१३ असार २०७९ सोमबार
विचार

राजनीतिक सन्न्यासी रामचन्द्र

नेपाली कांग्रेसको राजनीतिबाट रामचन्द्र पौडेलले ७७ वर्षको उमेरमा सन्न्यास लिएका छन्। १३औं महाधिवेशनमा पराजित भइसकेपछि पौडेलको राजनीति लगभग त्यही बेलादेखि समाप्त भएको थियो।

२०७४ को आमनिर्वाचनमा पराजय भएपछि प्रधानमन्त्री बन्ने झिनो आशामा पनि अवरोध खडा भयो। धेरैलाई रामचन्द्रको सभापतिमा उम्मेदवारीको आकांक्षा स्वाभाविक लागेको छ भने त्यसको एउटै कारण हो, अघिल्लो महाधिवेशनमा उनी सभापतिका प्रतिस्पर्धी थिए र पराजित भएका थिए।

यसको अर्को कारण थियो, शेरबहादुर देउवा तीनपटक कोइराला विरुद्धको प्रतिस्पर्धामा पराजित भएका थिए र चौथोपटक उनको विजय भएको थियो। तर,रामचन्द्रप्रति शुभेच्छा राख्ने कसैले उनको राजनीतिक आधारका बारेमा सोच्न वा बहस गर्न चाहेको देखिएन।

रामचन्द्र पौडेल नयाँ बानेश्वरमा बसेका साथीहरूलाई छाडेर सानेपामा लुक्न नगएका भए सम्भवतः यसअघि नै पार्टी सभापति र प्रधानमन्त्री भइसकेका हुने थिए। उनको राजनीतिक अवसानको प्रारम्भ त्यहीँबाट भएको थियो।

यद्यपि,कोइराला परिवारबाट उनले पाउन सक्ने जति लाभ पाएकै हुन्। जीवनमा पहिलोपटक प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर साथीहरूलाई धोका दिएबापतको बक्सिस थियो। यो बेग्लै कुरा हो कि १७औंपटकसम्म नजितिने चुनावको आकलन गरेर नै उनले यो अवसर पाएका थिए।

पछि कार्यवाहक सभापति र त्यही विरासतमा सभापतिको उम्मेदवारसम्मको अवसर पौडेललाई मिल्यो। सभापतिमा भएको पराजय उनको राजनीतिक जीवनको उच्चतम उपलब्धि हो र यो नै उनको स्वाभाविक अवसानको मार्ग थियो।

यसको कारण उनले आफ्नो मैदान आफैं बनाएनन्। अरूको विरासतमा टेकेर आफ्नो राजनीतिक उत्कर्षको आकांक्षा उनमा रह्यो। त्यो विरासत यथार्थमा उनको थिएन। किसान पेसाबाट आएका रामचन्द्रले कांग्रेस राजनीतिको जमिन त पाए, तर मोहीका रूपमा मात्र। आज उनको जमिन खोसिएको होइन, फिर्ता भएको मात्र हो।

मोहीले आधा पाउने अंश उनको कार्यवाहक सभापति तथा प्रधानमन्त्री र पार्टी सभापतिको उम्मेदवारीमै सकिएको थाहा नपाउनु उनको कमजोरी हो। राजनीतिमा ठीक समयमा उचित निर्णय लिन नसक्ने नेताको अवस्था जे हुन्छ, केवल रामचन्द्र पौडेलका हकमा त्यही भएको छ।

पार्टीमा गुटको अन्त्य गर्छु भनेर सभापतिका उम्मेदवार भएका पौडेल हारपछि कोइराला गुटका नेता मात्र बनेर रहे र उनले गुटको निरन्तरतालाई नेता कार्यकर्ताको संरक्षणका रूपमा अपव्याख्या गरे। गुटलाई निरन्तरता दिनु नै थियो भने उनले आफ्ना कार्यकर्ता तयार गर्नु सक्नुपर्थ्यो। तर उनका आफ्ना कार्यकर्ता कोही रहेनन्।

