१५ माघ २०७८ शनिबार
विचार

आवश्यकता सामूहिक प्रतिबद्धताको

प्रस्ट देखिने र अनुभूति गर्न सकिने हरेक सामाजिक समस्यालाई मुख्यतः दुई किसिमले विश्लेषण गरिनुपर्छ–तार्किक र भावनात्मक। तार्किकताको पछाडि उपलब्ध डाटा हुन्छन् भने भावनात्मक पक्ष प्रत्यक्ष रूपमा सामाजिक अनुभूतिसँग जोडिएको हुन्छ।

विकसित आधुनिक विज्ञान प्रविधि तथा परिवर्तित प्राकृतिक वातावरणले विश्व यति तीव्र गतिमा परिवर्तित हुँदैछ जसबाट समाज र व्यक्ति अप्रभावित रहन सम्भव छैन। यसले विश्वदेखि व्यक्तिसम्मको आवश्यकता र अपेक्षालाई पनि तीव्रताका साथ परिवर्तित गर्दैछ अर्थात् भनौँ चलायमान बनाएको छ। जसले गर्दा ती परिवर्तित अपेक्षा र आवश्यकता बुझ्न आफूले विगतमा बुझेका कतिपय बुझाइलाई छाड्नुपर्ने, परिमार्जन गरिनुपर्ने र नयाँ तरिकाले पुनः बुझ्नुपर्ने चुनौती हरपल रहिरहेको हुन्छ।

अहिलेको समयमा नेपाली समाजको सतहमा देखिएका विभिन्न राजनीतिक अवस्थालाई नजिकबाट नियालेर विश्लेषण गर्ने हो भने कुनै पनि राजनीतिक दल समस्यारहित भेटिन्न। ती सबैका साझा जस्तो देखिने समस्यामा दलभित्रका गुटबन्दी,नेतृत्व वर्गसँगको दृष्टिकोणमा असमानता, विश्वास र सम्मानको अभावका साथै खुला दोहोरो सम्वादमा कमी रहेको प्रस्ट भेटिन्छ।

यसका पछाडि प्रमुख दुईवटा कारणलाई इंगित गर्न सकिन्छ। एकातर्फ समाजको आवश्यकता र अपेक्षा अनि राजनीतिक नेतृत्व तहले मस्तिष्कमा स्थापित गरेका बुझाइबीचको तादात्म्य नमिल्नु अनि आफ्नो सीमितता अर्थात क्षमता र साधनस्रोतको कमी स्वीकार्न नसक्ने प्रवृत्ति जसले गर्दा उत्पन्न अनपेक्षित अपेक्षाहरू पूरा गर्न असम्भव हुँदाहुँदै पनि बोकेर हिँडिरहने प्रवृत्ति।

त्यसैगरी देखिएका ती अतृप्त अवस्थाको अर्को कारण समाजको बदलिँदो सोच, दृष्टिकोण, चाहना र आवश्यकता पनि हो। समाजका अपेक्षा यति चाँडैचाँडै परिवर्तित हुँदैछन् कि पुराना कार्यशैली, प्रक्रिया र मूल्यांकन पद्धतिको उपयोगिता वर्तमान समयमा कतिपय अवस्थामा पूर्णतः अनुपयोगी बन्दैछ त कतिपय अवस्थामा परिमार्जनको पूर्ण खाँचो महसुस गरिएको देखिन्छ।

यसको सकस हरेक राजनीतिक दलमा भेटिन्छ। एक/अर्काप्रति घृणा ओकल्ने, आफ्ना सीमितता नबुझी असीमित अपेक्षा सिर्जना गर्ने, तत्कालीन फाइदालाई प्राथमिकतामा राख्ने जसको प्रभावले गर्दा ती सबै राजनीतिक दल आफूभित्र एक/अर्कालाई जोडेर राख्ने कडी कमजोर बन्दै बाहिरबाट टालिएको देखिए पनि भित्रभित्र जीर्ण भैसकेको अवस्थाको छनक दिन्छ जसले गर्दा कुनबेला कुन रूपमा कतिवटा समूह बन्छ र कता जोडिन्छ वा चुँडिन्छ त्यो आकलन गर्न नेतृत्व तहलाई समेत सम्भव छैन।

