१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

वादको वादविवाद

नेपाल एक द्वन्द्वग्रस्त देश हो। यसको केन्द्रमा वादको विवाद विद्यमान छ। त्यसको आधार जात, भाषा, धर्म र अर्थ हो। त्यसको निराकरण राजनीतिले गर्न खोजेको छ तर असफल भएकाले राजनीति आफैँ द्वन्द्वग्रस्त भएको छ।  

नेपालीहरूले अनेक किसिमका परीक्षण गरिसकेका छन्। तर कुनै पनि परीक्षणमा सफल हुन सकेका छैनन्। राणाहरूको दबाब र शोषणबाट त्राण पाउन प्रजातन्त्रको बाटो रोजे। त्यसबाट त्राण त पाए तर प्रजातन्त्रले मुक्ति दिएन। यसले झन्झन् भाँडभैलो र लुटतन्त्र ल्यायो। राणाहरू पन्छिए। तर राणाको प्रवृत्ति कायम राखे। देशको ढुकुटी तहसनहस गरे। नेपाल आज गरिबको गरिब नै रह्यो।

नेपालीले संसारको इतिहासबाट केही कुरा सिक्नुपर्छ। भारत एक प्रजातान्त्रिक समाजका रूपमा विकसित भयो। इन्दिरा गान्धीले त्यसलाई एक पटक खल्बल्याइ दिइन् तर सफल हुन सकिनन्। भारतको सामाजिक विविधतालाई यो व्यवस्था सुहाउने भयो। हुन त यसले भारतको दीर्घकालीन हित गरेको छैन तर प्रजातन्त्रको चङ्गुलबाट बाहिर निस्कन सक्दैन।  

अर्कोपट्टि हेर्दा चीनमा कम्युनिस्ट अधिनायकवाद चल्यो। यसैअनुसार उनीहरू विकसित भए र बलिया पनि भए। त्यहाँको हावापानी, इतिहास, संस्कृतिमा यो व्यवस्था सुहायो र फस्टायो। के चीन पनि भारतको जस्तो प्रजातन्त्र र वाक् स्वतन्त्रताको पछि लागेको भए आजको जस्तो विकसित र बलियो हुने थियो ? थिएन।  

अमेरिकामा पनि प्रजातन्त्रको जग बस्यो तर ट्रम्प जस्ता राष्ट्रपति पनि जन्मिए। अमेरिकाले आफ्नो प्रजातान्त्रिक स्वरूपमा फर्कन पनि गाह्रो भयो तर फर्किछाड्यो। युरोपमा पनि यसको जरा उम्रियो तर हिटलर जस्तो अधिनायक पनि त्यही प्रजातन्त्रले जन्म दियो। अनेक द्वन्द्व र युद्ध भए। प्रजातन्त्र फर्केर आयो। प्रजातन्त्र फस्टाउने हावापानी थियो। त्यसैले त्यो बिरुवा हुर्कन सक्यो। रुस यस्तो देश हो जहाँ कम्युनिस्टले ७० वर्षसम्म राज गरे। साम्यवाद सिद्धियो तर त्यसले कायम गरेको अधिनायकवाद अन्त गर्न सकेन। निर्वाचन र प्रजातान्त्रिक व्यवस्था भने पनि पुटिन जस्तो एक अधिनायकको उदय भयो र हुँदै जाने संकेत दियो।  

अमेरिकामा सन् २००७ मा ठूलो आर्थिक संकट पर्‍यो। त्यसबेला त्यहाँको सरकारले उद्योग र व्यापार बचाउन अर्बौँ डलर खर्च गर्‍यो। कसैकसैले त्यसको विरोध गरे। उनीहरूको भनाइमा सरकारी सहयोग समाजवादी देखियो जो अमेरिकीहरू रुचाउँदैनन्। उनीहरू चाहन्थे, बजारले जे खोज्छ त्यही हुनुपर्छ तर अमेरिकी सरकार मानेन। उसले उद्योग, वाणिज्य र रोजगारी बचाइछाड्यो। यसको अर्थ पुँजीवादी समाजमा समाजवादी कदम उठाइयो। त्यहाँ कुन वादले के भन्छ भनेर हात बाँधेर बसेनन्। जे आवश्यक थियो त्यो गर्न पछि हटेनन्।

चीनले ठूलो आर्थिक प्रगति गरेको कुरा संसारले देख्यो। यो पनि देख्यो कि कसरी एउटा कम्युनिस्ट सरकारले स्वतन्त्र अर्थतन्त्रको अनुशरण गर्‍यो। माओत्सेतुङको कालमा चीनको अर्थतन्त्र सरकारी थियो। तर तेङसियाओ पिङ आएपछि सो अर्थतन्त्रलाई फर्लक्क पल्टाइयो। राजनीतिक व्यवस्था यथावत राखियो तर अर्थ नीति भने बदलियो। त्यसबाट आज सबै भन्दा ठूलो निर्यातकर्ता भयो। केही वर्षपछि सब भन्दा ठूलो अर्थतन्त्र पनि हुने भविष्यवाणी गरिएको छ।

