१२ जेष्ठ २०७९ बिहीबार
विचार

समय प्रवाह: प्याट्ट फुटेको घाउ

आफ्नो यो सोमबारको पृष्ठका लागि लेख्न बस्दा अनायास २०३७ साल कुनै दिनको त्यो दृश्य ठ्याक्कै मेरो आँखाअगाडि आएको छ अहिले।

जयबागेश्वरीस्थित निर्माण पूरा नभएको सिमेन्टको घरको दोस्रो तल्लाको पश्चिम फर्केको सानो कोठा। त्यहाँ छिर्न हलबाट एक या दुई सिडी तल झर्नुपर्थ्यो। पश्चिमपट्टि भित्तामा टाँसिएको एउटा सानो टेबुलमा पुस्तक र लेख्ने पेपर। र,त्यसको अगाडिको एउटा कुर्सी उत्तर फर्काएर एउटा युवक बसेका छन्।

पूर्व–पश्चिम गरेको साधारण खाटमा एउटा वृद्ध दक्षिण युवकतिर फर्केर आँखा जोडेर बसेका छन्। साधारण प्लास्टर गरेको कोठा र भुईँमा अरू केही सामान छैन। न अरू कोही छन् यी दुईबाहेक त्यहाँ।

सेतो कुर्ता सुरुवाल लगाएका फिस्सफिस्स मीठो हाँसो हाँसिरहने ती वृद्ध एकदम गम्भीर भएर बिस्तारै तर बीचबीचमा कहिलेकाहीँ केही उत्तेजित भएर बोलिरहेका छन्। अकस्मात् आफ्ना दुई हत्केला फ्याट्ट हाने। उनको यो बानीसँग परिचित भइसकेका ती युवक त्यसपछि निस्केको हलका आवाजसँगै झन् एकचित्त भए। अङ्ग्रेजीमा भन्छन् नि– ‘प्रेग्नेन्ट साइलेन्स।’ त्यसभित्र परे ती युवक। अर्थात्,कौतुहल भरिएको सन्नाटामा।

यति नै वेला ती वृद्धको आवाज निस्कियो–हेर, शरीरभरि घाउहरू आइरहेका छन् भने कुन घाउमा मलमपट्टी लगाउने? त्यसले त ठीक हुँदैन। ती घाउ किन आइरहेका छन् भन्ने कुरो या कारण पो पत्ता लगाउनुपर्‍यो। अनि त्यसको निदान गर्नुपर्‍यो। राजासँग अझै आखिरी मौका छ। उनले कसको लागि संविधान बनाउने? पहिलेकै संविधानको स्वरूपमा बनाउने हो भने त्यो त छँदैछ नि।

यसो भन्ने ती वृद्ध थिए विश्वेश्वरप्रसाद कोइराला। ध्यानसँग सुन्ने युवक म आफैँ थिए र जसरी मैले त्यतिबेला लेखेको थिएँ–‘देशमा हाल उर्लिरहेको परिवर्तनको गतिलाई प्रणालीकृत गर्न सक्ने एउटा ‘सिङ्गो’ क्रान्तिकारी नेताको रूपमा उभिएका कोइराला नै वास्तवमा आज नेपालको राजनीतिक खेलमा एक पक्षको ‘सिङ्गो’ खेलाडी भएका छन्।’

तर दुर्भाग्य हाम्रो,आजको नेपालमा ‘सिङ्गो’ खेलाडी कोही पनि छैन। न कुनै पक्ष छ। जो छन्,जनजीविकाको कुरो रूपान्तरण गर्न भनेर आएका,ती सबैजसो ‘रूपान्तरित’ भएका छन्। यस क्रममा मुलुकको पक्ष लिनेहरू नेतृत्व तहमा हराउँदै गएका छन्। शिथिल भएका छन्। परजीवी भएका छन्। यो ‘रूपान्तरित’ स्वरूप भनेको विदेशी शक्तिहरूको ‘द्वन्द्वात्मक स्वार्थ’ परिपूर्ति गर्ने माथवर मान्छे बनेर ‘प्रतिस्पर्धात्मक राजनीति’ अन्तर्गत शक्तिमा हालिमुहाली गर्ने र राष्ट्रिय सम्पत्तिलाई क्रमिकरूपमा व्यक्तिगत बनाउँदै लैजाने जमात हो।

यसले न मुलुकको जङ्गल भन्छ न जमिन। न चुरे,हिमाल या नदी। न ट्रस्टको सम्पत्ति,न भूकम्पमा दान आएको पाल या कोरोना महामारीको खरिद सामग्री। न राष्ट्रिय सम्पत्तिको बिक्री। जे छोयो चट् पार्ने रूपान्तरित स्वरूप हो यो।

