समेत यो कार्य अमानवीय हो भनेर भनिसकेका छन्। भारतको अदालतलेसमेत राँगा आदिलाई मेलामा ल्याउन रोक लगाउन निर्देशन दिएको छ। नेपाल सरकारले अब कति समयसम्म यस कार्यलाइ बजेट विनियोजन गरिरहन मिल्छ?
यस्ता विकृति, हत्याहिंसालाई प्रश्रय दिँदैजाने हो भने धर्म, संस्कार, संस्कृति सामन्तीहरूको विषय हो भनेर परधर्मी तथा अधर्मीहरूले लगाउने गरेको आरोप प्रमाणित नभएर अरु के हुनसक्छ? वास्तवमा भन्ने हो भने अरूलाई दुःख कष्ट दिने, हत्या गर्ने कार्य भनेको सामन्ती कार्य नभएर अरु के हुनसक्छ? धेरै प्रकारका विरोधका स्वर सुनिएका छन्। राज्यले यसमा विवेक गर्नसक्नु पर्ने हुन्छ।
धर्मको नाममा, मन्दिरमा, बुद्धको देशमा, सबै प्राणीकी आमाकी प्रतीक देवीको नाममा असाय पशुपंक्षीको संहार कसरी धर्मसम्मत हुन्छ? कुन धर्मले हत्याको उपदेश गरेको छ? पशुपतिनाथको देशमा पशुको बलि ‘योगभूमिमा हिंसा' सनातन धर्म, दर्शन, संस्कार, संस्कृतिप्रति सर्वसाधारणमा वितिृष्णाको कारक तत्व नै यस्ता विकृति हुन्। प्राणीहत्या अर्थात् पशुपंक्षीको बलिको कुप्रथाले मन्दिरहरू वधशालामा परिणत भइरहेका छन्।
‘आत्मानां प्रतिकूलानि परेषां न समाचरेत' अर्थात आफूलाई प्रतिकूल हुने काम अरुलाई पनि नगर भन्ने धर्मदर्शनको उपदेश ग्रहण गरेका हामी सनातनीले यतिसम्म तल झरेर प्राणी हत्यालाई निरन्तरता दिन्छौं भने अरु कसलाई हामीले के भन्ने? विश्वका सामु हामीले कसरी शिर ठाडो गर्नसक्छौ?
जनावर मार्नु र खानु बाघको धर्म हुनसक्छ तर मान्छेले प्राणी हत्या गर्नु मानवधर्म होइन। पशुपंक्षीको हत्या गरिँदा वातावरण पर्यावरणमा ती निरीह प्राणीहरूको रोदन क्रन्दन गुञ्जायमान हुन्छ। अबोधनिरीह प्राणीहरूको सो क्रन्दनबाट प्रदूषित प्रकृतिले कसरी सद्मति, सद्बुद्धि तथा सत्विवेक दिनसक्छ? आखिरमा देवीशक्ति भनेकै उनै प्रकृतिरूपी आदिशक्ति भगवती नै हुन्, बुद्धिदाता उनै हुन्, यो विश्वब्रह्माण्डकी आमा उनै हुन्। विश्वब्रह्माण्डभित्र रहेका सबै चराचर प्राणीकी आमा उनै हुन् भने उनले आफ्नै सन्तानको हत्या किन चाहन्छिन्? जतिपनि बलिको पक्षमा लेखिएका तथा भनिएका कुराहरू छन् काल्पनिक हुन्। मान्छेले आफ्नो जिव्रोको स्वादको लागि बनाइएका बहानाबाजी मात्र हुन्, तिनमा कुनै सत्यता छैन।
यो चेतनशील ज्ञानविज्ञानको युगमा पनि धर्मसंस्कृतिका नाममा धार्मिक स्थलहरू एवम् मानव समाजमा यसरी पशुपंक्षीको बलिजस्तो राक्षसी कर्मले प्रश्रय पाइरहन्छ भने तड्पाई तड्पाई, विभिन्न किसिमका यातना दिएर हत्या गरिएका प्राणीको आत्माको त्यो क्रन्दनले गर्दा पनि मान्छेले कसरी उपयुक्त निकास निकाल्नसक्छ? के ती हत्या गरिएका प्राणीको आत्माको कुनै प्रभाव हुँदैन? र कसरी राष्ट्रले, समाजले, सम्बन्धित नागरिकले सत्मार्ग अवलम्बन गर्नसक्छ? यस्ता धार्मिक क्षेत्रभित्र मौलाएका विकृतिहरूका विषयमा धर्मक्षेत्र, राज्यलगायत सरोकार राख्ने निकायले मुकदर्शक भएर हेरिरहन मिल्छ कि मिल्दैन? सम्बन्धितहरूले नै आत्मसमीक्षा गरून्।
महासचिव : ब्रह्माण्डीय सनातन धर्म महासभा
प्रकाशित: ११ मंसिर २०७१ २१:५९ बिहीबार