आज उनका नाममा गोहीको आँसु चुहाउने समेत कोही देखिएनन्। अनि उनले कुन नेता र कार्यकर्ताको संरक्षण गरेको थिएँ भनेर आत्मरति गर्नु? उनको भूमिका नेतृत्वको गोडा तान्नमा मात्र सीमित रह्यो। उनले आफ्नो सम्पूर्ण शक्ति हरेक सार्वजनिक मञ्चमा कांग्रेस नेतृत्वलाई कमजोर र नालायक देखाउनमा मात्र खर्च गरे।

उनले संगठन विस्तारमा सहयोग गरेनन्। कार्यकर्तालाई उत्प्रेरित गर्ने खालका कुनै काम वा गतिविधि गरेनन्। आज वक्तव्य दिएर कांग्रेसबाट सन्न्यास लिँदै गर्दा पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएकामा कुण्ठा व्यक्त गर्न छाडेनन्।

उनले वक्तव्यमा कांग्रेसलाई सत्ताको भर्‍याङमा सीमित गरिएको र सत्ता विचलनबाट हात लागेको सत्तामा रमाइरहेको टिप्पणी गरेका छन्। उनको यो टिप्पणी प्रस्ट रूपमा शेरबहादुर देउवाप्रति लक्षित छ। कांग्रेसले निर्वाचन पछिको पाँच वर्ष सत्तामा जाने प्रतिबद्धता नै व्यक्त गरेको हो।

रामचन्द्रले भनेझैं सत्ताको विचलनबाट सत्ता नलिनका लागि शेरबहादुरले आफूलाई बरु निर्वाचनको पक्षमा उभ्याएको हो। तर जब संविधानको चरम दुरूपयोग बढ्यो, त्यसपछि मात्र कांग्रेसले सत्ताको सम्भावित बाटो रोज्नुपर्‍यो।

 कांग्रेसले यो निर्णय गर्दैगर्दा रामचन्द्रको कुनै प्रतिवाद थिएन। आज शेरबहादुर नेतृत्वको सरकार चल्दै गर्दा रामचन्द्रमा फेरि चिडचिडाहट आएको छ। आफू प्रधानमन्त्री र पार्टी सभापति बन्ने सपना एकैपटक चकनाचुर हुँदा रामचन्द्रको पीडा बुझ्न कठिन छैन। यही संकीर्ण मानसिकताका बीच उनले जेजति प्राप्त गरे, त्यो उनको राजनीतिक कदभन्दा कम उपलब्धि होइन।

आज राजनीतिक अवसानमा आइपुग्दा फेरि एकपटक रामचन्द्रलाई संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्श र मूल्यको सम्झना भएको छ। बिपीले छाडेको राजनीतिक विरासतलाई जोगाएर मुलुकमा प्रजातन्त्र फर्काउने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अपमान गर्‍यो र पार्टीबाट पलायन जसले बनायो,त्यही जमिन टेकेर रामचन्द्रले आजसम्मको राजनीति गरेका होइनन्? कृष्णप्रसादले छाडेको आदर्शमा अरूको कुरा छाडौं,रामचन्द्रले कार्यवाहक चलाएको कांग्रेसको निरन्तरता थियो? त्यसअघि त्यही आदर्शमा चलेर देउवामा कांग्रेस हस्तान्तरण भएको हो? आज रामचन्द्रले गणेशमान र कृष्णप्रसादलाई सम्झँदा ग्लानि हुनुपर्ने होइन र?

राजनीतिबाट सन्न्यास लिँदै गरेका रामचन्द्रप्रति यति कटाक्ष गर्नुपर्ने कारण उनका आफ्नै अभिव्यक्ति हुन्। उनी लोकतन्त्रको मूल्य र मान्यताका कुरा गर्न जति रमाउँछन्, त्यति लोकतान्त्रिक संस्कार बोक्न सकेका भए उनको उचाइ योभन्दामाथि उठ्न सक्थ्यो।

उनको निष्ठा र समर्पणमा कसैले प्रश्न गर्दैन तर प्रवृत्तिगत रूपमा उनलाई महान् र उदार ठान्ने कांग्रेस कार्यकर्ता पाउन कठिन छ। आफूलाई केन्द्रमा राखेर अरूप्रति दृष्टिकोण बनाउने कमजोरीबाट उनी कहिल्यै माथि उठ्न सकेनन्।