यस्तो रूपान्तरित स्वरूपको कुरा गर्दा झ्वाट्ट फ्रान्ज काफ्काको ‘मेटामोर्फोसिस’ अर्थात् रूपान्तरण नामको एउटा उपन्यासको धुमिल सम्झना आयो। ग्रेगर नाम गरेको मुख्य पात्रको कायापलट हुन्छ त्यसमा। मान्छेबाट उ साङ्लोमा रूपान्तरित हुन्छ।

हाम्रा राजनीतिकर्मीहरू भने साङ्लोमा नभएर थुप्रै सानो राजाहरूमा रूपान्तरित भएका छन्। मुलुकको हिसाबमा साङ्लोभन्दा यिनीहरू खास फरक देखिँदैनन् जब यस्तो रूपान्तरणलाई ‘स्ट्रिम अफ कन्सस्नेस’ अर्थात् त्यो चेतनाको प्रवाहबाट हेरिन्छ जहाँबाट मुलुकको हित जगेर्ना गर्ने विवेकको अभ्युदय हुन्छ। विवेकको अभावले गर्दा एब्सर्डिटी अर्थात् व्यर्थ या अनर्थ बाटोमा गइरहेका छन् यी। र, मुलुकलाई होमिरहेका छन्।

यस क्रममा मुलुकको यत्रो लामो समय खेर गएको छ। योभन्दा ठूलो प्रमाण के चाहियो र अनर्थको? ग्रेगर कसरी रूपान्तरित भयो साङ्लोमा त्यो वर्णन गरेका छैनन् काफ्काले तर हाम्रा यी नेतृत्व पंक्ति कसरी मेटामोर्फोसिस अर्थात् कायापलट भए त्यो अब घाम जत्तिकै छर्लङ्ग छ। अन्तको लोभ प्रदत्त आशीर्वादबाट भएको छ यो।

राजनीतिमा आशीर्वाद ‘फ्रि’ हुँदैन। यो पूरा लेनदेन हो, ट्र्यान्ज्याक्सन हो। अझ प्रस्ट पारौँ–एउटा बार्टर हो। र,यसलाई सजिलो पार्ने सिद्धान्त,आन्तरिक र बाह्य दुवैका लागि हो–म तिमीलाई कनाउँछु त्यतिबेलासम्म जबसम्म तिमी मलाई कनाइरहेका हुन्छौँ।

तेस्रो विश्वका मुलुकहरूमा, जहाँ ठूला राष्ट्रहरूको निहित स्वार्थ हुन्छ–आर्थिक वा सुरक्षा अवधारणाको, त्यहाँ सधैँ प्रजातन्त्र,जनताको नैसर्गिक अधिकार र जनताको जीवनस्तर बढाउने नाममा असन्तुलन बढ्दै गएको छ।

ठूला राष्ट्रहरूले नयाँनयाँ प्रयोग गरेका छन्, आफ्नो अजेन्डा लागु गर्न। यस क्रममा साना र कमजोर मुलुकहरूमा गृहयुद्ध भएका छन्,व्यवस्था परिवर्तन भएका छन् र सरकार बदलिरहेका छन् बदलिँदो आकाशजस्तो।

हाम्रो देशमा यसैको परिणतिस्वरूप जनता दिनदिनै निरीह हुँदै गएका छन्, विदेशीको प्रभुत्व बढ्दै गएको छ र साना राजाहरू जुटेर होस् या फुटेर सत्तामा टिक्न वा पुग्न नयाँ आशीर्वादको सौदा गर्न सधैँ तम्तयार बनेका छन्। यसका लागि बार्गेनिङ प्वाइन्ट भनेको मुलुकको बचेखुचेको हित हो। पार्टीहरू जुट्ने र फुट्ने अनि पार्टीभित्र र बाहिरको गुट परिवर्तनको क्रम यसैसँग आबद्ध छ।

मूलतः यही नै हो नेपालको अहिलेको पोलिटिकल एलाइन्मेन्ट र रिएलाएन्मेन्टको प्रक्रिया। समग्रमा कुनै विचार, दृष्टिकोण र राष्ट्रिय हितको जगेर्ना गर्ने कुरासँग जोडिएको छैन यो। झ्वाट्ट हेर्ने एउटा सूचकका रूपमा मात्र लिने हो भने पनि अहिले महाधिवेशनमा जुटेका पार्टीहरूभित्र शक्ति सङ्घर्षमा लडिरहेका नेताहरूको विदेश भ्रमण र बढ्दो सम्पर्कहरू नयाँ सौदाको खोजीमा छन्। यो व्यग्र मनस्थिति यसको द्योतक हो।

