६ कार्तिक २०७८ शनिबार
विचार

गौरवमय पर्व बडादसैँ

२०७८ सालको बडादसैं असोज २१ गते घटस्थापनादेखि प्रारम्भ हुँदैछ। घटस्थापनादेखि नवरात्रसम्म गरिने बडादसैँ अर्थात नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा र हिन्दुहरूको मौलिक चाड हो। 

देवीपुराणमा उल्लेख छ– ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रावणविरुद्ध युद्ध गर्न प्रस्ताव गरेका थिए।’ यसरी नै पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रावणको वध गरेका थिए।’ तर रावणको वधको विषयम कतिपय धार्मिक विद्वान्हरूले विजयादशमीमा नै रावणको वध भएको थियो भन्ने अर्थ लगाउने गर्छन्। 

तर देवीपुराण र पद्मपुराणमा उद्धृत वाक्यलाई नै प्रमाणित मानिन्छ। अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विजयादशमीको दिनदेखि शुभदिनका रूपमा हिमवत्खण्ड तथा भारतखण्डमा मानिँदै आएको हो। 

असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो दसैँ। दसैँ परम्परागत नेपालीको राष्ट्रिय सांस्कृतिक पर्व हो। घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठमा सबै जातका नेपाली आराधनाका लागि पुग्ने गर्छन्।

हिमवत्खण्ड नेपाल– देवी, देवता, मन्दिर, धाम, अनेकौँ चाडपर्व र सांस्कृतिक परम्पराबाट अभिपे्ररित देवभूमि हो। वशिष्ट ऋषिले हिमवत्खण्डबारे भनेका थिए– ‘भारतखण्डे उत्तरायणे, स्वर्णभूमि, स्वर्गभूमि।’ ऋषिमुनीहरूले यस क्षेत्रमा वेद, उपनिषद्, महाभारत, रामायण तथा नीतिशास्त्रहरूको रचना गरेर यो स्वर्णभूमिलाई अग्रगण्य गराउन सकेका थिए।

यस क्षेत्रका ऋषिमुनीहरूको महान् योगदान, देवीदेवता, मन्दिर, धाम, चाडपर्वहरू र यहाँका नीतिशास्त्रहरूबारे चर्चा गर्नु सानोतिनो खोज अनुसन्धानबाट संभव छैन। कुनै एक विषयबारे लेख्न थालियो भने विभिन्न ग्रन्थ तयार हुन्छन्। नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नै धनी राष्ट्र मानिन्छ। हामी नेपालीका चाडपर्व यति मौलिक छन् कि कतैबाट नक्कल गरिएका होइनन्। 

हाम्रा सांस्कृतिक मान्यतामध्ये दसैँ र तिहार त्यत्तिकै मौलिक चाड हुन्। विक्रम संवत् १८०० भन्दा अगाडि हिमवत्खण्डका धेरै हिन्दुराज्यहरू दक्षिणमा अंग्रेजी साम्राज्यबाट त्रसित थिए। गोर्खाका राजा पृथ्वीनारायण शाहबाट यस क्षेत्रका अनेकौँ राज्यका जनता, विभिन्न जात–जातिको सहयोगमा एकीकरण गरेर एकीकृत विशाल नेपालको निर्माणमा अभियान चलाएका थिए।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण अभियानमा काठमाडौँ उपत्यका विजयपछि इन्द्र जात्राको शुभदिनमा कुमारीको हातबाट टीका ग्रहण गरी हनुमानढोका सिंहासनमा आरोहण गरेका थिए। काठमाडौँ उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दसैँमा फूलपाती र जमरा गोर्खाको गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट दसैँको सप्तमीका दिन बढाइका साथ काठमाडौँ ल्याउने परम्परा बसाएका थिए। त्यो परम्परालाई अध्यावधि मनाइन्छ। बडादसैँमा नेपालका अनेकौं शक्तिपीठमा नेपालीको घुइँचो हुन्छ। 

गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा,   तेह्रथुमको सिंहबाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजविराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगन्जकी माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिङचोक भगवती, काठमाडौँ उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतिदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाडौँ र भक्तपुरकी इन्द्रायनी, भक्तपुरकै नवदुर्गा, पाटनकी बगलामुखी, हनुमान ढोका–तजेलु भवानी, साँखुकी वज्रयोगिनी, पाटनकी वज्रबाराही, डोल्पाकी त्रिपुरासुन्दरी, बाग्लुङकी माइस्थान, स्याङ्जाकी चन्डीकालिका, नेपालगन्जकी बागेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उग्रतारा, कालीकोटकी बडी मालिकादेवीलगायत नेपालभरका अनेकौँ शक्तिपीठमा भक्तजनको ठूलो उपस्थिति हुन्छ।

