११ कार्तिक २०७८ बिहीबार
विचार

झन् अनिवार्य बनेको युद्ध

ध्रुवीकरण, समीकरण, टुटफुट र पुनः समीकरणको भूमरीमा परेको छ नेपाल। सिलसिला अफगानिस्तानबाट हारेको, जितेको, विगत ४० वर्षदेखि द्वन्द्वमा परेको। एउटा यस्तो इस्लामिक मुलुक जहाँ सोभियत युनियनले कब्जा गर्‍यो कम्युनिस्ट शासन कायम गर्न। तर सकेन। विगत २० वर्षदेखि केही दिनअगाडिसम्म विश्वको सर्वशक्तिशाली मुलुक अमेरिकाले कब्जा गर्‍यो– कम्युनिस्ट रोक्नकालागि, आतङ्कवाद निमिट्यान्न पार्नका लागि। तर अलपत्र पारेर छाडिदियो। 

राष्ट्रपति असरफ घानी भागे। बिजुली गतिमा तालिवानले काबुल कब्जा गर्‍यो। गृहयुद्ध अझै सकिएको छैन। कहिले तालिबानको कब्जामा नरहेको पञ्जशिर प्रान्त सङ्गठित हुँदैछ। हाल तासको घरझैँ ढल्यो अमेरिकाले यति लामो समयदेखि खर्बौँ खर्ब खर्च गरेर निर्माण गरेको मजबुत सुरक्षा संरचना। राष्ट्रपति भएपछि ‘अमेरिका फक्र्यो अब’ भनेर सबैलाई विश्वास दिलाएका बाइडेन अहिले जताततै आलोचित छन्। युरोप तर्सेको छ। अमेरिकाको विश्वसनीयता नराम्रोसँग गुमेको छ।

कम्युनिस्ट र गैरकम्युनिस्ट क्षेत्रमा विभाजन गरिएको अहिलेको विश्वमा यो विभाजन नै द्वन्द्वको उद्गमस्थल बनेको छ। द्वन्द्व चर्काउन मुलुकको विविधतालाई प्रयोग गरिन्छ। शान्ति स्थापनाका लागि अर्को द्वन्द्व खोजिन्छ। र, व्यवस्थापन गर्नका लागि सङ्घीयता, राष्ट्रियता, शोषणरहित समाज, जनजीविकाको कुरो रूपान्तरण, विकास र समृद्धिका कुराहरू भट्याइन्छ। यी कहिले विचार र आदर्श बन्न सकेनन्। केवल राष्ट्र दोहनमा प्रयोग गर्ने राजनीतिका हतियार बनेका छन्। र, धेरै हदसम्म राजनीतिक पार्टीहरू र जन्माइएका विभिन्न समूहहरू विभिन्न शक्तिका स्वार्थ परिपूर्ति गर्ने मतियार या माध्यम बनेका छन्।

यस्ता शक्ति वा शक्ति समूहले ‘प्रोक्सी रुल’ गर्छन्। यस प्रयोजनका लागि आवश्यक ठानेका बेला आफूअनुकूलको सरकार बनाउन सत्ता परिवर्तन वा पल्टाउने गर्छन्। यतिमै सीमित हुँदैन यो कथा। विश्व इतिहास हेर्ने हो भने कथाका मुख्य पात्रहरू सधैँ बदलिँदै आएका छन्, बदलिँदो परिवेशमा। तर मुख्य कुरो हो त्यो कथामा गरिब जनताको व्यथा बनेर बल्झिँदैमात्र गएको छ। कथाको संरचनामा तीन पाटा छन्। ती हुन्– पैसा, यौन र शक्ति। यिनीहरूको विन्यास बदलिरहेको छ तर इतिहास पारिदेखिको कथा यही नै हो।

विश्वमा अहिले शक्तिराष्ट्रहरू अझ शक्तिशाली बन्ने दौडमा एकापसमा किन टकराइरहेका छन् ? यसको उत्तर हो– साना, असहाय र गरिब मुलुकहरूमा प्रकृतिले दिएको वरदानलाई प्रजातन्त्र, विकास र मानव अधिकारको नाममा लुट्नका लागि हो। यो बुझ्न अफ्रिकी मुलुकहरू हेरे हुन्छ। प्रतिनिधि मुलुकका रूपमा हेर्न चाहे कङ्गोलाई मात्र हेरे पुग्छ। विश्वको ११औँ ठूलो मुलुक हो कङ्गो। तर बन्यो बेल्जियमको राजाको निजी सम्पत्ति, केवल अमानवीय शोषणका लागि। 

