१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कमल र पुष्पकमलहरू

राजा महेन्द्रले २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध स्थापना गरेपछि दिल्लीको दिलमा कम्पन गयो। सोही वर्ष भदौ पहिलो साता चार प्रमुख दललाई दरबारमा डाकेर राजाले सोधे–२००७ सालदेखि यता हामीले समय बर्बाद गरिरहेका छौँ। यसरी नै अल्मलिएर, घात/प्रतिघात गरेर बस्ने कि नेपाललाई बलियो बनाउने?

राष्ट्रियता, प्रगति र स्वाभिमानको पथमा हिँड्ने वाचा गरे दलहरूले तर काम उल्टो गरिरहे। २०१२ भदौ २६ गते केआइ सिंहलाई क्षमादान दिए महेन्द्रले। राजा त्रिभुवनका पालामा दिल्ली सम्झौताको विरोधमा विद्रोह गर्दा सिंहदरवारमा थुनिएका थिए सिंह। त्यहाँबाट भागेर चीन पुगे। झण्डै पाँच वर्ष उतै बसे। महेन्द्रले माफी दिएपछि नेपाल आए।

जनरल नर शमशेरको जीवनीमा केआइ सिंहले राजा महेन्द्रलाई गद्दीच्युत गराउने षडयन्त्र गरेको उल्लेख छ। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले देशद्रोही भनेर थुनेका केआइ सिंह क्षमादान पाएपछि प्रधानमन्त्री भए तर राजा महेन्द्रलाई हटाएर राष्ट्रपति बन्न चाहेको र आफूलाई प्रधानसेनापति र प्रहरीको सर्वोच्च कमान्डर बनेर ‘कन्ट्रोल’ गर्न प्रलोभन दिएको नर शमशेरले लेखेका छन्। यसको गोप्य सूचना पाएपछि राजाले सिंहलाई तीन महिनामै प्रधानमन्त्री पदबाट हटाएका थिए।

राजाले माया, संरक्षण र विश्वास गरेका पात्रहरूको मनमा जब उन्माद,अभिमान, बेइमानी, स्वार्थ र सिद्धान्तहीन चरित्र प्रबल हुन्छ तब उनीहरू पथभ्रष्ट बन्छन्।

सिक्किमका राजाले पुत्रवत् संरक्षण गरेर हुर्काएका लेण्डुप दोर्जेले दिल्लीको दास बनेर राजतन्त्रलाई लास बनाए। कम्बोडियाका पोलपोट र लोननोललाई दरवारले हुर्काएको हो।

ब्रिटेनको दरवारले विश्वास गरेका ओलीभर क्रमबेलले राजा काटे। स्पेनको दरवारले माया गरेका जनरल फ्रांको सुरुमा राजतन्त्रविरुद्ध जागे। बलियो नेतृत्व नहुँदा राष्ट्र क्षतविक्षत हुने रहेछ भन्ने बुझेपछि गणतन्त्र त्यागेर राजतन्त्र पुनर्बहालीमा लागे।

कहिले पराधीन नभएको इथियोपियाका राजा हेली सेलासीलाई सत्ताच्युत गराउन राजाकै वरिपरका मान्छेलाई प्रयोग गरेका थिए विदेशीले। अफगानिस्तानमा राजाकै ज्वाइँ दाउदलाई प्रयोग गरेर सयौँ वर्ष पुरानो राजतन्त्र समुल नष्ट गरियो। राजा जाहिर साह इजिप्टमा शरणार्थी भएर बसे। यता लाखौँ जनता गृहयुद्धले शरणार्थी बनेर इरान र पाकिस्तान पसे।

रावणको अन्त्य गर्न राजा रामचन्द्रले रावणका भाइ विभीषणलाई प्रयोग गरेको कथा आउँछ, रामायणमा। महाभारतमा पनि कैयन् आफन्तले बाटो बिराएका प्रसंग छन्। विशाल बंगालका नवाव (शासक) सिराज उद्दौलालाई उनकै जेठान तथा प्रधानसेनापति मिर जाफरले धोका दिए। विदेशीले दिएको अथाह सम्पत्तिको लोभमा पलासीको युद्धमा आत्मसमर्पण गरे, मिर जाफरले। त्यसैले उनलाई इतिहासमा ‘गद्दार–ए–हिन्द’ भनिएको छ।

अमेरिकाका शक्तिशाली विदेशमन्त्री तथा पूर्वसेनाध्यक्ष कोलिन पावेलले माओवादीलाई समाप्त पार्न नेपाली सेनाको जनशक्ति दोब्बर बनाउनुपर्ने र सेनालाई अमेरिकाले पर्याप्त सहयोग गरिरहने वचन दिएका थिए। राजा वीरेन्द्रले माओवादीहरू नेपाली नै भएकाले उनीहरूलाई मार्न नहुने भन्दै बरु सही बाटोमा ल्याउन प्रयास गर्ने बताए।

पुष्पकमल दाहाललगायतका आफ्ना आज्ञाकारीलाई उपयोग गरेर भारतले राजतन्त्र फ्याँक्न सफलता पाएको कैयन् भारतीय लेखक, विश्लेषक र कूटनीतिज्ञमात्र होइन, राष्ट्रपति बनेका प्रणव मुखर्जीले समेत उल्लेख गरेका छन्। तसर्थ, पुष्पकमल दाहाल प्रवृत्ति नै पुनरावृत्ति गराएर अहिले पनि नेपालको अस्तित्व नै संकटमा पार्न खोजिएको छ।

क्रिस्चियन धर्मग्रन्थ बाइबलमा जुडास इस्कारियटलाई द्रोही (ट्रेटर) भनिएको छ। यहुदी धर्मलाई चुनौती दिने क्रियाकलाप गरेको भन्दै क्राइस्टको खोजी गर्दै थिए, गुप्तचरहरू। यत्तिकैमा जुडासले सार्वजनिक ठाउँमा क्राइस्टलाई चुम्बन गरे। राज्यबाट चाँदीका तीस टुक्रा पाउने लोभमा उनले क्राइस्टलाई चिनाउने षडयन्त्र गरेको उल्लेख छ, बाइबलमा।

नर्वेका भिडकुन क्विसलिङ (क्विजलिङ्) रक्षामन्त्री छँदा राजा हाकोनलाई अपदस्थ गराउन जर्मन फौज बोलाए। उनी प्रधानमन्त्री पनि बनाइए,विदेशीको बलमा। सबै सत्य उजागर भएपछि उनले मृत्युदण्ड पाए। जुलियस सिजरको हत्या गर्ने जनरल मार्कस जुनियस प्राचीन रोमको इतिहासमा सर्वाधिक कुख्यात देशद्रोही मानिन्छन्।

सन् १७५९ मा पहिलोपल्ट अंग्रेजीमा ‘एन्टी नेसनल’ (राष्ट्रियता विरोधी) शब्दावली प्रयोग गरिएको कुरा मरिअम डिक्सनरीमा छ। फ्रेन्चहरूले प्राचीन धर्म–संस्कति, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र परम्परा बिथोल्नेहरूलाई पनि ‘राष्ट्रियता विरोधी’ भनेका छन्।

देशको माया गर्ने सबैलाई देशभक्त भन्छ, साहित्यले। राजनीतिशास्त्र भन्छ– ‘राष्ट्र बलियो बनाउन विदेशीपन त्यागेर आत्मसम्मान जगाउने राष्ट्रवाद चाहिन्छ।’ विदेशी पैसा, कला, संस्कृति, धर्म र हस्तक्षेप भित्र्याएर पनि राष्ट्रलाई धनी बनाउन सकिएला तर राष्ट्रवादले त्यो छूट दिँदैन। नेपाललाई बलियो र चिरायु बनाउन राष्ट्रवादी नेता नै चाहिन्छ भन्नुको तात्पर्य यही हो।

भारतका प्रथम सहिद सरदार भगतसिंहले दिल्लीको ‘एसेम्ब्ली’ भवनमा बम प्रहार गरेपछि उनीविरुद्ध अंग्रेज शासकले राष्ट्रद्रोहको मुद्दा चलायो। यो सन् १९२८ को कुरा हो। बयानका क्रममा भगतसिंहले कलकत्तामा कानुन पढिरहेका नेपाली (गोर्खाली) युवक खड्गबहादुर सिंह बिष्टबाट आफूले प्रेरणा पाएको बताएका छन्।

