coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सिकाइमा विद्यार्थीको सक्रियता

सिकाइका लागि सिकारुको सक्रियता आवश्यक हुन्छ। निष्क्रिय भएर सुनेका आधारमा सिकाइ प्रभावकारी तथा दिगो हुन सक्दैन। सिक्नु भनेको सिकेको कुरा व्यवहारमा प्रयोग गर्न सक्ने हुनु हो। सिकाइमा जति बढी विद्यार्थी तथा सिकारुको सक्रियता हुन्छ त्यति नै बढी सिकाइ हुन सक्छ।

विद्यार्थीकेन्द्रित सिकाइमा शिक्षकको भूमिका सहजकर्ता, पथप्रर्दशक र सहयोगीको हुनुपर्छ। मुख्य भूमिका सिक्ने व्यक्ति तथा विद्यार्थीकै हुनुपर्छ। सूचना धेरै संकलन गर्न सक्नु नै सिकाइ होइन। प्रभावकारी सिकाइ हुन सूचनाको थुप्रो भन्दा उच्चस्तरीय र व्यवस्थित सोचाइ सिप विकास महत्त्वपूर्ण हुन्छ।

सिकाइ सिकारु केन्द्रित र जीवनोपयोगी बनाउन सिकारु स्वयंले सूचना प्राप्त गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार प्रयोग गर्ने, सूचनालाई जीवनसँग सान्दर्भिक बनाउने कार्य गर्न सक्नुपर्छ। सिकाइ विद्यार्थी तथा सिकारुकेन्द्रित हुन आवश्यक छ।

शिक्षक तालिमहरू पर्याप्त भइरहेका छन्। कतिपयले शिक्षकले शिक्षण सिकाइमा बिताउने समय भन्दा तालिमका लागि उपयोग गर्ने समय धेरै भयो भनेको पनि सुनिन्छ। सरकारी तथ्यांकले झण्डै ९५ प्रतिशत शिक्षक तालिम प्राप्त रहेको देखाउँछ।

हरेक शिक्षक तालिममा विद्यार्थीकेन्द्रित शिक्षण सिकाइका विधि अपनाउने, विद्यार्थीहरू खुसी, उत्साही र सक्रिय भएर आफैँ गरेर सिक्ने मौका दिने वातावरण निर्माण गर्ने भनेर छलफल हुने गर्छ।

हाम्रा अधिकांश कक्षाकोठामा हुने शिक्षण सिकाइ प्रवचन विधिमा आधारित छन्। शिक्षक कक्षाकोठामा प्रवेश गरी विद्यार्थीलाई पुस्तक पल्टाउन लगाइन्छ। शिक्षकले हिजो कुन पेजमा पुगेको थियो पेज पल्टाउ त भनेर विद्यार्थीलाई भन्ने गरिन्छ।

परिवेश, मौसम, समसामयिक घटनासँग सान्दर्भिक विषयवस्तुमा शिक्षण सिकाइ गर्दा विद्यार्थीका लागि निर्माण गरिएको पाठ्यपुस्तकको पृष्ठपृष्ठ क्रमशः जानुपर्छ भन्ने छैन। सन्दर्भअनुसार कहिले सुरुवात कहिले मध्य त कहिले अन्त्यको पाठ पनि विद्यार्थीले पढ्न सक्छन्।

सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।

शिक्षण सिकाइ विद्यार्थीको अवस्था कस्तो छ, पूर्वज्ञान, सिप, धारणा कस्तो छ ? विद्यार्थी कसरी सिक्न चाहन्छ भन्नेतर्फ नहेरी पाठ्यपुस्तकमा भएका पाठहरूको व्यख्या गर्ने, भट्याउने र रटाउनेमा सीमित गरिएको छ। यस्तो सिकाइ जीवनमा काम लाग्ने हुन सकेको छैन।

विद्यालयमा सिकाएका अधिकांश कुरा माथिल्लो तहमा जाँदा र उमेर बढ्दै जाँदा बिर्सँदै जाने, दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न उपयोगी नहुने गरेका छन्। शिक्षण सिकाइ गर्नु भनेको माथिल्लो तहको सिकाइका लागि जग बसाल्ने मात्र होइन, आफैँ सिक्ने सिप, बानी र क्षमता विकास गराउनु पनि हो।

विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ हुन विद्यार्थी आफैँ सिक्ने, गरेर सिक्ने, बानी निर्माण गर्न विद्यार्थीको आवश्यकता, चाहना, रुचिअनुसार सिक्ने अवसर सिर्जना गर्नु हो। शिक्षकले शिक्षण गर्नुभन्दा पहिला नै आज यो विषयवस्तुमा योयो सिकाउँछु र यीयी उपलब्धि विद्यार्थीले प्राप्त गर्नेछन् भनेर एकीन गरी सानो योजना निर्माण गर्नुपर्छ र त्यसैअनुसार विद्यार्थीले के के गर्ने र आफूले केके गर्ने मानसिक तयरी गरिएको हुनुपर्छ।

