८ वैशाख २०८१ शनिबार
विचार

खुला विश्वविद्यालय स्थापनामा विलम्ब

झन्डै चार दशकअघि बेलायतबाट सुरु भएको खुला विश्वविद्यालयको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ। उच्च शिक्षा हासिल गर्न विश्वविद्यालयमा विद्यार्थी जानुपर्ने बाध्यताको विकल्प अर्थात् विश्वविद्यालय नै विद्यार्थीसम्म पुग्नु खुला विश्वविद्यालयको प्रमुख विशेषता हो।  दुर शिक्षाको माध्यमबाट लचिलो भर्ना प्रक्रिया, पाठ्यक्रममा विविधता तथा शिक्षणअवधिको सुविधायुक्त समयसीमालाई प्राथमिकता दिई खुलारुपमा शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने नीति खुला विश्वविद्यालयले अंगिकार गरेको हुन्छ। विविध कारणले परम्परागत विश्वविद्यालयअन्तर्गतका कलेज–क्याम्पसहरूमा उपस्थित भै नियमितरूपमा शिक्षकका अघिल्तिर बसेर अध्ययन गर्न नसक्ने जनसमुदायका लागि सहज ढंगमा उच्चशिक्षाको अवसर प्रदान गर्नु नै खुला विश्वविद्यालयको प्रमुख लक्ष्य हो। 
आर्थिकरूपले कमजोर वा पढाइका लागि आफ्नो व्यवसाय छाड्न नसक्ने, गृहिणी वा कामकाजी महिला, सेना–प्रहरी, शारीरिक अपाङ्ग, जेलजीवन बिताउन बाध्य व्यक्ति, विकट क्षेत्रमा बस्ने तथा घरमै बसेर अध्ययन गर्न रुचाउने व्यक्तिले खुला विश्वविद्यालयको शिक्षा लिनसक्छन्। यसमा विश्वविद्यालयले उपलब्ध गराउने लचिलो र विविध विषय समायोजन गरिएका पाठयक्रमअन्तर्गत अध्ययन गर्न सकिन्छ। विद्यार्थीले आफूले पढेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकताको कसीमा दाँजेर हेर्ने मौका पाउँछन्। यसकारण पनि यो दिगो सिकाइ हुन्छ। कतिपय अवस्थामा पढाइ र कमाइ सँगसँगै लैजान अवसर पनि प्राप्त हुन्छ। 
भौगोलिक विकटता, रोजगारीको बाध्यता तथा आर्थिक विपन्नता र सांस्कृतिक–सामाजिक विविधताका कारण चाहेर पनि सबै नेपालीले सहजरूपमा उच्चशिक्षा हासिल गर्ने अवसर पाएका छैनन्। अहिले नेपालमा १८ देखि २८ वर्ष उमेरका करिव ९ प्रतिशत युवामात्र स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययनरत छन्। शिक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क (सन २०१४ मा प्रकाशित 'एट ए ग्लान्स') अनुसार पाँच लाख ६४ हजार ८४ विद्यार्थीमात्र विश्वविद्यालय तहमा अध्ययनरत छन्। यसमध्ये दुई लाख ७० हजार ८ सय ६ महिला र दुई लाख ९३ हजार २ सय ७८ पुरुष छन्। पछिल्लो जनगणनाअनुसार नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ। अन्तर्राष्ट्रिय श्रम संगठनले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा हरेक तीनजनामा एकजना बेरोजगार छन्। नेपालमा हरेक चारजनामा एकजना गरिवीको रेखामुनि पर्छन्। कुनै पनि देशको वास्तविक सम्पत्ति त्यस देशको सक्षम तथा पौरखी मानव संशाधन नै हो। तसर्थ समृद्ध नयाँ नेपालको परिकल्पनालाई यथार्थमा बदल्न मुलुकभरि छरिएर बसेका जनशक्तिलाई शिक्षाआर्जनको अवसर सुनिश्चित गर्नु राज्यको पहिलो प्राथमिकतामा पर्नु पर्दछ।
विभिन्न पेशामा लागेका नागरिकलाई आफनो रोजगारीमै बसेर सुपथ र सहजरूपमा उच्चशिक्षा हासिल गर्ने अवसर प्रदान गर्न खुला विश्वविद्यालय एक सशक्त विकल्प हो। खुला विश्वविद्यालयले शिक्षा र रोजगारीको समानान्तर विकास एकै पटक गर्ने अवसर प्रदान गर्दछ। तसर्थ खुला विश्वविद्यालयको स्थापना के, किन, कसरी, कसले, कहिले, कसका लागि भन्नेबारेमा प्रचुर छलफल गरी अविलम्ब सार्थक निष्कर्षमा पुग्न अब ढिलाइ गर्नु हुँदैन। 
नेपालमा खुला विश्वविद्यालय स्थापनाका लागि पटकपटक बहस र प्रयास भएका छन्। तर व्यवहारमा मूर्तरूप लिनेगरी राज्यको प्राथमिकतामा अहिलेसम्म यो कार्य परेको छैन। राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन (सन् १९९२)ले त्यतिबेला नै एउटा खुला विश्वविद्यालय खोल्नका लागि सिफारिस गरेको देखिन्छ। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ ले समेत सरकारको विशेष पहलमा शिक्षाको पहुँचलाई विस्तार गर्दै छुट्टै ऐन बनाई एउटा खुला विश्वविद्यालय स्थापना गर्न सिफारिस गरेको थियो। यसमा छुट्टै पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षणविधि, स्वाध्यायन सामग्री तथा परीक्षा प्रणालीको व्यवस्था गरी स्वायतत्तरूपमा सञ्चालनका लागि प्रष्ट मार्गनिर्देशनसमेत उल्लेख गरिएको छ। 
