३ पुस २०८१ बुधबार
image/svg+xml
विचार

जातीय विभेद र धर्म

सनातन धर्म, दर्शनमा जातीय विभेद छैन। चार वर्ण कार्य विभाजन हो। पूर्वीय वाङ्मयको सभ्यतामा चार वर्णाश्रमको व्यवस्था पाइन्छ। पच्चीस वर्षसम्म अध्ययनका लागि गुरुकुलीन ब्रह्मचर्याश्रम, उपरान्त पचास वर्षसम्म गृहस्थ, तदोपरान्त पचहत्तरसम्म वानप्रस्थ अर्थात तीर्थाटन र त्यसपछि संन्यास। शिष्यले गुरुकूलमा रहेर जुन विषयमा निपूर्णता हासिल गर्छ त्यही विषयको कार्याधिकार प्राप्त गर्ने व्यवस्था हुन्छ वर्ण व्यवस्थामा। जस्तै– ब्रह्मज्ञान प्राप्त गर्नेले ब्राह्मण कर्म, राजनीतिक ज्ञान प्राप्त गरेकाले क्षत्रीय अर्थात राजकाज, उद्योग–व्यापारको ज्ञान प्राप्त गर्नेले वैश्यवृति र राष्ट्रसेवातर्फको ज्ञान गरेकाले नोकरी–जागिर आदि वर्णगत पेशा हुन्छ। यसरी गुरुकूलमा आर्जन गरेको ज्ञानको आधारमा मात्रै हो शास्त्रले वर्णको विभाजन गरेको न कि जातीय विभेदको। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि 'जन्मना जायते शूद्र संस्कारात् द्विज उच्यते' अर्थात सबैको शूद्रको रूपमा जन्म हुन्छ र पछि कर्मबाट मात्रै उसको दोस्रो रूप वर्णको निर्धारण हुन्छ। 
अहिले चलेको जातीय विभेद वर्णकर्मबाट आएको होइन, राजकीय शासन व्यवस्था पद्धतिमा समयानुकूल हुनुपर्ने परिमार्जन तथा परिस्कृत नगरिँदा रहेको समस्या हो। विडम्बना जसलाई धर्म एवम् सांस्कृतिक पक्षसँग जोडेर व्यवहार गरिँदा यसको अपयश धर्म क्षेत्रले पाउने गरेको छ। 
जातीय विभेद कसरी सुरु भयो भन्ने विषयमा केही सम्भावित आधार पाइन्छन्। जस्तै– विभिन्न कालखण्डमा राजनीतिक शासकहरूले शासन व्यवस्था बलियो राख्न चलाएको व्यवस्था हो जातभेद। समयको कुनै कालखण्ड त्यस्तो थियो जतिबेला विकासको स्थिति निकै कमजोर थियो, सामान्यतया पिउने पानी लिन नै धेरै टाढासम्म पुग्नुपर्थ्यो, अहिलेको विकासको समयमा पनि कतिपय ठाउँ अझै त्यस्तो पाइन्छ जहाँ पानी लिन तीन चार घण्टा हिँडेर जानुपर्छ भने त्यो समयमा कस्तो थियो होला? कल्पना गर्न सकिन्छ। चाडबाड आउँदा कपडा सिलाउनेकहाँ कपडा सिलाउन र खेतीपातीको सिजनमा कोदाली, हँसिया आदि औजार बनाउनेकहाँ औजार मर्मत गर्न तथा बनाउन भिड लाग्ने गर्थ्यो। अतिथिदेवो भवको सिद्धान्त रहेको समाजमा पाहुनालाई राखेर आफूले भोजन गर्नु आफ्नो संस्कार विपरित हुने, पानीको सत्कार त सामान्यतया सबैलाई गर्नुपर्छ नै, टाढादेखि ल्याउनुपर्ने पानी भिडलाई पुर्या उन, त्यसको साथमा भोजन अनुरोधको औपचारिक व्यावहारिकता निभाउनुपर्ने जुन कार्य निकै कठिनसाध्य थियो। सम्बन्धितहरूले तत्कालीन शासकलाई यस समस्याबारे कानुनी निकास दिन अनुरोध गर्छन्, सम्बन्धित पेशाकर्मीको तत्कालीन परिस्थिति बुझेर त्यस समयका शासकबाट कपडा सिलाउने र औजार बनाउनेकहाँ अरुले पानी नखानू भन्ने कडा कानुनी नियम जारी हुन्छ। 
पानी नै नचलेपछि भोजनको कुरा परै भयो। नियमलाई कडा बनाउन उसले छोएको तरलमिसि्रत सबै पदार्थ नचल्ने भयो। जसको कारणले समाजको एउटा समुदाय अछूतको संज्ञाबाट विभूषित हुँदै आयो। सो समयमा यो नियम निकै राम्रो र व्यावहारिक कानुन भएको र सम्बन्धितले ठूलो राहत पाएको महसूस गरेका थिए होलान्। तर समयानुकूल परिमार्जन नगरी त्यसैलाई अपव्याख्या तथा दुरूपयोग हुने क्रम बढ्दै जाँदा उनीहरूको साथमा अन्य पक्षलाई पनि विभिन्न बहानामा अछूतको दायरामा पार्ने काम भयो। जुन कार्य मानव सभ्यताको कलङ्क भएर यो सर्वोत्कृष्ट सनातन धर्म भूमिमा एउटा कुप्रथाका रूपमा झाङ्गिदै गयो, झन धर्मको आड दिएर अपव्याख्या हुने क्रम चल्दै गयो । 
