१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

लैंगिक समानता : नयाँ ढंगले सोच्ने कि?

नयाँ सोचले नयाँ शब्द सिर्जना गर्छ र नयाँ भाषाको प्रयोगले नयाँ संस्कृति र नयाँ सभ्यता विकास गर्न सघाउँछ। लैंगिक समानताका लागि महिला पुरुष र तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी छ। यसका लागि मानववादी सोच आवश्यक छ।नयाँ सोच : लैंगिक समानताका लागि हामीले समानता खोज्नुपर्योर, भिन्नता होइन। हामी अरुभन्दा भिन्न छौं र विशिष्ट छौं तर हामीलाई आफ्नो विशिष्ठता खोज्नेभन्दा समानता खोज्ने, अरुभन्दा अलग्गै ठान्नेभन्दा समान मान्ने सोच चाहिएको छ। यसरी समानता खोज्ने हो भने हामी सबै लिंगी सर्वप्रथम मानव हौं। यसैले लैंगिक समानताका लागि मानववादी सोचको विकास जरुरी छ। यसले हामी एकले अर्कालाई म, ऊ, उनीहरु सबैजना ‘हामी' बन्न पुग्छौं। अनि हामीभित्र सबै महिला, सबै पुरुष र सबै तेस्रो लिंगी, सबै अपांग एकै ढिक्कामा अटाउन पुग्छौं। यो सोचले विस्तारै हामीलाई हामी जस्तै विशेषता भएका अन्य जीवसँगको समानता खोज्न र डार्बिनवादीले भनेजस्तै सबै प्राणी हाम्रो आफन्तका रूपमा सोच्न सिकाउँछ। यसले कुकुरलाई पनि माया गर्ने, पूजा गर्ने अनि सर्पलाई पनि संरक्षण गर्ने अनि पूजा गर्ने साथै गाईलाई गौमाता भनेर सम्मान गर्ने सोच विकास गराउँछ। यो नयाँ सोचको विकास भएका नयाँ ‘हामी' ले आफ्नै आमा, दिदीबहिनी, छोरी, श्रीमतीप्रति माया, आदर, सम्मान गर्छौं। हामी मानववादी सोच भएका मानव हुन सक्यौं भने सबै मानिस समान हुन् र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सरल निष्कर्षमा पुग्छौं। यसैले महिलाका लागि महिलावाद, पुरुषका लागि पुरुषवाद, जातिका लागि जातिवाद अनि मेरालागि मवादको जिन्दावाद र अरुवाद मुर्दावादको टुक्रे वादहरुलाई मानववादी सोचले विस्तारै विस्तापित गर्ने नवीन सोचतिर लाग्नु उचित होइन र? हामी टुक्रेवादभन्दा मानववादी हुनु असल होइन र? मानववादले महिला, पुरुष अनि तेस्रो लिंगीले उठाएका समानताका विषय समेट्न सक्दैन र? 
नयाँ बोली : नयाँ सोचको विकासका लागि शब्दले महत्वपूर्ण भूमिका खेल्छ। हामीले महिलालाई कमजोर ठान्ने र उनीहरुलाई ‘आइमाई' बनाउन सिर्जना गरिएका शब्दहरुमाथि तीखो आक्रमण गर्नु जरुरी छ। एकलाई अग्लो र अर्कालाई होचो देखाउन प्रयोग गरिने भाषामा परिवर्तन आवश्यक छ। शब्द मानवका सिर्जना हुन्। मानववादी भएर नयाँ शब्द सिर्जना गरौं। के हामीले महिला, पुरुष र तेस्रो लिंगीका मानव समुदायबीच खाडल सिर्जना गर्ने, भेदभाव बढाउने, असमानता फैलाउने र घृणा सिर्जना गर्ने शब्दहरु निर्मूल गर्नु आवश्यक छैन र? पृथ्वीमा आधा संख्यामा रहेका महिलालाई भेदभाव गरेर, अपमान गरेर अनि आधा सभ्यतालाई अँध्यारोमा राखेर के मानव समाज सभ्य, सुखी र उज्यालो हुन सक्छ? नयाँ शब्दको विकास नयाँ सोचको उपज हो। नयाँ सोचले केवल नयाँ शब्दको विकास गर्नेमात्र नभई पुराना शब्दहरुको अर्थ विस्तार गरेर शब्दको अर्थ परिमार्जनसमेत गर्नु जरुरी छ। पोथी बास्न हुन्न भनेर महिलाको आवाज दबाउने जस्ता भनाइ, उखान, टुक्का, गाउँखाने कथा, धार्मिक कथाहरुलाई हामीले केवल सरकारी पाठ्यक्रमबाट मात्र हटाएर पुग्छ र? यसलाई हामीले प्रत्येक