२३ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

बालबालिका, राष्ट्र र विश्वकै भविष्य

शिक्षाको दायित्व सरकारको काँधमा आएको छ। यो अवस्थामा शिक्षाको गन्तव्य कसरी तय गर्ने यो ठूलो चुनौतीको विषय भएको छ। अझै स्पष्ट ऐन, कानुन, नियमावली, निर्देशिका आदि बनेका छैनन्। विद्यालय शिक्षा भन्नाले पूर्वप्राथमिक देखि १२ कक्षासम्म जनाउँछ। विद्यालय शिक्षाको दायित्व झनै वढ्दै आएको छ। यस सन्दर्भमा स्थानीय सरकारले गहन गर्ने क्षमता पनि बढाउनुपर्छ। स्थानीय तहमा दायित्व निर्वाह गर्ने क्षमता कमजोर भएमा शिक्षाको स्तर अझ खस्कन सक्छ। 

यसमा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबैको सकारात्मक सहयोग र सहभागिता जरुरी छ। शिक्षामा गुणात्मक परिवर्तनका लागि स्थानीय सहभागितामा गाउँ वा टोलमा विद्यालय पुस्तकालय, खेल मैदान, शौचालय, शैक्षिक सामग्री, विद्यालयको भौतिक संरचना आदि निर्माण गरिनु जरुरी छ। २०२८ सालको राष्ट्रिय शिक्षा पद्धति लागु हुनुपूर्वको अवस्थामा सम्पूर्ण शैक्षिक पूर्वाधार खडा गरी स्थानीय समुदायले पुर्‍याएको अमूल्य योगदान बिर्सनुहुँदैन। यस्तो विश्वास बोकेको इतिहास हाम्रो सामु हुँदाहुँदै विद्यालय शिक्षाको सञ्चालन स्थानीय निकायबाट कसरी हुन सक्ला भन्ने शंका उठाउन मिल्दैन। तर वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गर्दा भने स्थानीय निकाय त्यति सक्रिय देखिएको छैन।  

हाम्रा गाउँठाउँका कतिपय अभिभावक र जनसमुदाय अहिले पनि जनविश्वासमा अडेको छ। ती पैसा, पद र शक्तिसँग बिक्दैनन्। उनीहरू सर्वाधिक विश्वासको आडमा ठूला ठूला काम गर्दै आएका छन्। यसमा शिक्षकको भूमिका पनि कम छैन। शिक्षकले स्थानीय समुदाय परिचालन गर्ने, अध्यापन गर्ने र स्थानीय समुदायले पनि शिक्षकमाथि ठूलो भरोसा गर्छन्। गाउँठाउँमा सबै पक्षमा विश्वास गरिएकामध्ये परिवारका सदस्य गाउँठाउँका स्थानीय बूढापाका, त्यसपछिका विश्वासिला भनेका शिक्षक नै हुन्।  

शिक्षक नै शिक्षाको मियो भएकाले उसले पथ प्रदर्शकका भूमिका निर्वाह गरी विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध स्थापना गर्न ठूलो भूमिका खेल्न सक्छ। विद्यालयको जिम्मेवारीको कुरा गर्दा स्थानीय सरकार समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा प्राधानाध्यापक शिक्षक आदिको भूमिका ठूलो छ। कक्षामा विद्यार्थीले के/कति सिके, के/कस्ता क्षमता हासिल गरे, यस विषयमा शिक्षकको भूमिकामा निर्भर गर्छ। समग्रमा विद्यालयको उन्नति र प्रगतिमा प्रधानाध्यापकको जिम्मेवारी बढी हुन आउँछ। शिक्षकले पनि आफूलाई साँच्चिकै शिक्षक ठानेर काम गरेमा सामुदायिक विद्यालयको अहिले गुम्न लागेको इज्जत पुनः फर्कन सक्छ। हाम्रा कतिपय सामुदायिक विद्यालयका प्रअ तथा शिक्षक विद्यालय र विद्यालय कक्षा कोठामा उपस्थित भइ पठनपाठन प्रक्रियालाई रोचक तुल्याउनु भन्दा अन्यत्र राजनीतिक क्रियाकलापहरूमा संलग्न हुने गरेका गुनासा सुन्न पाइन्छ। यसरी शिक्षकले राजनीतिक दलको पछि नलागी विद्यालयको दायित्वप्रति सचेत रहनु आजको खाँचो हो।  

