८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

नागपञ्चमी

बजारीकरण, शहरीकरण र नगरीकरणले गर्दा हाम्रो समाजमा पर्वतिहारको रौनक ह्रासोन्मुख स्थितिमा पुग्दै गएको छ तर सन्तोषको कुरो के छ भने यो सम्पूर्ण रुपमा लोप भएको छैन। पहिला पहिलाको जस्तो पर्व तिहारको रमझममा अभाव आज अवश्यमेवनै खट्किन्छ। सामाजिक पर्व तिहार कोरोनाको कहरले व्यक्तिगत पर्वको रुपमा रुपान्तिरित हुँदै गएको अनुभूति सर्वसाधारणलाई पनि हुनु स्वाभाविक नै हुन गएको छ। पर्व तिहार समाजमा समरसता, सामञ्जस्य र सद्भाव अभिवृद्धिमा पनि सहायकसिद्ध हुँदै गएको स्थितिमा यसको सौन्दर्य कम हुन गएको छ। फलतः समाजमा कटुता एवम् तिक्तता बढ्दै गएको छ। पर्व तिहार मनोरञ्जन, हास परिहास र सामाजिक सम्मिश्रणको सर्वोत्तम माध्यम थियो तर अचेल यसको मौलिक स्वरुप र संरचनामा अभूतपूर्व परिवर्तन नभए पनि यसको मौलिकता ह्रासोन्मुख हुनु संस्कृतिविदहरुको लागि चुनौतिपूर्ण हुनु सर्वथा स्वाभाविक हो। मानवीय मूल्य र मानयताको परिवर्तन पनि यसलाई प्रभावित एवं प्रेरित गर्दै आएको छ। नागपञ्चमीको नालीवेली केलाउँदा पनि यस्तो अनुभव भइराखेको छ तर पनि यसको मौलिकतामा धेरै अन्तर आउको अनुभव हुँदैन। यो पर्व खास गरेर वर्षाऋतुको पूजनीय र स्मरणीय देवता नागसँग सम्बन्धित भएको हुनाले आज पनि यसलाई मौलिक रुपमा नै मनाउने परिपाटी कायमै छ। वर्षाऋतुमा नाग नागिनको विगविगी र जगजगी चारैतिर अनुभूत हुनु सत्य कुरा हो यसलाई अस्वीकार गर्न सकिँदैन। यस ऋतुमा सर्पदंशबाट सयकडौं मानिसहरु अल्पायुमा अकाल मृत्यु गर्नु परिरहेको छ। यो धेरै चिन्ताको विषय हुन गएको छ। खासगरेर तराई मधेशमा सर्पदंशको प्रकोप बढी रुपमा देखापर्दछ किनभने गर्मीयाममा सर्पहरु आफ्नो प्वालमा बस्ने गर्दछन् तर वर्षाऋतुमा त्यस प्वालमा प्रवेश गर्दा सर्पहरु बाहिर निस्किनु उनीहरुको वाध्यता पनि हो। वर्षाऋतुमा सर्पहरु अधिकांश संख्यामा बाहिर विचरण गर्ने क्रममा मानिसहरुबाट अन्जानमा कुल्चिन जान्छ जसले गर्दा मानिसहरुलाई डस्ने गर्दछन्। सर्पहरु अत्यन्त विषालु हुन्छन् जस्तो गोमन र करैत विशेष रुपमा विषालु हुन्छन्। जब यिनीहरुलाई जानाजान या अनजानमा दुःख दिने गरिन्छ भने यिनीहरुले मानिहरुलाई पनि बाँकी राख्दैनन्। यिनीहरुलाई चोट पु¥याउनेलाई टोकिहाल्दछन् र धेरैजसो मानिसहरु मर्ने गर्दछन्। अर्को तराई मधेशमा मात्र होइन, काठमाडौं उपत्यका र पहाडी भू–भागमा पनि सर्पदंश उपचार केन्द्रको अभाव खड्किन्छ। उपचार केन्द्र भए पनि एण्टीभेनम औषधिको अभावमा अकालमा मृत्यु हुने गर्दछ। गाउँघरमा त झारफुक गर्दागर्दै कतिपय मानिसहरु काल कवलित हुन्छन्। खैर, मानिसहरु स्वाभाविक रुपमा भयभीत हुने प्राणी हुन्। प्राकृतिक प्रकोपको साथै अन्य प्राणघातक घटना परिघटनाबाट पनि ऊ सुरक्षा चाहन्छ। प्राचीन कालदेखि नै मानिहरु आफ्नो प्राण रक्षाको लागि प्रयत्नशील रहँदै आएको कुरो प्रमाणित भइसकेको छ। फलतः मानिसहरु सर्पदंशबाट बच्नका लागि सकेसम्म प्रयत्न गर्ने गर्दछन्। प्राकृतिक प्रकोपलाई मथ्थर बनाउनको लागि गन्थन मन्थन गर्ने क्रममा यसबाट उन्मुक्तिको उपाय पनि खोज्छन्। विभिन्न देवी देवता, नदी नाला, रुखविरुवालाई सदियौंदेखि पुज्दै आएको परम्परा लामो छ। भयको भावनाले गर्दा मानिहरु प्राकृतिक प्रकोपको प्रहार कम गर्नका लागि पूजाआजा गर्दा आएको कुरो स्वयंसिद्ध छ। तसर्थ मानिसहरु सर्पदंशबाट बच्नका लागि सर्पहरुको देवता नागलाई पुज्दै आएको छ। प्राचीन कालदेखि अर्वाचीन कालसम्म नागपञ्चमीमा नाग नागिनको पूजाआजा गर्ने परम्परा छ।  

