१३ असार २०७९ सोमबार
विचार

शिक्षाशास्त्री पाउलो फ्रेइरेको सम्झना

सन् १९२१ मा जन्मेका २०औँ शताब्दीका ब्राजिलियन शिक्षाशास्त्री एवं दार्शनिक पाउलो फ्रेइरेको विश्वभर विशेष स्मरण भइरहेको छ। उनी मुक्तिदायी शिक्षा विषयका चिन्तक तथा पैरवीकर्ता मात्र नभएर स्वयं अभ्यासकर्ता थिए। 

उनले उत्पीडितका जीवन तथा परिवेशलाई नजिकबाट नियालेर उत्पीडनको कारकबारे उत्पीडितसँगै छलफल चलाए। यस्तो जनमुखी प्रक्रियाद्वारा उनले उत्पीडितमा पनि सिक्ने, आफ्नो विकास गर्ने एवं आफू र संसार दुवैलाई परिवर्तन गर्न सक्ने क्षमता छ भन्ने सन्देश दिए। 

फ्रेइरेको जन्म सन् १९२१ मा ब्राजिलको रेसिफेमा एक निम्नमध्यम वर्गीय परिवारमा भएको थियो। परिवारको निम्न आर्थिक अवस्थाका कारण उनको बाल्यकाल निकै कठिनपूर्ण रह्यो। तर, उनका आमाबुवाले उनको औपचारिक शिक्षालाई अगाडि बढाउन सहयोग र हौसलामा कमी हुन दिएनन्।

रेसिफेमा धनी र गरिबबीच निकै गहिरो खाडल थियो। ‘पेडागोजी अफ द अप्रेस्ड’ (उत्पीडितको शिक्षा), ‘पेडागोजी अफ फ्रिडम’ (स्वतन्त्रताका लागि शिक्षा) उनका थुप्रै कृतिमध्येका प्रमुख हुन्। फ्रेइरेको निधन सन् १९९७ को मेमा भएको थियो। फ्रेइरे सानै उमेरदेखि शिक्षा तथा शैक्षिक अभ्याससँग आकर्षित थिए। 

सन् १९२९ को संयुक्त राज्य अमेरिकाको ठूलो आर्थिक मन्दीको प्रभाव ब्राजिल हुँदै उनको घरसम्म आइपुगेको थियो। त्यसले उनलाई भोक, अभाव र कठिनाइबारे प्रत्यक्ष अनुभव गर्न सघायो। 

युवावस्थामै उनले पोर्चुगाली भाषाको हाइस्कुल शिक्षक भएर त्यहाँका युवालाई पढाउँथे। उनकी श्रीमती एल्जा सामाजिक न्यायप्रति प्रतिबद्ध तथा मानवतावादी सोच र अध्ययनशील थिइन्। उनीसँगको भेटले पनि फ्रेइरेलाई शिक्षण प्रक्रियासम्बन्धी काम गर्ने हौसला मिलेको थियो।

सन् १९४० ताका ब्राजिलमा निरक्षरलाई मताधिकारको व्यवस्था थिएन। त्यो विभेदकारी नीतिका उनी आलोचक थिए। निरक्षर   हुँदैमा आफूलाई मनपरेको नेता चुन्न नसक्ने वा नपाउने भन्ने हुन्छ ? यो प्रश्नले उनलाई घचघचाइरह्यो। त्यसपछि उनी निरक्षरलाई साक्षर बनाउने कार्यमा जुटे। 

प्राविधिक रूपमा अक्षर लेखपढ गर्न जान्दैमा उत्पीडितहरू विभेदकारी आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाबाट मुक्त भइहाल्दैनन् भन्नेमा पनि उनी स्पष्ट थिए। साक्षर बन्ने प्रक्रिया समग्र सशक्तीकरण तथा सामाजिक न्यायमुखी रूपान्तरण प्रक्रियासँग गाँसिनुपर्ने उनको निष्कर्ष थियो। सन् १९६२ मा उनी सांस्कृतिक तथा कलाकर्मीको समूहलाई लिएर गाउँबस्तीमा पुगेर उत्पीडितलाई सचेत बनाउने कार्यमा लागे। 

त्यस क्रममा समुदायको नक्सा उतारेर त्यहाँको परिवेशबारे छलफल गराउने कार्य गरे। ब्राजिलको शिक्षा आयोगको संयोजक बनेर पनि कार्य गरे। त्यसवेला उनले २० हजार समुदाय तहको सांस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य राखेका थिए। 

सांस्कृतिक केन्द्रले समुदायलाई आफ्नो जीवन, जीविका र सिंगो समाजबारे विश्लेषण गर्न प्रेरित गर्थे। लगत्तै सन् १९६४ मा ब्राजिलमा सैनिक विद्रोह भयो। फ्रेइरेले सुरु गरेका सांस्कृतिक केन्द्रहरू बन्द गरिए। 

उनलाई जेल लगियो, तर पछि निर्वासित हुनेगरी जेलबाट छाडियो। उनी चिलीमा निर्वासित भए। चिलीमा उनी कृषि अनुसन्धान संस्थामा सल्लाहकार भएर काम गरे। प्रवासी जीवन बिताउने क्रममा पनि उनको अभियान रोकिएन। १९८२ मा ब्राजिलमा सैनिक शासन अन्त्य भएपछि उनी स्वदेश फर्किएर शिक्षा, शिक्षण विधिका बारेमा आफ्नो चिन्तन मनन र व्यावहारिक कामलाई पनि निरन्तरता दिए।

फ्रेइरेले लामो अध्ययन र अभ्यासबाट उत्पीडितका लागि शिक्षाको अवधारणा अगाडि सारेका थिए। उत्पीडनकारी सामाजिक संरचनामा उत्पीडितहरू आफ्नोभन्दा अरूका लागि बाँचिरहेका हुन्छन्। 

उत्पीडकको स्वार्थबमोजिम तयार भएको वा उत्पीडनमुखी मूल्य–मान्यता कायम राख्नका लागि तय गरिएको शिक्षाले उत्पीडितको मुक्तिलाई कदापि सहयोग गर्दैन। तसर्थ शिक्षाले उत्पीडितलाई अहिलेको संरचनाभित्र अटाउन होइन, उक्त संरचनालाई नै बदल्न सिकाउनुपर्छ। 

फ्रेइरेको विचारमा आफ्नो परिवेश र अस्तित्वलाई चिन्न नसकी उच्च वर्गको थिचोमिचो र उत्पीडनलाई विनाकुनै प्रश्न चुपचाप सहिरहनु नै मौनताको संस्कृति हो। यो नै अमानवीय संस्कृतिको उपज हो। शिक्षाले मान्छेलाई मौनताको संस्कृति तोड्नका लागि सघाउनुपर्छ। उत्पीडितका लागि मुक्तिदायी शिक्षा चाहिन्छ। फ्रेइरेको विचारमा शब्द पढ्नु भनेकै संसार पढ्नु हो वा हुनुपर्छ। शब्द पढ्ने कुरालाई संसार पढ्ने कुराबाट अलग्याउन सकिँदैन।

फ्रेइरेको विचारमा मानिसलाई बाँच्न सहयोग गर्ने  तत्त्व भनेको ऊ रहेको भौतिक संसार र आफूप्रति पनि आलोचनात्मक हुन सक्ने क्षमता हो। अस्तित्वका साथ बाँच्नु भनेको जीवनको त्यो मोड हो, जहाँ एउटा व्यक्ति आफैँ रूपान्तरित हुन, उत्पादन प्रक्रियामा संलग्न हुन, निर्णय गर्न, सिर्जना गर्न र सामाजिक सञ्चार गर्न सक्षम हुन्छ। 

प्रत्येक व्यक्तिगत वा सामाजिक कार्यलाई सिर्जनात्मक भन्न मिल्दैन, सचेत काम भनेको त आफ्नो चेतना पूर्ण रूपमा प्रयोग गरेर सचेत निर्णयका आधारमा हुने काम हो। फ्रेइरेले हरेक काम गरेपछि त्यसको समीक्षा तथा संश्लेषण गर्नुपर्ने र त्यसपछि मात्र त्यो कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