मानिसको जनजिब्रोबाट नहटाएसम्म महिलाले आफ्नो दैनिक जीवनमा असमानता, भेदभाव र अपमानको अनुभूति गरिरहनुपर्छ। यसैले यस्ता शब्दविरुद्ध हामीले भाषिक आन्दोलन थाल्नु आवश्यक छैन र? हामी सबै मानव हौं भने श्रीमान्लाई तपाईँ भन्नुपर्ने तर श्रीमतीलाई तँ जस्तो तल्लो स्तरको शब्द प्रयोग गर्ने चलन बदल्नुपर्दैन र? के गरिब र कमजोर महिलालाई बोक्सीको आरोप लगाउने, विवाहमा दाइजो दिनुपर्ने समाज सभ्य हुन सक्छ? सोच बदलिएको हो भने हाम्रोे भाषा बोली र व्यवहार पनि बदल्नुपर्छ। यदि महिला र पुरुष समान हुन् भने किन महिलाका परिवारले मात्र पुरुषका परिवारलाई मान/सम्मान गर्नुपर्ने? ज्वाइँ र सालाको बराबर सम्मान किन नगर्ने? कन्न्यालाई वस्तु जस्तै दान गर्ने परम्परा बदल्ने समय आएन र? यस्ता प्रश्नको उत्तर हामीले खोज्नैपर्छ। हामीले हाम्रो बोली फेर्नैपर्ने बेला आएन र? 
नयाँ संस्कृति निर्माण : यदि हामीले हाम्रो सोच, हाम्रो बोली फेर्ने हो भने हाम्रो घर सभ्य हुन्छ। तल दिइएका केही अवस्था भएको परिवारमात्र सभ्य परिवार हो भनेर मान्ने हो भने हामी कति सभ्य छौं दूधको दूध पानीको पानी भइहाल्छ। हामी आफैं जाँच्न र जँचिन सक्छौं। यसैका आधारमा हामीले चाह्यौं भने सच्चिन पनि सक्छौं। 
केही अवस्था : सभ्य परिवारमा छोरा र छोरीबीच भेदभाव हुँदैन, महिला र पुरुषलाई फरक सम्बोधन गरिँदैन (जस्तै– पुरुषलाई हजुर तपाईँ र महिलालाई तिमी, तँ), विवाह गर्दा दाइजो लिनेदिने काम गरिँदैन। यसका साथसाथै विभिन्न चाडपर्व आदिमा महिलामाथि कामको बोझ बोकाइँदैन। कामको बाँडफाँट उचित किसिमले गरिएको छ। एकले अर्काको काममा सघाउने चलन छ। महिला र पुरुष दुवैको नाममा लालपुर्जा वा अन्य चल/अचल सम्पत्ति राखिएको छ र उनीहरुले आफ्नो सम्पत्ति किनबेचको निर्णय आफैं गर्न पाउँछन्। महिलालाई पर्दा पुरुषले र पुरुषलाई पर्दा महिलाले सहयोग गर्ने चलन चलेको छ। महिला र पुरुष दुवैको नाममा बैंक वा वित्तीय संस्थामा खाता खोलिएको छ र आवश्यक पर्दा सानोतिनो रकम आफैंले बचत र खर्च गर्न सक्छन्। कुनै महिला वा पुरुष जोसुकैमाथि पनि अन्याय हुँदा समाजका सबैजना मिलेर त्यसको विरोध गर्छन्। महिनावारी हुँदा महिलामाथि छुवाछूत गर्ने जस्तो तल्लो स्तरको व्यवहार गरिँदैन। सबैले आफ्नो क्षमता र आवश्यकताअनुसार पढ्न रोक लगाइँदैन। 
यदि पुरुषले महिलाको खुट्टा ढोग्नुपर्दैन भने महिलाले पुरुषको खुट्टा किन ढोग्नुपर्ने? कुनै शास्त्रमा लेखिएको छ भने त्यो शास्त्र फेरौं, के के गर्नुपर्ने हो गरिहालौं, थालिहालौं घरघरबाट, परिवार परिवारबाट। के अब पनि हामी सभ्य समाज निर्माण गर्ने संकल्प गर्न सक्दैनौं? अहिले पनि नगरे कहिले गर्ने? के हाम्रो समाजमा महिला र पुरुष बराबर भएको माथि उल्लेख गरिएजस्तो अवस्था सिर्जना गर्न ढिलो भएन र? नयाँ सोच र नयाँ जोशका साथ सबै मिलेर सबै मानवले सबैलाई मानवीय व्यवहार गर्ने बेला अझै भएन र? हामी विभिन्न वादका पछाडि लागेर मानववादी हुन बिर्सिएकै हो त? हामी मानव हौं भने हामी चेतनशील पनि हौं त्यसैले हामी सभ्य मानव बन्न ढिलो गर्नुहँदैन। 
अनुसन्धाता, काठमाडौं विश्वविद्यालय

प्रकाशित: ४ कार्तिक २०७१ २२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %