६ कार्तिक २०७८ शनिबार
विचार

प्रविधिको प्रयोगकर्ता ज्येष्ठ नागरिक धेरै सुखी

अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। यसपालि ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नाराका साथ ३१औं दिवस मनाइँदै छ। विद्युतीय प्रविधिको उचित प्रयोगमा संसारका ज्येष्ठ नागरिकको सहभागिताको परिकल्पना यसपालिको नाराले गरेको छ।

प्राविधिक क्षेत्रमा भएको प्रगतिले दिगो विकासको लक्ष्यप्रति तीव्र गति लिने आशा पलाएको छ। तथापि, अति विकसित र अल्पविकसित देश बीचको गहिरो खाडलसहित संसारको आधा जनसंख्या इन्टरनेटको सञ्जालबाट बाहिर रहेको देखिएको छ। 

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनको हालैको प्रतिवेदन अनुसार, महिला र ज्येष्ठ नागरिकहरू समाजका अन्य समूहभन्दा बढी मात्रामा विद्युतीय प्रविधिको असमानता भोगिरहेका छन्। उनीहरूलाई या त प्रविधि प्रयोगको अभाव छ, कि त प्रविधिको क्षेत्रमा भएको प्रगतिबाट निरन्तर प्राप्त हुने अवसर वा सुविधाबाट पूर्ण रूपमा वञ्चित छन् भन्ने अध्ययनले देखाएको छ।

यसै बीच हाल जसरी धेरै मानिसलाई प्रविधिको प्रयोगमा जोड्ने प्रयास चलिरहेको छ, त्यसरी नै त्यहाँ नयाँ जोखिम पनि स्पष्ट रूपमा देखिएका छन्। जसको उदाहरणका लागि ज्येष्ठ नागरिकको मानव अधिकार, गोपनीयता आदि कुरा चुनौतीका रूपमा रहेका छन्।  

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उद्देश्यहरू उल्लेख गरेको छ। जसमा बढ्दो उमेर र मानव अधिकार, सामाजिक सांस्कृतिक मापदण्ड र स्वायत्तताको अधिकारलाई ध्यानमा राख्दै विद्युतीय प्रविधिसँग सम्बन्धित रहनुपर्ने छ। त्यस्तै, ज्येष्ठ नागरिकलाई विद्युतीय प्रविधिमा सहभागिताको महत्त्वका बारेमा सचेतना जगाउनुपर्नेछ। 

त्यस्तै, दिगो विकासको लक्ष्यमा पूर्ण उपलब्धि हासिल गर्नका लागि विद्युतीय प्रविधिको लाभ उठाउने नीतिहरू अवलम्बन गर्नुपर्नेछ। साक्षरतामा प्रवेश, हरेक क्षेत्रमा रहेका सार्वजनिक र निजी हित,अन्तर्सम्बन्ध, निर्माण, प्रयास, क्षमता विकास, पूर्वाधार र नवीनतम कार्यलाई सम्बोधन गर्नुपर्नेछ। 

साइबर सुरक्षा र नैतिकता, डिजिटल संसारमा ज्येष्ठ नागरिकको गोपनीयता र सुरक्षाको सुनिश्चितता कायम गर्नका लागि नीतिगत कानुनी संरचनाको भूमिकाको खोजी गर्नुपर्नेछ। ज्येष्ठ नागरिकको अधिकारका साथै अन्य उमेर समूहका सम्पूर्ण व्यक्तिको अन्तर्सम्बन्धित मानव अधिकारका लागि आवश्यक कानुनी संयन्त्रको विकासमा जोड दिनुपर्नेछ।

युवाका माझमा विद्युतीय प्रविधि ज्यादै प्रयोगमा आएको छ, तर ज्येष्ठ नागरिकलाई यो प्रविधिको सेवाले धेरै टेवा दिन सकेको छैन। जसले गर्दा आधुनिक जीवनमा स्वतन्त्र बन्न चुनौती देखिएको छ।

विगतको दशकभन्दा आज आएर हाम्रो जीवन शैलीमा ज्यादै परिवर्तन आएको छ। त्यसमा डिजिटल प्रविधिले तीव्र गतिमा थप परिवर्तन ल्याएको छ। जसले गर्दा युवामा त यो प्रविधिले चमत्कारै गरेको छ। यसो हुँदाहुँदै पनि ज्येष्ठ नागरिकमा भने यसको प्रयोग नगन्य रहेको छ। ‘हेल्पएज इन्डिया’को प्रतिवेदन अनुसार सन् २०५० सम्म भारतमा ज्येष्ठ नागरिकको जनसंख्या १८ वर्ष मुनिका किशोरावस्थाको संख्या जति हुन्छ, उनीहरूको पनि त्यति नै हुने देखिन्छ।

त्यसले गर्दा डिजिटल प्रविधिको प्रयोग अत्यावश्यक छ। अझ ज्येष्ठ नागरिकलाई आधार मानेर प्रविधि पहुँचको विकास गर्नुपर्ने देखिन्छ। किनभने एक सय १० मिलियन ज्येष्ठ नागरिकहरूको साक्षरता दर ४४ प्रतिशत मात्रै छ र यस्तो अवस्थामा मोबाइल फोन र इन्टरनेटको प्रयोग प्रभावकारी नरहने देखिन्छ।

स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोगविना ज्येष्ठ नागरिकहरू पूर्ण रूपले एक अर्कामा बोलचाल गरेर र व्यक्तिगत सम्पर्क राखेर व्यवहार गर्ने गर्छन्। तर विगत १० वर्षदेखि प्रविधिमा आएको व्यापक विकासले गर्दा संसार नै परिवर्तन भइसकेको छ। आजका धेरैजसो व्यापार प्रविधिको प्रयोगबाटै हुने गरेको छ। अनुभवका आधारमा यो ज्यादै सजिलो माध्यम बनेको छ। 

युवा वर्गका लागि यसको प्रयोग बढ्दो गतिमा छ र उनीहरूले स्वभावतः यसको प्रयोगलाई अँगालेका छन्। यसले जीवनलाई ज्यादै सहज बनाएको छ भन्दा अत्युक्ति नहोला। तर यो परिवर्तनले ज्येष्ठ नागरिकहरू, जो यो प्रविधिसँग बानी परेका छैनन्, उनीहरूलाई जीवन अगाडि बढाउन बाधा पारेको छ। अतः हामीले यो कुरालाई मनन गरी ज्येष्ठ नागरिकमैत्री प्रविधि ल्याउनुपर्छ।

नयाँ प्रविधिले ज्येष्ठ नागरिकको जीवनलाई अहिलेभन्दा धेरै गुणा समृद्ध बनाउन सक्छ। प्रमुख कुरा त प्रविधि सञ्चालन गर्न सक्ने ज्येष्ठ नागरिकले आफूलाई समय सापेक्ष पार्न सक्छन्। 

उस्तै उमेरका तर प्रविधि नजानेका ज्येष्ठ नागरिकले भन्दा प्रविधिमा पोख्त भएकाले दैनिक जीवनमा खुसी रहन सक्छन् र सम्पन्नता पनि प्राप्त गर्न सक्छन्। त्यस्तै, ज्येष्ठ नागरिकले स्वतन्त्रपूर्वक आफ्नो व्यापार अनलाइन प्रविधिद्वारा सञ्चालन गर्न पनि सक्छन्, यसले गर्दा अरू मानिसमा भर पर्नुपर्दैन।

त्यसैले यो प्रविधि आजका ज्येष्ठ नागरिकलाई चौतर्फी विकास गर्ने अत्यावश्यक प्रक्रिया हो। यो प्रविधिविना ज्येष्ठ नागरिकले एक्लोपन व्यतीत गर्नुपर्ने र असन्तुष्ट भएर बस्नुपर्ने अवस्था आउन सक्छ। मानौँ, कुनै ज्येष्ठ नागरिकको सन्तान अर्कै सहर वा देशमा बस्छ, उसलाई सम्पर्क गर्ने माध्यम भनेकै अहिले सामाजिक सञ्जाल बनेको छ। 

यस्तो अवस्थामा ज्येष्ठ नागरिकले प्रविधि चलाउन जानेनन् भने सन्तानसँगको सम्पर्कबाट टाढा रहनुपर्ने हुन्छ। हेल्पएज इन्डियाको प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो परिवार वा साथी भाइलाई सम्पर्क राख्ने गरेको उल्लेख छ।

धेरै ज्येष्ठ नागरिकहरू, जो एउटा सहरबाट अर्को सहरमा आउने–जाने गर्छन्, अथवा जसको स्वास्थ्यमा समस्या छ, उनीहरूको जीवन चुनौतीपूर्ण छ, तर सामाजिक सञ्जाल र मोबाइलको प्रयोगले मात्र पनि ज्येष्ठ नागरिकलाई वरदान साबित हुन सक्छ। त्यसरी नै अनलाइन सेवा अर्को त्यस्तै महत्त्वपूर्ण प्रविधि हो। जसको प्रयोगले ज्येष्ठ नागरिकले आफूले प्रयोग गरेको वस्तुको बिल तिर्न सक्छन् र आवश्यक वस्तु यिनै माध्यमबाट मगाउन पनि सक्छन्।