यो तथ्यबाट नेपालले सिक्नुपर्ने के हो भने नेपाल जस्तो मुलुकले आफ्नो इतिहास, संस्कृति, समाज, भौगोलिक अवस्था आदिलाई हेरेर त्यसलाई सुहाउँदो व्यवस्था अपनाउनुपर्छ। त्यही काम नगरेकाले ७० वर्षसम्म पनि प्रजातन्त्र सफल हुन सकेन। बोल्नसम्म पाएका छन्। त्यसैलाई नै सब भन्दा ठूलो उपलब्धि मानेर बस्ने हो भने ठीक हो। त्यति त पाएकै छन्। त्यो भन्दा अरू कुनै कुरा सन्तोषजनक छैन।

नेपालले आजसम्म भारतीय प्रणाली अपनाउन खोज्यो। २००७ सालदेखि प्रजातन्त्रको बाटो हिँड्यो। प्रजातन्त्र उर्फ लोकतन्त्र नराम्रो होइन। त्यसलाई अपनाउन सके जनता खुसी हुन्थे। तर नाउँ प्रजातन्त्र लोकतन्त्र, काम कार्बाही सबै अधिनायकवादी। कारण जुन व्यवस्थामा मानिस अभ्यस्त छन् उतैतिर ढल्कन्छन्। बिपी कोइराला एक प्रजातन्त्रवादी थिए। उनी प्रधानमन्त्री पनि भए। तर उनको प्रशासन उनी आफँै चलाउँदैनथे। उनी अन्तर्राष्ट्रिय समाजवादको चक्करमा थिए। अन्तर्राष्ट्रिय नेता हुने रणनीतिमा थिए।  

त्यसपछि राजा महेन्द्रले अधिनायकवाद नै चलाए। विकास पनि भयो। ४०, ५० वटा उद्योग खडा भए। सडक बने। असंलग्न परराष्ट्र नीति अपनाए। बिहान अमेरिकाको समारोहमा गए भने साँझ सोभियत रुसको समारोहमा उपस्थित भए। बिहान चीनको कुनै कार्यक्रममा सरिक भए भने साँझ भारतीय कार्यक्रममा देखिन्थे। यही क्रम उनको प्रशासनभर चलिरह्यो।

जब प्रजातन्त्र २०४६ सालमा पुनःस्थापित भयो तब नेपालमा भद्रगोल सुरु भयो। गिरिजाप्रसाद कोइराला जत्तिको शक्तिशाली प्रधानमन्त्री कोही भएनन्। उनको शासनकालमा भ्रष्टाचार र अनाचार पनि खुबै फस्टायो। संसदीय बहुमतको दुरुपयोग उनैबाट सुरु भयो। विकासको नाउँमा एक कदम पनि अगाडि सरेन। उनका अनुयायी शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए तर उनीबाट केही राम्रो काम हुन्छ भनेर कसैले पत्याउँदैनन्। कसैले आशा पनि गर्दैनन्।  

फर्केर हेर्दा माओवादी विद्रोह देशी नभई विदेशी सावित भयो। मर्नलाई त नेपाली नै मरे। शान्ति प्रक्रियाको नाउँमा अरबौँ रुपैयाँ हिनामिना भयो। माओवादी नेताहरूले नै अरबौँको हिसाबकिताब मागिरहेका छन्। पार्टी पनि छित्रभित्र भयो। आखिर जुन व्यवस्थाविरुद्ध लडेका थिए त्यही व्यवस्थाभित्र पसे।  

नेपालमा लोकतन्त्रको नाउँमा के भएन ? संविधानसभा दुई पटक बन्यो। नयाँ संविधान पनि आयो। जे पायो त्यो त्यसमा हाल्यो। आज त्यसैमा झैझगडा भइरहेको छ। नयाँ व्यवस्था ल्यायौँ भनेर आज पनि फुर्ती लगाइँदैछ तर ती सबै फितलो देखिएको छ।  

वाद विषयमा विवाद गर्नु नै व्यर्थ छ। नेपाल र नेपालीको जे गर्दा हित हुन्छ त्यही कामकुरा गर्नुपर्छ। कम्युनिज्मले के दिन्छ, लोकतन्त्रले के दिन्छ, अधिकारले के दिन्छ भनेर विवाद गरिराख्नु व्यर्थ हो। संसारका मुख्य देशहरूमा व्यावहारिकता नै सब भन्दा ठूलो हतियार भएको छ। कोही पुँजीवादी देश भनेर समाजवादी कदम उठाउन पछि पर्दैन। कोही समाजवादी देश भनेर पुँजीवादी कदम उठाउन पछि पर्दैन। नेपालीहरू सिद्धान्तपछि लागेर समय बर्बाद गरे। यसै कुरामा नेपालीको चेत खुल्नुपर्छ।

भ्रष्टाचारमा उभिने अहिलेको व्यवस्थाले नेपालको हित कहिले गर्ने छैन। यो संविधानले समाजमा तनावसिवाय अरू केही दिन सक्दैन। हामीले आजभोलि देखिरहेको यही तमासा हो। यसबाट जति सक्यो चाँडो छुट्कारा पाउनुपर्‍यो।

प्रकाशित: २६ श्रावण २०७८ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App