१७ माघ २०७९ मंगलबार
विचार

लोकतन्त्रमा सुखको साइना

बाइरोडको बाटोमा

मुलुकमा प्रजातन्त्र आएको ३० वर्ष पुगिसकेको छ। पञ्चायत ३० वर्षमै ढलेको इतिहास छ। पञ्चायत र प्रजातन्त्रसमेत गर्दा हाम्रा मूल्यवान ६० वर्ष व्यतीत भइसकेका छन्। सामान्यतः २० वर्ष भनेको एउटा नयाँ पुस्ता तयार हुने समय हो। यस हिसाबले पनि तीन पुस्ता ‘राम्रा दिन’ को प्रतीक्षामै बितिसकेको छ।

अबका केही वर्षमै हाम्रै पुस्ता पनि मुलुकको ज्येष्ठ नागरिकको स्थानमा पुग्छ। कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, बिपी कोइरालाजस्ता नेतालाई देख्न पाएको अहिले जस्तो लाग्छ। यी नेता बितेपछि अरूले त्यो स्थान लिएका छन्। शेरबहादुर देउवा, खड्गप्रसाद शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, कमल थापालगायतका नेता यतिबेला सक्रिय छन्।

केही वर्षमा यी कोही पनि हुने छैनन्। हामी पनि हुने छैनौं। देश रहिरहनेछ। रिक्त स्थानमा नयाँ नेता आउनेछन्। हाम्रा पनि सन्तान आउने छन्। यो सिलसिला चलिरहन्छ। यतिबेला मुलुकको छट्पटीको विषय भने अर्कै हो। वास्तवमा कोही नेताप्रति पनि आमनागरिकका सम्मान नहुनु पछाडि तिनको जीवनको कठिनाइ कम नहुनु हो। मुलुकमा परिवर्तनपछि जे हुन्छ भनिएको थियो, त्यो पूरा नहुनु नै अहिलेको विडम्वनापूर्ण स्थिति हो। आन्दोलनका समयमा यिनै नेता प्रिय हुने आज नहुने हुन्छ र? यसो हुनुको एउटै कारण सपनाको विस्कुन मात्र हो।

लोकतन्त्र सबै भन्दा उम्दा राजनीतिक व्यवस्था हो। राजनीतिक व्यवस्था त्यतिबेला मात्र उम्दा हुन्छ, जतिबेला यसको सञ्चालन उत्कृष्ट हुन्छ। अहिले भएकै नेतालाई पनि एक्लै गएर भेट्ने हो भने तिनमा पनि त्यही छट्पटी देखिन्छ। ती पनि उत्तिकै शालीन र मुलुकप्रति चिन्तित पाइन्छन्। तर जब सिंहदरबारको कुर्सीमा पुग्छन्, त्यतिबेला तिनको हात केले बाँध्छ भन्नै सकिन्न।

मंसिर महिनामा धेरैले घरजम गर्छन्। बिहाबारीको मात्र होइन, यो दलहरूको समेत महाधिवेशनको मौसम हो। प्रत्येक पाँच वर्षमा दलको नेतृत्व परिवर्तन हुनुपर्ने हो। यसपटक नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलसमेत महाधिवेशनको क्रममा छन्। नेतृत्व भने धमाधम उही आइरहेको छ। अपेक्षा भने राम्रो नेतृत्वको छ। दलभित्रको आन्तरिक संरचनाले नेतृत्व परिवर्तन गर्न सकेन। त्यसैले अबका केही वर्ष अहिलेकै नेतृत्वबाट परिवर्तनको अपेक्षा गर्नुपर्ने देखिन्छ।

हामीकहाँ अहिले पनि व्यक्तिबाटै परिवर्तनको अपेक्षा हुने गरेको छ। पञ्चायतका बेलामा राजा ठीक महारानी बेठीक भन्ने सुनिन्थ्यो। अहिले पनि फलाना नेता ठीक ढिस्काना बेठीक भनेको सुनिन्छ। वास्तवमा अहिलेको प्रणालीभित्र छिरिसकेपछि जति राम्रो नेता आए पनि परिणाम उही हो। संरचनागत परिवर्तन नभई अपेक्षित परिणाम प्राप्त हुन सक्दैन।