सामन्तवादी मूल्य–मान्यताले ग्रस्त नेपाली समाजमा शिक्षालाई सामाजिक परिवर्तन र जनराजनीतिसँग जोड्ने विषयलाई कथित मूलधारले सधैँ निषेध गर्ने प्रयास गर्दै आएको छ। शासक आफूलाई प्रश्न गर्ने स्थिति नबनोस् भन्ने चाहिरहेका हुन्छन्। नेपालमा पनि जनमुखी शिक्षा प्रवद्र्धन गर्ने मूल ध्येयले सन् १९९५ मा रिफ्लेक्ट अभ्यासको थालनी भएको थियो। 

यद्यपि जनमुखी शिक्षाको अभ्यास त्यसअघि र पछि पनि विभिन्न स्वरूपमा नभएको होइन। नागरिकलाई आलोचनात्मक चेतका साथ कर्ममा उत्रिनु सघाउनुपर्छ भन्ने फ्रेइरेको शिक्षासम्बन्धी अवधारणा र सहभागीमूलक प्रक्रियाका असल अभ्यासकर्ता रर्बट चेम्बरको सहभागीमूलक विधि प्रक्रियाको संयोजन गर्दै रिफ्लेक्ट अभ्यास विश्वका अन्य केही देशमा झैँ नेपालमा आजभन्दा २५ वर्षअघि सुरु गरिएको थियो। 

रिफ्लेक्ट अभ्यासले सीमान्त तहका नागरिकलाई संगठित गराउन, आलोचनात्मक स्तर बढाउन र सामाजिक अभियान उठाउन धेरै नै बल पुगेको थियो। अभियान र आन्दोलनको मुख्य शक्ति भनेकै संगठन हो। 

सबै पीडित एकजुट भएमा र संगठनलाई बलियो बनाएमा अन्याय र थिचोमिचोको विरुद्धमा लड्न मद्दत पुग्छ। यति मात्र काफी  हुँदैन। संगठनका सदस्य र अगुवा विचार र प्रक्रियाका हिसाबले पनि खारिँदै जानुपर्छ। र, यसका लागि रिफ्लेक्ट अभ्यासको धेरै नै महत्त्व छ।

हालै जागरण मिडिया सेन्टरले जातमा आधारित विभेद तथा छुवाछुत विषयमा छलफल कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा लेखक आहुतिले विभेद तथा छुवाछुतको घटना घटेपछि त्यसको प्रतिक्रिया स्वरूप बोल्ने, लेख्ने, सडक आउने कार्य आवश्यक छ। 

यतिले मात्र खोजेको परिवर्तन सम्भव नहुने उनको धारणा थियो। उनले उत्पीडित समुदायसँग निरन्तर संवाद र उनीहरूकै अगुवाइमा आन्दोलन आवश्यक हुने बताए। 

सोही कार्यक्रममा तारालाल श्रेष्ठले सबैले टुप्पो अर्थात् धुरी मात्र हेर्ने, भुइँ, जग र त्यसका जरामा कसैको पनि ध्यान नगएकाले विभेद बढ्दै गएको विचार राखे। उनको जोड पिँधमा भएका सीमान्त नागरिकको ताकत नचिनी, नचिनाई परिवर्तन आउँदैन, आए त्यो दिगो  हुँदैन भन्नेमा थियो।

उल्लिखित विषय पाउलो फ्रेइरेको मुक्तिदायी शिक्षाको अवधारणासँग पनि मिल्दोजुल्दो लाग्छ। संसारका थुप्रै मुलुकमा जस्तै नेपालमा पनि मुक्तिदायी शिक्षा र आलोचनात्मक शिक्षण शास्त्रका प्रणेता फ्रेइरेका शतवार्षिकीमा उनको योगदानबारे विचार विमर्शसहित विभिन्न कार्यक्रम भइरहेका छन्। यसलाई निरन्तर गर्दै जनमुखी शिक्षा र संस्कृतिलाई बढाउँदै लैजानु हामी सबै रूपान्तरण चाहनेको कर्म हुनुपर्छ। 

प्रकाशित: ७ आश्विन २०७८ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App