त्यहाँका गरिब जनतालाई ठटाएर जबर्जस्ती रबर उत्पादन गर्न लगाएर धन राजाले कमाए। लाखौँलाख गरिब मर्दै गए। जब व्यक्तिगत शोषण अति भयो तबमात्र बेल्जियन कोलोनी बनाइयो। स्वतन्त्र मुलुक त बन्यो तर आआफ्नो स्वार्थका लागि विदेशी शक्तिले कहिले एउटालाई त कहिले अर्कोलाई उचाल्ने र लडाउने क्रममा सधैँ लुट, बेइमानी र असन्तुलित भयो। मुलुक क्लेप्टोक्रासी अर्थात् चोरतन्त्रको नमुना बन्यो। यो सब मूलतः भन्नुपर्दा त्यहाँको खनिज द्रव्यका लागि हो। विश्वको सबभन्दा बढी खनिज द्रव्य भएको मुलुक यही नै हो।

अफगानिस्तानको पनि यही हाल हो। मृगलाई कस्तूरीको कारण अरूले लखेटेर दुःख भोग्नुपरेको जस्तै अफगानिस्तानको पनि त्यहाँ भएको खनिज द्रव्यले गर्दा यही हाल भएको छ। अनुमान गरिएअनुसार खर्बौँ खर्बको खनिज द्रव्य छ त्यहाँ। त्यसैले २५५ वर्ष पुरानो राजतन्त्र विदेशीको आशीर्वादबाट फालियो। त्यसको छ वर्षपछि मृगको पछि दौडिएको सिकारी जस्तै गरी सोभियत युनियन पुग्यो त्यहाँ। त्यो उपस्थिति रोक्न जिहादीहरूको सङ्गठन मुजाइद्दिन लडाकुलाई सहयोग गर्ने क्रममा बिन लादेनहरू आफैँले जन्मायो अमेरिकाले।

रसियालीविरुद्ध लडेका विद्यार्थीहरू सङ्गठित भएर सुरु भएको तालिवानले १९९६ मा सत्ता लियो तर बिन लादेनको अल काइदाले सेप्टेम्बर ११, २००१ मा न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि आक्रोशित बन्यो अमेरिका। राष्ट्रपति बुसले ठाडै भने– हामीसँग छौँ या हाम्रो विरोधी हौँ।’ तालिवानलाई गृहयुद्धमा सहयोग गरिरहेका पाकिस्तानी राष्ट्रपति मुसर्रफले अमेरिकी आक्रोश झेल्न नसक्ने भए। अनि प्राप्त हुने राजनीतिक र आर्थिक फाइदातिर पनि हेरे। 

तालिवानलाई छाडेर बुसको साथ दिएपछि तालिवानको सरकार ढल्यो। बिल लादेनको खोजीमा अफगान जनताको प्रजातन्त्र र मानव अधिकार रक्षा गर्ने नाममा अमेरिकाले आफ्ना मान्छेहरूको सरकार निर्माण ग¥यो। डलरको गुलछर्रा नै उड्यो– लुटको धन फुपूको श्राद्ध जस्तो गरेर। हुन त अमेरिकी जनताले तिरेको कर मूलतः नेटोमार्फत अफगानिस्तानमा खोलो बगेको भए पनि त्यसको ब्रह्मलुट गर्ने नेटो आबद्ध र अफगान राष्ट्रपतिका चट्टा बट्टाहरू भए। घानीले गरेको राष्ट्र लुटका लागि तुरुन्त उनलाई समात्न इन्टरपोलमा आधिकारिक अनुरोध गइसकेको छ।