नागपञ्चमीको पूरा कथा  

हिन्दूहरुको महान ग्रन्थ महाभारतमा यस्तो कथा उल्लेखित पाइन्छ महाराज परीक्षितले समाधिमा संलग्न शृङ्गी ऋषिको गलामा मृत सर्प बेरिदिएकोले ऋषि क्रुद्ध भएर आफ्ना पुत्रहरुलाई आदेश दिए कि यस्तो दुष्कर्म गर्नेलाई श्राप दिनु तर ऋषि शृङ्गीले स्वयं क्रोधित भएकोले उनलाई श्राप दियो कि यो सर्प नै जीवित भएर आजको सातौं दिनमा तिमीलाई टोक्नेछ र तिमी मर्ने छौ। ऋषिको श्राप सिद्ध भयो र राजा परिक्षित आफ्नो महलमा सुरक्षित भएर सुतिरहेको अवस्थामा सर्प राजाको शयन कक्षमा प्रवेश गरेर उनलाई टोकिहाले र उनको मृत्यु पनि भयो।  

नाग जातिसित नै बदला लिने अठोट राजा परिक्षितका पुत्रहरुले गरे। खास गरेर उनका पुत्र जनमेजयले नाग यज्ञको अनुष्ठान गरे। उक्त यज्ञमा सर्पहरु आएर मर्नका लागि बाध्य भए। यज्ञको अग्नि ज्वालामा यो दृश्य हेरेपछि आस्तिक ऋषिले राजालाई भन्न गए कि राजन बदला लिनु समुचित काम होइन। यसबाट त सम्पूर्ण नाग जातिको अस्तित्व नै समाप्त भएर जान्छ जुन सृष्टिको लागि राम्रो होइन। त्यसपछि जनमेजयले सो यज्ञाहुतिको अन्त्य गरेर नागवंशलाई श्रद्धा र आदर गर्नका लागि आफ्नो सम्पूर्ण राज्यमा प्रचारप्रसार गर्न थाले। त्यस बखतदेखि नै नाग पूजाको शुभारम्भ भयो। अर्थात् नागपूजाको परम्परा बस्यो।  