विद्यार्थीको क्षमता, चाहना र वास्तविक आवश्यकताका आधारमा सिकाइका विषयवस्तु र प्रक्रिया छान्न सकियो भने विद्यार्थीले आफैँ उत्साहित भएर सिक्न सक्छन्। प्रभावकारी सिकाइका लागि विद्यार्थीसँग शिक्षकको सकारात्मक सम्बन्ध स्थापित भएको हुनुपर्छ। शिक्षकसँग असहज मान्ने, डराउने, परेका समस्या भन्न हिच्किचाउने अवस्था भएमा विद्यार्थीले सिक्न सक्दैन। विद्यार्थीको शिक्षक तथा सिकाउने व्यक्तिप्रति जति आत्मीयता र विश्वास हुन्छ सिकाइ त्यति नै प्रभावकारी हुन्छ।

हाम्रो समाजमा रहेको जातिय तहगत संरचना, महिला कमजोर हुनाले साहसी कार्य गर्न सक्दैनन् भन्ने सोच, अपाङ्गलाई हेयको दृष्टिले हेर्ने दृष्टिकोण, आर्थिक विपन्न हुनु भनेको असक्षम भएर हो भन्ने सोच जस्ता गलत सोचले कक्षाकोठाको शिक्षण सिकाइमा समेत प्रभाव परेको छ।

यस्ता समुदाय र परिवेशका विद्यार्थीलाई विद्यालयमा प्रत्यक्ष तथा अप्रत्यक्ष कमजोर पहिचान दिइएको हुन्छ। विद्यार्थीकेन्द्रित सिकाइ गर्नका लागि, सबै विद्यार्थीको क्षमता उजागर हुने वातावरण निर्माण गरी समाजका गलत सोचको प्रभाव कक्षाकोठामा पर्न दिनु हुँदैन। समाजमा भएको कमजोर पहिचान कक्षाकोठामा र सिकाइमा पनि पर्न दिनु भनेको अन्याय हो।

शिक्षक समाजमा रहेको पहिचानले विद्यार्थीको क्षमता विकासमा असर नगरोस् भनेर सचेत हुनु आवश्यक छ। विद्यार्थीको कमजोर परिवारिक पहिचान, शारीरिक तथा सिकाइसम्बन्धी समस्यालाई फरक किसिमले परिभाषित गरी सकारात्मक उत्प्रेणा जगाउन शिक्षकले सहयोग गर्नुपर्छ।

सिकाइमा विद्यार्थीको सहभागिता वृद्धि गर्न सिकाइका विषयवस्तु र प्रक्रिया छनोटमा विद्यार्थीको स्वामित्व स्थापित गर्नुपर्छ। सिकाइलाई बढीभन्दा बढी वास्तविक संंसारसँग सम्बन्धित बनाउनुपर्छ। सिकाइलाई विद्यार्थीको क्षमताअनुसारको सिकाइ गरिनुपर्छ। मेरो यो क्षमता वृद्धि गर्न यो कुरा सिक्नु आवश्यक छ भन्ने विद्यार्थीलाई जानकारी हुनुपर्छ।

सिकाइलाई कक्षाकोठामा, ४५ मिनेटको समयावधिमा सीमित नगरी घरपरिवार, समाज, खेल्ने चौर, वन, पाखोपखेरा, बाटोघाटोमा पनि सिकाइ हुन सक्छ। हरेक स्थान र समयमा सिकाइका मौका हुन्छन् भन्ने मान्यता स्थापित गरिनुपर्छ।

सिकाइ शिक्षकले पढाएर विद्यार्थीले सिक्नेमात्र होइन, विद्यार्थी–विद्यार्थी तथा साथी समूहको सहकार्यबाट सिक्न साथीहरूबीच बहस अन्तरक्रिया, वादविवाद गर्ने, साथीको सिकाइको मूल्यांकन गर्ने, साथीले साथीलाई सिकाउने, सिक्न सहयोग गर्ने, पृष्ठपोषण गर्ने मौका दिने हो भने झनै राम्रो सिकाइ हुन सक्छ। सिकाइलाई परियोजनामा आधारित बनाउन सकियो भने विद्यार्थीको सक्रियता बढ्ने र विद्यार्थीकेन्द्रित सिकाइ हुने संभावना हुन सक्छ।

शिक्षकले कुनै घटना, परिवेश, सन्दर्भसँग जोडेर विद्यार्थीलाई त्यसबारे विश्लेषण गर्न र धारणा बताउन लगाउने हो भने पनि विद्यार्थी सक्रिय हुन सक्छ। सिकाइलाई सोध र कार्यमूलक अनुसन्धानमा आधारित, खोज अनुसन्धानमूलक बनाउन सक्ने हो भने पनि विद्यार्थीको सक्रियता बढ्छ। सिकाइ विद्यार्थीकेन्द्रित हुन्छ।

एक्काइसौँ शताब्दीमा छापिएको कुरा पढ्न, भावनालाई शब्दमा उतार्न र गणितीय सिप हुँदैमा सिकाइ पर्याप्त हुँदैन। सहकार्य गर्न सक्ने, एकापसमा सहयोग गर्न सक्ने, सिर्जनात्मक तरिकाले सोच्न र कार्य गर्न सक्ने, समालोचनात्मक तरिकाले सोच्न सक्ने सिपहरू हुनु अति नै आवश्यक छ।

यस्ता सिपलाई एक्काइसौँ शताब्दीका सिप पनि भन्ने गरिन्छ। यी सिप सिक्नका लागि विद्यार्थीको सूचना तथा सञ्चार प्रविधिमा पहुँच हुन र प्रविधिको प्रयोग गरेर आफैँ सिक्ने अवसर प्रदान गर्नुपर्छ। 

प्रकाशित: ११ कार्तिक २०७८ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App