३ कार्तिक २०७८ बुधबार
विचार

रजोनिवृत्तिको राज

‘बम्बई बेगम’ सिरिजमा शक्तिशाली महिलाको चरित्र चित्रण गरिएको छ, तर त्यसका साथै प्रायः अरु फिल्ममा नबोलिने, नदेखाइने चरित्र चित्रण पनि छन्। जसमा महिनावारी सुक्न थालेका महिलालाई भएका केही समस्या (जस्तोः खलखली पसिना आउने, मन एकैछिनमा परिवर्तन हुने, राति सुत्न गाह्रो हुने आदि) देखाइएका छन्।

किशोरी र महिलाको महिनावारीबारे अनेक वृत्तचित्र, फिल्म (जस्तोः प्याड म्यान) बनेका छन्। तर रजनोवृत्ति अर्थात् ४०–४५ वर्षपछि महिलाको महिनावारी बिस्तारै सुक्दै जाने समस्याबारे न छलफल हुन्छ, न महिला स्वास्थ्यको परिधिभित्र परेर अनुसन्धान गरिन्छ।  महिनावारी सुक्नु रोग होइन, तर जसरी महिनावारी हुदा कसैकसैलाई साधारण समस्या हुुन सक्छन्, त्यसरी नै महिनावारी सुक्दा पनि साधारण समस्या देखापर्नु स्वाभाविक हो भनेर बुझ्न सके महिलालाई सजिलो हुने थियो।

‘मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो। पहिले त मलाई केही तातोचिसो महसुस हुने भयो, खलखली पसिना पनि आउँथ्यो। मलाई मेरो साथीले हर्मोन औषधि दिइन्। तर त्यसले मलाई समस्या गरायो। मैले औषधि छाडेँ, यस अवस्थालाई सामान्य रूपमा लिएकी छु। अहिलेसम्म रजोनिवृत्तिका समस्या देखिएको छैन,’ गाउँकी एक महिलाले भनेको कुरा ७५ वर्षकी एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन्, ‘मेरो महिनावारी सुकेको चार वर्ष भयो। पहिलेपहिले त कहिले २–३ महिनामा हुने, केही बढी रगत जाने भयो। फापर, ढिँडो, सिस्नो खाएँ। मलाई ढुक्क पो भएको थियो। कुनै समस्या नै भएन।’  

नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५० वर्षको उमेर हाराहारीमा पुगेपछि बन्द हुन्छ। कसैकसैको ४२ वा कसैको ५०–५२ वर्षसम्म हुन्छ। अन्तर्राष्ट्रिय स्तरमा अमेरिकन तथा जापानी महिलामाथि रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ। ‘मेनोपोज सिम्पटम इन नेपाल’ले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका एक सय ५० महिलाका बीचमा गरिएको एउटा अध्ययन पाइन्छ। रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्या पर्न सक्छन्, यद्यपि धेरैलाई केही समस्या पर्दैन। 

यो कुनै रोग होइन भनी नबुझेकाले महिनावारी सुकेपछि कस्तो उपचार गर्ने भनी धेरै नेपाली महिला अलमलमा पर्छन्। परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन्। गाउँघरमा त ५० वर्षसम्म यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ। महिनावारी सुकेको हो वा साधनको प्रभावले भएको हो भन्ने छुट्ट्याउनै गाह्रो पर्छ। लगातार यस्तो साधन प्रयोग गर्दा हाड फुसफुसे भएर भाँचिने समस्या हुन्छ। त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ। यो विषयमा पनि कतै छलफल भएको पाइँदैन।  

रजोनिवृत्तिका बेला कसलाई समस्या हुन्छ कसलाई हुन्न भनेर जाँच्ने यन्त्र छैन। तर भोजन, आराम, सकारात्मक विचारले स्वास्थ्य राम्रो हुन्छ। समस्या हुने वा नहुने दुवैले ‘युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौँला’ भनी बसे भने रजोनिवृत्तिमा समस्या हुन सक्छ। त्यसैले पहिले नै होस पु¥याए राम्रो।  