यहाँनेर प्रश्न उठाउनुपर्छ। त्यो हो– हाम्रो देश नेपालमा झन्डै दुईतिहाइको सरकार चलाएको पार्टीभित्रको ध्रुवीकरण र त्यसले बनाएको कति वैधानिक, कति अवैधानिक जटिल समीकरणबाट भएको सत्ता परिवर्तन र त्यसपछिको टुटफुट र पुनः समीकरणको स्वरूप नियाल्न गरिएको छलफलमा विश्वको र खास गरेर अफगानिस्तानको यत्रो कुरा किन? यसको पहिलो कारण हो फराकिलो क्यान्भासमा हेर्न। अझ भनौँ, समग्रता नहेरीकन चुरो पत्ता नलाग्ने भएकाले हो। मैले धेरै पहिलेदेखि भन्दै आएको छु एउटा कुरा। नदी कसरी सतहमा बगेको छ त्यो जति महत्वपूर्ण छ त्यो भन्दा धेरै महत्वपूर्ण त्यो नदीलाई हाँक्ने अन्डर करेन्ट अर्थात् मुनीको प्रवाह कस्तो छ भन्नेमा हुन्छ। अफगानिस्तानले कङ्गोलाई हेर्दा जति समग्रता बुझिएला त्यत्तिकै समग्रता नेपालले पनि अफगानिस्तानलाई हेरेमा बुझ्न सक्छ।

हाम्रो प्रयास यहाँनिर केवल अन्डर करेन्ट हेर्ने आँखा उघार्नका लागि हो। हो, अफगानिस्तान र नेपालको न सिमाना जोडिएको छ न अर्थतन्त्र। आमाले सानोमा काठमाडौँमा घुमिरहेका काबुलवालासँग ड्राइ फ्रुट्स अर्थात् मसला किनेको कुरा अझै सम्झेको छु। तर हालसम्मको आयात निर्यात हेर्दा व्यक्तिगत प्रयोजनका लागि केही सामान आएको र गएकोबाहेक केही पनि छैन। तर पनि धेरै समानता छन्। दक्षिण एसियामा नेपालको जुन रणनीतिक अवस्थिति छ त्यस्तै हो अफगानिस्तानको मध्य एसियामा। नेपाल जस्तै भूपरिवेष्टित देश। ६ मुलुकसँग सिमाना जोडिएको छ। सबभन्दा बढी पाकिस्तानसँग २४३० किलोमिटर छ भने सबभन्दा कम चीनसँग करिब ८० किलोमिटर।

तर चीनलाई नेपाली भूमि प्रयोग भएर स्वशासित क्षेत्र तिब्बत असन्तुलित होला भन्ने डर जति छ त्यस्तै अफगानिस्तान प्रयोग भएर आफ्नो स्वशासित क्षेत्र सिन्जाङ्गको पनि छ। चीनको पुरानो सिल्क ट्रेड रुट यहीँबाट नै हो। त्यहाँ अधिकांश मुसलमान छन्। नेपाल भन्दा साइजमा चार गुना भन्दा ठूलो भए पनि जनसंख्या करिब उस्तै छ। र, नेपाल जस्तै पहाडी मुलुक हो। धर्म त्यहाँ इस्लाम। यहाँ धर्म निरपेक्ष भनिए पनि मूलतः हिन्दु।र, कसैको अधीनमा नरहेको गोर्खाली जस्तै लडाकु।

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक हिसाबमा नेपालमा पनि अफगानिस्तानमा जस्तै शक्तिशाली राष्ट्रहरूको निर्णायक बोलवाला छ। आतङ्कवादले गर्दा अफगानिस्तानमा अमेरिकी संलग्नताले हाँकेको थियो। नेपालमा पनि अमेरिकी संलग्नता बढ्दै गएको छ। खम्पा आन्दोलनबाट सुरु गरेको अमेरिकाले अहिले एमसिसी ल्याएको छ। तर निर्णायक पकड भारतको रहेको छ नेपालमा। 

सिमाना मिच्ने, सिमानाका नेपाली जनतालाई भारतीय सीमा बल लगाएर दुःख दिने र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने, आर्थिक मन्डी बनाउने काम गर्दै आएको छ। समग्रमा भन्नुपर्दा जनस्तरमा सदियौँदेखिको राम्रो सम्बन्ध भए पनि सरकार र नोकरशाहीको दादागिरी र बेइमान मानसिकता छताछुल्ल नै छ।