नेपालमा खुला शिक्षा अवधारणाअनुसार २०३५ सालदेखि रेडियो शिक्षा शिक्षक तालिमको सुरुवात गरिएको थियो। नवौँ योजनाले खुला विश्वविद्यालय खोल्ने नीति लिएको देखिन्छ। यसैगरी प्रथम त्रीवर्षीय अन्तरीम योजनामा खुला शिक्षाको समेत प्रयोग गरी शिक्षाको अवसर सबै नेपालीको पहुँचभित्र पुर्यामउने लक्ष्य राखिएको थियो। यसै योजनामा उच्च शिक्षाका कार्यक्रम सहजरूपमा खुला विश्वविद्यालयमार्फत सञ्चालन गर्नेगरी तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगलाई जिम्मा दिएको थियो। उक्त कार्यका लागि खुला विश्वविद्यालय तयारी समितिसमेत गठन भएको र समितिले नेपालमा खुला विश्वविद्यालय स्थापनासम्बन्धी प्रतिवेदन २०६५, विश्वविद्यालय अनुदान आयोगमा प्रस्तुत गरेको थियो। प्रतिवेदनमा नेपालमा खुला विश्वविद्यालय खोल्नुपरेका कारण, अध्यापनका विधि र यसबाट विद्यार्थीलाई पुग्ने फाइदाबारे चर्चा गरिएको छ। साथै, उक्त समितिले संसद्मा प्रस्तुत गर्न एउटा मस्यौदा ऐन पनि तयार पारेको थियो। तर त्यो काम अघि बढ्न नसक्दा ऐन नै अलपत्र अवस्थामा छ। गैरआवासीय नेपालीको संस्थाले खुला विश्वविद्यालय खोल्न आवश्यक पूर्वाधारको व्यवस्थालगायतका सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। तर यसमा सरकारले चासो देखाएको छैन। 
परम्परागत कलेजहरूको महँगो शुल्क तिर्न नसक्ने विद्यार्थीलाई सुपथ दरमा कतिपय प्राविधिक विषय पनि खुला विश्वविद्यालयबाट सञ्चालन गर्न सकिन्छ। खुला विश्वविद्यालयमा लामो समयसम्म एकै ठाउँमा विद्यार्थी जमघट हुन सम्भव हुँदैन। त्यसकारण यसमा अनावश्यक राजनीतिक चलखेल हुन पाउँदैन र तोकिएकै समयमा पढाइ सम्पन्न हुन्छ। यसबाट विद्यार्थी, अभिभावक, सरकार सबै पक्षलाई फाइदा पुग्छ। पछिल्लो समय विदेशी खुला विश्वविद्यालयका 'सम्पर्क कार्यालय' तथा 'कन्सल्टेन्सी' हरू काठमाडौँलगायत देशका विभिन्न सहरमा धमाधम खुल्न थालेका छन्। यसमा नेपाली विद्यार्थीको ध्यानाकर्षण बढ्दै गएको देखिन्छ। तसर्थ नेपालमै अविलम्ब खुला विश्वविद्याय सञ्चालनमा ल्याउनसक्ने हो भने शिक्षाका नाममा विदेशिने रकम रोक्न सकिन्छ। 
खुला विश्वविद्यालयको विशेषता भनेकै पहुँच, शिक्षण सिकाइ विधि, शैक्षिक सामग्री र परीक्षासमेतमा समय र स्थानको लचकता हो। कुनै पनि समयमा कुनै पनि ठाउँमा सिक्न सकिने सिद्धान्तबाट निर्देशित खुला विश्वविद्यालयले विद्यार्थी केन्द्रित शैक्षणिक कार्यक्रम सञ्चालन गर्दछ। सामाजिक, आर्थिक रूपान्तरण गरी देशविकास गर्न दक्ष जनशक्ति आवश्यक पर्छ। शिक्षाले चेतना, ज्ञानविज्ञान, प्रविधिका क्षेत्रमा तीव्र गतिमा भइरहेको प्रगतिलाई आत्मसात गर्दै एक सफल जीवन जिउने सक्षम नागरिक उत्पादन गर्न सक्नु पर्दछ। उच्च शिक्षाले विज्ञान–प्रविधि, अध्ययन–अनुसन्धान तथा प्रयोगको माध्यमद्वारा राष्ट्रिय आवश्यकता र विश्वव्यापी बजारको मागपूर्ति गर्नसक्ने विशिष्ट दक्षता प्राप्त प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ। यसका लागि निरन्तर नविनतम ज्ञान, सीप तथा प्रबिवधिबाट नागरिकलाई सुसज्जित र अद्यावधिक हुने अवसर राज्यले प्रदान गर्नुपर्दछ। विभिन्न पेसा र स्थानमा रहेका न्ाागरिकलाई उनीहरूको आवश्यकता र रुचिअनुसार सहज र सरल तरिकाबाट निरन्तर शिक्षा प्रदान गर्न नेपालमा एक साधानस्रोत सम्पन्न खुला विश्वविद्यालयको स्थापना अपरिहार्य भैसकेको छ।

प्रकाशित: २४ कार्तिक २०७१ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App