यो मनस्थिति छताछुल्ल नै छ। विदेशी नेताहरूले काठमाडौँमै आएर नेपालमा भएका परिवर्तन आफूले गराएको खुलासा गरेका छन्। यस परिप्रेक्ष्यमा अख्तियार प्रमुख होस् या पुलिस प्रमुखको या यस्तै महत्वपूर्ण नियुक्तिमा विदेशीको चासो र प्रभाव रहेको कुरा पटक पटकका घटनाहरूले पुष्टि गरेका छन्।

भारतीय दूतावासको बैठकमा नेपालका निर्णायक नेताहरूले गरेका निर्णयहरूअन्तर्गत राजनीतिक कोर्स तय गरिएका कुराहरू जगजाहेर छन्। र, मन्त्री बन्न लालायित कतिपय नेताहरू त्यहाँ धाएको कुराहरू पनि त्यसैगरी आइसकेका छन्।

खिलराज रेग्मी सरकार प्रमुख बनेको होस् या लोकमान सिंह अख्तियार प्रमुख बन्दा प्रचण्डले भनेको ‘खोज्दै जाँदा ऊ नै भेटियो’ भन्ने उद्गार होस् या नेपालमा भारतीय राजदूत रहेका रेले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीले पुलिसको आइजिपी नियुक्तिका लागि उनीसँग लिएको परामर्श होस् या फास्ट ट्याक बनाउने काम भारतलाई दिन उनले लिएको अडी होस् या सुजाताले परराष्ट्र मन्त्रीको हैसियतमा मेसिन रिडेबल पासपोर्ट छाप्न दिने काम भारतीयलाई बाहेक अरूलाई दिन सही नै नगरेको कुरा होस्, यी सबै यसैको सेरोफेरोभित्र पर्छन्। अझ भनौँ,के र कसलाई खुसी तुल्याउन पास गर्नुपर्ने हो र कहाँबाट पास गर्नुपर्ने हो, त्यसैको सेरोफेरोमा गतिविधिहरू घुमिरहेका छन्।

ताजा उदाहरण हेरौँ– शक्ति प्रिया रिझाउन प्रधानमन्त्री देउवाले ठाडै गर्नै नहुने काम गरे।नेपालको कानुनअनुसार कुनै हालतमा पनि विदेशी टेलिभिजन नेपालमा स्थापना गर्न पाइँदैन तर हाम्रा प्रधानमन्त्रीले गठबन्धनका सेनामेनासहित गएर विदेशी टेलिभिजन च्यानल ‘आस्था नेपाल’ को उद्घाटन गरे।

पतञ्जलिलाई जग्गा दिने घोषणा पनि गरे जुन ठाडै गैरकानुनी छ। के यो मुलुक लोकतन्त्रको आवरणमा उनको निजी सम्पत्ति हो? यहाँ कुनै कानुन छैन? अझ खतरनाक त एमसिसी बनेको छ अहिले।

मडारिइरहेको कालो बादलभित्र मुलुक परेको छ। राजनीति नै त्यहाँ टक्क अडिएको छ। राजनीतिकर्मीमात्र होइन, जनमत सिर्जना गर्ने पेसेवारहरू त्यसैमा लागेका छन्।

यी पेसेवारहरू पढे/लेखेको सचेत मध्यम वर्गभित्रको एउटा सानो चिरो हो। तर पढे/लेखेको सचेत मध्यम वर्ग,जुन आफैँ शक्ति होइन तर परिवर्तनको सशक्त संवाहक हो,त्यसलाई आफूले नै हाँकेको मिथ्या बेचेर पेसा चलाइरहेका छन्। यस क्रममा यिनीहरूले पनि आफूलाई जग्गा दलाल जस्तो खुँखार पावर ब्रोकरमा रूपान्तरण गरेका छन्।

यसैभित्र पर्छन् कतिपय स्वघोषित नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी र डलर खेती गर्ने एनजिओहरू। यहाँनिर विद्वान् प्राध्यापक कमलप्रकाश मल्लको भनाइ सान्दर्भिक छ।

 नेपालको बुद्धिजीवीबारे सन् १९७० मा छापिएको एउटा लामो लेखमा उनले भनेका छन्–नेपालका बुद्धिजीवी दुई टुक्रा रोटीका लागि जसरी पनि अरूलाई रिझाउने मानसिकताभित्र अटाएका छन्। यो नै नेपाली बुद्धिजीवीको ‘बौद्धिक दरिद्रता’ हो। हिजोको परिवेशमा यो मानसिकता मुलुकको शासकका लागि मात्र सीमित थियो। जसरी भट्टराई बन्धुहरूले चन्द्रशमशेरका लागि यसरी लेखेका थिए–