केही यस्ता कुसंस्कार, विकार, विकृति र भौतिक विकास हुन नसक्नुबाहेक यो भूमिसँग धेरै महत्त्वपूर्ण सकारात्मक विशेषता छन् जुन विशेषताप्रति विश्वका शक्तिशाली मुलुक पनि लालायित छन्। जुन विशेषताबारे प्रायः धेरैलाई जानकारी पनि छ, यहाँ शाब्दिक मापदण्डका कारण व्याख्या गर्न सकिएन। यस्ता विशेषता रहेकामा इर्ष्या गर्ने र त्यस्ता विशेषतामाथि राज गर्न पाए हुन्थ्यो भन्ने साम्राज्यवादी विस्तारवादी मुलुकहरूले यही कुप्रथालाई हतियार तथा बहाना बनाएर यहाँका नागरिकलाई विभिन्न तरिकाबाट हात लिने, फुटाउने, धर्मान्तरण गराउने र विस्तारै आफ्नो वर्चस्व स्थापित गर्ने षड्यन्त्र बुनिरहेको महसुस सबैले गरिरहेको विषय हो। मान्छेलाई पशुवत् व्यवहार गर्ने रङ्गभेदको वंशगुण बोकेका परतŒवहरू अहिले यहाँको यो कमजोरीलाई समाएर यो मुलुकको मुटुमा प्रहार गरी यहाँको सर्वस्व लुट्ने खेल खेलिरहेका छन्।
कुनै समयको राम्रो कार्य अर्को कुनै समयका लागि अभिशाप हुनसक्छ, अहिले त्यही भएको छ, जातीय विभेदको ठूलो दरार खडा भएको छ, जातीय विभेद झाँगिएको छ। पहिला पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा यो विभेद खडा हुनुमा राज्य–राजनीतिक कारण देखिन्छ र अहिले पनि जातीय विभेद सिर्जना गर्नमा राजनीतिक क्षेत्र नै बढी उत्सुक एवम् अग्रसर देखिएको छ भलै त्यो रूप फरक छ, कारण फरक देखाइएको छ, पहिला बाध्यता थियो होला भने अहिले पराईबाट सञ्चालित तथा कसैको साम्राज्यवादलाई बडावा दिने योजनामा आधारित छ, प्रकारान्तरले जातीय विभेद हटाउनेभन्दा झन बढाउने चलखेल भइरहेको छ। 
स्त्री–पुरुषबीचको अन्तर भनेको केवल आङ्गिक मात्रै हो। आत्मिक चेतनाको अनुभूति एउटै हो तसर्थ अङ्गको आधारमा दुई जात देखाएर भेद गर्न पाइन्न। शब्द चिन्तन दर्शनका प्रवर्तक सद्गुरु भक्तशँकुले भनेजस्तै 'जात हाम्रो मानिस हो।' जबसम्म यो चेतनामा मान्छे पुग्दैन तबसम्म जातीय विभेद कुनै न कुनै रूपबाट रहने सम्भावना हुन्छ। 
सनातन धर्म दर्शन र प्रचलनमा आएको जातीय विभेेदको कुनै सम्बन्ध देखिँदैन। बरु अहिले पनि जातीयतालाई शासन पद्धति र राजनीतिक निकायले उठाइरहेको छ जुन अझै जातीय विभाजन तथा विभेद ल्याउने चाल तथा चिन्ताको विषय हो। सनातन धर्मशास्त्र वेद–वेदान्तले 'एको˜हम् बहुश्याम', 'योगः समत्व उच्यते', 'बसुधैव कुटुम्बकम्' जस्ता अद्वैत सिद्धान्त अर्थात सबै एक हो दुई होइनको मार्गदर्शन गर्छ। जब दुई होइन एक हो भने कसरी विभेद हुन्छ? यस्ता समानताको आत्मिक चेतना अर्थात आध्यात्मिक ज्ञानको मार्गोपदेश गर्ने सनातन धर्म दर्शनमा कहाँ जातीय विभेदको वकालत छ? नभएको विषय छुवाछुत तथा जातीय भेदभावलाई धर्मको नाममा समाजमा व्याप्त गराउनु धार्मिक–आध्यात्मिक ज्ञानविज्ञानको खिलाप हो, समग्र मानव सभ्यताका लागि दुःखको कुरा हो। चेतनशील नागरिकले कागले कान लग्यो भनेर कागको पछि दौड्नु भन्दा आफ्नो कान छाम्नुपर्छ अर्थात आफ्नो जन्मभूमिको वास्तविक सक्कली मौलिकता, धर्म, दर्शन, संस्कार, संस्कृतिमा के छ त्यसलाई अध्ययन, चिन्तन–मनन् र आत्मसात गर्न सक्नुपर्छ। 