त्यसैले कांग्रेसमा उनको आफ्नो जमिन बाँकी रहेन,जसको उनी हकदार थिए। आफ्ना लागि अरूले त्याग गरिदिए कांग्रेस एक हुने र अरू हारेर आफू जित्न पाए कांग्रेस आदर्श र मूल्यको पार्टी बन्ने जुन संकीर्ण सोच रामचन्द्रमा रह्यो, त्यसले उनलाई यतिमै सीमित गरिदियो। आफू लडेको लोकतन्त्रका लागि र अरू लडेको सत्ताका लागि देख्ने दृष्टिदोषबाट मुक्त हुन नसक्नु नै उनको कमजोरी रह्यो।

रामचन्द्रका लागि अब कुनै पद रहेन, जहाँ रहेर उनले कांग्रेसलाई योगदान गर्न सकून्। सभापतिमा ‘त्याग’ गरेर उनले अब सदस्य मनोनित हुने आकांक्षा पक्कै राख्ने छैनन्। प्रतिस्पर्धाको मैदान छाड्दै गर्दा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध लड्ने उनको प्रतिबद्धताको सम्मान गर्नैपर्छ। अब प्रतिक्रिया र प्रतिशोधभन्दा माथि उठेर रामचन्द्रले पार्टीमा संरक्षकको भूमिका निर्वाह गर्न आफूलाई प्रवृत्त गर्नुपर्छ।

हिजोका तीता प्रसंगलाई कृष्णप्रसाद भट्टराईले झैं विस्मृतिमा राखेर भोलिको कांग्रेस र भोलिको देश सोचेर व्यवहार गर्न सक्नुपर्छ। निश्चय पनि रामचन्द्रमा विचार प्रवाह गर्ने क्षमता छ, त्यसको उपयोगमा आफूलाई लगाउन सक्नुपर्छ। कांग्रेसमा रामचन्द्रलाई सम्झँदै गर्दा संकीर्ण भन्ने आम रूपमा परेको छाप मेटेर उदार र यथार्थमा लोकतन्त्रवादी नेताका रूपमा स्थापित हुने अवसरका रूपमा राजनीतिक सन्न्यासलाई उपयोग गर्न सक्नुपर्छ।

आज गणेशमानको विरासत कोइरालाहरूमा समर्पित गराउने प्रकाशमान र भट्टराईको विरासतलाई कोइरालामा बुझाउन खोज्ने रामचन्द्र पौडेलका प्रयासलाई रोकेर शेरबहादुर देउवाले कांग्रेसलाई यहाँसम्म ल्याएका हुन्।

शेरबहादुरका सयौं कमजोरी होलान्। सत्ता सञ्चालनमा कैयौं निर्णय अनुचित भए होलान् तर कांग्रेसलाई कुनै एक परिवारको विरासत वा व्यक्तिको सनकबाट जोगाउन देउवाले गरेको योगदानमा रामचन्द्रको कुनै तुलना हुन सक्दैन।

 यद्यपि उमेर र राजनीतिका हिसाबले रामचन्द्र र शेरबहादुर सहयात्री हुन्, सहकर्मी हुन्। रामचन्द्रले १८ मंसिर २०७७ को दमौली घटनाको जुन व्याख्या अहिले सुनाएका छन्,त्यो दिन संयोगले यो लेखक देउवासँगै थियो। शेरबहादुरले यो घटना सुन्नेबित्तिकै तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई फोन गरी तत्काल छाड्न मात्र भनेनन्, यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएका थिए। उनले रामचन्द्रको गिरफ्तारीबाट आफू खुसी नहुने समेत बताएका थिए।

आन्तरिक राजनीतिमा शेरबहादुर र रामचन्द्रले आफ्ना ठाउँमा प्रतिस्पर्धा गरे। यो अस्वाभाविक थिएन। तर एकलाई कमजोर देखाएर अर्को नेता बन्ने सोच कम्तीमा शेरबहादुरले गरेनन्। त्यसैले रामचन्द्रले अरू कुनै पदको आकांक्षा राख्ने ठाउँ पनि छैन र आफूलाई पद र स्वार्थको राजनीतिबाट माथि उठाएर सम्पूर्ण कांग्रेसको आदर्श नेता बन्ने हिम्मत जुटाउन सक्नुपर्छ।

प्रकाशित: २७ मंसिर २०७८ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App