किनकि त्यहाँ स्थापित भाष्य(प्रवचन) मार्फत सिकिने र सिकाइने जुन परम्परागत पद्धति थियो त्यसको स्थानमा उपलब्ध उदाहरणले भूमिका खेल्न थालेको देखिन्छ। अर्थात् स्पष्ट रूपमा भन्ने हो भने नेतृत्व तहको हरेक कार्यको तार्किक विश्लेषणका साथै उक्त कार्यको परिणामले समाजलाई दिएका उदाहरणहरूले वर्तमान र भविष्यमा समाजलाई पार्ने असरसमेतको व्याख्या र विश्लेषण विभिन्न दृष्टिकोणले गरिने परम्परा बिस्तारै निर्माण हुँदै गएको देखिन्छ।

कतिपय विषय जस्तो कि नैतिक मूल्य/मान्यता, जवाफदेहिता र अमुख विषयप्रतिको दृष्टिकोण प्रायः नेतृत्व तहबाट तल्लो संरचनातर्फ सहजै प्रसारित हुँदै जाने सरल प्रक्रिया हो त्यतातर्फ हेक्का नराख्दा उक्त संरचनाभित्रका सम्बन्ध जोड्ने विश्वास र समर्पण खुकुलो हुँदै गएको देखिन्छ। जसमाथि ठडिएका संरचना स्वतः कमजोर हुने नै भए।

वर्तमानमा देखिएका राज्यका हरेक अंगका प्रत्येक संरचनाले सहज सफलतापूर्वक आफ्ना कार्य गर्न नसक्नुको पछाडि त्यसलाई दिशानिर्देश गर्ने नेतृत्व तहको समाजप्रतिको सोचाइ, बुझाइ र अपेक्षा अनि समाजको तिनका प्रतिको सोचाइ, बुझाइ र अपेक्षामा तालमेल नरहेको निष्कर्ष निकाल्न कठिन छैन।

यसले अर्को अति महत्त्वपूर्ण संकेत दिन खोजेको पनि देखिन्छ। त्यो के भने अब उपरान्त जुन पनि राजनीतिक दल होस् त्यसले आफ्नो परम्परागत सोच र कार्यशैलीलाई परिमार्जित गर्दै समाजको वर्तमान अपेक्षा र आवश्यकताहरूलाई सम्बोधन गर्नेतर्फ उन्मुख हुनुको विकल्प छैन।

ठूलो जनसमुदायबीच उभिएर विगतका विभिन्न समय र सन्दर्भमा स्थापित भाष्यहरूलाई जोडजोडले आफ्नो भाषणमा प्रयोग गर्दैमा समाजले विशिष्ट नेतृत्व क्षमताका रूपमा स्वीकार्न छाडिसके बरु ती भिड जम्मा गरिने प्रक्रियाप्रति प्रश्नहरू उब्जन थालेका देखिन्छ।

त्यसैगरी घाँटीदेखि अनुहारसम्म छोपिने फूलमालाले आजको दिनमा सम्मानको संकेतभन्दा पनि लाभान्वित समूहद्वारा गरिएको चाकडी व्यवस्थापनको एक स्वरूपका रूपमा बुझ्न थालिएकामा कुनै द्विविधा छैन।

आजको दिनमा एक व्यक्तिको जन्म भएपश्चात उसको परिवारदेखि विश्वसँग जोडिन आवश्यक क्षमता र पहिचानका लागि आवश्यक नीति र प्रक्रियाप्रति राज्यको संवेदनशीलता जस्ता अन्य थुप्रै परिवर्तित सामाजिक सोच र अपेक्षाहरूसँग राजनीतिक व्यक्तित्वहरूको सोच मिल्न अति आवश्यक छ।

विगतमा नेतृत्व तहले जे बुझाउन चाहन्थे त्यही बुझ्नुपर्ने अवस्था थियो भने अहिलेको समयमा सूचनाका विभिन्न स्रोत छन्। साथै अवस्था विश्लेषण गर्दै एक/अर्कासम्म पुर्‍याउने माध्यम पनि अनेक छन्।