लोकतन्त्र असल राजनीतिक प्रणाली भए पनि यसलाई टिकाउन संस्थागत संरचना ठीक बनाउनुपर्ने हुन्छ। लोकतन्त्रका संस्था बलिया नभई हामीले खोजेको परिवर्तन सम्भव छैन। व्यक्तिको करिश्मामा आधारित परिवर्तन दिगो हुँदैन। व्यक्ति केही वर्षका निम्ति आउँछन्, फेरि जान्छन्। संस्था बसिरहन्छन्। त्यसैले मुलुकको लोकतन्त्र बलियो बनाउन संस्था निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ।

लोकतन्त्रका कर्ता भनेका नेता हुन्। नेता कहाँबाट आउँछन्? यही समाजबाट। दल यही समाजको संरचनाभित्रका व्यक्तिहरूले बनाउँछन्। त्यसैले पहिलो काम दलमा सुधार हो। दलहरूको लोकतन्त्रीकरणबिना राम्रा नेता आउनै सक्दैनन्। पुराना नेताको अवसान नभई नयाँ नेता आउन नसक्ने परिपाटी अहिले बनाइएको छ। नेता त्यही राम्रो हो, जसले आगामी नेतृत्वका निम्ति पंक्ति तयार पार्छ। म मरेपछि देश कसरी चल्ला भनेर घर्सिरहनु जरुरी छैन।

नेतृत्व युवा वा वृद्ध जस्तो आए पनि त्यसलाई चलाउन सक्ने संयन्त्र सधैँ सक्रिय हुनुपर्छ। त्यसपछि मात्र लोकतन्त्रले अपेक्षित परिणाम दिन सक्छ। लोकतन्त्रलाई काम गर्न दिने गरी प्रणाली बनाउने भन्दा भत्काउने काम भएपछि कसरी देश अगाडि बढ्छ? सामयिक सुधार गर्न नसकेपछि जस्तोसुकै लोकतन्त्र पनि ढल्छ। यो अनुसन्धानले पुष्टि गरिसकेको पक्ष हो। लोकतन्त्रको गीत गाएरमात्र पेट भरिँदैन। नागरिकको पेट भरिने र सपना पूरा हुने भएपछि व्यवस्था र नेतृत्वप्रतिको गुनासो कम हुन्छ।

राजीव उपाध्यायले आफ्नो पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ मा राजनीतिक अर्थशास्त्रीहरूले सरदर आय र लोकतन्त्रको आयुबीच गहिरो सम्बन्ध रहेको चर्चा गरेका छन्। न्युयोर्क युनिभर्सिटीका प्राध्यापक आदम प्रजेवसर्कीका अनुसार एक हजार अमेरिकी डलर (१ लाख २० हजार रुपियाँ) भन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकको लोकतन्त्र १२ वर्ष टिक्छ। जुन मुलुकको प्रतिव्यक्ति आय ६ हजार अमेरिकी डलर (७ लाख २० हजार रुपियाँ) भन्दा बढी हुन्छ, त्यहाँमात्र लोकतन्त्र टिक्छ।

भारतको प्रतिव्यक्ति आम्दानी ६ हजार अमेरिकी डलर नपुगे पनि यसका आफ्नै केही अद्वितीय कारणले लोकतन्त्रले निरन्तरता पाएको विश्वास गरिन्छ। भारतको लोकतन्त्र बलियो हुनुमा त्यहाँको कर्मचारीतन्त्र, सेना, न्यायालय र सशक्त प्रेसलाई लिइन्थ्यो। नरेन्द्र मोदीको सत्तारोहणसँगै त्यहाँको स्वतन्त्र प्रेस धराशायी भइसकेको छ। त्यहाँको लोकतन्त्र अहिले सत्ताले जसरी लैजान्छ, त्यसरी अघि बढ्ने भइसकेको छ। प्रेसले स्वतन्त्र ढंगले लेख्न पाएको भए किसान आन्दोलन एक वर्ष भन्दा बढी लम्बिने थिएन। किसान विरोधी भनी चिनिएको विधेयक फिर्ता लिन लामो समय लाग्ने थिएन। प्रेसले निरन्तर लेख्दै जाँदा सरकारको ध्यानाकर्षण हुन सक्थ्यो। त्यो आन्दोलनका कारण मात्र ७ सय किसानको मृत्यु भएको छ। यत्तिका मृत्यु हुँदा शासन व्यवस्था ढल्न बेर लाग्दैन। यसकारण पनि भारतको लोकतन्त्र आफ्नै किसिमले अगाडि बढेको ठानिन्छ।

हाम्रो लोकतन्त्र भिन्न परिस्थितिमा आएको हो। प्रत्येक दशकजस्तो परिवर्तन हुँदै अहिलेसम्म आइपुगेको हो। यसमा अझै सन्तुष्ट हुने अवस्था आइसकेको छैन। हामीकहाँ व्यक्ति भन्दा पनि प्रणालीगत व्यवस्था बलियो होस् भन्ने चाहना देखिन्छ। यहाँको प्रणाली सशक्त तुल्याउन जुन नेतृत्वले काम गर्न सक्छ, त्यही नेतृत्व यहाँ लोकप्रिय हुँदै जान्छ। हामीकहाँ आफू राम्रो काम गरेर लोकप्रिय हुने भन्दा पनि व्यक्ति बलियो हुने अधिनायकवादी सोच जहिल्यै हावी भएको छ। आफूलाई लोकतन्त्रको हिमायती ठान्ने व्यक्ति पनि शासन सत्तामा पुगेपछि अधिनायकवादी सोचले ग्रस्त भएको देखिन्छ।

लोकतन्त्रका सरकार पाँच वर्षका निम्ति छानिन्छन्। पाँच वर्षभित्र इमान्दारीपूर्वक सरकार चलाउने हो भने अर्को पाँच वर्ष फेरि दोहोर्‍याउन सकिन्छ। त्यसका निम्ति आमनागरिकले आफैँ मूल्यांकन गर्छन्। हामीकहाँ भने आफैँ निरन्तर सत्तामा रहिरहने सोच सबै भन्दा घातक छ। आफूले जिम्मेवारी पाएको समयलाई इमान्दारीपूर्वक सम्पन्न गरिसकेपछि थप समयावधिका निम्ति लोभ नगर्ने नेताहरूले मात्र हाम्रो मुलुकमा अहिले देखिएका समस्या समाधान गर्न सक्छन्।

मानिस सीमित समय लिएर आएका छन्। तिनले जति दिन हुन्छ, राम्रो छाप छाड्ने गरी काम गरे पुग्छ। जति दिन सिंहदरबारको कुर्सीमा बसिन्छ, ठीक ढंगले काम गरिन्छ र बाँकी समय ती गौरवपूर्ण कामको सम्झना गर्दै समय व्यतीत गरिन्छ भन्ने सोच अहिले आवश्यक भएको छ। वास्तवमा अहिलेको राजनीतिक नेतृत्व अलोकप्रिय हुनुको कारण तिनले आफू पछिको पुस्तालाई पनि काम गर्न नदिई ज्येष्ठ नागरिकको पंक्तिमा पुर्‍याइसकेका छन्।

यसपटक एमाले महाधिवेशनमा भीम रावल अध्यक्ष पदका निम्ति उम्मेदवार भए। अर्को महाधिवेशन हुँदा उनी एमालेको कार्यकारी पदमै बस्न लायक हुने छैनन्। ७० वर्षे हद लगाएको दलले त्यसअघि नै प्रतिभावान नेताहरूलाई नेतृत्वमा पुर्‍याउने हुनुपर्थ्याे। स्थिति त्यस्तो रहेन। त्यसैले सामयिक परिवर्तन गर्दै जान सक्ने राजनीतिक संरचना अहिलेको आवश्यकता हो। लोकतन्त्र भन्दा राम्रो राजनीतिक व्यवस्था अर्को छैन। त्यसलाई बढ्ता लोकतन्त्रयुक्त बनाउन प्रयास गर्नु नै अहिलेको उद्देश्य हुनुपर्छ। अन्यथा, हाम्रो समय यसै व्यतीत भएर जान्छ, नागरिकले सुख पाउँदैनन्।

@gunaraj

प्रकाशित: १९ मंसिर २०७८ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App