२ मंसिर २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँगको भेटअघि सी–पुटिनबीच उच्चस्तरीय वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ।

बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ। युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन।

एपेक बैठकलाई सम्बोधन गर्दै पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बेला विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताए।

उनले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले आफ्नो देशको आर्थिक विकास रोक्न नसकेको दाबी पनि गरे।

चिनियाँ राष्ट्रपति सीले कृत्रिम बौद्धिकता (एआई) र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए।

सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल हुने रुसी अधिकारीहरूले जनाएका छन्।

यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन्। तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले त्यस्तो भेटको पुष्टि गरेका छैनन्।

ट्रम्पले फिलिपिन्समा क्वाड समूहका अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग पनि भेट गरेका थिए। यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गरेका थिए।

अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राखेका थिए।

यसैबीच, ट्रम्पले १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गरेका छन्। वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम पनि सार्वजनिक गरेको छ।

सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App