१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विचरा हाम्रा नेता!

हामी नेतालाई सबैले गाली गर्छन्। तर के गरुँ? मेरो मनको घाउ कसैले देख्दैन। नेताहरू के चाहन्थे,के भन्ने गरेका थिए तर के अवस्थामा आइपुगे। त्यसको सबै लेखाजोखा मानिस गर्दैनन्।

खालि मैले कमाएको पैसामात्र देख्छन्। मैले पाएको दुःख र सास्ती कसैले देख्दैनन्। कसैले सहानूभूतिसम्म राख्दैनन्। कस्तो देश र समाजमा म हुर्केँ होला? कहिलेकाहीँ सबै सम्झँदा दिक्क लाग्छ। कहिले त मरुँ मरुँ लाग्छ।

म धेरै पैसा कमाउन आएको पनि होइन। हुन त खान/लाउन राम्ररी पुगेको थिएन। छोरा/छोरीका लागि अलिकता भए पनि जोगार गरिराख्न मन थियो। यसरी बेहिसाब मेरो इच्छा बढेर जाला भन्ने थाहा पनि थिएन। तर के गर्ने समयले सबै कुरा बदलिदियो। म त दुनियाँको भलाइ गर्न नै हिँडेको हो। कहाँ कहाँ मैले आफ्नै हित पो गर्न पुगेछु।

दुःख परेका बेला एउटा छिमेकीले मद्दत गर्छु भन्यो। गर्‍यो पनि तर पछि गएर मेरो यो काम गरिदे,यो मान्छेलाई यस्तो बनाइदे, यो खालि जमिन मेरो नाउँमा गरिदे भन्न लाग्यो। नगरिदिउँ पनि भएन। दुःख परेको बेला मद्दत गरेकै हो। मलाई सुख भएको बेला उसलाई त्यति गरिदिएको न हो। 

तर के गर्ने? मानिसको आँखा ठूला हुने रैछन्। सबै देख्दा रैछन्। सबै सम्झने रैछन्। उनीहरूले भनेका कुरा कहाँ गलत हो र? कुरा त सही हो तर के गर्ने? आफू च्यापुवामा परिएछ। नगरिदिउँ कृतघ्न ठहरिने। गरिदिउँ दुष्ट ठहरिने। एउटा भनाइ नमानी सुखै नपाइने। यस्तो अप्ठेरोमा परिएको कसैले चाल नपाउने।

मलाई गलत काम गर्दैछु भन्ने थाहा नभएको कहाँ हो र? नगरी बस्न नपाइने, उही आफ्नै मान्छेले बस्न नदिने भएर त हो नि। छटपट हुने, राति निदाउन पनि गाह्रो हुने। तर के गर्ने? कसैले मेरो मनको सास्ती नदेख्ने। कसैले यसलाई के पर्‍यो भनेर नसोध्ने।

कहिलेकहीँ त लाग्छ, कतै गल्ती नै गरिएछ कि? दैवले साथ नदिएको भनुँ भने दिएकै हो। गोलीबाट बचाएकै हो। जेलनेलबाट पनि बचाएकै हो। पैसाको भारीले थिचेकै हो। तर दैवले पत्नी, छोरा, छोरी भनेर दया माया पनि नगरिदिने। कसैलाई लडाइदिने, कसैलाई पछारिदिने र कसैलाई के के परिआउने। तर के गर्ने, जे परे पनि, धेरै लामो बाटो हिँडेर आइसकियो। फर्केर जान पनि नमिल्ने। अगाडि जानै पर्‍यो। अगाडि जानलाई सबै वास्तविक परिस्थितिको सामना गर्नै पर्‍यो। 

ओ हो,कुन दिन मलाई त कठघरामा उभ्याउँछन् कि क्या हो भनेर डर पनि लाग्छ। कतै लिबियाका कर्नेल गद्धाफी जस्तै मर्नुपर्ने हो कि? कतै इराकका सद्धाम हुसैन जस्तो मर्नुपर्ने हो कि भनेर मनमा कुरा खेल्छ।सपना पनि त्यस्तै नराम्रो किसिमको आउँछ। कसैलाई सुनाउँ पनि कसरी सुनाउँ? त्यो त सपनामात्र हो भनिदेलान्। आफूलाई भने त्यही सपनाले भित्रभित्र खाइरहेछ।