२०४६ सालपश्चात युरोपियन युनियनले क्रिस्चियन बनाउने धर्मको अजेन्डा लिएर हाबी भएको छ। यो अहिलेको भारतीय अजेन्डासँग मेल खाँदैन। तर मिले राजतन्त्र फाल्न र माओवादीलाई अवतरण गराउन। घर्म निरपेक्षता यसैमा लपेटियो जुन अहिलेको भारतीय सरकारका लागि घाँडो भएको छ।चीन क्यापिटलिस्ट बन्दै गएको छ अमेरिका भन्दा पनि बढी यस अर्थमा कि उसको सानो मुलुकसँगको व्यवहार साहूकार र ऋण लिने किसानको जस्तो हुँदै गएको छ। यसको पछिल्लो उदाहरण श्रीलङ्कामा हेर्न सकिन्छ। 

अरूको आँखाबाट नेपाललाई नहेर्ने भन्ने अमेरिकाको हेराइ राजतन्त्र फालेपछि बदलिएको छ। यो हेराइ भारतसँगको हातेमालोमा छ। अफगानिस्तानबाट अमेरिका निस्केपछि पञ्चशिर प्रान्तमा पकड रहे पनि अहिले भारत अत्यन्त अप्ठेरोमा परेको छ। कारण त्यही दादागिरीको छताछुल्ल मानसकिताले गर्दा हो। त्यसबाहेक अफगानिस्तान इस्लामिक राष्ट्र र त्यो इस्लामिक क्षेत्र। भारतको कट्टर दुस्मन पाकिस्तानसँग अफगानिस्तानको आर्थिक सम्बन्ध भारतसँग भन्दा करिब तीन गुना बढी छ। नेपालको सन्दर्भमा अफगानिस्तान एउटा केस स्टडी हो नेपालको आँखा उघार्ने।

सार्कको कान्छो सदस्य अफगानिस्तानको राष्ट्रपति घानी भागेको तीन दिनपछि भाद्र २ गते सार्कको संस्थापक सदस्य नेपालको सबै भन्दा ठूलो दल एमाले दुई चिरा भएको छ। घानी भाग्ने र एमाले विभाजित हुनुमा के सम्बन्ध र? झ्वाट्ट हेर्दा छैन। तर सधैँ चलायमान आठ टेक्टोनिक प्लेटमा अवस्थित विश्वमा हुने भौतिक कम्पनहरू जसरी एक ठाउँ सीमित हुँदैनन्। त्यसैगरी राजनीतिक परिवर्तनका कम्पनहरूको केही संयोग, केही सम्बन्ध यो क्षत्रमा नरहने भन्ने कुरा पनि हुँदैन। पाकिस्तानमा जुल्फिकार अली भुट्टोलाई झुन्ड्याएको कम्पन त्यहाँ भएन जति हाम्रो मुलुकमा भयो। सानो जुलुसले उब्जाएको हो दूरगामी परिवर्तनको प्रवाह जुन २०३६ सालमा जनमत संग्रह बनेर सुरु भयो।

अफगानिस्तानमा जुन डलरको खेती भयो अहिले नेपालमा पनि त्यस्तो खेती भइरहेको छ। अनगिन्ती एनजिओहरू क्रियाशील छन् र त्यसले जन्माएको उपभोक्ता वर्ग जो हरेक बहाना मण्डला केन्द्रित गतिविधिमा तँछाडमछाड गरिरहेको छ। उद्देश्य एउटै छ। नेपालको विविधता जुन हाम्रो तागत हो त्यसलाई कमजोर पार्ने। त्यो विविधताबाट बनेको जुन हाम्रो सामाजिक मोज्यायक छ त्यसलाई काँचको ग्लासजस्तो चकनाचुर पार्ने। पसिना बहाएर होइन डलर खेतीबाट बाँचेका, राजनीतिमा मिसिएका, पदमा पुगेका र मिडियाले बुज्रुक बनाएको यस्तो वर्ग चलायमान छ।