लोक कथा 

एउटा किसान आफ्नो परिवारको साथमा बसिराखेको थियो, सुख शान्ति र सन्तोषको साथ। उसको दुईवटा छोरा थियो र एकजना छोरी। एक दिन यस्तो घटना भयो कि किसान खेतमा हलो जोत्दा उसको हलोको फालीबाट तीनवटा सर्पहरुको बच्चा मर्न गयो। सर्पिणी अत्यन्त दुखित र क्रोधित भइन्। उसले राति त्यस किसानसित बदला लिनका लागि अठोट गरिन्। रातको समयमा सर्पले उसको स्वास्नी, दुइटै छोरालाई टोकेर मारिदिइन्। अर्को दिन त्यो सर्पिणी छोरीलाई पनि टोक्नका लागि तयार भएर आइन्। उसकी छोरीले सर्पिणीको सामुन्नेमा दूधको कटोरी टक्र्याएर मृत्युको अपराधका लागि क्षमा याचना गरिन्। त्यसदिन श्रावण महिनाको शुक्ल पक्षको तिथि थियो। सर्पिणी साह्रै खुसी भइन्। उसले वरदान माग्नका लागि उसलाई भनिन्। किसानकी छोरीले आफ्नो बुबा आमा र भाइहरुलाई पुनः जीवित तुल्याउनका लागि प्रार्थना गरिन्। तत्पश्चात ती सबै जीवित भयो। यस घटनापछि नै ब्रतालुहरुले ब्रत राखेर नाग नागिनीको पूजा आजा गर्न थाले। अर्थातत् नाग पूजाको परम्परा त्यस बखतदेखि चल्दै आएको कथा आज पनि लोककण्ठमा झुण्डिन गएको कुरो झूठो होइन अपितु लोक विश्वासको प्रतिफल हो। नागपूजाको पवित्र अनुष्ठानले गर्दा सुख सौभाग्यको प्राति और शान्तिका आगमनको द्योतक हो। कति मानिसहरुले नागलाई कुलदेवताको रुपमा मान्दछन्। नागपञ्चमी विशेषतः यो पूजा घरमा नै सम्पन्न हुने गर्दछ  र त्यो पनि पारिवारिक परिवेशमा। श्रद्धापूर्वक र पूर्ण भक्तिभावको साथमा यो पूजा प्रत्येक वर्ष सम्पन्न हुने गर्दछ। 

काठमाडौं उपत्यकामा नागपञ्चमी   

काठमाडौ उपत्यकामा यो पर्व घर परिवारमा नै मनाउने परम्परा सदियौंदेखि प्रचलित रहँदै आएको छ। यहाँ नाग नागिनलानई घरमा आमन्त्रित गर्नको लागि भक्तहरुले आदरपूर्वक उनको स्वागत सत्कारका लागि मूल ढोकामा सर्प अंकित चित्रहरु टाँसिन्छ। दूध, दुवो र गाईको गोबरलाई पवित्र मानेर यसको प्रयोग शुभप्रद एवं सुखद मानिन्छ।  