डोटी पुख्र्यौली घर भएका खड्गबहादुर भारतीय सेनाका जमदार रूपसिंहका छोरा हुन्। हीरालाल अग्रवाल नामको व्यापारीले राजकुमारी ठकुरीलाई घरेलु कामदारका रूपमा कैदी बनाएर हरेक दिन बलात्कार गरेको जानकारी पाएपछि नेपाली युवतीको अस्मितासँग खेलबाड गर्ने हीरालाललाई खड्गबहादुरले काटिदिए।

सो घटनाले ठूलो रूप लियो। पत्रपत्रिकामा प्रथम पृष्ठमा खबर छापिए। हजारौँ लेख, सम्पादकीयहरू आए। महिला रक्षाका लागि ठूलो काम गरेको भन्दै अंग्रेज शासकका पत्नीहरूसहित लाखौँ मानिसले प्रदर्शन गर्न थाले।

ब्रिटेनको छातामुनि रहेका हालको पाकिस्तान,भारत, बर्मा सबैतिर ‘गोर्खाली युवकले ठीक गरे’ भन्दै जुलुस निस्कियो। भारत तरंगित भयो। अन्त्यमा मृत्युदण्डबाट खड्गबहादुरले उन्मुक्ति पाए (मैले आफ्नो निवन्ध संग्रह ‘लाभा’ मा ‘छोरो हुनु त खड्गबहादुर जस्तो’ शीर्षक निवन्धमा यसबारे विस्तृत व्याख्या गरेको छु)।

भारतका प्रथम सहिदलगायत हजारौँ युवाको हृदयमा क्रान्तिको ज्वाला दन्काउने रगत आज सेलाएको छ। पद, पैसा, प्रतिष्ठाको लोभमा वास्तविकता र आफ्ना कमी/कमजोरी ढाक्ने प्रवृत्ति बढ्दैछ। धेरैपल्ट अनुयायी, मतदाता र सर्वसाधारणलाई ढाँट्ने काम गरेर बाटो बिराएपछि कमल हुन् वा पुष्पकमलहरू, सबै निर्वस्त्र बन्दै गएका छन्। राजनीतिलाई उद्योग, व्यापार, सेयर बजार वा विशाल बजार बनाउने प्रवृत्ति देखेपछि मतदाताले सधैँ मौनधारणा गर्दैनन्, विद्रोह गर्छन्। यस्ता दृश्य अहिले देख्न पाइन्छ।

हालै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको चुनावमा आफूलाई मात्र सर्वज्ञ, सर्वोपरि, सर्वोच्च र सुयोग्य ठान्ने ‘मेगालोमेनिया’ प्रवृत्तिको पराजय भएको छ। कुनै पनि पदको चुनावमा जय/पराजय हुनु अस्वाभाविक होइन तर ‘सधैँ सबैलाई मुर्ख बनाउन सकिँदैन’ भन्ने पाठ सिकाएको छ, यो घटनाले।

पराजयको समीक्षा र वस्तुनिष्ठ (अब्जेक्टिभ) विश्लेषण गर्नुको सट्टा राजा महेन्द्रका माहिला सुपुत्रका कारण आफू परास्त हुनुपरेको दोषारोपण गरेपछि छत्रबहादुर थापाका माहिला छोराको राजनीतिक कद अरू घटेको धेरैले टिप्पणी गरिरहेका छन्।

पुष्पकमल दाहाल र कमल थापा फरक ध्रुवका नेता भए पनि केही कुरामा समानता पाइन्छ। जनताले पार्टीलाई दिएको मत परिवारका सदस्यका लागि पुरस्कार दिएर बदनाम भएका उनीहरू अहिले आफूअनुकूल नहुँदा अरूलाई दोष थोपर्दै निहुँ खोज्न थालेका छन्।

पुष्पकमलले नेताहरूले पद खोजेको भन्दै पार्टी नै विघटन गर्ने धम्की दिन्छन् भने कमल थापा पूर्वराजाबाट आफूलाई असहयोग भयो भन्दै राजतन्त्रको मुद्दा छाड्ने मनस्थितिमा पुगेको उद्घोष गरिरहेका छन्। राजा र राजतन्त्रप्रति आस्था नहुनेहरूका लागि गणतन्त्रको बजार सदैव खुला छ, तसर्थ आफ्ना सामान बेच्न त्यहाँ पनि जान सक्छन्।