विगत २ वर्षयता हाम्रा विद्यालयमा पठनपाठन सुचारुरूपले सञ्चालन हुन नसक्दा झनै शिक्षाको गुणस्तर खस्कँदो छ। विश्वव्यापी कोभिडको महामारीले अभिभावकदेखि विद्यार्थी शिक्षक सबै त्राहीमाम छन्। स्कुल जान नपाउँदा घरमै बसेर अनलाइन पढ्नुपर्ने बाध्यता छ। यो अनलाइन पढ्न पाउने केही सीमित विद्यार्थीलाई होला। अधिकांश बालबालिका यस सुविधाबाट वञ्चित छन्। सुविधा पाएकाले पनि अनेक बाधा झेल्नुपरेको छ। त्यही कोठामा टेलिफोन टेलिभिजन चलिरहेको छ। आमा, बाबु, दाजु आदि भुलिरहेका हुन्छन्। यसले तिनको अनलाइन पढाइमा बाधा उत्पन्न गरिरहेको गुनासो पनि सुन्नमा आएको छ। बालबालिका पढ्ने कोठा शान्त र मनोरम हुनु जरुरी छ। पढ्ने कोठालाई शैक्षिक वातावरण अनुकूल गर्न नसकेमा बालबालिकाको ध्यान पढाइतर्फ हुँदैन। यसर्थ स्कुलमा प्रधानाध्यापक शिक्षकले कक्षा कोठालाई अनुकूल वातावरण बनाउनु जरुरी छ भने अनलाइन घरमा पढ्ने बालबालिकाका लागि अभिभावकले घरको वातावरण पनि अनुकूल बनाउन सक्नुपर्छ।

हुन त घरभित्रै बस्नुपर्ने अहिलेको अवस्थामा स्वयं अभिभावक नै मोबाइल वा टेलिभिजन नहेरी समय बिताउन सक्दैनन्। यो अवस्थामा बालबालिकाले अनलाइनमा बसेर राम्रोसँग पढे वा पढेनन् भनेर ध्यान कमैको मात्र पुग्ने हुन्छ। यसरी अभिभावक नै दिन बिताउन टिकटक, म्यासेन्जर, फेसबुक आदिमा ब्यस्त भएर केटाकेटीलाई ख्याल नगरिरहेका घटनाले त झनै बालबालिकाले इन्टरनेटका विकृत दृष्यहरूप्रति आकर्षित भइ प्रतिकूल मनस्थिति उत्पन्न हुन सक्छ।  

आफ्ना साथीसँग घुम्ने, डुल्ने, खेल्ने, रमाउने वातावरण जरुरत पर्ने अवस्थामा कोठाभित्र कुजिएर बस्नुपर्दा झनै कठिन हुने नै भयो। यसरी आफूलाई बन्दीसरहको जीवन बिताउनुपर्ने बाध्यताले गर्दा भोलि डिप्रेसनको अवस्था नआउला भन्न सकिँदैन। अतः यस अवस्थामा अभिभावकले आफ्ना केटाकेटीलाई सँगै राखेर अनलाइन कक्षामा बसाउने, अनलाइन पढाइ सकेपछि घरायसी काममा पनि साथै लगाउने र सहभागिताको पाठ सिकाउने व्यावहारिक सिप सिकाउने ज्ञान प्रदान गर्ने काम गरिनुपर्छ। घरबारीमा फलेका तरकारी भन्सामा पकाउने चिजविजबारे ज्ञान दिने, सफा सुग्घर भएर बस्ने कुरामा सानैदेखि स्वावलम्बनका पाठ अभिभावकले बालबालिकालाई सिकाउनु उपयुक्त हुन्छ। बालबालिकाको पहिलो पाठशाला भनेकै उसको आफ्नो घर हो। घरपछि स्कुल अनि विश्वविद्यालय हुँदै संसारबारे जानकारी लिने भविष्यमा असल नागरिक बन्ने हो।

अहिले गाउँदेखि सहरसम्मका बालबालिका विद्यालय कक्षा कोठामा पढ्न पाइरहेका छैनन्। विश्वव्यापी कोरोनाका कारण हरेक बालबालिका पीडित छन्। पठनपाठन गर्न सकिरहेका छैनन्। केही सीमितले इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा लिइरहेका भए तापनि व्यवहारमा सकारात्मक प्रभावकारिता देखिँदैन। अधिकांश विपन्न बालबालिका इन्टरनेट, ल्यापटप र मोबाइल सञ्चालन गर्नबाट विमुख छन्। तिनका लागि खासै चासो राखेका देखिँदैनन्। तथापि अभिभावक वर्ग सचेत भएमा यस्तो अवस्थामा पनि बालबालिकाले केही सिक्न सक्छन। 

बालबालिकाले खाने, बोल्ने, हिँड्ने, नाच्ने, रमाउने आदि जीवनोपयोगी क्रियाकलापहरू घरमै आफ्नै अभिभावकबाट सिक्न सक्छन्। तिनलाई राम्रो संस्कार, राम्रो आनिबानी, नैतिक शिक्षा जस्ता गहन उपयोगी ज्ञान र सिप सिकाएर राम्रो बाटो देखाउन सकिन्छ। बालबालिकालाई डर र त्रास नदेखाइ माया गरेर आमा÷बाबुले अनुशासनमा राख्न सकिन्छ। गर्छु सोचबाटै उब्जिएको सकरात्मक सोचले नै बालबालिकालाई सभ्य, सुसंस्कृत, प्रतिभावान बनाउन ठूलो मद्दत गर्छ। यस अवस्थामा अभिभावकले आफ्ना बालबालिकाप्रति जिम्मेवारी बोध गराउनु जरुरी छ। हरेक बालबालिका आमा/बाबुका मात्र सन्तान नभएर राष्ट्र र विश्वका भविष्य हुन्। यसर्थ बालबालिकाप्रति सबै पक्ष सचेत रहनु आवश्यक छ।

प्रकाशित: २० भाद्र २०७८ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App