नाग नागिनालाई आदरपूर्वक र श्रद्धापूर्वक पूजाआजा गर्ने लामो परम्परा अद्यापि जीवित छ। यहाँ घर–द्वारमा सर्पको वासलाई शुभ, पवित्र मानिन्छ र यसलाई हानि अथवा चोट पु¥याउने काम कदापि गरिदैन। वर्षको देवतालाई सम्मान एवं श्रद्धापूर्वक हरेक वर्ष यो पर्व मनाउने गरिन्छ। सर्प शत्रुमात्र होइन मित्र पनि हो भावनाबाट प्रेरित एवं प्रभावित भएर प्रत्यक वर्षको पर्व मनाउने जीवन्त परम्परालाई यहाँका वासिन्दाहरुले मनाउने गर्दछन्। उपत्यकामा जलदेवताका रुपमा पूजा आजा गर्ने गरिन्छ र विधि विधानपूर्वक सम्पन्न गर्ने परम्परा स्वागतयोग्य छ। यो विश्वास गरिन्छ कि नागपूजा बाढी प्रकोपबाट बचाउँछ, सुख समृद्धिको सन्देश सम्प्रेषित गर्दछ। यो पनि विश्वास गरिन्छ कि यहाँ प्राप्त सर्पहरु धेरै विषालु हुँदैनन् तर अब वर्ष प्रतिवर्ष गर्मी बढ्नाले यहाँ पनि विषालु सर्पहरुको विगविगी दिनप्रतिदिन बढ्दै गएको छ। धेरै धार्मिक भक्तजनहरु टौदह (पुरानो पोखरी) सम्म गएर कर्कोट नागराजको पूजा आजा गर्ने गर्दछन्।  

यो विश्वास गरिन्छ कि टौदह नागराजको निवास हो। यस्ता धार्मिक गतिविधि सम्पन्न गरेपछि विश्वास गरिन्छ कि प्राकृतिक प्रकोपबाट पनि यसले बचाउने गर्दछ। टौदह काठमाडौंको दक्षिण दिशामा अवस्थित छ र यो काठमाडौदेखि ६ किलोमिटर टाढा छ।  

तराई मधेशमा पूर्व मेचीदेखि महाकालीसम्म नागपञ्चमी मनाउने परम्परा सशक्त रुपमा जीवन्त रहेको छ। यहाँ सर्पलाई शत्रु ठानिन्छ र फेला पर्ना साथ मारिहालिन्छ। कतिपय उदाहरणहरु छन् कि सर्पलाई अधकल्चो बनाएर छोडेपछि त्यसको अनुहार सर्पको आखाँमा परेको हुन्छ र त्यस्तो मानिसलाई सर्प डस्न आउँछ। कहिले सफल हुन्छ त कहिले असफल तर बदला लिने भावना सर्पमा जडिभूत भएको हुन्छ र त्यो बदला लिएर नै छाड्दछ। सर्पमा बदलाको भावना प्रवल हुन्छ। कतिपय गाउँका मानिसहरु नाग नागिनको नृत्य हेर्न पनि सफल हुन्छन्। यी दुइटै जोडी कहिले यौन समागममा पनि संलग्न भएको मानिसले देखेका छन्। पहिला पहिला राजा महाराजको घरमा नागमणी भएको कथा सुनाउँछन् र सत्य पनि हो। नागमणिको दर्शन गरेपछि सबै मनोकामना पूरा हुने गर्दछ। यो बहुमूल्य हुन्छ। हत्तपत्त यो पाइँदैन। यो जनश्रुतिमात्र होइन सत्य पनि हो।  

अन्त्यमा यस अवसरमा गाउने लोकप्रिय लोकगीतको एउटा गेंडा प्रस्तुत गर्न चाहन्छु जुन यस प्रकार छ:

“श्रावण सर्व सोहाओन पुजवै नागनगिनियो ना”  

यस अवसरमा गाउने एउटा गीत यसरी अग्रसारित गर्ने अनुमति चाहन्छु यथा ः  

“साउन मास नागपञ्चमी भयो

विषहरी गहबर सुहाउँदो भयो  

कोही लिप्दैछ, गहबर (पूजास्थल) कोही चारैतिर  

म अभागिन लिप्दैछु ढोका

कोही टिप्दैछ ओडहुल (फूल) कोही बेलपात

म अभागिन हरियो दूबो

कोही माग्दछ अन्न धन कोही माग्दछ छोरा  

म अभागिन शिरको सिन्दूर  

साभार :अनुः रामदयाल राकेश, मैथिली लोक गीत सँगालो । 

प्रकाशित: २९ श्रावण २०७८ ११:५५ शुक्रबार

नागपञ्चमी