 यसका साथै बैंकको कारोबार घरमै बसेर आनन्दका साथ प्रयोग गर्न सक्छन्। घरबाटै टिकट बुकिङ गर्न सक्छन्, खाना मगाउन सक्छन्। काम गर्ने मानिस मगाउन सक्छन्। र, मनोरञ्जन समेत लिन सक्छन्। यो प्रविधि आवश्यक वस्तु प्राप्त गर्नका लागि, यात्राका लागि सन्तोषजनक त छँदै छ, त्यसबाहेक चाहेको खाना मगाउनका लागि पनि उत्तिकै आवश्यक छ। वास्तवमा त्यही प्रविधिबाट अन्य प्रविधिको प्रयोग कसरी गर्ने भन्ने समेत सुविधा प्राप्त गर्न सकिन्छ।  

उदाहरणका लागि ज्येष्ठ नागरिकलाई तालिम दिन विभिन्न नाम गरेका एप उपलब्ध छन्। जसको माध्यमबाट विभिन्न इन्टरनेटको सुविधा लिन सकिन्छ। इन्टरनेट भनेको जहाँ गए पनि सूचना प्राप्त गर्न सक्ने माध्यम हो। ताजा खबर पाउन होस् वा आफूलाई इच्छा लागेको नयाँ कुरा सिक्नका लागि होस्, इन्टरनेट एक माध्यम हो। युट्युबमा भिडियो हेरेर व्यायाम सिक्न सकिन्छ। त्यस्तै, भोजन बनाउन सिक्न सकिन्छ। विभिन्न खाने कुरा, शरीरलाई आवश्यक पौष्टिक तत्वका बारेमा पनि जानकारी लिन सकिन्छ।

यस प्रकार इन्टरनेटर र प्रविधिको प्रयोगले ज्येष्ठ नागरिकले स्वास्थ्यका लागि तुरुन्तै काम लाग्ने कुराहरू सिक्न सक्छन्। यी प्रविधिहरूले स्वास्थ्य समस्याबारे पनि जानकारी दिन सक्छ। जसबाट ज्येष्ठ नागरिक लाभान्वित हुन सक्छन्। इन्टरनेट र प्रविधिको प्रयोगबाट ज्येष्ठ नागरिकले धेरै सुविधा लिन सक्छन्।

संक्षेपमा भन्ने हो भने प्रविधिहरूले ज्येष्ठ नागरिकहरूको जीवनस्तर विकसित गर्न सक्छन्। तर, नयाँ प्रविधिले कसरी काम गर्छ भनी ज्येष्ठ नागरिकलाई सिकाउन समय लाग्न सक्छ। अतः ज्येष्ठ नागरिकलाई यो नयाँ प्रविधि सिक्न प्रशस्त समय र धैर्यताको आवश्यकता पर्दछ। ज्येष्ठ नागरिकलाई नयाँ चिज सिकाउन पटकपटकको सहयोग आवश्यक हुन्छ। 

स्वभावतः नयाँ चिज सिक्न सो कुरालाई बारम्बार दोहोर्‍याउनुपर्ने हुन्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने ज्येष्ठ नागरिकलाई नयाँ कुरा सिकाउँदा प्राविधिक रूपमा स्वतन्त्र छोड्नुपर्छ र मात्र त्यसको राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। विशेषतः परिवार वा आफन्तले ज्येष्ठ नागरिकलाई त्यस्तो सुविधा दिनुपर्ने हुन्छ। जसले गर्दा उनीहरूलाई ठूलो मद्दत पुग्छ।

उनीहरू आफैंले सिक्ने कुरामा भने मेलो पाउँदैनन्, त्यसैले उनीहरूलाई सिकाउनुपर्छ। ज्येष्ठ नागरिकलाई नयाँ प्रविधिबारे सीप सिकाउन वा त्यस्तो तालिम दिने व्यक्तिको व्यवस्था गर्न हाम्रो देशमा निकै जरुरी भएको छ। जसका लागि ज्येष्ठ नागरिकको समूहलाई नै एक आपसमा छलफल गराउने र सिकाउने खालको अति नै धैर्य प्रशिक्षकको आवश्यक पर्छ। जसको धैर्यताले गर्दा ज्येष्ठ नागरिकलाई नयाँ सीप सिक्न सहज हुन सक्छ।  

नेपालमा आजका युवाबीच सरकारले प्रविधि शिक्षामा जोड दिएको छ, तर यस्तै प्रयास ज्येष्ठ नागरिकका लागि हुन सकेको छैन। ज्येष्ठ नागरिकसम्म प्रविधिको पहुँच पुर्‍याउन राज्यले योजना ल्याउन आवश्यक छ।

(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुन्।)  

प्रकाशित: १६ आश्विन २०७८ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App