आध्यात्मिक तथा मानवीयताको दृष्टिमा मान्छे तथा मान्छेको समुदायलाई दलित भन्न पाइन्न। राज्यसत्ताले पनि निश्चित मानव समुदायलाई दलित भनेर ठूलो अपमान गरिरहेको छ। यो त सरकार र राजनीतिक क्षेत्रको पो दलित मानसिकता हो। दलितको नाममा नेपालीलाई विभेदमा पार्ने तथा लडाउने, दलित शब्दलाई मागी खाने भाँडो बनाइरहने नियतको दलित मानसिकता केही पक्ष र तत्वमा छ जुन दलित समस्याको मुख्य कारक हो। सरकार, राजनीतिक क्षेत्र, दलित शब्दले पालेका केही एनजिओ, आइएनजिओहरूले दलितको नाममा आउने गरेको उपहारको लोभ त्याग्न सक्ने र जातीय विभेद निर्मुल गर्ने दृढ सङ्कल्प लिने हो भने जातीय विभेद हट्छ, गाह्रो पर्दैन र धर्म क्षेत्रलाई दोष दिनै पर्दैन। 
शवरीको जुठो रामचन्द्र भगवानले खाएको, वर्तमानमा पनि वाल्मीकि आश्रमकी पुजारी नेपाली थरकी महिला रहेको, मुक्तिनाथमा झुमाबाट पूजा अर्चना गरिने, मनकामनामा थापा थरका पुजारी रहने आदि जस्ता जातीय तथा लैङ्गिक समानताको परम्पराको संस्कृति हुँदाहुँदै र पशुपतिनाथ, मुक्तिनाथ आदि मन्दिरमा जातको आधारमा कसैलाई रोक लगाएको नपाइए पनि कहीँकतै सार्वजनिक मन्दिरमा प्रवेश निषेध गरिएका गुनासा छन्। जुन समस्यालाई धर्म क्षेत्रले अविलम्ब सम्बोधन गर्न जरुरी छ। दलित मानसिकता ठूलो जात भनिएको मान्छे तथा समुदायसँग पनि हुन्छ। जातीय विभेदको नाममा बढी लक्षित भएको कर्मकाण्डवाद–उपाध्यायवादको पक्षले आफूमा मानवीय रूपान्तरण ल्याउन जरुरी छ। सो नसक्ने हो भने यही पक्षबाट शाश्वत सनातन धर्म दर्शनको क्षेत्रमा कलङ्कका रूपमा फैलिरहेका यावत् समस्याको कारक तŒवको पक्षपोषण भइरहेको बुझिनु स्वाभाविक हुन्छ। 
दलित भनिएका तथा आफूलाई दलित ठानेकाहरूबीच पनि छुवाछुतको विभेद पाइन्छ। दलितको वास्तविक समस्या निराकरण गर्नु परै छ मात्रै कति दलित नेतालाई दलितको नाममा भत्ता खानु एकमात्रै अभीष्ट ध्येय रहेको देखिन्छ। जहिलेसम्म दलित मानसिकताबाट माथि उठ्न सकिन्न, पराश्रित मानसिकताबाट उठ्न सकिन्न तबसम्म कानुनमा जति नै जातीय विभेद गर्न नपाइने भने पनि व्यवहारमा कार्यान्वयन हुन कठिन हुन्छ। 
मान्छेलाई दलित शब्दबाट सम्बोधन गर्न तुरुन्त रोक लगाउनुपर्छ। दलितको नाममा आउने विभिन्नखालको सहयोगको लोभ सम्बन्धित पक्षले त्याग्नुपर्छ। शब्दकोश, सामाजिक मानसिकता आदि सबैतिरबाट दलित शब्द हटाउने अभियान चलाउनुपर्छ। धर्मान्तरण गराउने मिसनहरूबाट जातीयताको विभेदजन्य कार्यलाई विभिन्न बहाना बनाएर नेपाली समाजभित्र समुदाय–समुदायबीच झन ठूलो विभेद सिर्जना गर्ने षड्यन्त्र भइरहेको र यो उनीहरूको प्रमुख ध्येय भएकोप्रति आमनेपाली चनाखो हुन जरुरी छ। 
यावत् पक्षलाई नहेरी विभिन्न कारणबाट नेपाली समाजमा फैलिएको विकृति विसंगतिलाई हिन्दु धर्मसँग जोडेर हेर्ने र धर्म, दर्शनहरूमा सर्वोत्कृष्ट रहेको सनातन हिन्दु धर्मको वाङ्मयलाई नै दोष दिने तथा धमिलो पार्ने, आलोचना गर्ने वा ओझेलमा पार्ने नियतको कार्य कदापि विद्वान्हरूको बुद्धिमानी हुन सक्तैन। 
महासचिव : ब्रह्माण्डीय सनातन धर्म महासभा

प्रकाशित: १४ भाद्र २०७१ २०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App