७ वैशाख २०८१ शुक्रबार
विचार

सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

किरात धर्म दर्शन वाङ्मयमा महागुरु फाल्गुनन्दको नाम अजर अमर छ।सनातनका आदि मुहिगुम अङ्सिमाङ येहाङ,लेप्मुहाङ,कान्देनहाङ, माबोहाङ, सिरिजङ्गापछि छैटौँ अवतार अवतरण हुनुभएका फाल्गुनन्दले किरात धर्म मुन्धुम, संस्कार, कर्मकाण्ड र ज्ञानकाण्ड सम्पूर्ण थप प्रतिपादन गर्नुभयो।

साथै किरात धर्म दर्शनको दार्शनिक विधा ज्ञानसारहरू र सिद्धान्तका धारहरू तयार गर्नुभएकाले माङअवतार ईश्वरीय प्रतिनिधिका रूपमा सर्वमान्य सर्वसम्मत सर्वसिद्ध विश्वप्रसिद्ध छ।

पल्लो किरात लिम्बुवान इलाम जिल्लाको चारखोला इभाङको चुकिचनाम्बा डाँडागाउँमा १९४२ कात्तिक २५ गते पिता जगनवाज लिङदेन माता हंसमति बेघाको साइँला छोराका रूपमा फाल्गुनन्द जन्मनुभयो। जन्मनासाथ आमाको स्तनमा खटिरा निस्की दूध चुस्न नपाएका शिशुलाई कालो बाख्राको दूध खुवाएर बचाइएको थियो।

केही दिनमै आमा परलोक हुनुभएकाले टुहुरो बालक बाख्राको दूध पिउँदै पिता बिमाता सौतेनी आमाको स्याहार सम्भारमा हुर्कनुभयो। ज्योतिषि नाम अनुराधा नक्षत्रको प्रथम पाउ नरधोज लिङदेन पछिबाट रक्षाबन्धनका लागि फलामको चुरा धारण गर्नाले फलामे फलामासिं हुँदै फाल्गुनन्द विख्यात हुनुभयो।

नव शिशु हुँदै मातापिता आर्थिक कारण भुटान प्रदेशिँदा आफू नगई  काकाकाकीसँग बस्नुभयो। आमाको टुहुरो माथि बुबाले छाडेर गएका बालकको जीवनकाल उराठलाग्दो वैरागमय छ। जन्मसिद्ध मासु मंस, जाँड, रक्सी सेवन नगर्ने फलामसिं र काकाकाकीसँगको खानपिन नमिलेकाले आफ्नो अंशबन्डा लिएर एक्लै बस्न सुरु गर्नुभयो।

अंश भागबन्डा

१. खेतबारी,खन्ने कोदालो,

२. खाना पकाइ खाने माटाको हण्डी,

३. तिहुन पकाउने कराही,

४. सिल्बरे थाल,

५. दुई माना पीठो,

६. चारझुत्ता मकै

७. हँसिया र खुर्पा,

८. ३ रोपनी ३ आना लेछेबुङ पाखाबारी,  

यति लिएर भिन्न बस्दै बालक जीवनकालमा संकट र ठूलो दुःखकष्ट, बिध्नबाधा व्यवधानमा हुर्कुनुभयो। खाना,लाउन समस्याले ३–४ माना बनीबुतो गर्दै आर्काको खेतालागोठाला गर्दै कुखुरा चल्ला पालेर हुर्काएको अण्डा सर्पले खानु, सर्प र स्याल,फ्याउरा बनेचर पशुपक्षीहरूले कुखुरा खाइदिनु, हानि नोक्सानी बेहोर्नु दुःखकष्टमाथि महाकष्ट भोग्नु बाध्य भएका उहाँको जीवनकाल आँसुको सागरमा डुबेको सम्झँदा रोऊँरोऊँ लाग्छ।

बाल्यावस्थामा अचानक बिमारी भएको अवस्थामा ब्रह्मा मुहुर्तमा जुरुक्क उठेर मध्यरातमा अल्प हुनुभयो।रातभरि खोजिए पनि भेटिनुभएन।बिहान खोज्ने क्रममा देवभाइ र माइ दोभान फुलुङ्गी खत्रक्पामा भेटियो।बिमारी निको भइसकेको र स्वस्थ भइ प्रश्न गर्दा जवाफमा निम्न देववाणी गर्नुभयो–एउटा पुरुषले मेरो खुट्टामा सिमीको गेडाजस्तो रोप्दा सुलुलु उम्रेर लहराले रुखसँग बेरी बाँधेर सोध्न थाल्यो–

देवदूत मलाई चिन्यौ?