मेरी आमाको ४५ वर्षमै रजोनिवृत्ति भयो, मेरो १० वर्षअघि ५० वर्षमै भयो, केही समस्या भएन। तर कसैकसैलाई राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने, कसैकसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हँुदै जान सक्छ। यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो। चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ। त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलाले चुरोट र तमाखुको सेवन छाड्नुपर्छ। नेपालका गाउँघरमा महिलालाई धूमपान र स्वास्थ्यमा पर्ने असरका बारेमा प्रायः थाहा हुँदैन।  

कतिलाई यो थाहा हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन। सुरुवातमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ। यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन्, ‘लौ पाठेघरको क्यान्सर भयो’ भनेर तर्सिन्छन् पनि।

रजोनिवृत्तिका विषयमा भएका अनुसन्धानले के देखाएका छन् भने यस्ता समस्यालाई महिलाको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ। साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ। जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा राख्ने महिलाले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ। अर्थात् स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ।  

कति नेपाली महिलाले यसलाई उमेर अनुसारको स्वाभाविक प्रक्रिया ठान्छन्। कतिपयले धर्मकर्मतर्फ लाग्ने समयको रूपमा पनि यस अवस्थालाई लिन्छन्। अहिले त रजोनिवृत्ति भइसकेका महिला कार्यालयमा काम पनि गरिरहेका हुन्छन्। तैपनि रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने हुन्छ। ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृत्ति भएपछि यो झन् बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ।  

विभिन्न अध्ययनले देखाएका छन्– शरीर तातो हुने, धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ। प्रोटिन र लौहतत्व पाइने र भटमासको विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ। शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ। यस्तो बेला छाला र गुप्तांगमा चिलाउने समस्या हुने हुँदा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ।  

केही महिलालाई रजोनिवृत्ति अवस्थामा दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छ। यस्तो परिवर्तन कतिले सजिलै आत्मसात गर्न सक्छन् त कतिलाई यसले चिन्तित बनाउँछ। यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारीरिक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ। योसँगै आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसात गर्न सक्ने क्षमता तथा रीतिरिवाजले पनि महिलाको शारीरिक वा मानसिक अवस्थालाई प्रभाव पार्छ। यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ।

रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ। जस्तो: कामको धेरै बोझ भए, धेरै थकाइ वा दिनदिनै झगडा भए, उमेर बढेपछि ‘बूढो भएँ’ भनेर चिन्ता गरे मानसिक तनाव बढ्न जान्छ। यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ।  तनाव कम गर्ने धेरै उपाय छन्। कतिपय उपाय हामी हाम्रो जीवनमा उपयोग गर्छौं।  

कतिपय महिलाले तनावका बेला प्रार्थना, योग, ध्यान, नाचगान आदि गर्छन्। यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दित भएर तनाव कम गर्न पनि मद्दत गर्छन्। केही अध्ययनले भन्छ– महिनावारी सुकेपछि औषधि प्रयोग गर्नुपर्छ भनेर हर्मोनको औषधि दिने चलन बढेको छ। यस्तो औषधिले क्यान्सर उत्पन्न गर्न सक्छन्। नेपालमा पनि बिस्तारै हर्मोन्स दिने प्रचलन बढ्दैछ।

रोग होइन रजोनिवृत्ति भन्ने बुझी महिनावारी सुक्ने बेला समस्या गर्न स्वस्थ पोषणका साथै व्यायाम गरे मानसिक तनाव, अनिद्रा, मोटोपन इत्यादि घटाउँछ। साथै आत्मविश्वास बढाउँछ। व्यायाम गर्ने महिलालाई रजोनिवृत्ति भएपछि शरीर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुने समस्या पनि केही कम गर्छ।

‘५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो। तर, बिस्तारै व्यायाम गरेपछि दुखाइ कम भयो। अहिले मैले नियमित रूपमा योग गर्न थालेकी छु। मलाई रमाइलो लाग्छ,’ एकपटक ६० वर्षीया एक महिलाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो। शरीरलाई फाइदा पुर्‍याउने हुँदा व्यायामलाई बोझको रूपमा नलिएर व्यायाम गर्ने बानी पार्दै जानुपर्छ, यसले स्वस्थ भइन्छ। रजोनिवृत्ति समस्या बन्दैन।

प्रकाशित: ८ भाद्र २०७८ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App