बत्तीस लक्षण युक्त भै हजुरले ली अंश इन्द्रादिका,

बत्तीझैँ कुलमा प्रकाश हुनु भो श्री धीर संशेरका।

अग्निको झञि तेज भै वदनमा वश्मा त छन् सर्वजात,

सक्तैनन् रिपु सामु पर्न प्रभुका ठूलो छ नाथ्को प्रताप।।’

तर आज यो पेसेवार मानसिकता विदेशी मालिकहरूको नेपालमा रहेको स्वार्थ, जुन नेपालको हितविपरीत छ,त्यसको परिपूर्तिका लागि हुने गरेको छ। यो भूमरीमा मुलुक घुमिरहनुपर्दा जनता कति निरीह भएका छन् भन्ने सरसरती बुझ्न आफ्नो मुलुकमा काम गर्न नपाएका तन्नेरीहरूको पासपोर्टका लागि बनेको लाइन मात्र हेरे पुग्छ। यस्तो लाइन जति ठूलो भयो त्यति सानो राजाहरूको लागि हाइसन्चो हुन्छ दुई किसिमबाट।

पहिलो,रेमिटेन्स आउँछ आयात प्रदत्त राजस्व उब्जनीका लागि। यसबाट सरकारमा मोजसँग हालिमुहाली गर्न सजिलो हुन्छ। दोस्रो, गँजडीको गफजस्तो नेपाललाई कहिले सिंगापुर त कहिले जापान पुर्‍याइदिने कुरैकुराबीच गरिँदै आएको बेथिति र लुटविरुद्ध जनआवाज कमजोर हुन्छ।

अहिलेसम्मको छलफलबाट मुलुकको अर्थराजनीतिक शरीरभरि जुन घाउहरू आएका छन्, निकै नहुने जस्तो गरी,त्यसको कारक तत्व ठम्याउनेतर्फ हामी निकै अगाडि आइपुगेका छौँ। यहाँनिर नै हो फरक सत्ताको छिनाझपटी गर्ने र एउटा भिजनरी नेताबीचको।

सत्ता छिनाझपटी गर्नेका लागि यस्ता घाउ नै माछाका लागि पानी जस्तै बन्छ। अर्थात् यस्ता घाउहरू पारेर मात्र तिनले सत्ता राजनीति गर्न सक्छन्। र, यस क्रममा चुनाव त वैधानिकताको एउटा नियमित कर्मकाण्डको आवरणमात्र बन्न पुग्छ।

यस्ता घाउ बिपी कोइरालाले त्यतिबेला नै देखेका थिए जतिबेला उनी देश बचाउन भनेर राष्ट्रिय मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासनपछि सन् १९७६ मा नेपाल फर्के। भारतीय स्वतन्त्रता संग्राममा ब्रिटिसविरुद्ध लडेका उनी इन्दिरा गान्धीको प्रजातन्त्रविरुद्धको इमरजेन्सीको विरोधमा पनि आवाज उठाएका कारण अप्ठेरोमा परे जब इन्डिया नै इन्दिरा बनेको थियो।

प्रजातन्त्र नै जीवनको सर्त बनेको बिपीले भने–भारतको प्रजातान्त्रिक रानीको शासनमा भन्दा आफ्नै राजाको शासनमा बस्नु उचित छ अब। यसरी उनी नेपाल फर्के नेपाली राष्ट्रियता र प्रजातन्त्रविरुद्ध उग्रवाद र अराजकतावादबाट बढिरहेको खतरा देखेर।

आजको दिनमा आइपुग्दा यो खतरा झन् बढेर गएको छ। मुलुकको अर्थराजनीतिक शरीरभरि बल्झिरहेका यी घाउले गर्दा नेपाली राष्ट्रियता चरम सङ्कटमा छ अहिले। एउटा प्याट्ट फुट्छ, मलमपट्टी गर्दागर्दै अर्कोतिर प्याट्ट फुटिसक्छ। यो कहिले नटुङ्गिने हुँदै जाँदा मुलुक थिलथिलो भएको छ।