फलामसिं –अँह चिनिनँ।

दिव्यपुरुष –किन मान मानितो गरिनस्?

फलामासिं –अहँ मैले केही जानिना।

देवदूत –पूर्वजन्मको सम्झना बिस्र्याै।

फलामासिं –बिर्सेँ,केही थाहा छैन।

दिव्य पुरुष –राम्रो सम्झनु,थाहा पाउँछौ।

माङ ईश्वरले बोलाएकाले मैले ल्याएको हुँ भनी माई नदीतिर ओल्याई अदृष्य भए।ब्रह्माण्डबाट तागेरानिङवाभुमाङ आमारूपमा आई नदीबीच डुबाएर स्वर्गबाट स्वर्णाक्षर, देववाणी, शास्त्र मुन्धुम मन्त्रहरू तिरिरिरी, झिलिमिली जल्दाबल्दा ऊर्जा ज्ञानज्योतिहरू झरेर फलामसिंको मुखमा पसेको वर्णन गरी सुनाए।

यसरी जलसमाधि ज्ञान प्राप्त गरेको ठाउँ फुलुङ्गी पवित्र स्थल माई माता त्रिदोभान हो।यही ज्ञानबाट यात्रा प्रारम्भ गरेका फलामसिं कालान्तरमा फाल्गुनन्द कहलिए। दाजु हवल्दार इन्डिया आर्मीमा भेट्न जाँदा पल्टनमै राखी तपस्वी हवल्दारसम्म भई ७ वर्षमै नामकाटी किरातीहरूको भाग्य उदय गराउन फर्कनुभयो।

विसं १९८८–१–२४ गते पाँचथर लब्रेकुटीमा १७ थुम १० लिम्बुवानको बृहत् चुम्लुङ गरी ७ बुँदे सत्यधर्म मुचुल्का लिखित दस्तावेज नेपालको प्रथम धर्मसभाको निर्णय थियो।

सुन,चाँदी,तिल,जौ, कुश,दुबो, ढुंगो ७ अस्त्र र ७ मुन्धुम शास्त्र प्रतिपादन साथै ७/७ मन्दिर निर्माण गरी ५०/६० थान मुन्धुम ग्रन्थ तयार गरी किरात धर्म दर्शनको पुनःसंस्थापकलाई सोह्रौं राष्ट्रिय विभूति, हुलाक टिकट, कक्षागत जीवनी अध्ययन र २०६८ जनगणनामा राज्यको चौथो किरात धर्म ८,०७,१६९ जनाले नेपालमा मात्र लेखेको छ।

अस्ट्रेलिया,अमेरिका, युके,कोरिया, जापान,भारत,भुटान, बर्मा, मलेसिया, अरबसमेत १५–२० राष्ट्रमा किरात धर्म स्थापित छ। किरात धर्म अन्तर्राष्ट्रिय दोस्रो महासम्मेलन भइसकेको र फाल्गुनन्द पुनः अवतार आत्मानन्द लिङदेनको अस्तीत्व अमर अजेय रहेको राष्ट्रलाई जानकारी छ।

महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जात मात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन। सत्य, दया, शान्ति र अहिंसाका उपासक मुक्तिदाता,ज्ञानदाता,चेतनदाता र मानवदाताका रूपमा संसारभर मानिन्छन् भने किरात सम्यता, वर्ग, समाजका लािग धर्म दर्शनदाता हुन्।

राणाकालमा राजद्रोही, देशद्रोही अभियोग लागेका महागुरुको राष्ट्रप्रतिको योगदान चीर अविश्मरणीय रहनेछ। आत्मावाद,अनात्मावाद परमात्मावाद त्रितत्वाद मुन्धुमवादमा पाइन्छ भन्ने महान् युगपुरुष नेपालमा बुद्ध भगवान्पछिको महागुरु फाल्गुनन्द ६४ वर्षको उमेरमा २००५ चैत २२ गते परधाम हुनुभयो। उहाँको १३७ औँ जन्मजयन्ती मानव एकता विश्वशान्तिका रूपमा मनाऔँ।

(लेखक मुन्धुमविद् हुन ।)  

प्रकाशित: २६ कार्तिक २०७८ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App