शेरबहादुर देउवा कारक तत्व होइनन्। गर्न हुने भन्दा गर्न नहुने काम गर्नसक्ने क्षमता भएको मान्छे हुन्। कतिचोटिसक्षम, कतिचोटि अक्षम भएर प्रधानमन्त्रीमा आलोपालो गर्दै आएका उनी एमाले विभाजन हुँदा दुवै पटक प्रधानमन्त्री रहे। अर्थात् उनी निमित्त बने। पहिलो पटकमा महाकाली सन्धि सांसदबाट २०५३मा अनुमोदन गर्दा एमाले टुक्रियो। यो अन्तराल २४ वर्षको रह्यो। पहिलो पटकको विभाजन केपी ओली प्रयोग भएका थिए।

अहिले पनि केपी ओली नै छन्। त्यतिबेला ओली र माधव एक हल थिए। वामदेव र सिपी मैनाली अर्को। अहिले सिपी मूल प्रवाह राजनीतिबाट बाहिर छन्। वामदेव कमजोर बनेका छन्, फेन्सलाइन राजनीति गरेर। केपी ओली र माधव नेपाल आमनेसामने भएर नै एमाले माथिदेखि तलसम्म दुई चिरा भएको छ। ओलीले चोइटिएको भनेर के गर्ने र? पहिलो पटकमा वामदेवको पछि सिपी लागेजस्तै यस पटक माधवको पछि वामदेव लत्रिएका छन्। त्यतिबेला महाकाली सन्धिका लागि ओली निमित्त बनेका थिए। मध्यरातको बालुवाटार गोप्य डिलबाट उनीको यो पटकको रोलको परिणति अझै उघ्रिएको छैन।

दुई वर्षअगाडि भारतीय सेना प्रमुखको भ्रमण लगत्तै भारतीय खुफिया प्रमुख सामन्त गोयलसँग ओलीको साउन ४, २०७६ मध्यरातको बालुवाटार गोप्य डिलबाट भत्काइएको नेपालको कमजोर आन्तरिक सन्तुलनको भत्किने क्रम जारी छ। जसपाको एउटा समूह सरकारमा गयो। अध्यादेशीय राज भयो। नागरिकता बाँडेर सरकार टिकाउने मन्त्र बन्यो। संसदीय अराजकताको जन्म्यो। सर्वोच्च अदालत एक्टिभ अर्थात् सक्रिय भयो। सत्ता परिवर्तनसँगै एमाले र जसपा टुक्रिए। 

अरू पनि टुक्रिन सक्छन्। फेरि चुनावका बेला एकीकरण होलान् र राष्ट्रिय सहमतिको सरकार पनि बनाउलान्। यो सबै विचार र आदर्शका लागि नभएर पैसाका लागि जनता देखाएर गरिने राजनीति हो। यस्तै नै हुन्छ यस्तो राजनीतिमा। मन्त्रीका लागि पार्टी त्याग गर्छन्। नपाए आत्महत्या गर्ने घोषणा गर्छन्। त्यसैले यो कुनै आश्चर्य मान्नुपर्ने कुरै होइन। टुटफुट अग्लिने खुम्चिने पट्यारलाग्दो शृंखला हामी नेपालीले हेर्दै जानुपर्नेछ। सत्तामा आसीन हुन जुट्नेछन्। केबल अर्को पटकको सत्ता समीकरणमा टुक्रिनका लागि। मुसा चरित्र न हो।

सत्ताको केहीबेरको न्यानो लिन देउवाले संसद् छलेर कुटिल ढङ्गबाट चलाएको अध्यादेशीय हतिहार बुम¥याङ अर्थात् उनैमा फर्केर लाग्न पनि सक्छ। यी फिल्डमा लड्ने मान्छेले युद्धको निर्णय गर्न सक्तैनन्। यी निमित्तमात्र हुन्। मुलुक रहोस् या नरहोस्, यी लोकतन्त्रका लागि लडेका भन्नेहरू लडिरहनेछन्, विदेशी मालिकको आशीर्वाद र खटनपटनका लागि। आ–आफ्नो राजनीतिक जमिनदारी या व्यापार धान्नका लागि यो युद्ध झन् अनिवार्य बनेको छ यिनीहरूका लागि। (अर्थ–राजनीतिक विश्लेषक)

प्रकाशित: ७ भाद्र २०७८ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App