त्यसले गर्दा विभिन्न आयामका आधारमा टेकेर दृष्टिकोण निर्माण र वितरण गर्नमा सघाउ पुग्दैछ। यस्तोमा जुनसुकै राजनीतिक दल जो वास्तवमै सफलता चाहन्छ त्यसले विगतका स्थापित राजनीतिक संस्कारलाई आजको आवश्यकताअनुसार परिमार्जित वा परिवर्तित नगरी सुखै छैन।

हरेक कुरा आफैँ गर्न सक्छु र गर्नु नै पर्छ भन्ने भ्रमबाट निस्कन जरुरी छ। अर्थात् आफ्ना सीमितता चिन्नु र स्वीकार्नु आवश्यक छ। विगतका विभिन्न स्थापित भाष्यलाई समय सान्दर्भिकरूपमा परिवर्तनको सुरुवात गर्ने चुनौती र जिम्मेवारीप्रतिको जवाफदेहिता बोध गर्न अब ढिला गरिनुहुँदैन किनकि यसले समाजको सोच, अपेक्षा निर्माणका साथै चेतनास्तरमा परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेल्छ।

सामाजिक संगठनहरूमा देखिएका अस्तव्यस्तताले समाजलाई परेको प्रभाव अनि त्यसको परिणामले जन्माएको अन्योल कसैबाट लुकेको छैन। यसको कारण अनेक छन् तर राजनीतिक नेतृत्व तहले मुख्य जिम्मेवारी लिनैपर्छ किनकि राजनीतिको भूमिका र अधिकार सार्वजनिक हितअनुकूलको नीति बनाउनेसम्म मात्रै होइन, त्यसको प्रभावकारी कार्यान्वयन र परिणामले परेको प्रभावको अवलोकनपश्चातको परिमार्जनसम्म रहेको हुन्छ। जसलाई विगतमा झैँ बेवास्ता गरी लामो समयसम्म विगतकै प्रक्रिया र शैली अपनाइरहने हो भने यसले अपेक्षित सकारात्मक रूपान्तरणलाई सहयोग नगर्न सक्छ।

त्यसैगरी शिक्षालाई समाजसँग जोड्न नसक्दा सूचना र जानकारीहरू जतिसुकै थुप्रिए पनि समाजका भौतिक र अभौतिक संरचनाहरू बुझ्न र त्यसभित्रका विभिन्न अवयवबीचको जोड्ने कडी निर्माणमा शिक्षाबाट सम्भावित योगदान निर्माण गर्न सकिएन।

समाजका समस्या विभिन्न माध्यमले सतहमा आइरहे पनि त्यसलाई बुझ्ने र समाधान गर्ने मुख्य भूमिकामा रहेका नेतृत्व वर्गले सम्बन्धित संरचनालाई सशक्तीकरण गर्न नसक्दा हरेक समस्या समाधानका लागि एक किसिमको राजनीतिक परनिर्भरता बढाउँदै लगियो। जसले गर्दा राजनीतिक संगठनप्रतिको असीमित अपेक्षा जन्म भयो।

अर्कोतर्फ समाजले जसलाई समस्या समाधानका लागि ताके ती व्यक्ति र निकाय सिर्फ समस्याको व्याख्यामा वा दोषारोपणमा तल्लीन भइदिँदा समाजलाई निराशा र क्षयीकरणतर्फ डोर्‍याउन उक्सायो जसमा मलजल गर्न अनेक हात सम्लग्न हुँदै गए।

हुन् त नेतृत्व तहसँग समाजले गर्ने अपेक्षा भनेको समस्याको निकास, गन्तव्यतर्फको स्पष्ट कार्यदिशा र आधारसहितको योजनाका साथै लक्ष्य प्राप्तिका रणनीति हो जबकि तिनको भूमिका मूकदर्शक, लोभलापको बिलापमा तल्लीन,आपसी कलह र असन्तुलित शक्ति बाँडफाँटमा लिप्त,हरेक असफलताका लागि आआफ्नो झुण्डसहित एक/अर्काप्रति दोषारोपणमा व्यस्त र आफैँमा मस्त अनि उर्लँदो सामाजिक समस्याहरूप्रतिको तिनका खतरनाक रहेको देख्दा नेपाल आमालाई निस्वार्थ माया गर्दै मुटुमा साँच्नेहरूको चिन्ता र चासो बढ्दै जानु स्वाभाविक हो।

