२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

क्यान्सर उपचारका चुनौती

नेपालमा क्यान्सर रोगीको आधिकारिक तथ्याङ्क नभए पनि विभिन्न संस्थाका अनुमानअनुसार ५० देखि ५५ हजार क्यान्सर रोगी छन्। यस संख्यामा वार्षिक २८ देखि ३२ हजार थपिन्छन्। तर रोगीका अनुपातमा उपचार सेवामा भने वृद्धि हुन सकेको छैन। क्यान्सर रोगको उपचारका लागि मुख्यरूपमा रेडियोथेरापी, केमोथेरापी, शल्य चिकित्साजस्ता पद्धति अपनाइने गरिएको छ। त्यसबाहेक बोन म्यारो एन्ड सेल ट्रान्सप्लान्टेसन, इमुनोथेरापी अर्थात् बायोथेरापी, टार्गेटेड थेरापिज जस्ता पद्धति पनि यसको उपचारमा प्रयोग हुँदै आएका छन्।
क्यान्सर रोग लागेको थाहा पाउनेबित्तिकै उपचारमा सहभागी हुने हो भने उपचारको प्रभावकारिता वृद्धि हुन्छ। यसरी रोग पहिचान गर्ने तथा सुरुको अवस्थामा नै रोगीलाई अस्पताल जाने वातावरण तयार गर्न जनचेतना अभिवृद्धि जरुरी छ। तर विकट भौगोलिक अवस्था र असाक्षरले यसमा बढोत्तरी हुन सकेको छैन। स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाहरुलाई पनि यही कारण चेतना अभिवृद्धिमा समस्या आइपरेको छ। समन्वय अभाव अर्को चुनौती देखिएको छ।
सूर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण, स्वस्थ खानपानमा प्रोत्साहन, वातावरणीय प्रदूषण नियन्त्रण, यौनजन्य रोग नियन्त्रण, रासायनिक मल, कीटनाशक औषधी र अखाद्य रङ्ग प्रयोग भएका खानेकुराको बिक्री वितरणमा नियन्त्रण गर्न सकेमा यसको रोकथाम प्रभावकारी हुने छ। साथै, रोग लाग्न सक्ने पूर्व अवस्थाबारे समुदायमा जनचेतना अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्न सकियो भने क्यान्सर रोग नियन्त्रण सहज हुनेेछ।
हाल क्यान्सर उपचारमा विशेष अस्पतालका रूपमा चितवनको भरतपुरमा सरकारको पूर्ण अनुदानमा सञ्चालित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छ। यस्तै नेपाल क्यान्सर रिलिफ सोसाइटीद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले पनि सेवा पुर्‍याउँदै आएको छ। राजधानीस्थित वीर अस्पतालमा पनि बाहिरबाट गरिने रेडियोथेरापीका लागि एउटा मेसिन छ। त्यसबाहेक निजी स्तरबाट सञ्चालित कतिपय अस्पतालमा क्यान्सर रोगको उपचारका लागि प्रयोग गरिने केमोथेरापी सेवा उपलब्ध छ। क्यान्सर रोगको उपचार एकल पद्धतिबाट मात्र सम्भव नभएकाले यसका लागि प्रायः माथि उल्लेख गरिएका तीनवटै उपचार विधि प्रयोग गर्नुपर्ने हुन्छ। यी सेवा नेपालमा उपलब्ध भए तापनि ती सेवा प्रदान गर्नका लागि आवश्यक अत्याधुनिक पद्धति भने सुरु हुन सकेको छैन।
नेपालमा क्यान्सरको उपचारका लागि अति आवश्यक प्रविधि तथा पद्धतिको अभाव एउटा मुख्य चुनौती हो भने उपचारमा संलग्न रहने विशेषज्ञ जनशक्तिको अभाव अर्को समस्या हो। एकातर्फ उपचारका लागि चाहिने अत्याधुनिक उपकरण थोरै छ भने अर्कोतिर स्वास्थ्य कर कोषअन्तर्गत उठ्ने राजस्वलाई सरकारले उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा यस्ता समस्याले निकास पाउन सकेका छैनन्। यस रकमको सही उपयोगले धेरै हदसम्म क्यान्सर रोगको उपचारलाई सहज बनाउन सक्थ्यो।
सरकारले यो रोगको उपचारका लागि छुटको व्यवस्था गरेको छ तर यस्तो छुट पहुँचवाला र टाठाबाठाले मात्र पाउने स्थिति छ। त्यसैले नसक्नेहरूको पहिचान गरी उनीहरुलाई निशुल्क औषधोपचार व्यवस्था गर्न सके गरीबले उपचार नपाएकै कारण मर्नुपर्ने थिएन। यस्तै सञ्चालित धेरथोर कार्यक्रम पनि अति आवश्यक क्षेत्र र प्रभावित समुदायसम्म पुग्न नसक्नु अर्को चुनौती रहेको छ।
मुलुकका सबै क्षेत्रमा क्यान्सर अस्पताल नहुनु, भएकामा पनि आवश्यक स्रोत साधन अभाव रहनु जस्ता कारण सरकारका प्रयास बालुवामा पानी भइरहेका छन्। देशका सबै क्यान्सर अस्पताललाई एउटै छाताअन्तर्गत सञ्चालन गरेर स्रोत र साधनको अधिकतम् परिचालन गर्न सकेमा क्यान्सर उपचारका चुनौती कम गर्न सकिनेछ।

प्रकाशित: २४ कार्तिक २०६६ २२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App