देशका हरेक क्षेत्रका शक्तिपठिको आ–आफ्नै महिमा छ। स्वदेश–विदेशमा जहाँजहाँ अवस्थित नेपालीहरू सकेसम्म दसैँ मनाउन उत्सुकताका साथ आ–आफ्नो घर फर्कन्छन्, आफ्नो मातृभूमिमा फर्कन नसक्नेहरू विदेशमा सगौरवसाथ दसैँ मनाउँछन्। 

वैदिक हिन्दु सनातन धर्महरूमा सर्वश्रेष्ठ महासागर हो। वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाषक हुन्छन्। ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाषक हुन्। पाञ्चायन देवी–देवताहरू शक्तिपुञ्ज हुन्। पाञ्चायन देवतामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ। पाञ्चायन देवी–देवताको आराधनाको आ–आफ्न्नै समय हुन्छ। घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आराधना गर्ने समय हो। 

हामी सबै हिन्दु तथा बौद्धहरू नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गर्छौँ। दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफू भन्दा बूढापाका गुरुहरूबाट टीका लाउने प्राचीन परम्परा छ।

दसैँमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ। कृष्ण प्रणामी, वैष्णव, जैन धर्मावलम्वीहरू पशु बलिलाई अमानवीय विकृति ठान्छन्। डा. गोविन्द टण्डन भन्छन्– ‘विजयादशमीको धार्मिक, सांस्कृति एवं दार्शनिक महत्त्व अति नै छ। नवरात्रभरि शक्तिरूपा देवी दुर्गाको विविध स्वरूपको आराधना गरी काम क्रोध, मोह, मद जस्ता दुर्गुणलाई त्याग्न साधनास्वरूप पशु बलि गर्ने मुख्य पर्व जस्तो बन्न गएकाले खसीबोका पर्वका रूपमा विकसित हुँदै जानु ज्यादै दुःखद छ। 

धर्मको महत्त्व, गौरव र शालीनतालाई नै पशु बलि परम्पराले यस्तो मोडमा धेकेलेको छ।’ यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन्– ‘हाम्रा धर्मशास्त्रले राजश, तामस या सात्विक पूजा विधि चयन गर्न अधिकार दिएको छ। बलि नदिइ पनि पूजा गर्न सकिन्छ तर बडादसैँमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भवानीका लागि बलि आवश्यक छ।

देवीहरूले बलिबाट शक्ति आर्जन गर्छन् भने भक्तजनले पनि बलि चढाएर शक्ति आर्जन गर्छन्। राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ। राज्य शक्ति अथवा प्रभुसत्ता या सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकालदेखि नै पशुपक्षीहरूको बलि दिने व्यवस्था रहँदै आएको छ।’ यसरी मतभिन्नता पनि प्रारम्भदेखि नै हुँदै आए तापनि दसैँलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिइ फूलपाती चढाएर पनि मनाउने गरिएको छ।

विश्वभरमा हिन्दु तथा बौद्धहरू यसलाई आफ्नो मौलिक चाड ठान्छन्। भुटानका तल्कालीन राजा जिग्मे सिंगे वाङचुकले दसैँबारे भनेका थिए– ‘म सक्रियतासाथ दसैँ पर्वमा भाग लिन्छु। हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र विष्णुको पनि पूजा गर्छौँ।’ 

उक्त कुरा सन् १९९३ जनवरी ७ मा ‘द टाइम्स अफ इन्डिया’ को एक अन्तर्वार्तामा प्रकाशित भएको थियो। राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा दसैँ नेपालीको महान् चाडका रूपमा परिचित भइसकेको हुँदा यसको महत्त्वलाई सही ढंगले हामी हिन्दुले उजागर गर्न सक्नुपर्छ। पृथ्वीनाराण शाहभन्दा शताब्दियौँअगाडिदेखि नै दसैँ र तिहार यस क्षेत्रको नै हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बन्दै आएको छ।

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। काठमाडौँ उपत्यकामा राता अक्षताको टीका लगाउने परम्परा भए तापनि नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

स्वदेशमा केही जनजातिका अगुवाले बहिष्कार गर्ने कुरा उठाए तापनि विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिम्बू, मगर, थकाली, थारू, जो नेपाली होस्, उनीहरूले दसैँ नेपालीहरूको मौलिक चाड हो भन्ने कुरा आत्मसाथ गरेर हर्षोल्लासपूर्वक दसैँ मनाउँछन्। 

प्रकाशित: २१ आश्विन २०७८ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App