अहिले नेपाली समाजले राजनीतिक नेतृत्वहरूसँग गरेका सामान्य दुईवटा नितान्त  महत्त्वपूर्ण अपेक्षा भेटिन्छ। एउटा कृषि उत्पादनले स्वनिर्भर बन्ने वातावरण निर्माण र अर्को शिक्षामा राजनीतीकरण नगर्ने सामूहिक प्रतिबद्धता।

पछिल्लो समयमा कुनै पनि राजनीतिक दलले विद्यालय बन्द गरी गर्ने कार्यक्रम, शिक्षकलाई आफ्नो राजनीतिक कार्यकर्ता बनाउने परम्परागत अभ्यास,विद्यालयका विद्यार्थीलाई सडकमा उतार्ने र नारा लगाउन प्रयोग गर्ने जस्ता व्यवहारहरूको विरोध स्वयम् ती राजनीतिक आस्थामा आबद्ध रहेका इमान्दार व्यक्तिले समेत गर्न थालेका छन्।यसले के सन्देश दिन्छ भने परिवर्तित अपेक्षा र आवश्यकतालाई बुझ्नुको विकल्प छैन। विरोधकै लागि विरोध र लाभका लागि गरिने अन्धभक्तिलाई धेरै लामो समयसम्म बोक्ने आवश्यकता नरहेको स्पष्ट हुन्छ।

हरेक मञ्चमा एक्लाएक्लै हुँदा राजनीतिमा भित्रिएको विकृति अनि त्यसबाट समाजमा परेको नकारात्मक प्रभावको खुलेर विस्तृतरूपमा आलोचना गर्ने र त्यस्ता विकृति अन्त गर्न आफू र आफ्नो राजनीतिक दल कटिबद्ध रहेको आश्वासन शब्दमार्फत छर्ने नेतृत्व तहहरू मिलेर सबै राजनीतिक दल एकसाथ ती विकृति हटाउन किन इच्छुक देखिँदैनन्?

पद र साधनस्रोतको भागबन्डामा सहजै सहमति र सहकार्य जुट्ने स्थापित राजनीतिक संस्कारमा सर्वसाधारण नागरिक हितलाई केन्द्रीकृत गरी विकृतिविरुद्ध सहकार्य गर्न किन सहमति जुट्दैन? यी हुन् आजका समाजले गर्न चाहेका यक्ष प्रश्न जसको जवाफ जान्न व्यग्रताका साथ प्रतीक्षारत छ समाज।

हरेक सामाजिक संस्था एक: अर्कासँग प्रत्यक्ष र परोक्ष रूपमा सहकार्य गरिरहेका हुन्छन् र एकको कार्यक्षमता र शैलीमा आएको परिवर्तनले अर्को सामाजिक संस्थालाई प्रभावित पारेको हुन्छ। अन्ततः पूरै परिणामलाई अहिलेको परिवेशमा हेर्ने हो भने समाजको प्राथमिक संस्था परिवारदेखि लिएर राजनीतिकसम्मका संरचनामा उत्पन्न परिवर्तित अवस्थालाई महसुस गर्दै त्यसलाई अनुकूल हुने वातावरण निर्माणसँगै त्यसैअनुरूपको कार्य र व्यवहारको आवश्यकता छ ताकि परिवर्तित संरचनाले उत्पन्न परिवर्तनहरूलाई सही दिशा दिँदै सम्बन्धहरूको क्षयीकरण रोक्न सकियोस्। अनि सामूहिक प्रतिबद्धता निर्माण गर्दै स्वस्थ र समृद्ध समाज निर्माणतर्फ साझा प्रयासमार्फत परिणाम महसुस गराउन सकियोस्।

जसका लागि आवश्यक छ सामूहिक प्रतिबद्धताको र हेर्न बाँकी छ कुन राजनीतिक दलले कसरी यसका लागि इमान्दार प्रयास अगाडि सार्छन्? अनि कसले कसरी सहकार्य गर्छ? किनकि यसले नेपालको भविष्य कोर्न अहम् भूमिका खेल्नुका साथै राजनीतिक दलको समेत अस्तित्वलाई प्रभावित पार्ने निश्चित छ।

(समाजशास्त्री )

प्रकाशित: १३ मंसिर २०७८ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App