वचन र कर्म गलत नै भए पनि त्यसलाई नसच्याउने,पद एवं सत्ताका लागि तुरुन्त जोसँग पनि ‘एकता’ गर्ने, दलका अन्य सबैलाई कारिन्दा मात्रै ठान्ने, रणनीति र कार्यनीतिका नाममा अडान र सिद्धान्त बिर्सिने र अवसरवादलाई नै ‘वाद’ मान्ने प्रवृत्ति कमल र पुष्पकमल दुवैमा पाइन्छ।

त्यसो त यो रोग धेरैमा देखिन्छ तर अरू दलका कैयन् नेताले समकालीन, शुभेच्छुक र पदाधिकारीको सुझाव लिएर काम गरेको पाइन्छ। ‘म नै आत्मा हुँ’ (अहम् ब्रहमास्मि) ठान्ने प्रवृत्ति दुवैमा छ। ‘सबै प्राणीको हृदयमा म बसेको छु’ (सर्वस्य चाहं हृदि सन्निविष्टो) भनेका छन्, भगवान कृष्णले। त्यस्तो सर्वव्यापी हुँदैनन्,राजनीति गर्नेहरू।

बाहु नामका राजा थिए, वृकका छोरा। बाहु राजाका छोरा थिए सागर। उनका साठी हजार छोरा थिए भन्ने प्रसंग आउँछ, पौराणिक कथामा। राजा बाहु परोपकारी,प्रबल र ज्ञानी थिए तर अभिमान बढ्दै जाँदा उनले उल्टा काम गर्न थाले। लाखौँ प्रजा उनीसँग चिढिए।

लोकप्रिय हुन्जेलमात्र शासक शक्तिशाली हुन्छन्। अलोकप्रिय भएपछि उनको सर्वत्र विरोध हुन थाल्यो। अन्त्यमा, शत्रुको हमलामा परेर उनी परास्त भए। दुईजना पत्नीसहित वनमा छाप्रो बनाएर बसे। जंगलमै राजाको मृत्यु भयो। दुई रानी और्वमुनिको आश्रममा शरणार्थी भए।

वैमनस्य बढ्दै जाँदा जेठी रानीले कान्छी रानीलाई विष खुवाइन्। तर ऋषिको प्रतापले कान्छी रानीको पेटमा रहेको बालकलाई केही भएन। रानी बाँचिन्। गर् (विष) सहित पैदा भए सगर। युवक भएपछि उनले गुमेको राज्य फर्काउन र मातापितालाई वनवासी बनाउने सबैलाई प्रतिशोध लिने प्रण गरे।

राजा भगीरथ र राजा रामचन्द्र (भगवान) का पूर्वज हुन सगर। दुई जना रानी केशिनी र सुमतिबाट सन्तान नभएपछि उनी भृगुऋषिको आश्रममा हिमालय क्षेत्रमा पुगे। भृगुको आशीर्वादले साठी हजार छोरा भए। अश्वमेध यज्ञ गर्दा सगरले हजारौँ घोडाहरूको सुरक्षाका लागि सबै छोरालाई खटाए।

हराएका घोडाहरू खोज्दै कपिलमुनि ऋषिको आश्रममा पुगेर ‘हाम्रा घोडा तिमीले चोरेका रहेछौ’ भन्ने बात लगाएपछि उनकै श्रापले सगरका साठी हजार छोरा मरे। सोही वंशका राजा भगीरथले स्वर्गबाट गंगा नदी ल्याएर जलसिँचन गरेपछि सगरका सबै छोराले पुनर्र्जीवन पाए।

एउटा दुर्वचनले सखाप बनायो,सगरका छोराहरूलाई। भगीरथ–प्रयत्नले पुनर्जीवन मिल्यो, उनीहरूलाई। यो कथा नेपालका राजनीतिज्ञहरूका लागि प्रेरक बन्न सक्छ। दुर्वचनमा ‘ब्रेक’ लगाउन सकेनन् भने जनतारूपी सरोवरमा फुलेका र विदेशी धनको गमलामा फुलाएका कमल, पुष्पकमल, इन्द्रकमल, जलकमल, सबै दुर्गन्धित मल बन्ने निश्चित छ।

प्रकाशित: २४ मंसिर २०७८ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App