प्रजातन्त्र राम्रो र नराम्रो हुने भनेको सिस्टम कस्तो हुन्छ त्यसमा निर्भर गर्छ। भिजनरी नेतृत्व भएको मुलुकमा जतिसुकै शक्तिशाली व्यक्तिले पनि सिस्टम बिगार्न वा भत्काउन सक्तैन। किनकि नेतृत्वको ध्यान सिस्टम बलियो पार्नमात्र केन्द्रित हुन्छ। मुलुक बन्ने सिस्टम बलियो पारेर मात्र हो। त्यस्तो नेताले हाम्रा जस्तो ‘कानुनसम्मत’ वा ‘नीतिगत निर्णय’ आवरणमा राष्ट्र लुट गर्दैन।

मुलुक बनाउनेको व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ जहिले पनि माथि हुन्छ। तेस्रो विश्वका मुलुकहरू जसलाई ‘नरम राज्य’ पनि भनिन्छ त्यहाँ राज्य गर्ने भनेकै प्रजातन्त्रको नाम लिएर कमजोर सिस्टमलाई झन् कमजोर पारेर वा भत्काएर गर्ने हो भन्ने शासन पद्धति पो बन्न पुगेको छ। नेपाल यसैको सिकार बनेको छ।

मूलतः दुइटा कारणबाट–नेपालको रणनीतिक अवस्थितिको र भिजनरी नेता नभएकाले। त्यसैगरी विदेशीहरू आफ्नो निर्दिष्ट एजेन्डा लागु गर्न गराउन यो नियन्त्रण र सन्तुलन आफूमुखी गराउन चाहन्छन्। यसमा पनि यसरी आन्तरिक र बाह्य तानातान छ। यसरी आवरण मात्र बन्दै गएको छ हाम्रो लोकतन्त्र।

प्रजातन्त्र बाँच्ने भनेको नियन्त्रण र सन्तुलन कायम गर्ने राज्यका विभिन्न अङ्गहरूले त्यो काम गर्न पाएमात्र हो। सत्ता छिनाझपटी गर्नेहरूले लहडमा शासन गर्न यो कायम हुनै दिँदैनन् जसरी गिरिजाप्रसादले निर्णायकरूपमा गरे।

सर्वोच्चले उनको आशय विपरीत गर्दा उनले सर्वोच्चको परिसरभित्र एक कार्यक्रममा न्यायाधीशहरूलाई भने–तपाईँहरू ‘सुपर गभन्र्मेन्ट’ नबन्नुहोस्। आशय प्रशासन चलाउन उनले राज्यका अङ्गहरूमा पार्टी क्याडरलाई भर्ती गर्न थाले।

आज जे सर्वोच्च अदालतमा देखिएको छ त्यो यसैको निरन्तरता हो। अलि अगाडि अख्तियार हाँक्ने लोकमान सिंहको जब एक अर्कोलाई ‘कनाउने सन्तुलन’ फुस्कियो–सर्वोच्च हाँक्ने सुशीला कार्की र सरकार हाँक्ने प्रचण्ड र नेताहरू ओली र देउवासँग तब अख्तियारमा प्याट्ट घाउ फुटेको थियो। असर त्यतिबेला पनि सर्वोच्चमा नपरेको होइन।

त्यसैगरी अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले गठबन्धनको पार्टीहरूसरह सबैतिर भाग मागेपछि ‘कनाउने सन्तुलन’ अचानक फुस्किँदा सर्वोच्चको घाउ प्याट्ट फुटेको छ। न्याय दिनुपर्ने राज्यको अङ्ग न्यायको खरिद बिक्रीमा चुर्लुम्म डुबेको छताछुल्ल छ। न्यायको मन्दिर बिचौलियाको पकडमा पुगेको र ‘बिचौलिया नाइके’ प्रधानन्यायाधीश बनेका छन्।

सर्वोच्च अहिले युद्ध मैदानसरह बनेको छ। तर को जित्ने, को हार्ने? चोलेन्द्र त पात्र मात्र हुन, शिथिल अर्थराजनीतिक शरीरभरि आएका घाउहरूको। संस्थाहरू एकपछि अर्को यसैगरी ध्वस्त हुँदै गएका छन् घाउहरू बढ्दै र फुट्दै गएर। त्यहाँबाट ह्वालह्वाल पिप निस्किरहेको छ। सर्वत्र गनाएको छ। समग्र कारण हो– जनजीविका रूपान्तरणका लागि आएकाहरूको अर्जुन दृष्टि आफ्नो रूपान्तरणका लागि जुनसुकै कुकर्म गर्न पनि तयार छ। यो नरोकिन्जेल यसैगरी अनवरत एकपछि अर्को घाउ प्याट्ट प्याट्ट फुटिरहने छन्।

प्रकाशित: ६ मंसिर २०७८ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App