मेरी पत्नी पनि पढिलेखेकै हो। तिनले पनि आफुले सकेको बेलामा घरजाम जोड्नुपर्छ,केटाकेटीको भविष्य हेर्नुपर्छ भनेकै हुन्। सबैले बेलायत र अमेरिका पठाउन थालेछन्। हामीले पनि त पठाउनै पर्‍यो। हुन पनि यसो केटाकेटीको मुख हेर्‍यो। माया लाग्छ। आफूलाई जे परे पनि यिनीहरूका लागि केही त गर्नुपर्‍यो भन्ने जस्तो लाग्छ। त्यसैले पैसाको मुठा देखेर अरू सबै कुरा बिर्सन्छ।

आखिर पैसै रहेछ महत्त्वपूर्ण। पार्टी चलाउन पैसै चाहिने। निर्वाचन आयो भने पैसै चाहिने। अस्पताल भर्ना हुन पनि पैसै चाहिने। कत्ति आफ्ना मान्छे दुःख पाइयो भनेर कराउन आउँछन्।

उनीहरूलाई पनि पैसै दिनुपर्‍यो। पैसा जम्मा नगरीकन कामै नचल्ने। मैले पैसा कमायो भनेर किन हल्ला गर्छन् मानिस? मैलेमात्र खाने हो र? सबैको पेट पाल्नुपरेन मैले? 

पैसा पनि कहाँबाट आओस्। ३० किलो सुन काहाँबाट आयो कहाँ गयो भनेर हल्ला गरे। कलकत्तामा पो पाइयो रे भन्ने पनि सुनियो। यस्तै मामिलामा हात पसाएर पैसा निकालिएन भने कहाँबाट पैसा आओस्। वाइडबडी खरिदमा अर्बौँ रुपिया यताउति भयो भनियो।

त्यत्रो ठूलो खरिदमा अलिकता पैसा मैले खाएँ त के ठूलो कुरा भो र? यस्तै ठूलाठूला खरिद बिक्रीबाट आफ्ना लागि निकाल्न सकिएन भने केबाट निकाल्ने ? आश्चर्य लाग्छ, मान्छे कराएको देखेर।

फेसबुक भन्ने पनि कस्तो चिज आयो? नहेरी पनि नहुने। हेरेर पनि शान्तिसित बस्न नपाइने। एक जनाले लेखेका रहेछन्–गिरिजाप्रसाद कोइरालाको पतन भएको थियो आफ्नी छोरी सुजातालाई प्रधानमन्त्री बनाउने धून बोकेर हिँड्दा।

त्यसैगरी प्रचण्डको पतन पनि आफ्नै छोरी रेणुलाई उठाउन कोसिस गर्दा। प्रधानमन्त्री केपी शर्माको पतन पनि विद्या भण्डारीलाई राष्ट्रपति बनाउनमात्र होइन, आफूले भनेको काम कुरा गराउँदा। अब बिस्तारै माधव नेपालको पतन पनि रामकुमारी झाँक्रीलाई उठाउन खोज्दा हुँदैछ भन्ने मनसायको भनाइ पढ्न पाइयो।

कुरा घतलाग्दो रैछ। कसरी ठ्याक्क मिलाउन सकेको ? नेता त म पनि हुँ। सबैले नेता भनेर बोलाउँछन्। तर मानिसको यस्तो कुरा सुन्दा किन नेता हुन पुगेछु भन्ने पनि लाग्छ। तर के गर्ने, एकपटक कसैले नेता भनेपछि अर्कोले भनेन भने रिस उठ्छ। यसले मलाई हेप्न लाग्यो कि के हो भन्ने लाग्छ। नेता भएपछि बानी नै बिग्रिसक्यो। साधारण मानिस जस्तो विचार पनि नआउने। व्यवहार पनि बदलिने। सबैले सधैँ नेता मानिराखोस् भन्ने लाग्ने। के फसादमा परियो के? 

प्रकाशित: २२ कार्तिक २०७८ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App